Techie IT
६ असोज २०७८, बुधबार

कोरोना रोकथाममा स्वास्थ्य संस्थाको भूमिका


आजको सन्दर्भमा अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने सार्वजानिक अस्पतालहरूमा सेवाप्रवाहको गुणस्तर र सेवाग्राहीहरूको विचारलाई समेत विश्लेषण गर्नु आवश्यक भएको छ । वर्तमान सन्दर्भमा कोरोना भाइरसले विश्वमा करोडौँ मानिस प्रभावित र करिब सात लाख ३४ हजार दुई सय ४७ जना मानिसको मृत्यु भइसकेको छ । यस लेख लेख्दासम्म नेपालमा २२ हजार नौ सय ७२ जनामा कोरोना पुष्टि भइसकेको छ भने ७५ जनाको मृत्यु भइसकेको छ । ठूला शक्तिशाली राष्ट्रमा पनि यस भाइरसले ठूलो क्षति पु¥याएको छ जस्तैः अमेरिका, ब्राजिल, भारत, रसिया, इटली आदि । यस कोरोना भाइरसको प्रभाव परी हाम्रो देश नेपाल पनि उच्च जोखिममा परेको छ ।

नेपालमा अति आवश्यक स्वास्थ्य सेवाको भौतिक पूर्वाधार तथा उपकरण आवश्यक मात्रामा छैनन् । भएको पनि उचित प्रयोग हुन सकेको छैन । भौतिक पूर्वाधार जेनतेन चले पनि निहित स्वार्थको कारणबाट सम्बन्धित उपकरणहरूको व्यवस्थापन ज्यादै नाजुक छ । सो कार्य संघ, प्रदेशले स्थानीय तहमा आजसम्म आवश्यक मात्रामा पु¥याउन सकेका छैनन् र स्थानीय सरकारले पनि स्वास्थ्य उपकरणहरू आवश्यक मात्रामा व्यवस्था मिलाउन सेकेको पाइँदैन । सो कुराको प्रमाणीकरण अस्पतालका स्वास्थ्यकर्मीबाट प्रस्टरूपमा सञ्चारकर्मीमार्फत बाहिर आइरहेको छ । साँच्चै नै भन्नुपर्दा स्वास्थ्यकर्मीलाई कोरोना भाइरस रोकथामको लागि चाहिने उपकरण एवं आवश्यक दक्षता ज्यादै न्यून छ । सोसम्बन्धी आवश्यक उपकरण तथा तालिम नदिई सो भाइरसको उपचार गर्न भन्नु, कुनै लडाइँ लड्न सैनिकलाई बिनाहतियार लडेर विजय हासिल गर्नू भनेजस्तै हो ।

सात अस्पताल चार्दाचार्दै मृत्युको समचारले कोरोनाबाट नागरिकलाई जोगाउने संवेदनशीलता प्रस्ट हुन्छ । लकडाउन हटेपछि, हटेका दिनहरूमा कोरोना संक्रमण दर तीव्र भएको छ । परीक्षणको दायरा बढाएर, भेन्टिलेटरसहितका कारोना अस्पतालको संख्या बढाउनुपर्ने माग भए पनि सरकारले आवश्यक व्यवस्था मिलाउने व्यवस्थातिर नलागी आँफैभित्र कुर्सीको खेलमा लागेको छ ।

बिरामीको उपचार सरकारी अस्पताल तथा निजी अस्पतालहरूले हेलचेक्य्राइँ गरे कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सहज हुँदाचाहिँ जनतालाई चर्काे मूल्यमा स्वास्थ्य सेवा दिएर पैसा कमाउने अनि महामारीको बेलाचाहिँ बिरामीको वास्तै नगर्ने, त्यस्ता निजी अस्पतालहरूलाई आवश्यक कानुनी दायरामा ल्याउनु आवश्यक छ । स्वास्थ्य सेवा लिने बिरामीहरू आफू सम्पर्कमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीद्वारा कुन किसिमबाट व्यवहार गरिएको छ । अति आवश्यक स्वास्थ्य सेवा र तत्कालको वातावरणले पनि बिरामीमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ ।

स्वस्थ्य संस्थामा सेवा प्रवाह र सेवा प्रवाहको वातावरणलाई पनि महत्वका साथ लिनुपर्दछ । स्वास्थ्य सेवाबाट देखिएका असर बिरामीको रोग निराकरणको लागि स्वास्थ्यकर्मी सधैँ नै सकारात्मक हुनुपर्दछ । बिरामीप्रति अस्पतालले गुणस्तरीय सेवा, मित्रवत व्यवहार र बोलीचाली नै बिरामी सन्तुष्टिको प्रमुख कडी हो । गुणस्तर सेवाको लागि आवश्यक उपकरणहरू स्वास्थ्य संस्थामा उपलब्ध हुनुपर्दछ ।

आजको कोरोना भाइरसको सन्दर्भमा उपलब्ध गर्नसक्ने उपकरण पनि सम्बन्धित निकायले उपलब्ध गराउन सकेको छैन र उपलब्ध गराउने प्रयास पनि निहित स्वार्थमा अल्झी खरिद कार्यमा नै प्रश्न उठेको छ । नेपाल सरकारको सार्वजनिक अस्पतालमा अति आवश्यक स्वास्थ्य सेवा बिरामीहरूलाई उपयुक्त ढंगबाट गुणस्तर, शिष्ट र नम्र व्यवहार सम्बन्धित बिरामीको अधिकार नै सबैभन्दा महत्वपूर्ण पक्ष हो, जुन स्वास्थ्य उपकरणको कमीका कारण नारामा मात्र सीमित भएको छ ।

राजधानी काठमाडौँमै रहेको सरकारी अस्पतालमा समेत आवश्यक उपकरणको कमी हुँदा पनि सरकारले सो समस्या स्थायीरूपमा हल गर्ने खासै योजना नल्याई अति आवश्यक स्वास्थ्य सेवा र अस्पतालको अस्तित्व र पहिचान संकटमा परेको छ । सोकारणले अस्पतालमा अति आवश्यक सेवा लिन आउने सर्वसाधारण जनताको जीवन थप कष्टकर बनाएका छन् । ठूलो धनराशि लगानी हुँदा पनि सहजरूपमा अस्पतालमा आवश्यक उपकरणको उचित यवस्थापन गर्न नसक्नु कसको कमजोरी त ?

सरकार, कर्मचारी र सम्बन्धित निकायहरू आदि कुराको निर्क्यौल गरी त्यसको जवाफ नेपाली जनतालाई दिने बेला आएको छ किनभने अति आवश्यक गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धतामा अवरोध हुनु ठूलो खेलवाड हो । यस्तो समस्या आउनु ज्यादै दुःखको कुरा हो । अतः राजधानी र देशका अन्य स्थानमा सर्वसाधारणको जनस्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी छिटोभन्दा छिटो आवश्यक उपकरणको उचित व्यवस्था गराई कोरोना भाइरसको उचित रोकथाम गर्नु समयको माग थियो । यो माग पूरा गर्न नसक्दा स्थिति भयावह हुँदै छ ।

कोरोना भाइसरको महामारीको रोकथाम गर्नु महत्वपूर्ण पक्ष हो । प्रत्यक्ष जनसरोकारका लागि जिम्मेवारी पाएका सरकार, तथा अस्पताल स्वास्थ्यकर्मीको रवैयामा अस्पतालको छवि निर्भर गर्दछ । स्वास्थ्य संस्थाले गुणस्तरीय स्वास्थ्य सेवा दिई बिरामीसँग नम्र र मित्रवत हुनु जरुरी छ । बिरामीको सन्तुष्टिले गुणस्तरीय सेवा उत्पादन, सेवा प्रवाह र सेवा प्रवाहको वातावरणमा सकारात्मक सम्बन्ध राख्दछ ।

नेपाल सरकारले यस विषयमा गाम्भीरताबारे विचार हुन जरुरी छ । प्राय स्वास्थ्यकर्मीमा मुख्य यी कुराले प्रभावित भएका हुन्छन् । उपकरणको अभाव, राजनितिक भागबन्डा, अविस्वासको वातावरण–एकले अर्कोलाई विश्वास नगर्नु र आफूबाहेक अरु सबै ठग, चोर र असक्षम छन् भनी ठान्नु ठूलो गलत सोचाइ हुन पुगेको छ । यस्तो वातावरणले गर्दा काम गर्ने स्वस्थ्यकर्मीको मनमा पनि अन्ततः काम नगर्ने भावना सिर्जना हुनगई अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहमा ठूलो असर पर्नगएको देखिन्छ ।

सही मूल्याङ्कन नहुनु–कुनै पनि कामको वा मानिसको सही मूल्याङ्कन गर्ने गराउने अर्थात् हुने वातावरण भएन । मूल्याङ्कनकर्ताले राजनीति आस्थाको आधारमा भरसक कसैको भनाइ सुनेर मूल्याङ्कन गर्ने परिपाटी बसालिएको छ । जसले गर्दा काम गर्ने मानिसमा नैराश्यको भावना जागरण गराई काम नगरे पनि हुने हो कि भन्ने सोचाइमा अभिवृद्धि हुँदै गएको पाइएको छ ।

उपरोक्त बुदाहरू एवं कमीकमजोरी अति आवश्यक स्वास्थ्य सेवामा सेवामा कोरोना भाइरस हो । यो भाइरसलाई निर्मूल गर्न धेरै कठिन भए पनि समयमा उचित उपकरणबाट दक्ष सेवा दिई कोरोना भाइरसको पहिचान गरी रोकथाम गर्न सकिन्छ । यसको लागि बिरामी र स्वास्थ्यकर्मीको भूमिका उत्तिकै महत्वपूर्ण छ ।

उपलब्ध भौतिक सुविधाहरूको मर्मतसम्भार गरी बिरामीअनुकूल हुनेगरी सुधार गर्न जरुरी छ । अस्पतालले जनचाहनाअनुरूप विश्वास संग्रह गर्नुपर्छ । असल स्वास्थ्यकर्मी सबै स्वास्थ्य संस्थाका लागि सधैं जरुरत छ जसले अति आवश्यक स्वास्थ्य सेवालाई पनि अभिप्रेरणा दिन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेको बिरामीले स्वास्थ्यकर्मी तथा अस्पतालको स्वास्थ्यसेवाको प्रचारप्रसार गर्छ ।

बिरामी र स्वास्थ्यकर्मीको बोली नै अस्पतालको विज्ञापन हुन जान्छ र नयाँ स्वस्थ्य सेवा लिने सर्वसाधरणलाई आकर्षित गर्न सजिलो हुन्छ । शिष्ट, नम्र व्यवहार रगुणस्तरिय सेवा सबैको अधिकार एवं अस्पताल सेवामा सेवा प्रदायकको गहना हो । माथिको तथ्यको आधारमा अति आवश्यक स्वास्थ्य सेवा कस्तो छ भन्ने कुरा कुन मापदण्डमा छ स्वत प्रमाणित हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालहरू आफैँ स्वास्थ्य (भौतिक पूर्वाधार, आवश्यक उपकरण, दक्ष जनशक्ति र वातावरणमैत्री) हुनपर्दछ । सरकार, मन्त्रालय, विभाग निहित स्वार्थमा लाग्नु हुँदैन । आजको भयावह कोरोना भाइरसको उपचार सेवा प्रदान गर्दा गुणस्तरलाई ध्यानमा राख्नु र बिरामीहरूको विश्वास सधैं प्राप्त गरिराख्नु भनेको अस्पतालहरूका लागि आफ्नो दीर्घकालीन स्वच्छ वातावणीय सोच र गन्तव्यमा पुग्ने स्वास्थ्य सेवाको मुख्य बाटोलाई सहज बनाउनु हो साथै नेपाली जनताको विश्वास जित्नु हो ।

स्वास्थ्य सेवामा थपिएका नौला आयामहरूमा आफूले प्रवाह गरेको सेवाबारे सरोकारवाला बिरामी समूहको के–कस्तो अवधारणा छ, लक्षित समुदायले कसरी सेवा लिइरहेको छ भनी समय समयमा अनुगमन र मूल्यांकन गर्नु अत्यन्त जरुरी छ । सो अनुगमन र मूल्यांकनको आधारमा सुधार गरी स्वास्थ्य सेवा निहित स्वार्थरहित बनाउन सक्नुपर्दछ तब मात्र हालको भयावह स्थितिको रोकथाम गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्