Techie IT
बिहीबार, माघ १५,२०७७

वैदेशिक व्यापार र घाटा निराकरणका उपायहरू


काठमाडौं ।
नेपालको शोधानन्तर स्थिति र विदेशी विनिमय सञ्चितिको स्थिति मुख्यरूपमा आयातमा हुने भुक्तानी र विप्रेषण आप्रवाहले निर्धारण गरेको छ । नेपालको संविधानले आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनको क्षेत्रमा वैदेशिक पुँजी र प्रविधिको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वस्तु तथा सेवा निर्यातको तुलनामा आयातको आकार ठूलो र फराकिलो रहेको तथा निर्यातको विस्तार प्राय स्थिर भएकोले व्यापारघाटा निरन्तरण बढिरहेको भए पनि विप्रेषण आयका कारण नेपालको शोधान्तरण स्थिति विगतका अधिकांश वर्षहरूमा बचतमा रहेको थियो ।

आव ०७५र७६ मा वस्तु तथा सेवा व्यापारघाटा कुल ग्रार्हस्थ्य उत्पादनको ३८ दशमलव ६ प्रतिशत रहेको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ्य उत्पादनको २५ दशमलव ४ प्रतिशत रहेको थियो । अर्थतन्त्र विस्तारका क्रममा रहेकोले आन्तरिक उत्पादनमा वृद्वि नभएसम्म निर्यातआयात अनुपातमा अपेक्षित सुधार नहुने र उत्पादनशील क्षेत्रको विकासका लागि चालू खातामा अत्यधिक दबाब पर्नसक्ने अवस्था आउन सक्छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति तथा कार्यक्रमबाट सम्बोधन गरी सन्तुलित स्थिति बनाउनुपर्ने देखिन्छ ।

व्यापारघाटाको वार्षिक चक्रः अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागले यही भदौ ११ गते सार्वजनिक गरेको गत आव०७६÷७७ को व्यापारको तथ्याङ्कअनुसार नेपालको व्यापारघाटा अघिल्लो वर्षको तुलनामा करिब दुई खर्ब २१ अर्ब रुपैयाँले घटेको देखिन्छ । गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार अघिल्लो आवको तुलनामा करिब १४ प्रतिशतले घटेर १२ खर्ब ९२ अर्ब ९५ करोड रुपैयाँ पुगेको देखिन्छ । जब कि त्यसअघिको आवमा अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्बभन्दा माथि पुगेको देखिन्छ ।

आयातमा आएको गिरावटले समग्र व्यापारमा यसको हिस्सा करिब ९३ प्रतिशतबाट घटेर ९२ प्रतिशतमा पुगेको देखिन्छ । सामान्य मात्र घटेका कारण निर्यातको हिस्सा ६ दशमलव ४ प्रतिशतबाट बढेर ७ दशमलव ४ प्रतिशतमा पुगेको देखिन्छ । कोरानाबाट बच्न सरकारले लगाएको लकडाउनका कारण व्यापारघाटाको ग्राफमा रोक लगाइदिएको देखिन्छ । भन्सार विभागका अनुसार नेपालको व्यापारघाटा गत आवको भन्दा १६ दशमलव ७१ प्रतिशतले घटेर ११ खर्ब ६४ अर्बमा झरेको देखिन्छ ।

आयातमा देखिएको करिब दुई खर्ब २२ अर्ब रुपैयाँको अन्तरले नेपालको विदेशी मुद्रा सञ्चिति बढाएको देखिन्छ । अर्थ मन्त्रालयका अनुसार अहिले नेपालसँग करिब १३ खर्ब रुपैयाँको विदेशी मुद्रा सञ्चितिमा छ । गत वर्ष आश्चर्यजनक रूपमा उकालो लागेको नेपालको निर्यात व्यापार अन्तिम चौमासिकमा गरिएको लकडाउनका कारण सामान्य घट्न पुगेको छ ।

नेपालमा आयातित हुने प्रमुख पाँच वस्तुहरूः
क्रसं   वस्तुको नाम        आयातित मूल्य (रु. हजारमा)
१.    डिजेल                       ८,७३,७९,८७०।–
२.  अप्रशोधित फलाम र स्टील ४,२२,३५,७९४।–
३.  पेट्रोल                         २,८३,६५,७९९।–
४. एलपी ग्यास                 २,७९,४८,९१५।–
५. चामल                         १,८५,१०,९४६।–

नेपालबाट निर्यात हुने प्रमुख पाँच वस्तुहरूः
क्रसं  वस्तुको नाम      निर्यात मूल्य (रु. हजारमा)
१.   पाम तेल            १,८३,१७,९८०।–
२.  भटमासको तेल  १,२३,१३,४४१।–
३.  गलैचा                ३३,०२,८०४।–
४.  उनी कपडा       २८,३५,०६४।–
५. जुट                    २७,८१,४६५।–

नेपालबाट धेरै निर्यात हुने पाँच मुलुकहरूः–
क्रसं   देश      निर्यातित मूल्य (रु.हजारमा)
१.    भारत     ६,९०,८१,७३१।–
२.   अमेरिका ९२,२०,८७३।–
३.   जर्मनी     २६,४७,३४७।–
४.   टर्की       २१,०३,३७९।–
५.  बेलायत   २०,०९,२३२।–
नेपालबाट निर्यात हुने वस्तुको ठूलो हिस्सा पाम तेलले ओगटेको देखिन्छ । नेपाललले मलेसिया र इण्डोनेसियाबाट कच्चा पाम ल्याएर सोलाई प्रशोधन गरी भारतमा निर्यात गर्दै आएको देखिन्छ ।

नेपालको वैदेशिक व्यापारमा देखिएका समस्याहरूः
निर्यातभन्दा आयात बढी हुनुः कृषि क्षेत्रलाई यान्त्रीकरण,औधोगिकीकरण तथा व्यवसायीकरण गर्न नसक्दा यसको उत्पादन तथा उत्पादकत्व न्यून हुने भई कृषिजन्य आयात वृद्वि हुनु, उत्पादन श्रृङ्खलामा अग्र र पृष्ठ सम्बन्ध विकास गर्न नसकिनु, निर्यातजन्य तुलनात्मक प्रतिस्पर्धी लाभका वस्तु तथा सेवाको अपेक्षित विकास र मूल्य अभिवृद्वि हुन नसक्नु ।

विलासी वस्तुहरूको वढ्दो आयातः नागरिकको क्रयशक्ति वृद्विसँगै उपभोग्य सामग्री र विलासिताका वस्तुको मागमा उच्च वृद्वि भए पनि उक्त माग धान्ने गरी आन्तरिक उत्पादन बढ्न नसक्नु, खनिज ऊर्जाको बढ्दो आयातलाई प्रतिस्पर्धा गर्ने वैकल्पिक ऊर्जा उत्पादन गर्न नसक्नु ।

भूपरिवेष्ठितताः विश्व समुदाय तथा बजारमा उपलब्ध सुविधा तथा अवसरलाई व्यापार विकासमा पर्याप्त उपयोग गर्न नसकिनु, औद्योगिक लगानीभन्दा आयात व्यापारमा व्यावसायिक आकर्षण बढ्दै जानु । निर्यातमा कच्चा पदार्थ, प्राथमिक वस्तु र अर्धप्रशोधित वस्तुको मात्रा बढी हुनु, व्यापार तथा पारवहन लागत उच्च हुनु र द्विपक्षीय र वहुपक्षीय व्यापार सम्झौताबाट उल्लेख्य लाभ लिन नसकिनु ।

खुला सिमानाः मानव, पशु तथा वनस्पतिजन्य स्वास्थ्यमा प्रतिकूल असर गर्ने सामानको आयात नियन्त्रण गर्न नसकिनु, खुला सिमानाका कारण वैदेशिक व्यापारमा विचलन आउनु, देशगत र वस्तुगत व्यापार विविधीकरण गर्न नसकिनु र आयात व्यवस्थापन गर्न कानुनी व्यवस्था तथा नियामक क्षमता कमजोर हुनु ।

अवसर र चुनौतीः उत्पादकत्व प्रतिस्पर्धात्मक क्षमतामा वृद्वि गरी व्यापार क्षेत्रमा संरचनागत परिवर्तन गर्नु निर्यात प्रवर्द्धन गर्दै उच्च व्यापारघाटालाई कम गर्नु बहुपक्षीय क्षेत्रीय र द्विपक्षीय, व्यापार सम्झौताबाट सिर्जित अवसरबाट अधिकतम लाभ लिँदै त्यसका नकारात्मक असर कम गर्दै जानु, सस्तो श्रम र कच्चापदार्थको अधिकतम उपयोग गरी प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन वृद्वि गर्नु प्रमुख चुनौती हुन् ।

नेपाल व्यापार एकीकृत रणनीति, २०७३ ले पहिचान गरेका वस्तु तथा सेवाको उत्पादन र निकासी वृद्वि गर्नु, अन्तर्राष्ट्रिय व्यापारलाई प्रतिस्पर्धी र व्यापक गराउन देशगत र वस्तुगत व्यापार विविधीकरण तथा वस्तुको प्रमाणीकरण, लेबलिङ, ब्राण्डिङ गरी गुणस्तरीयता अभिवृद्वि गर्नु, व्यापार कूटनीतिको उपयोग गरी प्राप्त बजार पहुँचको सुविधा उल्लेख्यरूपमा उपयोग गर्नु यस क्षेत्रका थप चुनौती रहेका छन् ।

विश्वव्यापीकरण र विश्व बजार प्रणालीबाट सिर्जित उपलब्धता, दुई ठूला अर्थतन्त्र भएका छिमेकी मुलुकहरूसँगको व्यापार तथा पारवहन सम्झौता र शून्य भन्सार प्रवेशको सुविधा प्राप्त हुनु मुख्य अवसर हुन् । औधोगिक श्रम तथा कच्चापदार्थको उपलब्धता हुनु, व्यापारघाटा न्यूनीकरण सबै क्षेत्रको रणनीतिगत प्राथमिकतामा पर्नु, विश्व व्यापार संगठन, दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासजस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको आबद्वता, ट्रान्जिछ अर्थतन्त्रको प्रबल सम्भावना थप अवसरको रूपमा रहेका छन् ।

कोरोनाकालको अर्थतन्त्रः विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको प्रभावलाई रोक्न सरकारले चैत्र ११ देखि एक सय २० दिन देशव्यापी लकडाउन ग¥यो । लकडाउन अन्तसँगै स्थानीय प्रशासन ऐनमार्फत जिल्ला जिल्लाको अवस्था हेरी प्रशासन कार्यालयहरूले निषेधाज्ञा जारी गरे जसले मुलुकको उत्पादन र समग्र अर्थतन्त्रमा चौपट असर पर्न थाल्यो । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको पछिल्लो तीन महिनाको वित्तीय विवरणमा देशमा ३१ अर्बको निर्यात हुँदा दुई खर्ब ९२ अर्बको आयात भएको देखिएको छ । तीन महिनामा गत वर्षको यही अवधिमा भन्दा १४ प्रतिशतले वृद्वि भई ३१ अर्ब पाँच करोड पुगेको देखिन्छ ।

३ महिनाको आयात निर्यातको अवस्था टेबलमाः
प्रमुख आयातित वस्तुहरू प्रमुख निर्यातित वस्तुहरू
चामल जुटका सामानहरू
कच्चा सोयाबिन तेल धागो
दूरसञ्चार उपकरण चाउचाउ
खाने तेल अलैँची
कोइला पस्मिना
पेट्रोलियम पदार्थ पाम तेल
कच्चा पाम तेल दाल
विश्वव्यापी कोरोनाको संक्रमण फैलिए पनि नेपाल भित्रिने रेमिटेन्समा गत वर्षको यही अवधिभन्दा १२ प्रतिशतले वृद्धि भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको त्रैमासिक विवरणअनुसार यस अवधिमा दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ नेपाल भित्रिएको देखिन्छ । यसैगरी नेपाल सरकारको चालू खाता ३४ खर्ब ३६ करोड रुपैयाँले बचतमा रहेको विवरण प्रकाशित भएको देखिन्छ । यसरी नेपालीहरू विदेशी भूमिमा रगत र पसिना बगाएर नेपाल पठाएको रेमिटेन्स भने विलासिताका वस्तु र इन्धनमा खर्च हुने गरेको देखिन्छ । जुन रकममा चरम भष्ट्राचार भएको भनी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा चार महिनामा ४६ सय ८४ उजुरी परेको तथ्याङ्कले पनि नेपालको भष्ट्राचारको डरलाग्दो अवस्था देखाउँछ ।

देशमा बुझाइ के छ भने भष्ट्राचार नियन्त्रण गर्ने काम अख्तियारको हो । अख्तियार प्रभावकारी नभएको कारण नेपालमा भष्ट्राचार र अनियमितता बढेको हो । तर अख्तियारको काम भनेको अनुसन्धान मात्रै हो । देशमा सुशासन र भष्ट्राचार नियन्त्रण काम त जननिर्वाचित अनि बहुमत प्राप्त सरकारो हो अर्थात् देशको कार्यकारी निकाय मन्त्रिपरिषदले हो । मन्त्रिपरिषदले नचाहेसम्म भष्ट्राचार र सुशासन कायम गर्न कसैले पनि सक्दैन । तर देशमा संघीयता लागू भएको देखिन्छ । संघ प्रदेश र स्थानीय गरी ३ तहका सरकारहरू क्रियाशील छन् । एक सयभन्दा बढी मन्त्री अनि हजारका हाराहारिमा सासंद्हरू अनि तिनका लागि आसेपासे मासिक सयौँ लिटर इन्धन र अन्य विलासिताका सवारीका साथै मासिक भत्ता जुन नेपालको चालू खर्च अर्थात् राजस्वले नपुगरे विदेशी सहयोग माग्नुपर्ने अनि भएका विलासिता र सुखसयलका लागि पनि युवा जनशक्तिलाई विदेशमा बेच्नुपर्ने, सोही बेचिएर आएको रकम अर्थात् रेमिन्टेसबाट खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था देखिन्छ ।

विकल्पको बाटोः खाद्यान्न तथा आधारभूत उपभोगका र तुलनात्मक लाभ र क्षमता भएका वस्तु तथा सेवाहरूको पहिचान, विकास, विविधीकरण तथा उत्पादन र उत्पादकत्व अभिवृद्वि गरी आयात प्रतिस्थापन निर्यात प्रवर्द्धन गर्ने । व्यापारजन्य प्रविधि र पूर्वाधारको विकास र उपयोग, सूचना प्रविधिको प्रयोग एवं विस्तार सुशासन र प्रभावकारी नियमन, व्यापार सहजीकरण र संस्थागत सुदृढीकरण गरी आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार लागत कम गर्ने । व्यापार सम्बद्व बौद्विक सम्पत्तिसम्बन्धी अधिकारको अन्तर्राष्ट्रिय बजारमा संरक्षण र प्रवर्द्धन गर्ने । आर्थिक कूटनीतिलाई सुदृढ तुल्याउँदै व्यापार सम्बद्व द्विपक्षीय क्षेत्रीय र बहुपक्षीय संयन्त्रको माध्यमबाट व्यापारजन्य क्षमता बढाउँदै अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आबद्धता र नेपाली सामानको बजार विस्तार गर्ने । आर्थिक कूटनीति तथा विदेशस्थित नेपाली नियोग र गैरआवासीय नेपालीहरूको सन्यन्त्रहरूलाई निर्यात प्रवर्द्धनमा परिचालन गर्ने । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्