Techie IT
१० असार २०७८, बिहीबार

कोरोनाले सिर्जित गरिबी र बेरोजगारी


काठमाडौं ।
समयसापेक्ष विश्वमा विभिन्न महामारी देखापर्ने गरेको छ । कतिपय महामारी केही देशहरुलाई मात्र प्रभावित बनाएर सकिएका छन् भने कतिपय महामारीले विश्वलाई नै प्रभावित बनाइरहेका छन् । विश्व महामारीको इतिहास हेर्दा कोभिड–१९ भन्दा पनि भयानक महामारी विश्वमा फैलिएको पाइन्छ । यसरी महामारी फैलिँदा मानवीय प्रभाव र आर्थिक प्रभावले विशेष महत्व राख्दछ । मानिसको दैनिक व्यवहार आर्थिक आयआर्जनले निर्धारण गर्दछ । आज विश्वको गतिविधि, क्षमता, व्यवहार आर्थिक स्थितिले मापन गरिरहेको अवस्थामा वर्तमान कोभिड–१९ ले एक्काइसौं शताब्दीको ठूलो आर्थिक मन्दीलाई आमन्त्रण गरिरहेको छ ।

विश्वभरि फैलिएको कोरोना प्रभावबाट विश्व अर्थतन्त्र नै शिथिल बनिरहेको छ । लामो समयसम्म विश्व बन्दाबन्दीले उत्पादनलाई बन्दी बनायो । आम मानिसमा कोरोना त्रास फैलियो, अशान्ति र असन्तुष्टि सृजना भए । आर्थिक क्रियाकलाप ठप्पप्राय भयो । आर्थिक क्रियाकलापका अधिकांश क्षेत्र पूर्णतः बन्द छन् । जुन गतिमा मजदुरहरु काम गरिरहेका थिए कोभिड महामारीले अचानक काममा रोक लगाइदियो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)मा अनुसन्धानकर्ता भएर कार्यरत स्टिमन क्यापसोस भन्दछन् यसअघिको आर्थिक संकटको तुलनामा वर्तमान संकट विल्कुलै फरक छ किन भने यो महामारीले सोझै श्रम बजारलाई हस्तक्षेप गरेको छ । आईएलओको अनुसार– यो अवधिको कामको जति घण्टा बर्बाद भएका छन् त्यो ३० करोड फुलटाइम जागिर बराबर थिए । यस अवधिमा धनीको धन बढ्यो र गरिबको संख्यामा पनि बढोत्तरी भयो । मध्य एसिया र अमेरिकाको कामको घण्टामा १३ प्रतिशतले कमी आएको, निम्न र मध्य आय भएका देशमा कामको घण्टामा बढी नै कमी आएको एक अध्ययनले बताएको छ ।

यस महामारीबाट सबैभन्दा नराम्रोसँग एक अर्ब ६० करोड मजदुर प्रभावित बनेका छन् । नेपालमा पनि बन्दाबन्दीका कारण २० लाख नेपालीको रोजगारी गुमेको छ । विभिन्न क्षेत्रमा गरी विश्वमा लगभग तीन अर्ब ३० करोड मानिस रोजगार छन् । यिनमा पनि अहिले धेरैको काम गर्ने समयावधि घटेर आम्दानी घटिरहेको छ । अधिकांश रोजगारी गुमाउने साना तथा मझौला उद्योगमा काम गर्ने मजदुर रहेका छन् । कोरोन संकटको सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा परेको छ ।

जब अर्थतन्त्रमा बेरोजगारी बढ्छ त्यसले गरिबी अप्रत्यासितरुपमा बढाउँछ । कोरोनाको कारण रोजगारी गुम्दा विश्वमा करिब १० करोड मानिस अति गरिब हुने विश्व बैंकले बताएको छ । अनौपचारिक श्रम बजारका श्रमिक तथा गरिब मजदुरमा यसको असर परेको कारण अधिकांश दरमा गरिबी बढ्ने प्रक्षेपण विश्व बैंकले गरिरहेको छ । विश्वका एक सय ६६ देशमा गरिएको अध्ययनमा सबैभन्दा बढी सर्वहारा अफ्रिकामा २२ दशमलव ६ प्रतिशतले गरिबीमा बृद्धि हुने अनुमान गरिएको छ ।

त्यसैगरी दक्षिण एसियामा १५ दशमलव ६ प्रतिशत, याटिन र क्यारेबियन क्षेत्रमा २ दशमलव ७ प्रतिशत, मध्यपूर्व र दक्षिण अफ्रिकामा २ दशमलव ८ प्रतिशत र पूर्वी एसिया र प्यासिफिकमा ४ दशमलव ५ प्रतिशत गरिबी वृद्धि हुने अनुमान विश्व बैंकको सर्वेक्षणमा देखिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि महामारीको असरबाट मानिसलाई माथि उठाउन नीतिगत असमानता घटाउने कुरामा ध्यान दिन अपिल गरेको छ साथै गरिबहरुको सुरक्षाका लागि थप आर्थिक सहयोग प्रदान गर्नुपर्दछ ।

मानिसको आर्थिक क्रियाकलाप ठप्प हुँदा गरिबीको रेखामुनि रहेका गरिब सबैभन्दा प्रभावित बनिरहेका छन् । यसै कारणले पनि नेपालमा आत्महत्याको दर बढिरहेको छ । हाल नेपालमा औसत १७ जनाले आत्महत्याबाट ज्यान गुमाइरहेका छन् । यसबाट असमानता अभिवृद्धि भएको छ । धनी दिनानुदिन धनी बन्दै जाने र गरिब दिनानुदिन गरिबीतर्फ लागिरहेका छन् ।

नेपालमा ५५ लाख गरिबीको रेखामुनि रहेकोमा कोरोनाको कारण ३४ लाख गरिबीको रेखामुनि धकेलिरहेका छन् । यो लगभग ५ प्रतिशतले बढेको अवस्था हो । गरिबीको रेखामुनि रहेको जनसंख्या १८ दशमलव ७ प्रतिशत मानिए पनि कोरोना कहरसँगै बढेर यो २२ प्रतिशतको हाराहारीमा पुग्ने निश्चित छ । सरकारले दिएको राहत प्याकेजको आधारमा प्रदेश नं १ मा तीन लाख २७ हजार सात सय ३६ परिवार, प्रदेश नं २ मा पाँच लाख ६८ हजार छ सय १४ परिवार, वाग्मती प्रदेशमा तीन लाख ६९ हजार पाँच सय परिवार, गण्डकी प्रदेशमा एक लाख ११ हजार चार सय ७५ परिवार, प्रदेश नं ५ मा एक लाख ८३ हजार नौ सय ६९ परिवार, कर्णाली प्रदेशमा ९३ हजार ९६ परिवार र सुदूरपश्चिम प्रदेशमा एक लाख २७ हजार तीन सय ३८ परिवार अति प्रभावित भएको देखिन्छ । यो गरिबीकै सूचक हो ।

नेपालमा गरिबीको सूचीमा धकेलिइरहेका जनसंख्यालाई क्षेत्रगतरुपमा हेर्दा रेमिट्यान्सबाट धानिएको परिवार बढी प्रभावित, त्यसपछि पर्यटन क्षेत्र रहेको छ । लगभग गरिबीमा धकेलिइरहेका ३० लाख जनसंख्या यसै क्षेत्रमा पर्दछन् । अति प्रभावित परिवारलाई बिहान बेलुकाको हातमुख जोर्न पनि समस्या भैरहेको नेपाली नागरिकहरुको सहयोगी हातमार्फत बिहानबेलुकाको भोक मेटाइरहेका छन् । गरिबको मुक्तिको लागि भन्दै सत्तामा पुगेका नेतृत्व र दललाई भोक भोकै जिउन बाध्य नागरिकको दृश्यले कुनै प्रभाव पारेको छैन ।

कोभिड–१९ ले विश्व अर्थतन्त्रलाई नै खुम्च्याइरहेको छ । यहाँ दीर्घकालीन क्षतिको त अनुमान नै गर्न सकिएको छैन तर वर्तमान क्षतिको कुरा गर्दा विश्व अर्थतन्त्रले ९० खर्ब डलरबराबरको क्षति व्यहोर्न सक्ने एक अध्ययनले देखाएको छ । विश्वको तुलनामा जम्मा ३४ खर्बको अर्थतन्त्र रहेको नेपाल पनि धेरै प्रभावित बन्ने देखिन्छ । विशेषत आयातमुखी रहेको अर्थतन्त्र थप खुम्चने निश्चित छ । ग्रामीण कृषि अर्थतन्त्रको तुलनामा सहरी औद्योगिक अर्थतन्त्र बढी प्रभावित बन्नेछ ।

निजी क्षेत्रको अर्थतन्त्रमा कम हिस्सा ओगटेको नेपाल कोभिड–१९ को प्रभावबाट छुटकारा पाउन सक्ने अवस्था त छैन तर सरकारको महामारीमुखी नीतिले मलमपट्टी लाग्ने अवस्था सरकारले सृजना गर्नु नै पर्छ । ३ दशमलव ६ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रमा ताला लागेको छ त्यस्तै ६ दशमलव ५ प्रतिशतको हाराहारीमा योगदान रहेको बैंकिङ तथा वित्तीय क्षेत्रको उत्पादकत्व घट्दै गएको छ । पर्यटन, शिक्षा, पार्टीप्यालेस, क्याटेरिङ, यातयात व्यवसायलगायतका क्षेत्र चरम मारमा छन् । आर्थिक क्रियाकलाप दैनिक उपभोग्य वस्तुको कारोबारले मात्र गरिरहेको स्थिति छ जुन नियमित र निरन्तर हुने क्रियाकलाप हो ।

आज विश्वमा कोरोना भाइरस महामारीले मानवीय क्षतिको साथै आर्थिक क्षति पनि उत्तिकै पु-याइरहेको छ । मर्ने त मरिगए बाँच्नेलाई पनि थप आर्थिक संकट सृजना गरी मृत्युवरण गर्ने वातावरण सृजना भैरहेको छ । एक जनामा औसत चार जना आश्रित भएको अवस्थामा रोजगारी गुम्नुले परिवारका पूरै सदस्य मारमा परेका छन् । बेरोजगारीले गरिबी सृजना गर्ने हुँदा सरकारले रोजगारी सृजनालाई पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ । उद्योग सञ्चालन, कृषि र जलस्रोतलाई प्राथामिकता प्रदान गरी ठूलो संख्यामा रोजगारीमूलक क्रियाकलाप सञ्चालन गर्नुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्