Techie IT
बुधबार, मंसीर १७,२०७७

कोरोनाले ध्वस्त बनाएको हवाइ उद्योग


कोरोनापछिको हवाइ क्षेत्र र त्योसँग सम्बन्धित सबै व्यापार अहिले विश्वभरि नै नाजुक अवस्थामा छ । चार्टर र अलिअलि कमर्सियल उडानहरू सुरु हुन थालेका छन्् । युरोपेली मुलुकहरू फेरि लकडाउनमा प्रवेश गरेका छन् । अमेरिकामा रास्ट्रपतिको फेरबदलसँगै त्यहाँको स्वास्थ्य नीतिमा परिवर्तन आउनसक्ने सम्भावना देखिएको छ । अहिले सबैभन्दा मारमा परेको हवाइ व्यापार नै हो । कमर्सियल फ्लाइट हुन अझै केही समय लाग्ने कुरा केही विज्ञहरूले भनिरहेकै अवस्था छ । व्यापारिक उडान यति छिटो नै सुरु होला भन्न सकिने अवस्था छैन ।

व्यापारको अरु क्षेत्रभन्दा हवाइ सेवा पृथक र रिस्क भएको क्षेत्र पनि हो । लामो दूरीमा उड्ने एउटा ए–३३० जहाज जब कमर्सियल उडानमा जान्छ तब यसको अप्रेसन लागत हामीले सोचेभन्दा धेरै फरक हुन्छ । जहाजको पनि हरेक पार्टसको आ–आफ्नै लाईफ र साइकल हुन्छ । उड्न थालेपछि उडानसँग सम्बन्धित सबै पुर्जाहरूको लाईफ साइकल सुरु हुन्छ । इन्जिनदेखि ल्यान्डिङ गेर, ह्विलदेखि अरु नेभिगेसन र इलेक्ट्रिकल पार्टसहरूको आयु हुन्छ । तिनीहरूको हरेक उडानको घन्टासँग र टेकअफ ल्यान्डिङसँग समय गणना हुन्छ । निश्चित घन्टा पार गरेपछि फेर्ने वा ओभरलमा पठाउनु पर्ने हुन्छ ।

जहाज उड्न थालेको चार हजार घन्टामा इन्जिन ओभरल गर्नुपर्ने हुन्छ त्यसपछि सिंगै जहाजको सुरुमा निश्चित घन्टापछि ए चेकमा जानुपर्ने हुन्छ । अर्को क्रमशः बि चेक सि चेक हुँदै जान्छ । म्यानुफेक्चरिङ कम्पनीले निर्धारण गरेको समयमा पूरै जहाज चेक गर्नुपर्ने हुन्छ । हरेक चेकमा धेरै खर्च हुन्छ । यही कारणले पनि हवाइ क्षेत्र एउटा निकै महँगो व्यवसाय हो ।

सबै प्रकारका जहाजको ओभरल (मेन्टेनेन्स लागत) चार्ज अत्यन्तै महँगो हुन्छ । त्यही कारण पनि एयरलायन्सको व्यापार हम्मेसी नाफामा जादैन । गएपनी कुनै कारणबस उडान तालिकामा तलमाथि पर्यो वा उडानहरू रद्द गर्नुपरेको खण्डमा र यात्रुहरूलार्ई तारे होटेलमा राख्नुपर्ने स्थिति आयो भने टिकट बेचेको मूल्यभन्दा यात्रुलार्ई एक दिन पाल्नुपर्दाको अवस्था खर्चिलो हुन्छ । यो एउटा चुनौतीकै रुपैयाँ देखिन्छ । त्यसैले पनि सबै एयरलायन्सले हम्मेसी उडानहरू रद्द गर्दैनन् । त्यसैले पनि विशेष परिस्थिति सिर्जना हुन नगएसम्म कुनै पनि हवाइ सेवा कम्पनीले आफ्नो निर्धारित उडान रद्द गर्न चाहँदैनन् ।

यतिबेला विश्व अझै लकडाउनमा छ । हवाइ यातायातका प्रायः सबै सेवाहरू सञ्चालमा आएका छैनन् । एउटा आँगनजस्तै र सबै एक परिवारजस्तै लाग्ने विश्व मानवसमुदायबीचको भौगोलिक दूरी बढेको छ । कमर्सियल फ्लाइटहरू बन्द भएको स्थिति छ । र कहिलेदेखि विश्वमानव सहज परिस्थिति र आफ्नो पूर्वावस्थामा फर्किने हो कसैले आन्दाज गर्न सक्ने स्थिति छैन । कोरोनाबाट अति प्रभावित देश अमेरिका र युरोपेली मुलुकहरू पूर्वास्थामा फर्किन धेरै समय लाग्नेछ भनेर अनुमान गरिँदै छ ।

विश्व व्यापार ठप्प छ । तेल उत्पादक कम्पनीहरू खर्बौँमा नोक्सानमा छन् । हवाइ सेवा समेत अति नै नराम्रोसँग प्रभावित भएको छ । मानिसको यात्रा रोकिएको छ । हवाइ यातायातले सन्सारलाई जोडेको थियो र मानिसहरूले कहिले कल्पना समेत गरेका थिएननन् कि उनीहरू जहाँ बसेका छन् त्यही रोकिनुपर्ने अवस्था पनि सिर्जना हुनसक्छ भन्ने । आज विश्व त्रसित छ । कोरोनाको खोप उत्पादनन हुन्जेलसम्म धेरै मानिसहरू हताहत हुनसक्ने अवस्था छ ।

अनुसन्धानबाट आविष्कार हुने खोप पनि त्यति प्रभाशाली हुनसक्छ भन्ने कुनै ग्यारेन्टी छैन किनभने एचआईभी रोगको यात्रा ३५ वर्ष नाघिसकेको छ । र आजसम्म यसको रोकथाम मात्रै भएको छ निको हुने कुनै औषधि पत्ता लागेको छैन । अहिलेसम्म कोरोनामाथि गहिरो अध्ययन हुन सकेको छैन र भनिन्छ कोरोनाले रूप परिवर्तन गरिरहेको छ । चाइनाबाट उत्पत्ति हुँदाको अवस्थाभन्दा अहिले विश्वमा फैलिदा यसको रूपमा, प्रभावमा र फैलावटमा परिवर्तन आइरहेको छ । खोपको विकास हुँदासम्म यस्ले विश्व मानवमाथि कति क्षति पु¥याउँछ भन्न सकिने अवस्था छैन ।

मानिसको अवस्था सामान्य हुँदासम्मको स्थितिमा मात्रै हो व्यापार जागिर अध्ययन अनुसन्धान र उसले गर्ने यावत कर्महरू त्यही गतिमा गतिमान हुने । अहिले जुनसुकै क्षेत्रको पनि गति रोकिएको छ । यस्तै गति आजभन्दा १०२ वर्ष अगाडि पनि रोकिएको थियो र त्यो बेला अहिलेको जस्तो रोगप्रतिरोधी ओखती पनि प्रयोगमा आइसकेको थिएन । मानिस जब ऊ असमान्य अवस्थामा रहन्छ न त्याहा व्यापार हुन्छ न त्यहाँ सामाजिक कामहरू हुन्छन् न जीवनका अरु गतिशील कर्महरू त्यही रफ्तारमा अगाडि बढ्न नै सक्छ ।

निर्धारण गरेको फ्लाइट सेडुल विविध कारणले जब रद्द हुन्छ तब एयरलायन्सको हालत खराब हुन्छ । अझ लङहल फ्लाइट रद्द हुँदा यात्रुहरूको गुनासो थेग्न सक्ने स्थिति नै हुँदैन । सबै यात्रुले आफू पुग्ने गन्तव्य यात्रा निश्चित मितिका लागि तय गरेका हुन्छन् त्यो समयमा पुग्न नसक्ने भएपछि उनीहरूको पनि आफ्ना काम मिटिङ व्यापार होलान् अनि त्यस्को निश्चित शोधभर्ना खोज्छन् ।

आइकावोको नियमअनुसार लङहलका सबै यात्रुलाई तारे होटेलमा राख्नुपर्ने हुन्छ । उडान रद्द हुँदा दुवैतर्फको प्यासेन्जरलाई खानपिन र आवास सुबिधाको प्रबन्ध गर्नुपर्ने हुन्छ । अझ पुरै फ्लाइटको सिट अकुपेन्सी फुल छ भने पुरै यात्रुलाई व्यावस्थापन गर्नुपर्ने हुन्छ । अहिले प्रायः एयरलायन्स कम्पनीहरू कोड सेयरिङमा चलेका छन् । ट्रान्जिट गरेर अर्को एयरलायन्सको फ्लाइटको उपयोग गरी यात्रुलार्ई आफ्नो गन्तव्यमा पु-याउने कार्यलाई कोडसेयरिङ भनिन्छ । एयरलायन्सभित्रको आन्तरिक सम्झौता हो यो । जस्तो इतिहाद एयरले नेपालबाट उडान भरेर दोहा पुगेका यात्रुलाई कतारबाट युरोपेली देशमा पु-याएजस्तै । नाफा र नोक्सानको हिस्सामा साझेदार अप्नाइने सम्बन्ध । हवाइ सेवा कम्पनीले निर्धारण गरेको फ्लाइट प्रोग्राम सकेसम्म रद्द गर्दैन किनभने यसबाट उसले धेरै नोक्सानी बेहोर्न पर्ने हुन्छ ।

विमानहरू भुमिस्थ हुँदाको अवस्थामा पनि सम्बन्धित हवाइ नियमन र नियन्त्रक निकायलाई भुमिस्थ गरेको सबै जहाजको पार्किङ चार्ज तिर्नुपर्ने हुन्छ । हरेक महिना यस्को महँगो इन्स्योरेन्स तिर्नुपर्ने हुन्छ । उडान गर्दा मात्रै होइन ग्राउन्डेड हुदा पनि यसको आफ्नै खर्च भैरहेको हुदा विश्वका हवाइ सेवा प्रदायक कम्पनीहरू प्रायः घाटामा गैरहेका हुन्छन् । सरकारले जिम्मेवारी लिएको रास्ट्रध्वजाबाहक एयरलायन्सहरू कतार, थाइएयर्वेज, एयर इन्डिया, इथेहाद अथवा नेपाल एयरलायन्स अहिले उठ्नै नसक्ने गरेर थला परेको अवस्थामा छन् । इन्डियन एयर र एयर इन्डियापछि मर्जमा गए तर पनि उस्को आर्थिक अवस्था सुधार हुन सकेन । इन्डियन गभर्मेन्टले अर्बौँ डलर लगानी गरिदिएको छ तर पनि बालुवामा पानी खन्याएजस्तो भएको छ । नाफामा गएको थाइल्यान्डको सरकारी एयरलायन्सको हालत पनि टाटको अवस्थामा पुगेको छ ।

भर्जिन एयरले आफ्ना आफ्ना छ सय पाइलोटसहित तीन हजार कर्मचारीहरू कटौती गरेको छ । साथै मौजुदा बाईसवटा जहाज ग्राउन्डेड र आफ्ना एकचालीस सय स्थायीी कर्मचारीलाई सेवा बाट अवकाश दिएको छ । रेनएयरले आफ्ना एक सय १३ वटा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजहरूलाई भुमिस्थ गर्नुका साथै नौ सय तेर्ह अन्तर्राष्ट्रिय चालकहरू घटाएको छ र कोरोनाको प्रभाव यस्तै रहेमा आउँदो महिना सम्ममा अरु चार सय ५० पाइलटहरू घटाउने योजनामा लागेको छ ।
एयर इमिरेट्सले यो वर्ष सबैभन्दा धेरै निर्माण गर्न लगाएको ७७७ सिरिजका सबै १५० बोइङको निर्माण रद्द गरेको छ र आफ्ना ३८ वटा ए ३८० सिरिजका सम्पूर्ण जहाज भुमिस्थ गरेको छ । उसले आफ्ना स्थायी ५६ जना कर्मचारीलार्ई समेत अवकाश रोज्न आह्वान गरिसकेको छ ।

बिज एयरले भाडामा लिएका ३२ वटा ए३२० सिरिजका जहाजहरू कम्पनीलाई फिर्ता गरेको छ । आफ्ना २०० चालक सहित अन्य १२ सय कर्मचारी घटाइसकेको छ । अवस्था हेरेर आगामी महिनाभित्र अन्य चार सय ३० कर्मचारी पनि घटाउने योजनामा लागेको छ । र बाकी रहेका कर्मचारीहरूले खाइपाइ आएको तलबमा समेत ३० प्रतिशतले कटौती गर्दै छ ।

आइ ए जि (बृटिस एयर्वेजसँगको भगिनी सस्था) आफ्नो एयर युरोपासँगको सहकार्यलाई तोडेको छ र यसबापत उसले एयर युरोपालाई चालीस मिलियन पाउन्ड तिर्दै छ । आईएजीले आफ्ना ५६ वटा जहाज ग्राउन्डेड गरेको छ । बृटिस एयरले पनि आफ्ना ३४ वटा लङहल फ्लाइटलाई ग्राउन्डेड गरिसकेको छ र ५८ वर्ष पार गरेकालाई सेवा मुक्त गरिसकेको छ ।

लुक्सएयरले पचास प्रतिशत जहाजहरू घटाएको छ । र आफूले सहकार्य कोड सेयरिङ गरेका सबै भगिनी सस्थाहरूसँगको आन्तरिक सम्झौता रद्द गरिसकेको छ । युरोविङ एयरवेज बैंक करप्टेसिमा परेको छ । ब्रसेल्स एयरलायन्सले पचास प्रतिशत भन्दा बढी आफ्ना जहाजहरूमा कटौती गरेको छ । र सहकार्य गरेका कतिपय एयर कम्पनी सँगको सम्झौता समेत रद्द गरेको छ । त्यस्तै लुफ्थान्सा एयरले आफ्ना ७२ वटाभन्दा बढी लामोदूरीका जहाजहरू ग्राउन्डेड गरेको छ ।

त्यस्तै अर्को होप एयरले पचास प्रतिशतले कर्मचारी घटाउँदै र पचास प्रतिशतले जहाज पनि घटाउने योजना बनाउदै छ । अहिले बोइङ निर्माण कम्पनीसँग कम्तीमा ६० भन्दा बढी निर्माण सप्पन्न भएका लामोदूरीका जहाजहरू ग्राहक कुरेर बसिरहेको छ । जवकी उक्त कम्पनीलार्ई अर्डरमा आएका जहाज निर्माण गर्न भ्याइनभ्याइ हुन्थ्यो । कतिपय जहाजहरू फिर्ता आउँदै र निर्माणका लागि बैना दिएका हवाइ सेवा कम्पनीहरूले धमाधम आफ्नो अर्डर समेत रद्द गरिरहेका छन् । कोरोना प्रकोपकै कारण विश्वका बोइङ म्यानुफेक्चरिङ कम्पनी समेत धरापको अवस्थामा पुगेका छन् र आफ्नो हाइलिस्किल म्यानपावरलार्ई समेत कामबाट निकाल्नु पर्ने बाध्यता छ ।

हवाइ उड्डयन सेवा प्रदायक कम्पनी मात्रै होइन जहाज निर्माण कम्पनी समेत यतिबेला विश्वव्यापी कोरोना प्रभावका कारण अन्योलग्रस्त छन् । अर्बौँ डलरमा डिल भएका सेवा प्रदाएक कम्पनीहरूले जहाज निर्माणको काम नै धमाधम रद्द गर्न थालेका छन् । विश्वव्यापी रूपमा कोरोनाको भ्याक्सिन उत्पादन सुरु हुन पनि अझै केही वर्ष लाग्ने सम्भावना बढ्दै गएको छ । यस्को कारण पनि सबै हवाइ सेवा प्रदायक कम्पनीहरूको भविस्य अन्योलग्रस्त हुँदै गएको छ ।

एयरबस मेनेफेक्चरिङ कम्पनीसँग अहिले निर्माण सम्पन्न भएका र अर्डरमा आएका ७८ वटा लामोदूरीका एयरबसहरू ग्राउन्डेड छन् । त्यसमा ए ३५०का जहाजहरू मात्रै तीसवटा छन् । एयरबस कम्पनीले कोरोना प्रभावका कारण विश्वमा लगभग आठ हजार जहाजरु भुमिस्थ हुने र नब्बे हजार पाइलोटहरूले आफ्नो जागिर गुमाउने आँकलन गरेको छ । हवाइ सेवामा आएको व्यापार क्षयीकरणका कारण विश्वको दूरी लम्बिएको छ । मानिसहरूको व्यापारिक यात्रा नै रोक्किएको छ ।

अत्यावश्यक सेवाका सामग्रीहरूको मुल्य आकाशिएको छ । मानिसहरूको निर्धारित गन्तव्य र उद्देश्य समेत स्थिर रहेको छ । हवाइ इन्धन उत्पादन गर्ने तेल कम्पनीहरू धाराशायी हुने अवस्थामा पुगेका छन् । कार्गो ढुवानी शुल्कमा लागत बढेको छ । हजारौं पाइलोट इन्जिनियर क्याबिन क्रुहरूको जागिर धमाधम खोसिएको छ । उपयोग नै नभए पछि हवाइ इन्धनको खपत एकाएक रोकिएको छ । यसबाट तेलसँग सम्बन्धित कम्पनीमा काम गर्ने कर्मचारीहरू कटौतीमा पर्न थालेका छन् । पर्यटन उद्योग धाराशायी बन्दै गएको छ । प्रायः सबै देशको ग्रायस्थ उत्पादन घटेको छ । होटेलमा गरिएका खरबौ डलरको लगानी डुब्ने अवस्थमा पुगेको छ । करोडौं मानिसहरू बेरोजगारको चपेटामा पर्न थालेका छन् । कोरोनाले हवाइ सेवा मात्रै होइन अब यसले मानिसको सामाजिक जीवनमा समेत प्रभाव पर्दै गएको छ । मानिससामु घनघोर समस्या र चुनौती थपिएका छन् ।  (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्