Techie IT
आईतबार, कात्तिक ९,२०७७

विश्व पर्यटनले व्यहोरेको क्षति र नेपाली पर्यटनको बेहाल अवस्था


यहाँ विश्वको पर्यटन अर्थतन्त्रमा कोभिड–१९ ले पारेको असरबोरे छोटो चर्चा गरिनेछ । विसं २०७६ चैत अन्त्यमा संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लूटीओ)ले केही महिनाअघि तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार कोरोनाका कारण विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० घट्ने बताइएको थियो ।

स्मरणीय छ, यो तथ्यांक (कोभिड–१९)को असर सन् २०२० को अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, (कोभिड–१९) को प्रभाव अप्रिल–मे महिना काटेर अगस्ट महिनाको मध्यमा आइपुग्दासम्म पनि कायमै रहेको मात्रै होइन कि, झनै बढ्दै गएकोले गर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० भनी जन प्रक्षेपण गरिएको थियो । त्योभन्दा बढी नै (६५/७५ प्रतिशत) घट्ने अनुमान सोझै गर्न सकिन्छ ।

हुन पनि गत मार्च महिनामा जापानमा भ्रमण गर्न आएका विदेशी पर्यटकहरूको संख्या ९३ प्रतिशतले घटेको भनी समाचार आएको थियो । सो समाचारअनुसार ‘यसरी जापानमा ९३ प्रतिशत विदेशी पर्यटक कम आउनु भनेको जापानको पर्यटन इतिहासमा सन् १९६४ पछिकै सबैभन्दा कम संख्या रहेको छ । त्यसो त हिजोआज जापानमा मात्रै नभएर विश्वभरिका प्रायः सबै देशमा पर्यटन उद्योग र व्यवसाय मन्द गतिमा रहेको छ ।

कतिपय देशहरूमा त पर्यटन उद्योग र व्यवसाय लगभग ठप्प रहेको अवस्थामा छ हुन पनि २०१९ को अन्त्य हुँदा–नहुँदै अर्थात् डिसेम्बर अन्तिमताका चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा देखापरेको ‘नोभेल कोरोनाभाइरस’ (हाल कोभिड–१९ भनिन्छ) नामक संक्रामक महामारीको भाइरसकै कारण जापान भ्रमण गर्न सन् २०२० को मार्चमा आएका विदेशी पर्यटकहरूको संख्या ९३ प्रतिशतले घटेको भनी जापानको समाचार संस्था ‘क्योदो’ले छापेको थियो । सो तथ्यांकअनुसार ‘गत मार्च महिनामा जापानमा १ लाख ९३ हजार ७०० जना विदेशी पर्यटकहरू मात्रै भ्रमण गरेका थिए ।’

खासमा चीनमा ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) नामक संक्रामक रोगको भाइरसका कारण मानिसहरू बिरामी हुने र मर्ने क्रम बढेपछि चिनियाँ नागरिकहरूले आप्mनो विदेश वा स्वदेशमा बिदा मनाउने सबै कार्यक्रमहरू स्थगित गरेका थिए । त्यसपछि विश्वभरि नै पर्यटन आगमनमा कमी आउन सुरु भएको थियो । स्मरणीय छ, चिनियाँहरूले त्यही वेला (जनवरी–फेबु्रअरी) लामो बिदा पाउँछन् । किनभने, चिनियाँ पात्रोअनुासर चीनको नयाँ वर्ष पनि जनवरी मध्य–अन्त्यमा सुरु हुन्छ । त्यसो भएको हुँदा धेरै जसो चिनियाँ नागरिकहरू त्यही समयमा पर्यटक भएर विश्वका विभिन्न देशमा घुम्न निक्लन्छन् । त्यहीबेला आन्तरिक पर्यटकका रूपमा आफ्नो देशको विभिन्न स्थानमा भ्रमण गर्ने क्रम अत्यधिक संख्यामा बढ्ने गर्छ ।

स्मरणीय छ, सन् २०१९ मा विश्वभरि एक अर्ब ४६ करोड १० लाख मानिसहरूले विश्वको विभिन्न देशमा पर्यटक भई भ्रमण गरेका थिए । यो भनेको १० वर्षअघिको तुलनामा दोब्बर संख्याले वृद्धि भएको थियो । त्यसो त विश्व पर्यटन संगठन (डब्लूटीओ)का अनुसार सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा घुम्न निक्लने पर्यटकको संख्या ४० करोडले कमी आउने आँकलन गरेको छ/थियो । त्यस्तै विश्व पर्यटन उद्योग/क्षेत्रले २०२० मा ४ खर्ब ५० अर्ब अमेरिकी डलरबराबारको आर्थिक क्षति भोग्ने अनुमान गरिएको छ । तथ्यांकअनुसार सन् २००८–२००९ संकटका बेलमा विश्व पर्यटनले ८८ अर्बबराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

नेपालमा पनि चीनबाट फैलन सुरु भएको ‘नोभेल कोरोनाभाइरस–२०१९’ (कोभिड–१९) को असरकै कारणले सन् २०२० को पहिलो महिना अर्थात् जनवरी महिनाको तुलनामा सन् २०१९ को जनवरी महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या लगभग ३ प्रतिशतले घटेको थियो । तर, गत वर्षको मार्च महिनाको तुलनामा यो वर्षको मार्च महिनामा त नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ह्वात्तै ८० प्रतिशतले घटेको अनुमान छ । अप्रिल, जुन र जुलाई महिनाको त तुलना गर्ने कुरै भएन ।

किनभने, यी ३ महिना हाम्रा लागि विदेशी पर्यटक आगमन शून्य बराबर रहने पक्काजस्तै छ । यसरी हेर्दा हाम्रोजस्तो कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन उद्योगको योगदान केवल २ दशमलव ९, ३ दशमलव ४ देखि बढी मा ४ दशमलव ९ सम्म मात्रै रहेको देशमा त गत ५ महिनामा २४ अर्ब नेपाली रुपैयाँबराबरको क्षति व्यहोरेको छ भने पर्यटनमा आएको यस्तो मुर्दा शान्तिले नेपालले यो वर्ष लगभग ६४ अर्बको आर्थिक क्षति व्यहोर्नुपर्ने अनुमान गरिएको छ ।

आफ्नो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन उद्योगको योगदान लगभग ५०/५३ देखि १९/२१ प्रतिशतसम्म रहेका देशहरू जस्तैः मकाउ, माल्दिभ्स, अजुबा, सेसेल्स, ब्रिटिश भर्जिन आइल्यान्ड, अमेरिकन भर्जिन आइल्यान्ड, बहामास, भानुआट, केपभर्डे, क्रोसिया, ग्रेनाडा, थाइल्यान्ड, सिंगापुरलगयात देशहरूको हालत के होला ? ती देशका जनताका घरव्यवहार कसरी चल्ला ? ती देशका समग्र अर्थतन्त्र कसरी धानिएला ? विश्व पर्यटनको वर्तमानको डामाडोल स्थितिले ल्याउने आर्थिक मन्दीको सहजै अनुमान गर्न सकिन्छ ।

त्यसो त हालै संयुक्त राष्ट्र संघीय पर्यटन संगठन (डब्लूटिओ)ले प्रकाशित गरेको एक तथ्यांकअनुसार सन् २०२० को पहिलो ५ महिनाको अवधिमा विश्व पर्यटन उद्योगले तीन खर्ब २० अर्ब अमेरिकी डलर आमदानी गुमाएको छ भने, विश्वव्यापी पर्यटन आगमनमा गत ५ महिनाको अवधिमा ५६ प्रतिशतले कमी आएको छ । तर, आगामी दिनमा सन् २०२० को बाँकी (४ महिना) समयमा कोरोनाको प्रभाव कम भएमा र, विश्व पर्यटनमा केही आशा गर्न सकिएला । अन्यथा यो वर्ष (सन् २०२०) विश्व पर्यटन उद्योग र विश्वका पर्यटन व्यवसायीहरूले पुर्पुरोमा हात राखेर बस्नु र आगामी वर्षमा केही होला कि ? भनी आसा गर्नुबाहेक अर्को विकल्प देखिँदैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्