Techie IT
बुधबार, मंसीर १७,२०७७

विदेशी पर्यटकलाई सातदिने क्वारेन्टाइनको प्रसङ्ग


वास्तवमा नेपालको यतिबेलाको समया भनेको नेपालमा विदेशी पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरूको चहलपहल सुरु भई सक्नुपर्ने समय हो । किनभने, यो लेख लेख्दा अंग्रेजी महिनाको अक्टोबर महिनाको २ तारिख भएको छ । तर, नेपालको ग्रामीण पर्यटकीय क्षेत्रहरूको त के कुरो गराई भो र ! नेपालको केन्द्रीय राजधानी काठमाडौँको ठमेल क्षेत्र, नगरकोट, गण्डकी प्रदेशको राजधानी पोखराको लेकसाइड क्षेत्रलगायतमा यो (सिजन) समयमा विदेशी पर्यटकको घुईँचो वा भनौं भिडभाड सुरु भइसकेको हुन्थ्यो ।

हुन त नेपाल सरकारले गत भदौं महिनाको मध्यदेखि नै नेपाल आउने र नेपालबाट बाहिर जाने हवाई उडान खुल्ला गरी सकेको छ । त्यसो भए पनि हवाइ उडानबाट विदेशी पर्यटकहरू नेपालमा खासै आएका छैनन् । बरु गत सेप्टेम्बर २७ (विश्व पर्यटन दिवसको अवसरमा) नेपालको पश्चिमी भेगको भैरहवा नाकाबाट केही विदेशी पर्यटकहरू नेपाल आएका थिए ।

त्यसो त हालै विभिन्न सञ्चारमाध्यमहरूमा आएको समाचारअनुसार अब विभिन्न देशका पर्यटकहरू नेपालमा अनेक उद्देश्यले, खासगरी बिदा मनाउन, पर्वतारोहण गर्न, पदयात्रा गर्न र जलयात्रा गर्नका लागि आउने विदेशी पर्यटकहरूको संख्या लगभग ८५/९० प्रतिशत रहेको छ । तर, सन् २०१९ को डिसेम्बर अन्तिमदेखि चीनको दक्षिण–पूर्वी प्रान्त हुपेइको राजधानी सहर वुहानबाट फैलिन सुरु भएको महामारी भाइरस (कोभिड–१९) को कारणले गर्दा यो वर्ष नेपालमा मात्रै नभएर विश्वभरि नै पर्यटन उद्योगले ठूलो क्षति व्यहोर्नु परेको छ ।

दिवस’ नेपालमा मात्रै नभएर विश्वभरि नै रौनकविहीन भएको हुने भएको छ । त्यसैले यो वर्ष नेपालमा मात्रै नभए विश्वका अन्य देशमा पनि बाह्य पर्यटक आगमनले खासै गति लिने देखिँदैन । त्यसमाथि नेपाल भ्रमण गर्न आउने विभिन्न देशका विदेशी पर्यटकहरूले नेपालको कुनै पनि हिमाल आरोहण गर्न जानुअघि वा कुनै पनि पदयात्रा क्षेत्रमा पदयात्रा गर्न जानुअघि ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने छ । नेपालका विभिन्न सञ्चारमाध्यमहरूमा जनाएअनुसार सो सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशी पर्यटकले नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउँदा पालना गर्नुपर्ने सर्तसम्बन्धी मापदण्ड २०७७’ जारी गरेको छ/तोकेको छ ।

यसरी नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशी पर्यटकले नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउँदा पालना गर्नुपर्ने विभिन्न शर्तहरूमा ‘नेपालमा पर्वतारोहण तथा पदयात्रा गर्न आउने विदेशी पर्यटकहरूले नेपाल आउनु अगावै नेपालको भिषा प्राप्त गरेको हुनुपर्ने, तर भिषा प्राप्त नहुने अवस्थामा नेपालमा रहेका ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्ययमा नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्ने, त्यसरी सिफारिस गरी आएका विदेशी पर्यटक आउँदा सम्बन्धित पर्यटक बिन्दु (नाका)मा भिषा उपलब्ध गराउने, नेपाल प्रवेश गर्दा ७२ घण्टा अगाडिको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने, कम्तिमा ७ दिन क्वारेन्टाइनमा रहने गरी होटल बुकिङ गरेको कागजात पेस गर्नुपर्ने, कोरोना सम्बन्धी प्रयोजनका लागि कम्तीमा प्रतिव्यक्ति पाँच हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने, विदेशी पर्यटक नेपाल प्रवेश गरेपछि कम्तिमा ७ दिन क्वारेन्टाइनमा बस्नैपर्ने, सो अवधिमा विदेशी पर्यटकले आफ्नै खर्चमा नेपालमा पीसीआर चेक–जाँच गर्नुपर्ने, कोरोना नेगेटिभ रिपोर्ट आएमा/भएमा मात्रै पर्वतारोहण वा पदयात्रामा जान पाउनेलगायत सर्तहरू रहेको छ । तर, त्यसै पनि विश्वको पर्यटन अर्थतन्त्रमा (कोभिड–१९) ले पारेको भयानक असरको यो अवस्थामा यस्ता अव्यावहारिक र झन्झटिलो लाग्ने (वास्तवमै अव्यावहारिक र झन्झटिलो हो) मानेर कोही पर्यटक आउलान त ? प्रश्न वास्तवमै गम्भीर छ । नेपाल आउन चाहने केही विदेशी पर्यटकहरूले पनि सायद नेपाल सरकारको सर्त नामाहरू पढेपछि/थाहा पाएपछि नआउने मनस्थिति बनाउन सक्छन् ।

हुन पनि गत मार्च अन्तिम–अप्रिल सुरुताका संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व पर्यटन संगठन (डब्लुटीओ)ले केही महिनाअघि तथ्य–तथ्यांकसहित एक प्रतिवेदन प्रकाशित गरेको थियो । सो प्रतिवेदनअनुसार कोरोनाका कारण विश्व पर्यटन क्षेत्रको आगमन (घुमघाम) संख्यामा सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० प्रतिशतसम्मले कमी आउने अर्थात् विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० घट्ने बताईएको थियो ।

स्मरणीय छ, यो तथ्यांक (कोभिड–१९) को असर सन् २०२० को अप्रिल–मे महिनासम्म कायम रहेमा भनी गरिएको तथ्यांकसहितको प्रतिवेदन हो । तर, (कोभिड–१९) को प्रभाव अप्रिल–मे महिना काटेर अक्टोबर महिनाको सुरुमा आइपुग्दासम्म पनि कायमै रहेको मात्रै होइन कि, झनै बढ्दै गएकोले गर्दा सन् २०१९ को तुलनामा सन् २०२० मा विश्वमा पर्यटक भएर घुम्न निक्लने मानिसहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२० मा २० देखि ३० भनी जन प्रक्षेप्रण गरिएको थियो, त्यो भन्दा बढी नै (७०/७५ देखि ८०/८५ प्रतिशत) घट्ने अनुमान गर्न सकिन्छ ।

हुन पनि हाम्रोजस्तो कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन उद्योगको योगदान केवल २ दशमलव ३, २ दशमलव ९, ३ दशमलव ४ देखि बढी मा ४ दशमलव ७ सम्म रहेको देशमा त गत ७ महिनामा २४ अर्बभन्दा बढी नेपाली रुपैयाँबराबरको क्षति व्यहोरेको छ भने पर्यटनमा आएको यस्तो मुर्दाशान्तिले आफ्नो देशको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन उद्योगको योगदान लगभग ५०/५३ देखि १९/२१ प्रतिशतसम्म रहेका देशहरू मकाउ, माल्दिभ्स, अजुबा, सेसेल्स, ब्रिटिश भर्जिन आइल्यान्ड, अमेरिकन भर्जिन आइल्यान्ड, बहामास, भानुआट, केपभर्डे, क्रोसिया, ग्रेनाडा, थाइल्यान्ड, सिंगापुर लगयात देशहरूको हालत के होला ? ती देशका जनताका घरव्यवहार कसरी चल्ला ? ती देशका समग्र अर्थतन्त्र कसरी धानिएला ? विश्व पर्यटनको वर्तमानको डाँवाडोल स्थितिले ल्याउने आर्थिक मन्दीको सहजै अनुमान गर्न सकिन्छ ।

तापनि अध्यागमन विभागकाअनुसार गत अक्टोम्बर महिनामा लगभग दुई हजार विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका छन् । यो क्रम नोभेम्बर महिनामा रहला कि नरहला ? हेर्न बाँकी छ । डिसेम्बर, जनवरी र फेबु्रअरी महिना त अन्य वर्षहरूमा पनि नेपालमा कमै मात्र विदेशी पर्यटकहरूले भ्रमण गर्न गरेका छन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्