Techie IT
९ असार २०७८, बुधबार

के हामी साँच्चै कृषिप्रधान देश हौँँ त ?


काठमाडौं ।
रातोदिन पदका लागि एकआपसमा लडिरहेका र बैरी बन्दै गएका प्रचण्ड र केपी ओलीलाई नेपालमा धान उत्पादनका बारेमा कति थाहा छ होला ? यिनीहरूको राजनीतिक कारखानामा उत्पादन हुने कार्यकर्ताहरु यो राज्यका लागि कति उपयोगी सिद्ध भएका छन् कसैले गम्भीर भएर सोचिरहेको होला त ? हामी आफूलाई कृषिप्रधान देश भनेर एकातिर भन्छौ अर्कोतिर भारतबाट टनका टन धान आयात गरिरहेका छौँ ।

कृषि उत्पादनका सबै सामग्रीहरु नेपालमा बन्दैनन् । मल उत्पादनका लागि राज्यस्तरबाट पहल हुन सकिरहेको छैन । अबका दिनमा भारतबाट आयात हुने धान बन्द गर्नुपर्छ र धान उत्पादनमा नेपाललार्ई आत्मनिर्भर बनाउनेतर्फ प्रयास गर्नुपर्छ । जबसम्म धानको आयात रोकिन्न तबसम्म नेपालीको खेत बाँझै रहने अवस्था रहन्छ । लाहुरे संस्कृतिको विकासले नेपालको कृषि उत्पादनमा ह्रास आइरहेको छ । लाहुरे संस्कृति र कृषि उत्पादन आयात बन्द गर्न सकियो भने बल्ल नेपालको जमीन बन्जर हुनबाट रोकिनेछ ।

१६ अर्बको चामल आयात गर्दा लाज मान्नुस् कि नेपालीहरु कति भात खादा रहेछन् भनेर । के भारत बिना हाम्रो आर्थिक समृद्धि सम्भव छैन र ? नेपाली कृषिकले तरकारीमाथि डोजर लाएको खबरले तपाईंको हिर्दय रोएको छैन ? फेरि भारतबाट तरकारी आउन प्रतिबन्ध किन लगाउनु हुन्न ? नेपाली कृषकले रुँदै दुध सडकमा पोखेको देख्नुहुन्न ? फेरि किन भारतबाट आउने दुध र दुग्धजन्य पदार्थमा रोक लाउनु हुन्न ? सबै कुरा भारतबाट किनेकै कारण हो भारतले हामीलार्ई हेपेका चेपेका । भारतबाट लिन छोडेको दिन नेपालीहरुको स्वाभिमानको शिर अवस्य उँचो हुनेछ ।

हामी आफैँ बाच्ने किन कोसिस गर्दैनौँ ? नेपाली नेताले मन्त्री खान पनि भारतलार्ई नै हारगुहार गरिरहेको आजको बिग्रेको परिवेशमा हाम्रा भूण्मिहरु हाम्रा सीमाहरु यही कारणले मिँचिदै गएका छन् । भारतसँगको परनिर्भरताको अब अन्त्य हुनुपर्छ अनि मात्रै नेपालीको भाग्यमा आत्मनिर्भरता र आत्मनिर्णयको सुनौलो घाम लाग्नेछ । यो देशमा परिवर्तन आयो भनेर हाहाकार गरेर हल्ला गर्नेहरूले भारतसग कति सहयोग थापे त्यसको लेखाजोखा भोलि इतिहासले गर्ने नै छ ।

परिवर्तन तिनैलाई मात्रै आएको थियो जो यो देशमा परिवर्तन कहिल्यै चाहँदैनथे ! रोल्पेलीको आगनमा खुसी छाडिएका छैनन् । जुम्लेलीको आखामा उस्तै छ भोकको आँसु र निराशाको शोक गीत उही पाराले बजिरहेको छ । पाँचथर हाङपाङ हायुको व्यथा उस्तै छ । ऋण गरेरमात्र चाड मनाउन पाउँछन् तिन्ले । केही कमाउन लाहुरे नै हुनुपर्ने । दरवानी नै हुनुपर्ने अवस्था आज पनि उस्तै छ । हिजो पञ्चायतकालमा इन्डियन आर्मीमा भर्ती हुन भनेर नेपाली युवाहरूलार्ई गल्लुवालले चक्रपथमा रगत छाफुन्जेल उफ्राएको दौडाएको यही आँखाले देखेको थिए र आज पनि त्यही दृश्य देखिरहन्छु । हिजो बृटिस आर्मीमा भर्ती हुन तँछाडमछाड थियो आज त झन् लाहुरेको महत्व बढेर गएको छ । हाम्रो देशमा परिवर्तन आएको भए किन लाहुरेहरुको इज्जत यति धेरै दिनदिनै बढेर जान्थ्यो होला र ? लाहुरेमा भर्ती हुने प्रथा कायम नै छ ।

परिवर्तन यति भएको हो कि पहिला गाउँलेको परियार दाइले काँधमा कल बोकेर आफूले कमाएका बिष्टहरुको घर घरमा गएर लुगा सिउँथे आज आफ्नै घरमा टेलर खोलेका छन् । हिजो लुगा सिउने आज पनि त्यही लुगा सिउदै छन् । पेसा परिवर्तन भएको छैन मात्रै काम गर्ने शैली र ढंग परिवर्तन भएको छ । साना व्यावसाय गर्नेको बरु विचार परिवर्तन भए तर ठूलो नेता भन्नेहरूको दिमाग पुरातन ढंगमै चलिरहेको छ आजसम्म पनि । लोकतन्त्रको दियो सधैं बलिरहोस् । लोकतान्त्रिक शासन व्यावस्थाको अरु कुनै दोस्रो विकल्प छैन र नहोस् पनि । हामीले चाहेको हामीले रोजेको शासन पद्धति यही हो । तर जनता खुसी रहे मात्रै हो कुनै पनि शासन व्यवस्थाले स्थायित्व पाउने । जनताको खुसीमा नै निर्भर छ सरकारको आयु र शासन व्यवस्थाको भविष्य । जनताका लागि सरकार नै अभिवावक हो ।

सरकार नै दुःख बिसाउने स्थान हो । सरकारसँगै हो जनताले असन्तुष्टि पोख्ने पनि तर असन्तुष्टि पोख्यो भनेर उसलार्ई थुन्ने धम्क्याउने हतकडी लगाउने हिँड्न् डुल्न र उसको आवाज समेतलाई बन्देज लगाउने काम लोकतान्त्रिक सरकारले गरेको सुहाउँदैन । हिजो लोकतान्त्रिक पक्षधरलार्ई मारेको थियो निर्दयी पञ्चायत शासन व्यवस्थाले फेरि त्यही सिको आजको सरकारले पनि गरिरहने हो भने नेपाली जनताले परिवर्तनको अनुभूति कहिले गर्ने त ? सबैलार्ई श्रीपेच लगाउने रहर रहेछ भन्ने कुरा आजका नेताका आनिबानीले देखाइसकेको छ ।

सबैसँग सबैको विचार मिल्दैन । मिल्नुपर्छ भन्ने जरुरी पनि छैन । विचार आ–आफ्नै हुन्छन् । सोच भिन्न हुनुपर्छ । भिन्न सोच र चिन्तनको उपज नै हो आजको विकसित एक्काइसौँ सताब्दीको सघन यो रुप । एकै सोचको ऐजेरुमा फूल्ने फूलहरु राम्ररी फक्रदैनन् । सोच जसले जस्तो राखे पनि देशको समृद्धिका लागि सबै नेपाली एक हुनुको विकल्प छैन अब । लोकतान्त्रिक विचारधारा भन्दा अर्को धारणा राख्नेलाई पनि सम्मान दिन सक्नु वा सम्मान गर्नु त्यो चाहिँ सबैभन्दा विकसित लोकतन्त्रको रुप हो ।

एउटा कुरा हामीले हेक्का राख्नु जरुरी छ कि सबै समान कोही कहिले हुन्नन् । कुनै पनि युगमा अपार समानताको परिव्याख्या हुन सकेको छैन । पाँच हजार वर्षअगाडि धर्मको नाश भयो भनेर अवतार लिने श्रीकृष्ण युगमा पनि सबै प्राणीमा समभाव थिएन । कृष्णले समानताको राज्य सस्थापन गर्नकै लागि महाभारत युद्ध रचना गरे । हिजो राम राज्यमा पनि समानताको कुरा छेउ लागेकै हो । लोक के चाहन्छ भन्ने कुरालाई गौण मानियो र शासकहरु आफ्नो इच्छाअनुसार चल्न थाले भने तिनले आफ्नो इतिहास विगार्छन् ।

तिनै राम हुन्, जसले आफ्नो भक्त सबरीको जुठो बयर पनि खाए अनि तिनै राम हुन् आफ्नै सीताको पतिब्रतामा शंका लागेर आगोमा होमिन पनि बाध्य बनाए । यो लोकको लाज राखिदिनाका लागि थियो । त्यसैले हामीले इतिहासदेखि नै भन्दै आयौँ कि लोक सम्मतिको आधार नै प्रजातन्त्रको मुटु हो । संविधान मात्रै त केवल कोरा दस्ताबेज हो जतिबेला जनता दुःखी हुन्छन् । जनता सुखी र खुशी हुने संविधानका अनेक धारा र उपधाराले होइन । जनता खुसी हुने आधार त सरकारले प्रत्याभूत गरेको जनप्रीय कामले हो । जवसम्म सरकारले जनप्रिय काम गरिरहन्छ तबसम्म लोकतान्त्रीकरणको नुतन धाराहरु अवलम्बन भइरहन्छ । समाजमा सम्मानित भएर बाच्न चाहन्छन् आजको हरेक मान्छे । त्यो सम्मान सहरमा सेयरमूल्य बढेर होइन जुम्लेलीले हुम्लेलीले भरपेट भात खान पाउँदामा मिल्छ ।

सहरमा मात्र सम्पन्नताको दियो बालेर लोकतन्त्रको स्थायित्वको सम्भावना नहोला । भूमिहीन कृषकसम्म राज्यको आँखा पुगेको खण्डमा लोकतन्त्रको दियो सदाझैँ बलिरहनेछ । सेयर दलालको पुँजी डुबानको चिन्तामा होइन गरीब गाउँलेका घर डुबानमा चिन्तित हुनुपर्छ अबका दिनमा यो देशका नेताहरूले र भारतविनाको आर्थिक समृद्धि वा आयातविना उठेको राज्यको कर अर्थात निर्यातमा उठेको राजस्व जति छ त्यस्मा राज्यले गर्भ गर्नुपर्ने हुन्छ । करोड मूल्यका गाडी झिकाउँदा उठेको पाँच सय प्रतिशत करमा राज्यले कहिले गर्व नगरोस् । यसपछिको आर्थिक सामाजिक राजनीतिक र वातावरणीय असरको पनि ख्याल राख्ने हो कि ?

नेपाली समाजमा जवसम्म लाहुरे संस्कृति हट्दैन तबसम्म गुलामी र परनिर्भरताको खेती चलिरहन्छ । आज पनि हजारौँ नेपाली युवा भारतीय सेनामा भर्ती भएर भारत भूमिको रक्षार्थ खटिरहेका छन् । कतिपय नेपालीहरु नेपाल भारत सीमा चौकीहरुमा भारतको पक्षमा खबरदारी गरिरहेका छन् । आफ्नै भूमिको सीमा अतिक्रमण भएको टुलुटुलु हेरिरहेका छन् । नेपालको इतिहासमा लाहुरे संस्कृतिको सुरुवात पृथ्वीनारायण शाहकालीन समयको अन्त्यपछि नै सुरुवात भैसकेको थियो ।

सिंगो भारतमाथि बेलाइतीहरुले उपनिवेश स्थापना गरेपछि भारत नेपालको सिमानासम्म अग्रेज सरकारले हस्तक्षेप गरेको कयौँ उदाहरणहरु छन् । नेपालका कयौँ किल्ला र कागडाहरुलाई जोगाउन अग्रेजहरुसँग वीरताको साथ लडेका नेपालीहरुले देखाएको अदम्य साहसलार्ई परख गरी हेरिरहेका थिए फिरिंगीहरुले । विक्रम सम्बन्ध १८३१ माघ १ गते पृथ्वीनारायण शाहको देहावसानपछि राजगद्दीमा बसेका प्रतापसिह शाह थोरै समय मात्रै बाचे र उनले नेपाल राक्ष्ट्र एकीकरण अभियानमा खासै बहादुरिता प्रदर्शन गर्न नसक्नु र उनी पछि बहादुर शाहा र राजेन्द्र लक्ष्मीले नेपालको सिमाना विस्तार गरे ।

अझै विस्तृतरूपमा भन्नुपर्दा राजेन्द्र लक्ष्मीलेबहादुर शाहलार्ई चार चार पटकसम्म नजरबन्द नगरेको भए र प्रतापसिंह शाहको देहावसानपछि तत्कालै बहादुर शाहलार्ई भारतको बेतीया निर्वासित नगरेको भए नेपाल आजको भन्दा अझै व्यापक र विस्तृत हुन्थ्यो । देवरभाउजूबीचको वैमनस्यता, अविश्वास र खिचातानीका कारण नेपाल जति फैलनु पर्ने थियो त्यति फैलन सकेन । शाहवंसीय इतिहासमा भाइभारादारबीचको लडाइँ झगडा त्यतिबेलादेखिकै रोग थियो । त्यतिबेलादेखि सुरुभएको रोग १८३१ देखि २०५८ सम्म २२७ वर्षमा राजा वीरेन्द्रको वंशनाशमा आएर टुंगियो । वास्तवमा नेपालीका छोराछोरीलार्ई विदेशी भूमिमा रोजिरोटीका लागि जानुपर्ने विवसताको पछाडि नेपाली शासकहरु नै जिम्मेवार छन् ।

खास गरेर भारतसगको त्यतिबेलादेखिको छिमेकी सम्बन्धका कारण पनि यो क्रम रोकिएन । नेपालका भाइभारादारहरुले निर्वासित जीवन बिताउने स्थान भनेकै भारत थियो । राजालार्ई आफूले मन नपरेको भारदार देश निकाला गर्नी भनेको भारत पठाउने हो । भारतको निर्वासित जीवनमा पुगेका प्रायः सबै भारदारले नेपालका लागि उतैबाट राजनीति सुरुवात गर्दथे ।

इतिहासका गजराज मिश्रदेखि २०३६ सालमा मेलमिलापको राजनितीक संदेश लिएर मुलुक फर्किने बिश्वेश्वर प्रसाद कोइराला सम्मले यो भुमिका निर्वाह गरेका छन् । त्यतिबेला देखी सुरु भएको हो हामी नेपालीको भारतसगको आदीय गुलामी । गुलामी भन्नुस् वा भारतसँगको हाम्रो प्राचीन सम्बन्ध । हाम्रो राजनीतिक आर्थिक सामाजिक भौगोलिक सास्कृतिक लाहुरेपन भारतसग यसरी प्रगाढ रह्यो कि भारतविना नेपालीले केही सोच्न सकेकै छैन आजको दिनसम्म । अब त्यस्तो दिन आउँदै छ कि भारतविना नै हामी बाँच्न सक्नुपर्छ । चामल मात्रै वर्षको १६ अर्बको किनेर खान्छौँ हामी भारतसँग । हामीले आफूलाई कृषिप्रधान देश नभनेको भए हुन्थ्यो बरु । हामी भारतबाट नुनदेखि चामलसम्म तरकारी पेट्रोलदेखि गाडीसम्म आयात गर्छौँ ।

हाम्रो राजस्व आयातमुखी छ निर्यात मुखी होइन । त्यो दिन कहिले आउँला कि हामीले भारतलार्ई चामल निर्यात गरेर राजस्व संकलन गर्ने । राजस्व उठाउने नाउँमा हाम्रो सरकारले भारतबाट जति पनि गाडी आयात गर्न दिन्छ नेपालका व्यापारीहरुलाई । आयातमुखी बजेट निर्माण गरेर कुनै पनि सरकारले मख्ख हुनुपर्ने कारण छैन । सरकारले कर उठाउँदा कुनै गर्व गर्नुपर्ने काम छैन । हाम्रो पैसा कति भारत गैरहेको छ र जति धेरै गाडी आयात त्यति धेरै पेट्रोलियम पदार्थको फेरि अर्को आयात र नेपालको वातावरण कति विनास हुन्छ भन्ने कुरा सरकारले कहिले हिसाब राख्न सकेन ।

आयात करमा राज्यले कहिले गर्व नगर्नु किनभने हाम्रो सिंगो पुँजी विदेश पलायन भएको कुरा एउटा दुःखद पक्ष हो । पेट्रोल आयात हुन्छ यहाँ धुवाँ बनेर सकिन्छ । गाडी आउँछ थोत्रो कबाडी भएर सकिन्छ । चामल आउँछ भात खाएर सकिन्छ । जाँदा डलर जान्छ र आएका चिजहरु विधिवत नाश हुन्छन् । हामीले भारतबाट चामल किन्न बन्देज लगाउने हो भने हाम्रो भूमिहरु आज बाँझो रहनबाट जोगिन्थे । तरकारी आयात गर्न बन्देज लगाउने हो भने नेपालीले आफ्नो लागि चाहिने तरकारी आफैँ उत्पादन गर्थे भारतबाट विषादी हालेको तरकारी खानुपर्ने बाध्यताको अन्त्य हुन्थ्यो । महँगो मूल्यका गाडीहरु आयातमा रोक लगाउने हो भने रेमिटान्सबाट भित्रिएको अमेरिकी डलर फेरि भारतलार्ई बुझाउनु पर्दैनथ्यो । ढिलो चाडो नेपाली आफैँले गाडी उत्पादनतर्फ सोच्थे ।

राज्यले नै नेपाली जनतालार्ई आत्मनिर्भर बन्न दिएन । निर्यातलार्ई प्रोत्साहन दिनुहोस् आयातलार्ई हतोत्साहित गर्नुस् सरकार अनि मात्र नेपाली जनता कृषि कर्ममा लाग्छन् । अहिलेको कोरोनाको महामारीले पनि हामीलार्ई त्यही सिकाइरहेको छ । कसैसँग नजिक नहुनुस् । आफ्नो लागि चाहिने सामान्य सामान कमसेकम आफैँ त उत्पादन गर । चामल, दाल, दुध, फलफूलमा त कमसेकम आत्मनिर्भर होऔँ । सियोदेखि दियोसम्म भुटुनदेखि लुगाफाटोसम्म अरुबाट कत्ति किनेर खाने ? दुई सय ३० वर्षदेखि भारतकै गुलामी भए छौँ हामी । अब सोचौँ कमसेकम चामल त भारतबाट आयातमा रोक लगाऊ सरकार । केही दिन भोकै परे केही छैन । एक दिन त परनिर्भर हुनुपर्ने दिनको अन्त्य होला ।

हामीले कसैसँग केही लिइरहेका छौँ वा कसैको केही खाइरहेका छौँ भने हामीलार्ई दिइरहनेले अवश्य नै हेप्छ । उसको हेपाइलाई हामीले चुपचापले सहनुको विकल्प पनि छैन । यदि त्यो हेपाइबाट मुक्त हुने हो भने उसको हातमाथि राख्न बन्द गर्ने । आयातकै करका भरमा खरबका बजेट बढाइरहनुको औचित्य छैन । बजेट सानो आकारमा बनाउनुस् तर निर्यात बढाउनुस् । आयात घटाउनुस् । निर्यात गर्दा उठेको करमाथि गर्व गर्नुस् अर्थमन्त्रीज्यू ! १६ अर्बको चामल आयात गर्दा लाज मान्नुस् नेताहरु ! तपाईहरु केवल पार्टीकै झगडामा पदका लागि कुस्ती लडिरहनुहुन्छ अनि देशले कसरी काँचुली फेर्न सक्छ ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्