Techie IT
बिहीबार, माघ १५,२०७७

मृत्युसँग पौँठेजोरी


मानव समुदायलगायत यावत प्राणीको जीवन जिउनको लागि हो भने मृत्यु शास्वत सत्य हो । त्यसो भएको हुँदा यस विश्वमा जोे जन्मन्छ त्यसको मृत्यु निश्चित छ । यदि त्यसो नहुदो हो त, संसार पक्कै पनि जिवात्माले भरिएर बस्नको लागि अयोग्य साबित हुने थियो । किनकि सर्वप्रथम मृत्युको विकल्प छँदै छैन, यदि चिकित्सा विज्ञानको क्षेत्रमा कुनै दिन आएको चात्मकारिक प्रभावले विकल्प प्राप्त हुने हो भने, संसारमा निर्धाहरूको अस्तित्व करिब लोपप्राय हुने खतरा पनि त्यत्तिकै रहन्छ भन्दा फरक नपर्ला ।

किनभने जीवनप्रतिको मोह तथा मृत्युसँगको भय नै जिवात्माबीचको सन्तुलन कायम राख्ने उत्तम उपाएको रूपमा लिन सकिन्छ । प्रस्तुत मृत्युको त्रासको कारण अपवादबाहेक अन्य अवस्थामा सर्वश्रेष्ठ प्राणिगण मानवलाई अनुशासनमा लाग्न अवश्य पनि प्रेरित गरेको पाइन्छ । जसलाई मानव जीवनको हरेक क्षेत्रमा सकारात्मक रूपमा प्रयोग गर्ने चेष्टा राख्ने हो भने, जीवन सुखमय बन्ने कुरामा कुनै आशंका रहँदैन । किनकि उक्त तथ्यलाई आज देखिएको कोरोना महामारीको विषम परिवेशमा पनि अनुसरण गर्ने प्रयास गर्ने हो भने, अतिरिक्त लाभ हासिल गर्न प्रत्यक्ष सहयोग पुग्नेछ ।

तसर्थः कोरोना महामारीको जोखिमको चपेटामा नपरेसम्म महामारीलाई सामान्य रुघाखोकी सरहको व्यवहार गर्ने नेपाली संस्कृतिको कारण केही हदसम्म संक्रमणको दर वृद्धि गर्न सहयोग पुग्ने तथ्यहरूले प्रमाणित गरी सकेको वर्तमान अवस्था हो । जनचेतनाको अभाव रहेको नेपाली सामाजिक संरचनाभित्र रुघाखोकी र कोरोना महामारीको प्रस्तुत जोखिमलाई तुलनात्मकरूपमा अध्ययन गर्दै आम जनताले सहजै बुझ्न सक्नेगरी प्रचारात्मक क्रियाकलापलाई अत्यधिकरूपमा सम्पे्रषण
गर्नुपर्ने हुन्छ ।

यसप्रकारका जानकारीमूलक सचेतताको अभावमा नेपाली सामाजिक संरचनाभित्र महामारीले उग्ररूप धारण गर्ने तथ्यलाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन । यदि गर्ने चेष्टा राखिन्छ भने नेपालका अधिकांश अस्पतालले महामारीको जोखिमबाट उत्पन्न हुनसक्ने सम्भावित खतरोन्मुख परिस्थितिलाई सहजै धान्न सक्ने अवस्था रहँदैन भन्दा त्यति अत्युक्ति नहोला । जसका कारण अधिकाशं आम जनमानसले अकालमा नै मृत्युवरण गर्नुबाहेक अन्य कुनै विकल्प रहँदैन । अशिक्षा, अज्ञानता एवं तीव्र अन्धविश्वासमय वातावरणको परिणाम स्वरूप संक्रमणको जोखिमदर सुषुप्त अवस्थामा घरपरिवारबाटै सुरु भई अन्ततः टोल छिमेकका अतिरिक्त सामाजिक परिवेशमा फैलन सक्ने कुरालाई सहजै भुल्न मिल्दैन ।

तदुपरान्त मानव जीवन संकटमा पर्नगई कहालिलाग्दो मृत्युको चपेटामा अत्यधिक जनसमुदाय नपर्ला भन्न मिल्दैन । जसलाई कोरोना संकटको दोस्रो तथा तेस्रो लहरमा पुग्नलाई सहयोगीको भूमिका निर्वाह गर्ने प्रमुख माध्यमको रूपमा लिन सकिन्छ । अतः जोखिम न्यूनीकरणको हरेक क्षेत्रमा राज्यको महत्वपूर्ण भूमिका रहन्छ । किनकि नागरिक र राज्यको सहयात्राविना महामारीमा सहजै विजय प्राप्त गर्न कुनै पनि हालतमा सम्भव रहँदैन ।

राज्यको बलियो उपस्थिति नै महामारीतर्फको विजययात्राको पहिलो खुड्किलो हो भन्न सकिन्छ । प्रस्तुत कहरको नकारात्मक जालोमा विश्वका अन्य मुलुकजस्तै नेपाल पनि पृथक रहन सक्दैन । जसको प्रभाव दैनिकरूपमा क्रमशः घट्टै जानुपर्नेमा सो नभई, वृद्धि हुँदै जाने हो कि भन्ने त्रासमय वातावरण सिर्जना भएको वर्तमान अवस्था हो । जसको मूल कारक तत्वको रूपमा औषधि एवं खोपको विकासमा हुँदै आएको विलम्बलाई लिन सकिन्छ ।

यद्यपि २१औं शताब्दीको अब्बल चिकित्सा विज्ञानको क्षेत्रमा आएको सुधारले महामारीलाई जरैदेखि निमूर्ल गर्नको लागि खोपको विकास गरिसकेको बताइन्छ । महाव्याधीविरुद्धको खोपको विकास भएको भनिए पनि नेपालजस्तो अल्पविकसित राष्ट्रसामु यसको पहुँच पुग्न कति समय प्रतिक्षा गर्नुपर्ने हो त्यसको लेखाजोखा गर्न त्यति सहज पक्कै पनि छैन ।

हुन त राज्यका तर्फबाट आफ्ना नागरिकको जनस्वास्थ्यप्रति अत्यन्त संवेदनशील रहँदै नागरिकको जीवन रक्षाको खातिर खोप तथा तत्सम्बन्धी अन्य आवश्यक पर्ने सामग्री खरिदको लागि संसद् नरहेको हालको अवस्थामा अध्यादेशमार्फत भए पनि आवश्यक पहलकदमी नगरेको भने होइन । यस कार्यको मुक्तकण्ठले सरहना गर्नैपर्ने हुन्छ । तथापि कति समयको अन्तरालमा सहजरूपमा नेपाली समुदायमा खोपको पहुँच अभिवृद्धि रहन्छ भन्ने तथ्यले कोरोना महामारीका कारण अकालमा नै जीवन गुमाउनुपर्नेहरूको संख्यात्मक रूप बढ्ने वा घट्ने भन्ने कुराको आँकलन गर्न सकिनेछ । उपरोक्त तथ्यलाई विशेष हेक्का राखी यस सन्दर्भमा विवेकसम्मत ढंगबाट कार्य गर्नुपर्ने हुन्छ । जसले नागरिक समुदायको मृत्युदरको संख्यात्मक रूप न्यून गर्न सहयोगीको भूमिका निर्वाह गर्ने देखिन्छ ।

विपरीत अवस्था पैदा भए अमूल्य जीवनलाई थाती राखी मृत्युवरण गर्नुबाहेक अन्य कुनै पनि विकल्प हामी मानव समुदायमाझ रहने छैन । त्यसो भएको हुँदा यस सन्दर्भमा के भन्न सकिन्छ भने, सम्भव भएसम्म स्वास्थ्य सुरक्षाका अब्बल उपायलाई अवलम्बन गर्दै रोग लाग्नुभन्दा रोग लाग्न नदिनेतर्फ जागरुक भए लाग्नु नै प्रकोप न्यूनीकरणको दर अभिवृद्धि गर्नु हो । यद्यपि महाव्याधीको संक्रमणको जोखिमको कति मात्रामा रहेको छ भन्ने तथ्य प्रमाणित गर्न पीसीआर प्रविधिबाट नाक एवं घाटीको स्वाब परीक्षण गर्ने विश्वव्यापी प्रचलनलाई नेपालले पनि सोहीअनुरूपको व्यवहारलाई आत्मसात गर्दै संक्रमणको जोखिमको मात्रा नेगेटिभ वा पोजेटिभअनुसार पहिचान गर्दै त्यसको निदानका लागि आवश्यकताअनुसार होम आइसोलेन वा अपस्तालहरूमा आवश्यकताअनुसार औषधिमूलो वा परामर्शका लागि सिफारिस गर्ने गर्दछ । प्रस्तुत सुविधाहरू नेपाल सरकारको अनुमतिप्राप्त निजी वा सरकारी अस्पताल अथवा निजी प्रयोगशालाहरूमा तोकिएको परीक्षण शुल्क भुत्तानी गरी उक्त सेवा सहजै प्राप्त गर्न सकिनेछ ।

राज्यले दिएको उक्त अनुमतिलाई कतिपय निजी क्षेत्रमा खुलेका अस्पताल वा प्रयोगशालाहरूले निहित स्वार्थवश पीसीआर परीक्षणको सिलसिलामा गलत तथ्यांक दिने खबरहरू हालैका छापापत्रिका वा अनलाइन खबरहरूमा प्रकाशित वा प्रसारित भएबाट मानव स्वास्थ्यप्रति सजक एवं सतर्क रहन सम्बद्ध पक्षलाई अविलम्ब जनस्वास्थ्य सुुरक्षाका विषयमा आवश्यकताअनुसार राय÷परामर्श दिनु अत्यन्त जरुरी भइसकेको छ ।

त्यसो भएको हुँदा मानव स्वास्थप्रति जानाजान गरिने आपराधिक क्रियाकलापलाई न्यून गर्दै खराब आचरण भएका सम्बद्ध पक्षलाई कानुनको दायराभित्र ल्याई आवश्यक डण्ड सजायको व्यवस्थापन गर्नु नागरिक समाजलाई न्याय प्रदान गर्नुसरहको अवस्था हो । अन्यथा यसप्रकारका व्यवहारको अत्यधिकताले जनस्वास्थ्यमा प्रतिकूल असर पर्न गई असामयिक मृत्युवरणका लागि तयार रहनुपर्ने अवस्थाको सूत्रपात हुने देखिन्छ ।

यसका अतिरिक्त अपस्पताल वा होम आइसोलेसनमा रहेका संक्रमित समूहलाई स्वाब परीक्षणको क्रममा कतिपय अवस्थामा मानव स्वास्थ्यका दृष्टिकोणले अनकूल रहँदारहँदै पनि स्वाबको नतिजा पोजेटिभ प्रमाणित भएकै कारण संक्रमणजन्य परिस्थिति नरहेको भए पनि कति समयको अन्तरालमा समाजमा सहजै घुलमिल गर्न सकिन्छ भन्ने तथ्यलाई राज्य वा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने समूहले यथार्थपरक जानकारी मूलक शिक्षा सञ्चारका माध्यमबाट यथासक्य चाँडो सम्प्रेषण गर्नुपर्ने देखिन्छ । जसको अभावमा संक्रमित समूह लामो समयसम्म आइसोलेनमा रहनुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भएकै कारण मानसिकरूपमा विक्षिप्तताको शिकारमा पर्नसक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । तसर्थः समस्या समाधानका लागि सकारात्मक पहलकदमीका माध्यमबाट अब्बल नतिजा प्राप्त गर्नुको साथै महामारीको दरलाई केही हदसम्म भए पनि न्यून गर्न यसप्रकारका कदमले सहयोगीको भूमिका निर्वाह गर्नेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्