Techie IT
बिहीबार, माघ १५,२०७७

महामारीबाट अर्थतन्त्र शिथिल हुँदा मुद्रास्फीतिको भय


केशव आचार्य
समय समयमा अर्थतन्त्रको गति चक्रीयरूपमा परिवर्तन भइरहन्छ । कतिपय अवस्थमा अर्थतन्त्र उच्च बिन्दुमा र कतिपय अवस्थामा न्यून बिन्दुमा पुगेको पाइन्छ । अर्थतन्त्र उच्च बिन्दुमा पुग्दा अर्थतन्त्र सबल भएको मानिन्छ भने न्यून बिन्दुमा पुग्दा अर्थतन्त्र कमजोर भएको मानिन्छ । अर्थतन्त्र धराशायी समयसापेक्ष आउने परिवर्तनले गराउँछ । विशेषत प्राकृतिक प्रकोपको कारण अर्थतन्त्रमा पर्नजाने क्षतिले अर्थतन्त्रलाई बढी प्रभावित बनाउँछ । यसरी अर्थतन्त्र प्रभावित भई ओरालो लाग्दै जानु अर्थतन्त्रको धराशायी अवस्था हो । अर्थतन्त्र धराशायी हुँदा सरकारले बढी मुद्रा बजारमा ल्याउँछ र बजारमा मुद्रास्फीति तीव्र भएर जान्छ । जसले निस्चित आम्दानी भएका उपभोक्तालाई बढी पीडित बनाउँछ ।

विभिन्न समयमा आइपर्ने प्रकोपहरूको कारण अर्थतन्त्र छिटो धराशायी बनेका उदाहरणहरू नभएका पनि होइनन् । वास्तवमा प्राकृतिक प्रकोप अर्थतन्त्र क्षय गर्ने जिवाणु नै हो । यसले अर्थतन्त्रलाई धेरै छिटो शिथिल बनाउँछ । अर्थतन्त्रकोे सबल पन नष्ट हुँदै क्षयीकरणको बाटोमा अर्थतन्त्र लाग्दछ । अर्थतन्त्रको मजभुतिपन सबल आर्थिक क्रियाकलापले तय गर्ने हो जुन व्यक्ति वा संस्थाले गर्ने हो तर प्रकोपको समयमा व्यक्ति वा संस्था दुवै पक्ष आर्थिक क्रियाकलाप गर्न उत्साहित हुँदैनन् । भएको आयमा उपभोग गरेर बस्दछन् उत्पादन ठप्प हुन्छ । आर्थिक कारोबार हुँदैन जसका कारण अर्थतन्त्र ओरालो लागिरहेको हुन्छ ।

अर्थतन्त्र ओरालो लागेको अवस्था नै अर्थतन्त्र धराशायी हुनु हो । धराशायी भएको अर्थतन्त्रलाई सरकारले माथि उठाउन बजारमा बढी लगानी गर्नुपर्दछ । व्यक्ति वा निजी संस्थासँग लगानी योग्य आय÷पुँजी हुँदैन, सरकारले नै लगानी गर्नुपर्छ । सरकारले एकै चोटी ठूलो लगानी गर्दा बजारमा मुद्राको बिस्तार बढी हुन्छ । उत्पादन न्यून हुन्छ । न्यून उत्पादनको कारण ती वस्तुको बजार मूल्य उच्च हुँदै जान्छ । यसरी वस्तुको बजार मूल्य बढ्दै गएको अवस्थालाई मुद्रास्फीति भनिन्छ । यस अवस्थामा मुद्राको क्रयक्षमता घट्दै गएको हुन्छ ।

विश्वमा फैलिएको कोरोना भाइरस महामारीले विश्वको अर्थतन्त्र धराशायी बनाउने निश्चित छ । यस अवस्थमा अर्थतन्त्रलाई माथि उठाउन अन्तर्राष्ट्रिय मुद्राकोष, आसीएफसी, अन्तर्राष्ट्रिय पुनर्निर्माण बैंक, विश्व बैंकलगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहमतिमा विश्वका देशहरूले अधिक नोट निष्कासन गर्नेछन् । यो अवस्थामा आन्तरिक ऋण बाह्य ऋण आदिको सम्भावना हुँदैन । नोट निष्कासन गर्नुको विकल्प हुँदैन, गर्नैपर्छ । सरकारले नोट निश्कासन गरी शिथिल बजारलाई माथि उकास्न/यथास्थितिमा ल्याउन ठूलो रकम लगानी गर्नुपर्छ ।

शिथिल बनेको बजारले जतिसुकै ठूलो लगानी बजारमा आए पनि उत्पादन सोही अनुपातमा गर्न सक्दैन । उत्पादित वस्तुको बजारमूल्य बढी पर्न जान्छ । थोरै वस्तुुलाई धेरै मुद्राले पछ्याउँछ यसको मतलब मुद्राको मूल्य घट्छ वस्तुको मूल्य बढ्छ । जस्तै, एक मुठा साग लिन खल्तीभरिकै पैसा खर्च गर्नु । यसबाट देशले अधिक उच्चदरको मुद्रास्फीति व्यहोर्नु पर्छ । विशेषतः स्वउत्पादन न्यून भएका राष्ट्रहरू बढी मारमा पर्दछन् । निश्चित आम्दानी भएकाहरू (जागिरे जीवन जिउने बढी प्रभावित बन्दछन् । मुद्राको खरिद क्षमता अति न्यून हुन्छ । व्यापारी र दलालहरूलाई यसले खासै प्रभाव पार्दैन यिनीहरू उत्पादक र उपभोक्ताबीचका मध्यस्थकर्ता मात्र हुन् ।

मुद्रास्फीति हुँदा आर्थिक क्रियाकलाप त बजारमा बढ्छ तर मुद्राको क्रय क्षमता न्यून हुनुले आयको ठूलो अंश उपभोगमा खर्च हुन्छ, बचत सृजना हुँदैन । बचत लगानीमा परिणत नहुने स्थितिले थप वस्तु उत्पादन हुँदैन । आयात गरिएका वस्तुमा ठूलो धनराशि खर्चहुन्छ । मुद्रास्फीतिको सबैभन्दा ठूलो मार उपभोक्ताले व्येहोर्छन् सरकारलाई भने त्यति ठूलो असर पर्दैन । मुद्राको मूल्य न्यून हुँदा उत्पादन लगानी बढ्छ, वस्तुको उत्पादन लागत उच्च हुन पुग्दछ । लागत उच्च भएपछि बजार मूल्य पनि उच्च हुन्छ । यस परिस्थितिबाट बैंक तथा वित्तिय संस्था चुर्लुम्मै हुने सम्भावना बढ्छ । रियलस्टेट र पर्यटकीय क्षेत्रमा गरिएको लगानीबाट व्यवसायीले ठूलो क्षति सहनु पर्छ । बैंकले पनि यी क्षेत्रमा दिएको ऋणबाट नियमित ब्याज किस्ता प्राप्त गर्न सक्दैनन् ।

बैंक तथा वित्तिय क्षेत्रको अवस्था दयनीय बन्दै जान्छ । बैंकले बलियो जमानीमा ऋण प्रदान गरेको भए पनि लिलाम गर्नुपर्ने अवस्थामा किन्ने बजार त यही बजार हो । मानिससँग खरिद गर्ने रकम हुँदैन र बैंकलाई त्यो जमानतको सम्पत्ति टोक्नु न बोक्नु हुन्छ । बैंकले जमानत जफत गरेर आफूले उत्पादन गर्ने त होइन बजारमा बिक्री गर्नैपर्छ । यसले गर्दा नेपालमा आउँदा दिनमा लगभग आधाजति वाणिज्य बैंकहरूको स्थिति भयावह हुने देखिन्छ । सेयर बजार त निकम्मा भएरै बस्दछ अहिलेको सेयर बजारको अवस्था वास्तविक छैन यसले अधिकांश सर्वसाधारणलाई डुबाउँछ । यो सेयरका बिचौलीयाहरूले आज अघि गुमाएको मुनाफा लिने अवधि हो । उत्पादन सुरु नभइसकेका निर्माणाधिन जलविद्युत् कम्पनीहरूमा गरिएको लगानीबाट लगानीकर्ता बढी पीडित बन्दछन् । आफ्नो जागिरको आय, घर खेत बेचेर लगाइएको लगानी धराशायी बन्दा कतिपय लगानीकर्ता पलायन नै हुनुपर्ने स्थिति नदेखिएला भन्न सकिन्न ।

विशेषत जलविद्युत् उत्पादन कम्पनीबाट कम्पनीका मालिकहरूले लागत मूल्य अत्यधिक बनाई/सेयर बेचेर आफ्नो लगानीभन्दा ठूलो हिस्सा मुनाफा लिसकेका छन् । पीडित त तिनै सेयर लगानी गर्ने सर्वसाधारण नै बन्दछन् । यस अवस्थामा बैंक तथा जलविद्युत्मा लगानी गर्ने लगानीकर्ता बढी सजक रहनुपर्नेछ । एकातिर मुद्रास्फीतिको चरम मार र अर्कोतिर आफ्नो लगानीले उत्पादन नगरी सेयर अंशको मूल्य न्यून हुँदा लगानीकर्ताले बढी क्षति सहनुपर्ने देखिन्छ । यस्तो गम्भीर परिस्थिति सृजना हुन नदिन सरकारले विशेष पहल गर्नुपर्छ । सरकारले यस महामारीबाट सजग हुँदै, आवश्यक व्यवस्थापन गरी उद्योग, कलकारखानलाई सञ्चालन गर्न पहल गर्नुपर्दछ । विशेष सुरक्षाको प्रबन्ध गरी उत्पादनलाई निरन्तरता दिनु पर्दछ । आर्थिक क्रियाकलाप नियमित रूपमा सञ्चालन गरिने वातावरण सृजना गर्दा बजार क्षय हुनबाट रोकिन्छ । बजार बन्द भइसकेपछि पुनः सञ्चालन गर्न कठिन हुन्छ ।

आर्थिक उतारचढावको कारण अर्थतन्त्रमा मन्दी आउनु नौलो कुरा होइन । तर प्राकृतिक प्रकोप महामारीले ल्याउने मन्दी बढी हानिकारक हुन्छ । यसलाई व्यवस्थापन गर्ने जिम्मा सरकारबाहेकको विकल्प हुँदैन । सरकारले ह्वात्तै लगानी बढाउनुपर्ने हुन्छ जसले मुद्रास्फीति सृजना गर्छ । एक पटक चरम मुद्रास्फीति देखा परिसकेपछि त्यो अवस्था नियन्त्रण हुँदैन, बढ्दै जान्छ र चौतर्फी प्रभाव देखाउँछ । यसबाट उन्मुक्ति पाउन सरकारलगायत सरकारका सबै साझेदारहरू सचेत रहनुपर्ने देखिन्छ । विषम परिस्थितिमा सरकार नै सबैभन्दा ठूलो अविभावक हो । सरकारले समस्याको पहिचान गरी अविभावकत्व लिन अब ढिला गर्नु हुँदैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्