Techie IT
बिहीबार, माघ १५,२०७७

राजा ठीक थिए कि राष्ट्रपति ठीक छन् ?


काठमाडौं ।
देशे देशे कलत्राणि देशे देशे च बान्धवा : ।
तत्तु देशं न पश्यामि यत्र भ्राता सहोदर : । ।
विश्व जनमतले पाकिस्तानका भूतपूर्व प्रधानमन्त्री श्री जुल्फिकर अलि भुट्टोलार्ई मृत्युदण्डको सजाय नदिनु भन्ने अभिमतको बेवास्ता गर्दै ४ अप्रिल १९७९ मा पाकिस्तानको रावलपिंडी जेलमा अन्ततः फाँसी दिइयो । २०३५ साल चैत्र २४ गते यस फासिको विरोधमा नेपालका विद्यार्थी संगठनले तत्कालीन पाकिस्तानी राष्ट्रपति जनरल जियाउलहकको विरुद्ध नाराबाजी भए पाकिस्तानी राजदूतावासमा विरोध पत्र बुझाइयो । त्यसपछिका परिघटना भयावह हुँदै गए । आमहडताल हुँदै गयो । नेपालका प्रायः सबै शैक्षिक सस्थाहरू बन्द भए । देशव्यापी बन्दहड्तालको सुरुवात भयो । पञ्चायतले यो आमहडताललार्ई व्यापक दबाउँदै गयो । अन्ततः ३६ सालमा निर्दल कि बहुदल भन्ने विषयमा जनमत संग्रह घोषणा गर्न लगाए तात्कालिक राजा श्री ५ वीरेन्द्रले । कालान्तरमा पञ्चायती शासन व्यवस्थाको पतनको कारक यही घटना बन्दै गयो । यसैको परिणामस्वरुप परिघटनाको समष्टिगतरूपमा टेकेर यो देशमा प्रजातान्त्रिक सरकार बन्यो राजासँग मिलेर । पछि सत्ताको स्वाद नपाउनेहरू मिलेर गणतन्त्र ल्याए ।

अहिले नेपालमा राजा चाहने मानिसहरूको जमात फेरि व्यापक बढिरहेको छ । हिजो राजा फाल्न ज्यानको बाजी थापेर सडकमा राँके जूलुस निकाल्नेहरू आज फेरि राजा चाहियो भनेर सडक राम्रै तताउन थालेका छन् । यदि यस्तै गतिमा सत्तामा रहेका पार्टीहरूको आन्तरिक कलह बढ्दै जाने, भ्रष्टाचार चुलिँदै जाने, जनताको समस्यामाथि सम्बोधन नहुने हो भने गणतन्त्र जाने सम्भावना पक्का छ । आखिर गणतन्त्रको रक्षा नेपालका एक दुई पार्टीले मात्रै गर्छु र जोगाउँछु भनेर हुँदैन ।

राजाको पक्षधर धमाधम बढ्न थालेका छन् । गणतन्त्रको विरोधी स्वरहरू स्वतन्त्र ढंगले अगाडि आउन थालेका छन् । हिजो राजतन्त्रमा राजाको व्यापक विरोधी स्वरहरू उर्लिन्थे भने आज गणतन्त्रमा हिजो गणतन्त्रकै पक्षमा उभिएका व्यक्तिहरू फेरि यसैको विरुद्धमा आफ्नो दबिएका स्वरहरू उठाउन थालेका छन् ।
राजासहितको प्रजातान्त्रिक अभ्यासका लागि एकफेर फेरि नेपाली जनता जुरमुराउनु थालेका छन् । यो लहरको आगोको झिल्का बलिसकेको छ । तर सबैभन्दा अप्ठ्यारो परिस्थितिचैँ राजसस्था फर्किए पनि अब श्रीपेच र राजदण्ड समाउनेचैँ कसले ? वीरेन्द्रको समुल परिवार नै सखाप भैसकेको अवस्था छ । नेपाली जनताले वीरेन्द्रजस्तै एक भद्र प्रजातान्त्रिक आदर्श बोकेको व्यक्तित्व चाहन्छ । वीरेन्द्रको चरित्र र सादगीपन खोज्छ नेपाली जनताले अझैसम्म पनि तर त्यो मानकता अब मिल्नेवाला छैन । ज्ञानेन्द्रमा सहनशीलता छ । धैर्यता छ । तर नेपाली जनताको माझमा बीरेन्द्रजस्तै लोकप्रिय हुनसक्ने खुबी उहाँमा पाइन्न । पारसको चरित्र पनि देखिसकियो । बेबी किङको अवधारणा हिजो कांग्रेसको पनि प्रस्ताव हो ।

नेपालमा राजतन्त्र फर्किने सम्भावना कत्तिको छ भनेर एउटा सामान्य नेपाली नागरिकलार्ई सोध्यो भने उस्को आखाले सम्भावना छ भनिरहेको छ । उसले किन पनि सम्भावना देखिरहेको छ भने हिजोको राजा र आजको राष्ट्रपतिको व्यवहार र व्यवस्थापनमा व्यापक भिन्नता पायो उसले । हिजो राजा आफ्नो राष्ट्र र जनताप्रति उत्तरदायी देखिन्थे तर आजको राष्ट्रपति एउटा पार्टीको मात्रै लबिङ गर्ने, खोपीमा मात्रै बस्ने, सुविधा मात्रै लिने दुविधामा बाँच्ने । आजको राष्ट्रपति भए पनि ठीक नभए पनि ठीकजस्तो अनुभूति भैरहेको छ । हिजोको राजसंस्था सिंगै नेपाल निर्माणका निम्ति लागिपरेको थियो । आजको राष्ट्रपति एउटा पार्टीबाट टीका लगाइदिएका भरमा हुन सकिने भयो । राष्ट्रियताका सवालमा पनि अहिलेको राष्ट्रपतीय चरित्रले कुनै ठोस भूमिका खेल्न सकेको छैन ।

नेपालमा अहिले विदेशी हस्तक्षेप व्यापक मात्रामा बढिरहेको छ । अरु त कुरै छोडौँ अहिले नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद र झगडा मिलाउन प्रत्यक्ष वा परोक्षरूपमा चाइनाको राजदूतले भूमिका निभाइरहेकी छिन् । नेपाली जनता एउटा पार्टीमा समेत आफ्नो स्वविवेक र निष्पक्ष धारण व्यक्त गर्न पाउँदैन । हामीमा परनिर्भरता भौतिक चिजमा मात्रै होइन अभौतिकरूपमा पनि बढिरहेको छ । नेपालको पार्टी झगडा मिलाउन चाइनाले भूमिका खेल्नुपर्ने भएपछि हाम्रो आफ्नो अस्मिताको रक्षा के हामी आफैँले गर्न सक्छौ त ? हो यही र यस्तै कारणहरूको परिघटनाका कारण नेपालमा राजा र राज सस्थाको खोजी र चासो हुन थालेको हो । अहिले भ्रष्टाचारको कुरा गर्दा पनि हामी अग्र भागमा छौँ ।

मानिसको स्वाभाव परिवर्तनकामी हुन्छ । ऊ स्थिर र गतिहीन हुनै सक्तैन । स्थिर त मुर्दा पनि हुन सक्तैन किनभने मुर्दालार्ई पनि त्यो पञ्च तत्वबाट बनेको भौतिक शरीर पञ्चतत्वमै विलिन गराउनु छ । हिजो राजतन्त्रको विरोधका कुरा गर्दा जेल परिने सम्भावना थियो । आज पनि गणतन्त्रको विरोधको कुरा गर्दा कतै समातिने पो हो कि भन्ने मानसिक त्रास यथावद नै छ । परिवर्तनको स्वरहरूलाई दबाउन खोज्दा हिजो १७ हजार नेपाली जनताको प्राण आहुती भयो यो माटोमा । तर नेपाली जनताले चाहेको यो परिवर्तन पक्कै यस्तो खालको थिएन । हिजोका भोका गणतन्त्रवादी नेताहरूले बालुवाटारदेखि नारायणहिटी दरबार सम्म बेचेर खान भ्याइसके । अब बेच्न बाँकी सायद केही नहोला ।

हिजो जनता र राजाका बीच धेरै भिन्नता र विभेदको खाडल भएको महसुस गर्नेले आजचँै के समानता छ त राष्ट्रपति भवनभित्र बस्ने सम्माननीय राष्ट्रपति र बाहिर सडकमा हिँड्ने सर्वहारा वर्गमा । एउटा सर्वहाराको हातमा छाता छैन शीतलनिवास भवनबाहिर पानीमा भिजेर वा प्लास्टिक ओडेर सडकमा बिजुलीतार भूमिगत गर्नी भनेर सडक खन्दै छ गरिब गाउँले । अनि सबै समान छन् भनेर बकबक गरेर मात्रै हुन्छ ? हिजोका दिनमा नेपाल हिन्दूराज्य हुँदाचैँ कुन इसाई धर्मावलम्बीले पिटाइ खाएको थियो र ? कुन मुस्लिमलार्ई अपमानित गरिएको थियो र ? कुन बुद्धिस्टलार्ई शान्ति अहिंशा र सेवाको लागि रोकिएको थियो र ? बरु हिजोभन्दा आज मानिसहरूमा असहिष्णु बढेको छ । धर्म निरपेक्ष मुलुकमा कुनै एक धर्मको वा कुनै एक सम्प्रदायको कुरालार्ई लिएर प्रधानमन्त्रीले वा राष्ट्रपतिले वा सम्मानित पदमा आसिन व्यक्तिले आफ्नो एकोहोरो कुराहरू राखिरहनु अन्य धर्म मान्यहरूलाई अप्ठ्यारो हुनसक्छ भन्ने कुराको पनि ख्याल गर्नु जरुरी हुन्थ्यो ।

हिजो धर्म नमान्ने कम्युनिस्टका प्रधानमन्त्रीले राम जन्मभूमिका बारेमा व्यापक खोजी गर्न लागाए । यस्तो धर्मप्रति आस्थावान व्यक्तिले हिजो संविधानमा किन नेपाललार्ई धर्म निरिपेक्ष देश भनेर लेखाएको ? हिन्दु धर्म मान्ने जनताको ८० प्रतिशत बहुमत हुँदाहुँदै किन धर्म निरपेक्ष मुलुक बनाएको ? जात, धर्म, देउता, पित्री परम्परा नमान्ने भएपछि आफ्नो परिचयचैँ के हुने हो भन्ने कुरामा किन चिन्तन नगरेको ? त्यसैको परिणाम हो अहिले राजावादीहरूले दिनानुदिन आफ्नो पक्षमा बहुमत जम्मा गर्दै छन् । यो भीडलाई गणतन्त्रवादीहरूले निस्तेज पार्ने दबाउन खोज्ने र तितरवितर गर्न थाल्यो भने झन् यो उग्ररूपमा फैलिने सम्भावना छ । प्रजातान्त्रको सुन्दर पक्ष भनेकै जन भावनाको सम्मान हो । सायद हिजोका दिनमा राजतन्त्र र धर्ममा बहुमतको आवाज जान्नका लागि चुनाव गराएर मात्रै संविधान लेखेको भए आज यो अवस्था आउँदैन थियो कि अहिलेका गणतन्त्रका श्रीपेच लाउनेहरूले विदेशीको पैसा खाएर हिन्दु धर्मको अस्मिता बेचे र फेरि नेपाली स्वरहरू हिन्दुराज्य चाहिरहेका छन् ।

हिन्दुराज्यमा एक हिन्दु राजा परम्रागतरूपमा सस्थापित हुन्छ । कहाँको पृथ्वीनारायण शाह कहाँको प्रचण्ड झलनाथ र माधवकुमार । एउटा देश जोड्ने अर्काहरू देशलाई संघीयताका नाउँमा खण्ड खण्ड बनाउने । अनि कसरी हुन्छ बराबर ? जनताले त प्रत्यक्ष हेरिरहेछन् प्रत्यक्ष देखिरहेछन् । पुरानो सत्ता र पुरानो चिन्तन फाल्ने निहुँमा आफू सत्ताको भोगी भएको कुरा पनि उदांगो भएको छ । ‘परिवर्तनको लागि वर्गसंघर्ष’ यो माओवादको सुन्दर पक्ष हो तर नेपालमा बेमानी र नैतिक हराम नेताका कारण माओ सिद्धान्तलाई नै बदनाम गर्नी काम भएको छ र त्यसैको परिणाम हो अहिले राजा र हिन्दू धर्मप्रति जन चासो बढेर जानु ।

अहिले हाम्रो राष्ट्रको कुनै एक राष्ट्र धर्म छैन । यहाँ इसाइ मुस्लिम जैन बुद्धिस्ट सबै सम्प्रदाय छन् । हिजो प्रधानमन्त्रीले अयोध्या अयोध्या राम राम भनेर रटान गरिरहँदा नेपालका मुस्लिम दाजुभाइ दिदीबहिनीहरूको चित्त दुखिरहेको पो थियो कि ? वा कृश्चियनका अनुयायीहरूलाई भित्रभित्र रिस उठिरहेको पो थियोे कि के थाहा भन्न पो नसकेको हो कि ?

धर्म नमान्नेले जातभात पनि मान्दैन । तर फेरि कम्युनिस्टहरू जातीय राजनीति पनि गरिरहेका छन् । जाति र पहिचानको मुल मुद्दा नै हो नेपालका कम्युनिस्टहरूको सत्तामा पुग्ने भ-याङ । आरक्षणका नाउँमा योग्य मान्छे रोएर बसेका छन् अयोग्य मान्छेले प्रशासनलार्ई गुहुमुतमा डुबाइरहेका छन् । सबै मान्छेबराबरको सिद्धान्तमा विश्वास गर्ने र सर्वहारा वर्गको हितमा काम गर्ने हो भने आजको नेपालको परिस्थिति किन यति जटिल र समस्याग्रस्त हुँदै जान्थ्यो र । कम्युनिस्टको सर्वमान्य सिद्धान्त हो सबै बराबर सबै समान । यो सिद्धान्त हेर्दा त वैज्ञानिक लाग्छ तर हाम्रो सामाजिक आर्थिक राजनीतिक र भौतिक जीवनमा के यो सिद्धान्तले काम गरिरहेको छ त ? पक्कै छैन । हामी लेखाइमा एउटा गराइमा अर्को गरिरहेका छौं । सिद्धान्तको रटाइले परिवर्तन हुँदैन । भनाइमा सबै बराबर तर गराइ र व्यवहारमा फरक आउँछ ।

हिजो राजाको शासनकाललार्ई सबैभन्दा भ्रष्टाचारको युग र विलासिताको युग भनियो । तर आज राजाको शासन सक्किएको यतिका वर्ष भयो खोइ त फरक अनुभूति के पाए त नेपाली जनताले । हिजो राजदरबारमा राजाले एक लाखको कार्पेट ओछ्याउँदा भ्रष्टाचार भएको देख्नेले आज राष्ट्रपति भवनमा एक करोडको कार्पेट ओछ्याउँदा कम्युनिस्ट सरकारले भ्रष्टाचार देख्दैन । हो यही त यस्तै कारणले हो राष्ट्रपतिभन्दा राजा ठीक थिए भन्नेहरूको जमात बढिरहेको । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्