Techie IT
बिहीबार, कात्तिक ६,२०७७

कोरोना, अयोध्या र जीवित रामहरू


विक्रम संवत् १७७२ सालमा नेपालमा मल्लहरूले राजकाज चलाउँथे । तात्कालिक मल्ल राजा थिए जगज्जय मल्ल । उनको पालामा नेपालमा सर्वप्रथम इटालीबाट क्रिश्चियन धर्म प्रचार गर्न भनी केही पादरीहरू आएका थिए र तिनले नेपालमा लगातार क्रिश्चियन धर्मको प्रचारप्रसार गरे । यो क्रम नेपाल अधिराज्य एकीकरणका महान अभियन्ता पृथ्वीनारायण शाहले उपत्यका विजय नगरुन्जेलसम्न चल्यो । पृथ्वीनारायण शाहले जब उपत्यकामा विजय प्राप्त गरे अनि ती इसाई धर्मका पादरीहरूलाई नेपालबाट धपाए ।

पृथ्वीनारायण शाह हिन्दु राज्य निर्माणका एक मात्र अभियन्ता थिए । नेपालका शाह वंशहरू गाईलाई अत्यन्तै श्रद्धा भक्ति गर्थे तर इसाईहरू गाईको मासु खाने भएकोले पनि पृथ्वीनारायण शाहलाई यो कुराले अत्यन्तै बिजाएको हुनुपर्छ । यहाँबाट धपाइएर गएका इसाई धर्म प्रचारकहरू पृथ्वीनारायण शाहको देहावसानपछि फेरि प्रतापसिंह शाहको पालामा आए । यताबाट धपाइएका धर्मप्रचारकहरू इन्डियाको बेतियामा गई बसेका थिए । राजेन्द्रलक्ष्मीको नायबीकालमा बहादुर शाह पटक–पटक निर्वासित भएका थिए । तिनै इसाई धर्म प्रचारक र बहादुर शाहबीच बेतियामा भेट भयो ।

नेपालमा २००७ पछि ती इसाई पादरीहरूले राज्यको अनुमति पाएर जाउलाखेलमा सेन्ट जेभियर्स स्कुल खोले, जुन आजसम्म छँदैछ । नेपालमा इसाईहरूको पुनः आगमन भए पनि उनीहरूको यो अभियानलार्ई पृथ्वीनारायण शाहले पहिले नै विरोध गरेर धपाएका कारण सोचेअनुरूप इसाई मिसनरीको प्रचारप्रसार हुन सकेन । नेपालमा इसाई धर्मको सुरुवात खास गरेर २००७ सालपछि नै भएको हो । नेपाल हिन्दु राज्य हो अहिले पनि र हिजो पनि हिन्दुराज्यकै रूपमा चिनिएको थियो । तर वर्तमान नेपालको संविधान निर्माणका क्रममा नेपाललार्ई हिन्दु राज्य हुनबाट वञ्चित गराउने अहिलेका सत्तासिन नेपाल कम्युनिस्ट पार्टीका महान नेताहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, सुवाश नेम्वाङहरू नै व्यापक लागे ।

कम्युनिस्टहरूको कुनै जात र धर्म हुँदैन भन्थे आखिर हो रहेछ । नेपाललार्ई धर्म निरिपेक्ष मुलुक बनाए र हिन्दु राज्य नेपालको पहिचानलार्ई खरानी बनाए । अहिले जात भात धर्म नमान्ने नेपाल कम्युनिस्ट पार्टीका प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले चरितार्थ गर्दै हुनुहुन्छ कि कम्युनिस्टहरू पनि धर्म मान्छन् भनेर । अरु कम्युनिस्ट नेता र ओलीज्यूमा फरक रहेछ । संविधान लेख्दाको बखत उहाँले धर्म निरिपेक्षताको विरोधमा बोल्नुपर्थो तर त्यसो गर्नुभएन । अहिलेको हिन्दु धर्मप्रतिको उहाँको लगाव र आस्था देख्दा अब यदि संविधानको धारामा धर्मनिरिपेक्ष हटाउनुपर्छ भनियो भने ओलीज्यूले हात धोएर लाग्नुहुन्छ । अहिले उहाँ भगवान रामको पछि लाग्नुभएको छ । धर्म मान्दै नमान्ने कोटीमा पर्नुहुन्छ कमरेड प्रचण्ड । तर कहिलेकाहीँ निधारमा टीका र गलामा माला अनि सिन्दुरे जात्रामा सहभागी हुँदाचैँ फेरि उहाँलार्ई हिन्दु चरित्र बोकेको भनेर भन्न करै लाग्छ ।

धर्म नमान्नेले जातभात पनि मान्दैन । तर फेरि कम्युनिस्टहरू जातीय राजनीति पनि गरिरहेका छन् । जाति र पहिचानको मुल मुद्दा नै हो नेपालका कम्युनिस्टहरूको सत्तामा पुग्ने भ-याङ । आरक्षणका नाउँमा योग्य मान्छे रोएर बसेका छन् । अयोग्य मान्छेले प्रशासनलार्ई गुहुमुतमा डुबाइरहेका छन् । सबै मान्छे बराबरको सिद्धान्तमा विश्वास गर्ने र सर्वहारा वर्गको हितमा काम गर्ने हो भने आजको नेपालको परिस्थिति किन यति जटिल र समस्याग्रस्त हुँदै जान्थ्यो र ? कम्युनिस्टको सर्वमान्य सिद्धान्त हो, सबै बराबर सबै समान ।

यो सिद्धान्त हेर्दा त वैज्ञानिक लाग्छ तर हाम्रो सामाजिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा के यो सिद्धान्तले काम गरिरहेको छ त ? पक्कै छैन । हामी लेखाइमा एउटा गराइमा अर्को गरिरहेका छौँ । सिद्धान्तको रटाइले परिवर्तन हुँदैन । भनाइमा सबै बराबर तर गराइ र व्यवहारमा फरक आउँछ । हिजो राजाको शासनकाललार्ई सबैभन्दा भ्रष्टाचारको युग र विलासिताको युग भनियो । तर आज राजाको शासन सक्किएको यतिका वर्ष भयो खोइ त फरक अनुभूति के पाए त नेपाली जनताले ? । हिजो राजदरबारमा राजाले एक लाखको कार्पेट ओछ्याउँदा भ्रष्टाचार भएको देख्नेले आज राष्ट्रपति भवनमा एक करोडको कार्पेट ओछ्याउँदा कम्युनिस्ट सरकारले भ्रष्टाचार देख्दैन ।

हिजो जनता र राजाका बीच धेरै भिन्नता र विभेदको खाडल भएको महसुस गर्नेले आजचैँ के समानता छ त राष्ट्रपति भवनभित्र बस्ने सम्माननीय राष्ट्रपति र बाहिर सडकमा हिँड्ने सर्वहारा वर्गमा । एउटा सर्वहाराको हातमा छाता छैन शीतल निवास भवनबाहिर पानीमा भिजेर वा प्लास्टिक ओडेर सडकमा बिजुलीतार भूमिगत गर्ने भनेर सडक खन्दै छ । अनि सबै समान छन् भनेर बकबक गरेर मात्रै हुन्छ ? हिजोका दिनमा नेपाल हिन्दु राज्य हुँदाचैँ कुन इसाई धर्मावलम्बीले पिटाइ खाएको थियो र ? कुन मुस्लिमलार्ई अपमानित गरिएको थियो र ? कुन बुद्धिस्टलार्ई शान्ति अहिंसा र सेवाको लागि रोकिएको थियो र ? बरु हिजोभन्दा आज मानिसहरूमा असहिष्णु बढेको छ ।

धर्म निरिपेक्ष मुलुकमा कुनै एक धर्मको वा कुनै एक सम्प्रदायको कुरालार्ई लिएर प्रधानमन्त्रीले वा राष्ट्रपतिले वा सम्मानित पदमा आसिन व्यक्तिले आफ्नो एकोहोरो कुराहरू राखिरहनु अन्य धर्म मान्यहरूलाई अप्ठ्यारो हुनसक्छ भन्ने कुराको पनि ख्याल गर्नु जरुरी हुन्छ । अहिले हाम्रो राष्ट्रको कुनै एक राष्ट्रधर्म छैन । यहाँ इसाई, मुस्लिम, जैन, बुद्धिस्ट सबै सम्प्रदाय छन् । प्रधानमन्त्रीले अयोध्या, अयोध्या, राम, राम, भनेर रटान गरिरहँदा नेपालका मुस्लिम दाजुभाइ दिदीबहिनीहरूको चित्त दुखिरहेको पो छ कि ? वा कृश्चियनका अनुयायीहरूलाई भित्र–भित्र रिस उठिरहेको पो छ कि ? के थाहा भन्न पो नसकेको हो कि ?

पहिला त हामी मानिस हौँ । अनि नेपालका नेपाली हौँ । त्यसपछि मात्रै हाम्रो पहिचान जात, लिंग, धर्मका कुरा आउँछ । मानवीयतालार्ई कुल्चेर अगाडि कुनै धर्म छैन । मानव धर्म भनेको सेवा हो । मानिसको अगाडि कुनै पनि देवता अग्ला छैनन् । प्रेमभन्दा अर्को कुनै त्यस्तो प्रार्थना छैन । निःस्वार्थताभन्दा त्यस्तो कुनै अर्को पूजा छैन । आफू जन्मिएको धर्तीभन्दा कुनै अर्को नयाँ धाम छैन । मानव सेवाभन्दा कुनै अर्को काम छैन ।

अहिले विश्व कोरोनाले आतङ्कित छ । नेपाल एउटा सानो जम्माजम्मी तीन करोड जनसंख्या भएको सार्वभौम मुलुक हो । कोरोनाका कारण हामी नेपाली यति भयभित छौँ कि योभन्दा अगाडि हामीले कहिले पनि यस्तो प्रकोपको सामना गरेका थिएनौँ । यतिबेला राम कहाँ जन्मिएका हुन् भनेर जमीन उत्खनन् गर्ने र धमाधम राम मन्दिर बनाउने कुरा महत्वपूर्ण होइन । अहिले त जीवित रामहरूलार्ई बचाउने समय हो ।

सरकारले धर्मको जिम्मा लिने होइन । धर्मको जिम्मा धर्मसग सम्बन्धित धार्मिक संस्थाले लिने छन् । सरकारले त जनताको रोग भोक र शोकको जिम्मेवारी बहन गर्नुपर्छ । कोरोनाका कारण हरेक दिन झन्झन् भयावह बन्दै छ । देशको राष्ट्रप्रमुख कोरोनाले मृत्युवरण गरेका जनताको चिन्ताभन्दा पनि त्रेता युगका रामको चिन्ता र चिन्तनमा ब्यस्त हुने समय होइन यो । जतिबेला लकडाउन आवश्यक थिएन त्यतिबेला लकडाउन गरियो । अहिले कोरोना समुदायस्तरमा फैलिसकेको छ अनावश्यक खुल्ला गरिएको छ ।

सरकार कोरोना नियन्त्रणमा चुकेकै हो । सरकारले नियन्त्रणमा कठोरभन्दा कठोर निर्णय गर्न सक्नुपर्छ । यतिबेला सरकार निर्मम बन्नुको विकल्प छैन । जनता अनियन्त्रित तरिकाले बाहिर हिँडिरहँदा कोरोनाको आगो व्यापक फैलिँदै छ । सटडाउन गरेको भन्छ सरकार पूरै बजार, पूरै यातायात खुला छ । सडकमा मान्छेको भीड अनियन्त्रित छ । सडक यस्तो देखिन्छ कि कोरोना भन्ने रोग पनि थियो र नेपालमा भनेर शंका गर्नुपर्ने स्थिति पो देखिन्छ । जनताको अटेरीपन हेर्दा कर्फ्यु नै लगाउन पर्ने स्थिति आएको छ । सरकारले आफ्नो निर्णय लिने हो । दुई/चार जना बेरोजगारीले नारा जुलुस गर्दैमा आफूले गरेको निर्णय नै फिर्ता लिनु सरकारको आफ्नो कमजोरी हो ।

समयअनुसार, परिस्थितिअनुसार राज्य सञ्चालनमा सरकार चुक्यो भने सत्ताको बदनामी हुन्छ । राज्य नै असफल हुन्छ । जति–जति कोरोना फैलिँदै जान्छ त्यति नै सरकार असफलतातिर धकेलिँदै जान्छ । जनता लकडाउन गर्दा पनि ठीक हो भन्दैन, लकडाउन नगर्दा नै ठीक हो भन्दैन । परिस्थिति नियन्त्रण गर्ने काम सरकारको हो । जनता कहिले पनि नियन्त्रणमा बस्न चाहँदैनन् ।

अमेरिकी जनतालार्ई स्वतन्त्रता बढी नै भएको हो । त्यसैले गर्दा पनि त्याहा कोरोना छिटो नियन्त्रणमा आउने सम्भावना छैन । मानिस स्वतन्त्रताको दुरूपयोग गर्न धेरै सिपालु छ । समाजको र कानुनी राज्यको यदि डर नहुने हो भने मानिस जंगली युगमा जस्तै नाङ्गै हिँड्न रुचाउने सामाजिक जनावर हो । यतिबेला मान्छेलार्ई नियन्त्रण राख्नु सख्त जरुरी छ । एकजना मान्छेको हेलच्येक्र्याइँले सिंगो समुदाय रोगाकुल हुन सक्छ । अरुलाई पर्दा गम्भीर नहुने आफूलाई पर्दा मात्रै अधैर्य हुने नेपालीको आदिम प्रवृत्ति हो । रामको आदरणीयता मनन गर्छौ हामी तर आफ्नो चरित्रचैँ रावणको जस्तो छ । यतिबेला राम नै हुनु जरुरी छ । रावण भएर काम छैन ।

जीवित रामहरूलाई जसरी पनि जोगाउनु आवश्यक छ आज । अतीतमा नबगौँ वर्तमानलाई धमिल्याएर । प्रधानमन्त्रीज्यू ! तपाईंले धेरै राम सम्झिरहनु पर्दैन । आफैं राम हुनसक्ने खुबी छ भने गरेर देखाउनुहोस् । शुभकामका लागि कहिले ढिलो हुँदैन । हिजोको राम होइन हामीलार्ई आजको राम आवश्यक छ । पौराणिक कालको अगाडि हामी निरीह बनिरहनु जरुरी छैन । हिजो कसले देख्यो र ? हिजो बाँच्नेहरू सबै हिजो भैसके त्यसैले आजलाई स्वीकार सिँगारौँ । पाइला कहिले अतीतमा टेकिँदैन त्यसैले पनि हिजोको रामलार्ई होइन आजको गरिब रामबहादुर, रामलाल चौधरी जो कोरोनालाई जित्न जीवनयुद्ध गरिरहेका छन्, तिनलाई बचाउनु झन् महत्वपूर्ण कुरा हो । देवता त आफैँ देवता भइगए तिनलाई फेरि देवता बनाइरहनु के आवश्यक छ र ? बरु देवता हुन दुःख गरिरहेका मानिसको पाउ समाउन त्यो नै राम प्राप्तिको बाटो होला ।

गाउँ र सहरभरि जताततै रामैराम छन् । हाम्रा घरको हरेक आँगनीमा सीता माताको स्पर्श छ । तिनैले सम्हालेकी छिन् हरेक रामको कुटी तिनैले खोलेकी छिन् हाम्रा रामहरूको दैलो फेरि तिनै परेकी छिन् बलात्कारको दलदलमा । पौराणिक कालको राम र सीता होइन अहिले हामीसँगै अभावको थाल बोकेर पाखा पर्वत भड्किरहेका रामहरूको दुःख भोक, रोग र शोक निवारण अभियानमा लागौँ । यो नै नेपाललार्ई समुन्नतितर्फ लैजाने यज्ञ हो । कल्पनाको अयोध्या होइन यथार्थको नेपाल खोजौँ । पौराणिक राम होइन वर्तमानमा दुःखले गलेको रामलाललार्ई सहयोग गरौँ । राम त एउटा चरित्र मात्रै हो । यही चरित्र र यही आदर्शको अयोध्या निर्माणतर्फ लागौँ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्