Techie IT
बिहीबार, माघ १५,२०७७

ऐतिहासिक तथा पर्यटकीय धरोहर : कमल दह मिर्चैया


नेपालको प्रदेश नं. २ मा पर्ने सिरहा जिल्लामा अवस्थित मिर्चैया नगरपालिका तराई क्षेत्रको एक महत्वपूर्ण व्यापारिक, औद्योगिक तथा पर्यटकीय केन्द्रको रूपमा स्थापित छ । सिरहा क्षेत्रमा पहिलादेखि नै घना जंगल रहेको र स्थानीय भाषामा रुखका जरालाई ‘शिर’ भनिने भएकोले पछि यो ठाउँलाई सिरहा भन्न थालिएको पाइन्छ । सिरहा इलाका पहिले सप्तरी राज्यअन्तर्गत पर्दथ्यो ।

सिरहा(सप्तरी) इलाका नेपालको पूर्वी क्षेत्रको चौदण्डी राज्यको मातहत रहेकोमा सुगौली सन्धिपछि सन् १७७३ देखि नेपाल अधिराज्यको एक भागको रूपमा गाभिएको देखिन्छ । पुनर्संरचना आयोगको प्रतिवेदन लागू भएपछि सिरहा जिल्लामा गाउँपालिका संख्या ९ र नगरपालिका संख्या ८ कायम भएको छ । त्यसमध्ये मिर्चैया पनि एक हो । मिर्चैया नगरपालिका क्षेत्रमा पहिले पहिले खोर्सानीको बोटजस्तै झारका बोटहरू प्रशस्तै हुने र खोर्सानीलाई तराईमा मिर्च भन्ने चलनअनुसार खोर्सानीजस्तो झारको नामबाट यस स्थानलाई मिर्चैया भनी नामाकरण भएको त्यहाँका स्थानीय बासिन्दाको भनाइ छ ।

यस नगरक्षेत्रमा ३ प्रकारको भौगोलिक श्रृंखला रहेको पाइन्छ । उत्तरतर्फ पर्ने चुरे क्षेत्र जहाँ बलौटे र खुकुलो माटोको पत्र रहेको छ भने मध्य भागको चुरेको फेदीलाई भावर भनिन्छ । यो क्षेत्रमा वनजंगल कम हुनाले सुक्खा र पानीको अभाव रहेको छ । तल्लो समथर भू–भागमा बाक्लो खालको दोमट माटो भेटिन्छ ।

मिर्चैया नगरपालिकामा विभिन्न ऐतिहासिक तथा पर्यटकीय धरोहरहरू जस्तैः कमल दह, ढोल वजा, दुर्गा मन्दिर, सहलेश मन्दिर, राजदेवीमन्दिर, महादेव मन्दिर, कवीर मन्दिर, मस्जिद, महावीर मन्दिर, हनुमान (गदवा), मदर्सा आदि अवस्थित छन् । यसमध्ये प्रमुख ऐतिहासिक तथा पर्यटकीय धरोहर कमल दहको बारेमा विवेचना गर्न सान्दर्भिक ठानिन्छ । कमल दह मिर्चैया नगरपालिकाको भगवानपुर महलवोनामा अवस्थित छ । कमल दहहरूमा दहवार्ने माताले विराजमान गरेको पाइन्छ । यो कमल दहधार्मिक एवं पर्यटकीय क्षेत्र हो । यो चुरे पहाडको काखमा अवस्थित छ । यस दहबाट देखिने हरियाली मनमोह दृश्यले जोकोहीको मन नलोभ्याउने कुरै छैन । कमल दहमा जान सिद्धार्थ राजमार्ग घुर्मी बजारबाट ६ किमि र मिर्चैया कटारी चोकबाट आठ किमि उत्तरतर्फ पर्दछ ।

स्थानीय जानकारका अनुसार कमल दह धेरै पुरानो धार्मिक एवं पर्यटकीय धरोहर हो । यस दहमा दह वार्नेमाताले विराजमान गर्नुभएको छ । यो देवपित्रको बासस्थान हो । यहाँ ५६ करोड देवताको बास छ । यहाँ तीन सय ६५ दिनै पूजा हुन्छ । मुख्य मेला यहाँ कात्तिकको ठूलो एकादशीमा ३ दिन र नववर्ष वैशाखमा २ र ३ गते विशेष भिडभाड हुन्छ । साथै, ठूलो एकादशी पर्व यहीँ पूजापाठ एवं स्नान गरी मनाइन्छ भने वैशाख २ गते पर्ने यस क्षेत्रको जुड सितलपर्व पनि यहाँ विशेषरूपमा हजारौं भक्तजनले मनाउँछन्, सो समयमा यहाँ मेलाको आयोजना गरिएको हुन्छ साथै, सो मेलामा खेलकुद मुख्य आकर्षण कुस्ती हुन्छ । यस दहवार्ने माताले मानिसको मनोकामना पूरा गर्नुहुने भनाइ छ । यहाँ बली एवं पूजा सामग्री चढाइन्छ । कमल दहको दक्षिणतर्फ केही मन्दिर र आकर्षणको रूपमा ठूलो शालीग्राम छ ।

यस क्षेत्रमा लगाएको नयाँ बालीहरू सबै भन्दा पहिले पाकेपछि दहवार्ने मातालाई चढाएर खाने चलन छ । १०–१५वर्ष पहिले कमल दहको पानी त्यस भेगको मानव बस्तीले पिउने गर्दथे । कमल दह हाल मिर्चैया नगरपालिकाले माछा मार्ने ठेक्का लगाएको र ठेकदारले दहको कमलको फुल सबै हटाएर शोभा बिगारेको जानकारहरूको भनाइ छ । जानकारहरू यस धार्मिक एवं पर्यटकीय स्थलको संरक्षण छिटोभन्दा छिटो गरी कमल दहलाई आकर्षण धार्मिक एवं पर्यटकीय स्थाल प्रचारप्रसार गरी विकासमा अगाडि बढाउनुपर्ने स्थानीय सरकारसँग अपेक्षा राख्दछन् । यस कमल दहको बारेमा जानकारहरूबाट विभिन्न रोचक किंवदन्तीहरू पाइयो । सोमध्ये केही जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिन्छ ।

हात्तीलोप तथा भाँडावर्तन निस्कने भनाइ : स्थानीय जानकारका अनुसार कमल दहमा धेरै वर्ष पहिले १ सेठ (महाजन) दहवरिपरि पाइने जंगली अन्न काट्न हात्तीमा आएका र दहवार्ने मातालाई नबक्साइवा अनुमतिविना नै सो जंगली अन्न काटेकोले माता रिसाई महाजनको हात्ती नै विलयमान गराएको र पछि महाजनले पुनः दहवार्ने मातालाई स्तुति गरी सवामन लड्डु चढाउने भाकल गरी सो भाकलअनुसार लड्डु चढाएर हात्ती पाएको भनाइ छ । कमल दहमा वनभोज तथा पूजाआजामा आवश्यक भाँडावर्तन निस्कन्थ्यो । सो क्रममा एक वनभोजका भोज गर्ने समूहले भोज समाप्तिपछि एउटा भाँडा आफूसँगै घर लिएर गएको र त्यसो गर्दा उनीहरू सवार गाडागोरुको जुवामा नाग आई बाटो छेकेकोले पुनः सो भाँडा कमल दहमा लगी जस्ताको त्यस्तै राखिदिएपछि नाग हटेर बाटो खुला भएको थुप्रै भनाइ छ ।

विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै ऐतिहासिक तथा पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनैतिक अवस्थाको सहीपहिचानर उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ ले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाई, दिदिबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रम प्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट यस क्षेत्रको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट यस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

भगवान गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशको रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रको रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दु तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलको रूपमा रहेको छ । यो क्षेत्र विभिन्न जनजाति र समुदायहरूका बीच सदियौँदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मिहिनेती समुदायको साझा फूलबारी हो ।

यसक्षेत्र प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचे अनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन ।

व्यापारिक, औद्योगिक तथा सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण मिर्चैया नगरपालिका क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा नगरपालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेको अधिकांश स्थलहरू नगरपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ ।

कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, मिर्चैया नगरपालिका क्षेत्रको लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

यस क्षेत्रको समग्र आम्दानीमा व्यापारिक, औद्योगिक तथा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरनगरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ मिर्चैया नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ ।

नगरपालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि वढ्नु आवश्यक देखिन्छ । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांकृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ ।

नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट कामवा रोजगारी श्रृजना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस मिर्चैया नगरपालिका क्षेत्र भित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । कमल दहजस्ता पर्यटकीय स्थलमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकोले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्