Techie IT
बिहीबार, माघ १५,२०७७

आर्थिक सामाजिक रूपान्तरण बोकेको कोभिड–१९


समाज समयसापेक्ष रूपान्तरण हुन्छ । समाज रूपान्तरण हुँदा समाजमा विद्यमान संस्कार, संस्कृति, आर्थिक उत्पादन र जनजीवनमा परिवर्तन आउँछ । सकरात्मक परिवर्तन आउँदा देश उन्नतितर्फ लम्कन्छ भने नकरात्मक परिवर्तन आउँदा देश अवोन्नतिर्फ झुक्छ । समय समयमा आउने विभिन्न महामारी, युद्ध, विद्रोह आदिले समाजमा परिवर्तन ल्याएका छन् । वर्तमान कोभिड–१९ ले सामाजिक रूपान्तरण ल्याउने कुरा विगतका इतिहासबाट पनि छर्लङ्ग हुन्छ ।

विगतका इतिहासमा पनि समाजलाई रूपान्तरण गर्न कृत्रिमरूपमा युद्ध, विद्रोह गरिने प्रचलन थियो । राज्य अक्षम भएर वा रोगलगायत अन्य प्राकृतिक प्रकोपले शिथिल बनेर सामाजिक परिबेश परिवर्तन भएको देखिन्छ । समाज परिवर्तनका प्रमुख चार कारण हुन्छन् । महामारी, युद्ध, विद्रोह र राज्यको अक्षमता । यहाँ महामारीले समाजमा ल्याउन सक्ने रूपान्तरणलाई मात्र विश्लेषण गरिएको छ । विश्वमा पहिलो भयावह महामारीको रूपमा जस्टिनियन प्लेगलाई लिइन्छ ।

यो महामारी इजिप्टबाट सुरु भयो र बैजन्तायन साम्राज्यको राजधानी कन्स्टेनटाइनपोलमा पुगेको थियो । त्यसपछि यो पूर्व–पश्चिम सबैतिर फैलियो यसले साँढे दुईदेखि १० करोडसम्म मान्छे मारेको अनुमान गरिन्छ । यो रोग भित्रिँदा बैजन्तायन साम्राज्य शक्तिशाली, सम्पन्न र भव्य थियो यसको भू–भाग चारैतिर फैलिएको थियो । सन् सात सय ५० तिर यो प्लेग महामारी उन्मुलन हुँदा बैजन्तायन साम्राज्य तहसनहस भयो । प्लेग संक्रमणले आर्थिक अवस्था कमजोर बनायो, युवा शक्तिको मनोबल घटायो । कमजोर भएका कारण बाहिरी हस्तक्षेप बढ्यो । शक्तिशाली बैजन्तायन साम्राज्य टुक्रा टुक्रा भयो ।

त्यसपछि १४औं शताब्दीमा युरोप र एसियामा ब्ल्याक डेथ भन्ने महामारी फैलियो । जसलाई इतिहासकै सबैभन्दा भयावह महामारी मानिन्थ्यो । यसले छ लाख ५० हजार देखि २० करोडको ज्यान लिएको अनुमान छ । सन् १३४० को सुरुमा यो रोग चीन, भारत, सिरिया, इजिप्टमा फैलिएको थियो । पछि सन् १३४७ मा युरोप पस्यो युरोपको लगभग ५० प्रतिशत जनसंख्या यसै रोगका कारण मारिएका थिए । ब्ल्याक डेथबाट युरोप धेरै प्रभावित बन्यो ।

प्रसिद्ध इतिहासकार वाल्टर सेडलका अनुसार ब्ल्याक डेथका कारण युरोपमा कृषि अर्थतन्त्र मौलायो । कृषि कामदारको ज्याला बढायो, धेरै जनशक्तिको मृत्युले कृषि श्रमिकको जमिन माथिको पहुँच बढ्यो, जमीनदारको स्वामित्व घट्यो । युरोपमा श्रमिकको माग बढ्दा उनीहरूको ज्यालादर धेरै बढ्यो । अर्थतन्त्रमा सुधार आउन थाल्यो, जमिनदारले सरकारलाई जमिनको मापदण्ड बनाउन दबाव दिए । जमिनदारको स्वार्थअनुकुल कानून बनाइयो । पछि कानुनविरुद्ध सन १३८१ मा कृषक आन्दोलन भयो । युरोपभरि महामारी फैलाएको आरोपमा कैयौं यहुदीहरूलाई फाँसी दिइएको थियो । ब्ल्याक डेथको कारण क्याथोलिक चर्च कमजोर भयो । चर्चले ब्ल्याक डेथ महामारीको समाधान गर्न सकेन, निरीह बन्यो । आम मानिसहरूमा चर्चमाथिको विश्वास घट्दै गयो ।

प्रथम विश्व युद्धको अन्ततिर स्पेनिस फ्लु फैलियो । युरोपमा देखापरि अमेरिका र एसियामा फैलिएको थियो । यस महामारीबाट ५ करोड मानिस मारिएको अनुमान छ । यसबाट भारतमा मात्र झण्डै दुई करोड मारिएका थिए । यो फ्लु ले जर्मनी र अष्ट्रियालाई बढी प्रभावित बनायो । जर्मनीले युद्ध हार्नुको पछाडि यसै फ्लुको प्रभाव थियो भनिन्छ ।

कोभिड–१९ चीनबाट शरुभई आज विश्वभर फैलिएको छ । आजसम्म विश्वमा पाँच करोड आठ लाख संक्रमित भएका छन भने १२ लाख ६३ हजारले ज्यान गुमाएका छन् । संक्रमण तीव्ररूपले फैलिएको छ । यसैबीचमा विश्वमा कोरोना भाइरस कृत्रिम प्राकृतिक भनी बहस पनि चलिरहेको छ । कोरोनाविरुद्धको भ्याक्सिन पत्तालाग्यो भन्ने समाचार आउँछ तर परीक्षण गरी बजारमा आउन सकिरहेको छैन । सम्पन्न राष्ट्रहरूबीच भ्याक्सिन बनाएर मानवीय संरक्षणभन्दा पनि आर्थिक लाभ लिउँला भन्ने होडबाजी चलिरहेको छ । यसले आर्थिकरूपमा पनि ठूलो रूपान्तरण ल्याउन सक्ने स्थिति छ किन भने यसको नियन्त्रण र व्यवस्थापनसँग आर्थिक पक्ष जोडिएर आँउछ । तसर्थ यसले सामाजिक र आर्थिक दुवै पक्षलाई प्रभावित बनाउँछ ।

गैरहिन्दुहरूको आस्थामा दरार ः विश्वमा ३३ प्रतिशत क्रिश्चियन, २० प्रतिशत मुश्लिम, १५ प्रतिशत हिन्दु, ७ प्रतिशत बौद्ध र ६ दशमलव ५ प्रतिशत चीनियाँ र बाँकी अन्य धर्मावलम्बी रहेका छन् । यसमा हिन्दु (वैदिक सनातन) धर्म अनादिकालदेखिको धर्म भन्ने जनविश्वास छ जसको सुरुवात मानव सभ्यतासँगै विकास भएको मानिन्छ । गैर हिन्दु धर्मावलम्बीहरूको संस्कार, चलनमा कोभिड–१९ ले परिवर्तन ल्याइदियो । सैतानले मान्ने धर्म, रुढीबादी, असभ्य र गरिबको धर्म भनी घृणा गरिएको वैदिक परम्परा । जसलाई विश्वकै शक्तिशाली राष्ट्रका राष्ट्रपति डोनाल ट्रम्पले पण्डित बोलाएर रुद्री लगाई जल अभिषेक लिनु, हातजोडेर आदर सम्मान गर्नु, विभिन्न जडीबुटीको प्रयोग गर्नु । गैर हिन्दुहरूको आजसम्मको आस्थामा दरार आउनु हो । वास्तवमा त वैदिक सनातन (हिन्दु) संस्कार राम्रो रहेछ भन्ने विश्वास जाग्ने वातावरण बन्यो । उनीहरूले मानिरहेको संस्कारप्रति अलमल्ल हुने स्थिति सृजना भयो ।

वैदिक सनातन (हिन्दु)माथिको बढ्दो विश्वास ः अनादिकालदेखि विद्यमान वैदिक सनातन धर्म (हिन्दु) मान्नेहरू विश्वमा १५ प्रतिशत मात्र छन् । विश्वका एक सय ६५ भन्दा बढी देशमा हिन्दु धर्मावलम्बीहरूको बसोबास रहेको पाइएको छ । विश्वको पहिलो लिखित किताब ऋग्वेद हो । ऋग्वेदलगायत चार वेद वैदिक सनातन धर्मका धर्मग्रन्थ हुन् । यिनैमा उल्लेखित जडीबुटीको प्रयोग बढ्नु, धार्मिक संस्कारको रूपमा चलिआएको शिर सहित झुकेको नमस्कार, धार्मिक अनुष्ठानबाट लिने आनन्द, प्रचारप्रसार र सदस्य निर्माण नगरिएको प्रकृतिप्रदत्त वस्तुलाई भगवानसरह मान्ने प्रचलन । सूर्यलाई साक्षात भगवान मान्नु यी सबै वेदोत्त प्रचलन हुन् जुन सत्य छन् ।

यसकारण विश्वमै वैदिक सनातन (हिन्दु) धर्मप्रतिको आस्था बढ्दो छ । कोरोनाको अन्तसँगै यसको आस्थामा तीव्रता आउने देखिन्छ । कालान्तरमा वास्तविकताको समर्थन सबैले गर्नैपर्छ । इतिहास बिर्सेर लहडमा मात्र हिँड्नुले संस्कारको बोध हँुदैन । सत्यको बोधले सत्मार्गमा लगाउँछ । एकअर्कामा प्रतिशोध नराखिकन बोल्दा आज वैदिक सनातन(हिन्दु) धर्मावलम्बीले अँगालेको संस्कार ठीक रहेको पुष्टि भैसकेको छ । यो कोरोना कहरबीचको परिस्थितिले प्रमाणित गर्दै गइरहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्