Techie IT
१ असार २०७८, मंगलबार

कोभिड, महिला र समावेशी ऊर्जाको सवाल


यतिबेला कोभिड १९ को महामारीका कारण विश्व नै आक्रान्त छ । नेपालमा पनि यसको संक्रमण दिनप्रति बढ्दो अवस्थामा छ । कोरोना संक्रमणको प्रभाव समाजका हरेक वर्गमा परेको भए पनि जोखिमको हिसाबले महिला अग्रपङ्तिमा रहेका हुन्छ । त्यसै पनि महिलाहरू घरभित्र र बाहिर गरी दोहोरो कामको बोझमा नै छन् । आज फेरि कोरोनाको कारण आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर प्रत्यक्षरूपमा परेको देखिन्छ । स्वास्थ्यको समस्या, खाद्यान्नको सङ्कट र रोजगारी गुम्ने समस्याबाट बढी प्रभावित बनेका छन् महिला ।

संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार कोरोनाको कारण लकडाउनको अवस्थामा घरेलु हिंसा, बलात्कार र आर्थिक समस्याले महिला बढी पीडित बन्न पुगेका छन् । नेपालमा यो समस्या अझ बढी नै अनुभव गरिएको छ । लामो लकडाउनको अवधिमा थुप्रै यौनजन्य हिंसा तथा बलात्कारका घटनाहरू भए भने सुत्केरी एवं गर्भवती आमाहरूले औषधि उपचार नपाएर धेरैले अकालमा मृत्यु हुनुप-यो । यसमा महिलाहरूमा आर्थिक समस्या, सामाजिक समस्या, मनोवैज्ञानिक प्रभाव परेको देखिन्छ ।

कोरोनाका कारण विश्वका विभिन्न देशमा रोजगारीका लागि गएका महिलाहरूले समयमा घर फर्किन नपाउँदा भोग्नुपरेको मानसिक र शारीरिक पीडा शब्दमा व्यक्त गर्न सजिलो छैन । भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केका गर्भवती तथा महिलाहरू मानसिक रोग, औषधि उपचारको कमी, क्वारेन्टिनमा भोग्नुपरेका शारीरिक वा मानसिक समस्या एवं पुनस्र्थापनाको चुनौती कम संवेदनशील छैन । महिलाको संवेदनशीलता र अप्ठ्यारोलाई मध्यनजर राखेर सरकारले उनीहरूको व्यवस्थापनमा कुनै ध्यान दिन सकेको छैन । विदेशबाट फर्किएका महिला तथा उनका बच्चाबच्चीलाई घर समाजले गर्ने दुर्व्यहार र समाजमा घुलमिल भएर बस्न नपाउनेजस्ता समस्या थपिएको छ ।

यस महामारीले विश्व स्वास्थ्य संकट ल्याएसँगै श्रम बजार, सामाजिक आर्थिक संकट पनि ल्याएको छ । रोजगारीको हिसाबले फ्रन्टलाइनमा काम गर्ने अधिकांश महिलाहरूले यस अवधिमा कि त रोजगारी गुमाउनुप-यो, कि जोखिम मोलेर काम गर्नुपरेको छ । क्यासिएरदेखि स्वास्थ्यकर्मीहरूमा ७० प्रतिशतभन्दा बढी महिला कामदारहरू नै छन् । यसरी उनीहरू कोभिडबाट बढी जोखिममा छन् भने कम ज्याला पाउँछन् । उनीहरूका कारण घरपरिवारसमेत बढी जोखिममा पर्ने गरेका छन् । खासगरी साना, घरेलु तथा लघु व्यवसाय र अनौपचारिक क्षेत्रमा नै महिलाले काम गरेका छन् । आज कोरोनाको पहिलो असर तिनै क्षेत्रमा परेको छ । जसले गर्दा महिलाको रोजगारी र जीविकोपार्जनमा प्रत्यक्ष असर परेको देखिन्छ ।

विदेशबाट फर्केका महिलालाई उनीहरूले विदेशमा सिकेका ज्ञान र अनुभवका आधारमा उद्यमशील कार्यमा संलग्न गराउन सकिन्छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थाहरूले पनि विशेष गरी विदेशबाट फर्किएका महिलालाई सचेतना, सीप विकास तालिम कार्यक्रम सञ्चालन गरी उनीहरूलाई आत्मनिर्भर गराउन सहयोग गर्नुपर्दछ । यसका लागि उनीहरूमा ऊर्जाको पहुँच अभिवृद्धि गरी व्यावसायिक उद्यमशीलतातर्फ लाग्न राज्यले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गर्न सकिन्छ । महिलाहरूले आफूभित्र पनि आत्मबल र आत्मविश्वास जगाएर आफ्नो खुट्टामा आफैँ उभिन्छु भन्ने सोचका साथ अगाडि बढ्नुपर्दछ ।

कोरोनाको कारण आर्थिक पहुँचमा रहेका महिलाहरू भान्सा, चुलोचौकामा मात्र सीमित भएकाले अधिकांश महिलामा मानसिक समस्या देखिन्छ । घरका पुरुषहरूको रोजगारी गुमेको, व्यवसाय चौपट भएकाले घरव्यवहारको समस्या थपिएको छ । आर्थिक उपार्जनका लागि विदेश गएका महिला घर फर्किएसँगै उनीहरूलाई आर्थिक पहुँचबाट धेरै टाढा पु-याएको छ । उनीहरूको आत्मविश्वासमा चोट पुगी आत्मबल पनि घट्न गई कतिपय कुलतमा लाग्ने, पारिवारिक झगडा, कलह बढ्नेजस्ता घटना बढ्ने देखिन्छ ।

अब कोरोनापछिको पुनस्र्थापनको अवस्थामा महिलाहरूको रोजगारी र व्यवसायलाई पुनर्जीवनको विषयलाई प्राथमिकता दिनु आवश्यक छ । कोरोनापछिको अवस्थामा उनीहरूको समुदाय र व्यवसायलाई पुनर्जीवन दिन आधुनिक र सुलभ ऊर्जाको खाँचो पर्दछ । कोरोनाले विश्व अर्थतन्त्र र जनस्वास्थ्यमा अनेपेक्षित र अकल्पनीय असर ल्याएको छ, यसलाई सामान्यीकरण गर्न ऊर्जाको आपूर्ति र पहुँच अभिवृद्धि हुनु आवश्यक छ । त्यसमा पनि ऊर्जाको पहुँच घरायसी र व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्व बैंक र सबैका लागि ऊर्जा अभियानले पनि उल्लेख गरेका छन् ।

परम्परागत ढङ्गबाट खाना पकाउँदा महिलाहरूमा श्वासप्रश्वास, दमलगायतका समस्या अझ बढी रहने र त्यस्ता विरामी कोरोनाको उच्च जोखिममा रहने भन्ने चिकित्सकहरूको भनाइअनुसार अब घरभित्रको वायु प्रदूषणको अन्त्य गर्नेदेखि व्यावसायिक क्षेत्रमा पनि आधुनिक ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने हुन्छ । पहिलादेखि नै ऊर्जाको पहुँचको चुनौतीको सामना गरिरहेको ती व्यवसायहरूमा आधुनिक ऊर्जाको प्रयोग बढाउनु पर्दछ । महामारीपछि अनुकूलित भविष्य निर्माण गर्न ऊर्जाको पहुँच र विद्युतीय उपकरणहरूको प्रयोगलाई बढाई कामको बोझ र समय घटाउनुपर्ने हुन्छ । जस्तैः आधुनिक भान्छा, खाद्यान्न उत्पादन, प्रशोधन र बिक्री वितरण, सरसफाइ, सूचना प्रविधिको उपयोग, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रहरूमा ऊर्जाको पहुँच र उपयोग बढाउनु अहिलेको आवश्यकता हो । विद्युतीय उपकरणहरूको सुरक्षित प्रयोगका बारेमा पनि उनीहरूलाई सचेत र दक्षतायुक्त गराउनुपर्ने हुन्छ ।

विश्वव्यापी कोरोना संक्रमणले गर्दा ऊर्जालगायत हरेक क्षेत्रमा नराम्ररी प्रभाव परेको छ । स्वच्छ ऊर्जाको पहुँचले विद्युतीय उपकरणहरूबाट काम छिटोछरितो र भरपर्दो हुनुको साथै समयको बचत, कार्यबोझमा कमी र प्रभावकारी नतिजा ल्याउन पनि सकिन्छ । कुनै पनि सभ्य र विकसित समाजका लागि ऊर्जा आधारभूत तत्व हो । यसले व्यक्तिको जीवनस्तरमा सुधारका साथै देशको विकासमा पनि योगदान दिन्छ । स्वच्छ ऊर्जाले जनतालाई आवश्यक सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्दछ । नवीकरणीय ऊर्जामा करिब ३२ प्रतिशत कामदारहरू महिला रहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीले जनाएको छ । दिगो विकासको लक्ष्य ५ र ७ ले पनि यस कुरालाई जोड दिएको छ । लक्ष्य ५ मा लैंगिक समानता र लक्ष्य ७ ले सबैका लागि ऊर्जाको अवधारणालाई आत्मसात गरेको छ ।

विश्वव्यापीरूपमा जैविक इन्धन, वायोमासजस्ता वातावरणलाई नकारात्मक असर तुल्याउने ऊर्जाको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ ऊर्जाको खपत बढाउनु पर्दछ भन्ने अभियान नै सुरु भएको अवस्थामा अहिले विश्वमा हरित तथा समावेशी ऊर्जाको अवधारणा आएको छ । नेपालमा पनि यस अवधारणालाई आत्मसात गर्नु आवश्यक छ । यस अवधारणाअनुसार स्वच्छ ऊर्जाको प्रयोगबाट बढी लाभान्वित हुने भनेको गरिब, महिला र पिछडिएका वर्ग नै हुन् । जस्तो कि, घरभित्र इन्डक्सन, वासिङ मेसिनलगायतका आधुनिक चुलोको प्रयोग गर्दा महिलाको स्वास्थ्यमा सुधार, कार्यबोझमा कमी भई उनीहरूले अन्य आयमूलक काम गरी आर्थिक हैसियत बढाउन सक्दछन् । त्यसैले हरित ऊर्जामा महिला सहभागिता बढाउन आवश्यक छ ।

उनीहरूलाई प्रदूषणमुक्त प्रविधि, दक्षतायुक्त उपकरणको प्रयोग गर्न सक्षम तुल्याउनु नै यस कार्यक्रमको लक्ष्य निकै सान्दर्भिक देख्दछु । सामाजिक समावेशीकरणबिना विकास प्रयास असम्भव छ । आधुनिक ऊर्जामा महिलाको पहुँच अभिवृद्धि नगरेसम्म देशको समग्र विकास प्रयास पूरा हुन सक्दैन भन्ने विगतको अनुभवबाट प्रस्ट भैसकेको छ ।

समावेशीसहितको सहभागिता र क्रियाशीलता बढाउन महिलाहरूलाई अवसर प्रदान गर्नु जरुरी हुन्छ । आधुनिक ऊर्जामा महिला पहुँचले नै उनीहरूमा सशक्तीकरण आउन सक्दछ । यसरी समावेशीता, सहभागिता, क्रियाशीलता, तत्परता र उद्यमशीलता यी पाँच तत्वहरू भयो भने मात्रै आधुनिक ऊर्जामार्फत महिलाको विकास र उनीहरूको जीवनस्तरमा सुधार आउनुको साथै त्यसले परिवार, समाज र सिंगो राष्ट्रलाई नै विकसित र समृद्ध गर्न सकिन्छ ।

पुरुषभन्दा महिलामा आर्थिक अनुशासन बढी रहेको पाइन्छ । महिलामैत्री विद्युत् महसुल हुनुप¥यो, त्यसले उनीहरूलाई व्यवसायमा लाग्न प्रेरित गर्दछ । महिलाले स्थापना गरेको वा सञ्चालन गरेको उद्योग व्यवसायमा विद्युत् महसुल वा अन्य करमा छुट वा सहुलियतको व्यवस्था भए उनीहरू त्यसतर्फ अभिप्रेरित हुन्छन् । महिलालाई सीपमूलक तालिमले क्षमता विकास गर्न सकिन्छ । कृषि विकास बैंकमार्फत सरकारले केही कोटा छुट्याएको छ । तर त्यसरी निश्चित कोटाको आधारमा नभई व्यावसायिक योजनाको आधारमा उनीहरूलाई जति पनि कर्जा प्रवाह हुन जरुरी छ । उनीहरूले उत्पादन गरेको वस्तुको बजारीकरणमा पनि राज्यले सहयोग गरिदिनुपर्छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमार्फत महिला उद्यमशीलताका लागि कर्जा उपलब्ध गराएको छ । कतिपय ठाउँमा महिलाले ऋण लिएर व्यवसाय सुरु पनि गरिसकेका छन् ।

विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलताको विकासका लागि महिला, गरिब र पिछडिएका वर्ग समुदायको सहभागिता बढाउन त्यति सजिलो छैन । छरिएर रहेका वर्ग समुदायलाई संगठितरूपमा विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलतामा लगाउन संगठित संस्थाले मात्रै सक्दछन् । सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम लागू भएका ठाउँमा गठन भएका सामुदायिक संस्थाहरूबाट नमुनाको रूपमा यसलाई कार्यान्वयन गरेर हेर्न सकिन्छ । त्यस्तै गाउँ–गाउँमा गठन भएका सहकारी संस्थाहरूले पनि यो काम गर्न सक्दछन् ।

स्थानीय तहले ती वर्ग समुदायलाई लक्षित गरी कार्यक्रम तर्जुमा गर्ने र त्यसलाई ती सामुदायिक वा सहकारी संस्थामार्फत कार्यान्वयन गर्ने संयन्त्र विकास गर्न सकिएमा विद्युत्को उत्पादनमूलक परिप्रयोग र उद्यमशीलताको विकासका लागि प्रभावकारी रूपमा महिला, गरिब र पिछडिएका वर्ग समुदायको सहभागिता बढाउन सकिन्छ । यस किसिमको सहकार्यले चाँडो नतिजा दिन सक्दछ ।

हरित तथा समावेशी ऊर्जा कार्यक्रमको कार्यान्वयन भौगोलिक विविधताका कारण नेपालको दुर्गम क्षेत्रहरूमा विद्युतीकरणका लागि राष्ट्रिय प्रशारण लाइन विस्तार गर्न कठिनाइ रहेको छ । त्यहाँका मानिसहरू अझै पनि स्वच्छ ऊर्जाको पहुँचबाट वञ्चित रहेका छन् । नेपालमा विभिन्न खाले नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना भएता पनि हालसम्म कुल ऊर्जा खपतको लगभग तीन प्रतिशत ऊर्जा नवीकरणीय स्रोतबाट आपूर्ति भइरहेको छ, त्यसको विपरीत, कूल ऊर्जा खपतको करिब ८५ प्रतिशत उर्जा परम्परागत जैविक ऊर्जा स्रोतबाट आपूर्ति भैरहेको छ । तसर्थ, नेपालमा ऊर्जामाथिको परनिर्भरतालाई कम गर्न र राष्ट्रिय प्रशारण लाईन नपुगेको ठाउँहरूमा ऊर्जाको पहुँच पु-याउन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन र उपयोगमा जोड दिन आवश्यक देखिन्छ । यसका लागि इनर्जिया/हिभोस नेदरल्याण्डसको आर्थिक र ग्रामीण प्रविधि केन्द्रको नेतृत्वमा विभिन्न संस्थाहरूसँगको सहकार्यमा हरित तथा समावेशी ऊर्जा कार्यक्रम कार्यान्वयन गरिएको छ ।

यस परियोजनाको मुख्य उद्देश्य विपन्न, महिला, सिमान्तकृत समुदायको घरायसी/उत्पादनमूलक ऊर्जाको आवश्यकता परिपूर्ति गर्न, वित्तीय संस्था, निजी क्षेत्र तथा अन्य साझेदार संस्थाहरूको सहयोगमा, समावेशी ऊर्जा प्रणालिको विकास तथा प्रवर्द्धन गर्नु रहेको छ । २०७३ कात्तिकदेखि २०७७ जेठसम्म कार्यान्वयन हुने यस कार्यक्रम हाल गुल्मी, पाल्पा, नवलपुर, सिन्धुली, उदयपुर र काभे्र सञ्चालन गरिएको छ । यस कार्यक्रमले हरित, समावेशी तथा जवाफदेही ऊर्जा, प्रवर्द्धनमार्फत् सबैलाई ऊर्जामा पहुँच पु-याउनका लागि प्राविधिक तथा वित्तीय सवालहरूलाई सम्बोधन गर्न ऊर्जा नीतिहरूको तर्जुमामा जोड दिएको छ ।

सबैका लागि दिगो तथा खाना पकाउन सबैका लागि दिगो ऊर्जा अभियानमा सहयोग पु-याएको छ । यसले सबैका लागि दिगो ऊर्जा क्रियाकलाप चक्रमा लैङ्गिक उत्तरदायी सवालहरू एकीकृत गर्नका लागि पैरवी गर्नु र नागरिक समाज संस्थाहरूमा कार्यदक्षता र प्रभावकारी रूपमा लैङ्गिक सवालहरूको सम्बोधनसहित ऊर्जा परियोजनाहरू कार्यान्वयन क्षमताको अभिवृद्धिमा जोड दिएको छ ।

कार्यक्रमले ऊर्जामा लैङ्गिक, सामाजिक समावेशीताको आधारमा स्वच्छ ऊर्जामा सबैको पहुँच वृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय तहका लक्षित सरोकारवालाहरूको सचेतना अभिवृद्धि गर्ने, ऊर्जामा लैङ्गिक समावेशी नीति तथा एकीकृत योजना निर्माणका लागि पैरवी र वकालत साथै सम्बन्धित निकाय, नागरिक समाज संस्थाहरूको क्षमता गर्ने, स्थानीय नगर/गाउँपालिकाहरूको नीति तथा वार्षिक कार्ययोजनामा उपभोक्तामैत्री स्वस्छ ऊर्जा प्रवर्द्धनका योजनाहरू समावेश गर्नका लागि प्रोत्साहित र पैरवी गर्ने, घरभित्रको धुवाँले वातावरण तथा मानव स्वास्थ्यमा पार्ने प्रतिकुल असरहरूको बारेमा विभिन्न स्तरमा सचेतीकरण र समुदायमा यसका निराकरणका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरूको क्षमता अभिवृद्धि र परिचालनका लागि पैरवी गर्दै आएको छ ।

यसैगरी घरायसीबाहेक, ऊर्जा महिलाहरूको आर्थिक सशक्तीकरण गर्न उत्पादनमूलक/आयमूलक कार्यमा उपयोग गर्न प्रोत्साहित गर्ने र लगानी व्यवस्थापनका लागि वित्तीय संस्थाहरूलाई ऊर्जा क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने तथा ऊर्जामा लैङ्गकि, सामाजिक समावेशीता र सबैमा पहुँच विस्तार गर्न विद्यार्थीहरूमार्फत उपभोक्ताहरूको जानकारी अभिवृद्धिका लागि पाठ्यक्रम विकास, विद्यार्थीहरूको सचेतीकरण तथा शिक्षकहरूको क्षमता अभिवृद्धिमा थुप्रै कामहरू भएका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्