Techie IT
मंगलबार, मंसीर १६,२०७७

राष्ट्रवादलाई राजनीतिक चश्माबाट मात्र कहिलेसम्म हेर्ने ?


‘राष्ट्रवाद’ पछिल्लो समयमा नेपाली राजनीतिमा बढी प्रयोग भएको शब्द हो । जब–जब सत्ता डगमगाउन थाल्छ तब–तब शासकहरूले राष्ट्रवादको हतियार देखाएर सत्ता लम्ब्याउने गर्दछन् । यो हाम्रो मात्र समस्या होइन विश्वका कैयौं तानसाहहरूले समेत ‘राष्ट्रवाद’ आफूलाई अप्ठ्यारो परेको बेला प्रयोग गर्छन् । आज हाम्रो परिस्थिति पनि यस्तै छ ।

हाम्रा प्रधानमन्त्री एक नम्बरका राष्ट्रवादी भएको स्वघोषणा गर्छन् । उनी भन्छन्, ‘मजत्तिको राष्ट्रवादी नेता आए म सत्ता छोड्न तयार छु । मैले अहिले सत्ता छोडेँ भने नेपालको स्वाभिमान खतरामा पर्छ । भारतले हामीलाई क्वाप्लाक्कै निल्छ । मेरै कारण लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी भएको हो ।’
मृत्युले छटपटाइरहेको व्यक्तिलाई सोध्यो भने उसको लागि राष्ट्रवाद औषधि हुन्छ, भोकले सताइरहेको व्यक्तिलाई सोध्यो भने उसको लागि राष्ट्रवाद भोजन हुन्छ ।

एउटा बेरोजगार व्यक्तिलाई सोध्यो भने उसको राष्ट्रवाद रोजगार हुन्छ । एउटा किसानलाई सोध्यो भने उसको राष्ट्रवाद कृषिकर्म हुन्छ । अस्पताल जान नपाएकी सुत्केरी हुन नसकेर छटपटाइरहेकी महिलालाई सोध्यो भने अस्पतालमा उपचार उसको लागि राष्ट्रवाद हो । राष्ट्रवाद एउटा अमूर्त चिज होइन । न कि सडक आन्दोलन मात्र । त्यही भएर प्रसिद्ध लेखक मार्क ट्वेनले छद्म राष्ट्रवादीहरूलाई व्यंग्य गर्दै भनेका छन्, ‘त्यो व्यक्ति जो सबैभन्दा चर्को चिच्याउँछ तर केका लागि चिच्याएको भन्ने जान्दैन, त्यही राष्ट्रवादी हो ।’ अहिले हाम्रो देशको सन्दर्भमा ठ्याक्कै यस्तै भएको छ ।

राष्ट्रवाद के हो ? राष्ट्रवादको जग केमा अडिएको हुन्छ ? के राष्ट्रवाद भावनात्मक सम्बन्धको संगठित अभिव्यक्ति हो ? के राष्ट्रहित मानवभन्दा उच्च हुन्छ ? राष्ट्रवादको आधार सैन्य बल हो ? हाम्रो राष्ट्रवाद प्रजातान्त्रिक राष्ट्रवाद हो कि मार्क्सवादी राष्ट्रवाद ? के फरक छ दुवै राष्ट्रवादमा ? कतै हाम्रो राष्ट्रवाद परम्परागत राष्ट्रवाद त होइन ? के राष्ट्रवाद भूगोलसँग मात्र सम्बन्धित छ ? कम्युनिस्टहरू राष्ट्रवादीभन्दा अन्तर्राष्ट्रियवादी हुनुपर्ने होइन ? कतै हाम्रो राष्ट्रवाद सत्ता रक्षाको कवच त बनिरहेको छैन ? किन हाम्रो राष्ट्रवाद जनजीविकाबारे मौन छ ? यी सबै प्रश्नमा एकछिन् घोत्लिन आवश्यक छ ।

राष्ट्रवादले राष्ट्रियताको भावना अभिव्यक्त गर्छ । यो एउटा आध्यात्मिक भावना हो । राष्ट्रवादले वादलाई एउटा विचारात्मक शक्ति मान्दछ जसले कुनै विचारलाई संगठित गर्दछ । राष्ट्रवाद जनताका राष्ट्रिय भावनाको प्रतिफल हो । विशेषगरी यसको विकास एउटै भू–खण्डमा बसेका एउटै जातिबाट हुन्छ । यस्ता जातिका भाषा, धर्म परम्परा र हितहरू एकैप्रकारका हुन्छन् । यिनै राष्ट्रिय भावनाहरूको उपलब्धिका रूपमा राष्ट्रवादको जन्म हुन्छ ।

राष्ट्रियता एउटा आन्तरिक भावना हो । जसले मानिसलाई एउटै सूत्रमा आबद्ध गर्छ । लर्ड ब्राइसले राष्ट्र र राष्ट्रियता शब्दको भिन्नता प्रस्ट्याएका छन् । उनका अनुसार राष्ट्रियता भाषा, साहित्य, विचार, रीतिरिवाज, परम्परा आदि बन्धनहरूमा बाँधिएको जनसमूहको नाम हो । यसले आफूहरूलाई यस्तै प्रकारको अर्को जनसमूहभन्दा भिन्न प्रकारको जनसमूह भन्ने अनुभव गर्दछ । राष्ट्र राजनीतिक रूपबाट संगठित भएको राष्ट्रियता हो जो स्वतन्त्र हुन्छ अथवा स्वतन्त्र हुने इच्छा प्रकट गर्दछ ।

राष्ट्रवादको जग भूगोल मात्र होइन, त्यो भूगोलभित्र रहेका जनताको हित चाहन्छ । अझ स्पष्ट भन्नुपर्दा राष्ट्रवाद जनजीविकामा देखिनु पर्दछ । त्यस्तो जनजीविका जो न्यायसंगत होस्, त्यति मात्र होइन समानता आधारित होस् । आज हामीलाई यस्तै राष्ट्रियताको खाँचो छ । तर राष्ट्रवादको ढोलपिटाइ आफ्नो सत्ताको सुरक्षा कवचको रूपमा मौसमी बाजा बजाइरहेका छन् हाम्रा शासकहरू । जनताहरू पनि उनीहरूकै कुरामा होमा हो गरी लामबद्ध भएका छन् । जनताको कमजोर चेतनाको प्रतिफल नक्कली राष्ट्रवादीहरूले उडाइरहेका छन् ।

बेनडिक्ट एन्डर्सन राष्ट्रको एक हिस्साको रूपमा परिकल्पना गर्छन् । त्यस्तो राष्ट्रको दायराभित्र आफू र आफ्नो जीवन र जगतका क्रियाकलाप समेटिएनन् भने उनीहरूले अलगाव महसुस गर्छन् । मुलुकमा विद्यमान जातीय, लिङ्गीय, भाषिक तथा क्षेत्रीय विविधतालाई आत्मसात गरी आत्मनिर्णयको अधिकार दिनुको सट्टा राष्ट्रवादको नक्कली नारामा अल्मलाइरहेको मात्रै छ ।

हाम्रा शासकहरू कम्युनिस्ट पृष्ठभूमिबाट आएका हुन् । मार्क्सवाद, लेनिनवाद र माओवाद यिनीहरूको पथ प्रदर्शक सिद्धान्त हो । यिनीहरूले अवलम्बन गरेको बाटो जनवाद समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो । कम्युनिस्टहरू जहिल्यै पनि अन्तर्राष्ट्रियवादी हुन्छन् । कम्युनिस्टहरूको अन्तिम उद्देश्य वर्गविहीन र राज्यविहीन समाजको स्थापना गर्नु हो । तर यिनीहरू अन्तर्राष्ट्रिय राष्ट्रवादी होइनन् । तर यिनीहरूको अन्तर्राष्ट्रियवादको नारा खोक्रो भएको छ ।

कम्युनिस्टहरू राष्ट्रवादी होइनन् देशभक्ति भावना भएको हुनुपर्दछ । तर यिनीहरू नक्कली राष्ट्रवादको खोल ओढी जनतालाई भोकै सडकमा सुताई आफू महलको चुचुरोमा थुपैै्र सुरक्षाकर्मीलाई पहरा दिन लगाएर सुत्नेबेलामा केही नशालु पेय पदार्थको प्याक लगाई निदाउने गरेका छन् । आफ्ना कार्यकर्ताहरूलाई मीठा–मीठा लालीलप देखाई सडक तताउने, सामाजिक सञ्जालमा छुद्र शब्दहरूको तिखो वाण हानी उग्र राष्ट्रवादको कुरा चर्काउने गर्दछन् । न यो प्रजातान्त्रिक राष्ट्रवाद हो न यो मार्क्सवादी राष्ट्रवाद हो ।मार्क्सवादी राष्ट्रवादमा उत्पादनका साधनहरूमा श्रमिकहरूको प्रभुत्व कायम रहन्छ । यसले प्रत्येक राष्ट्रिय जातिको विकासका लागि पूर्ण अवसर प्रदान गर्दछ । यो सम्राज्यवाद विरोध हो । यसले अन्तर्राष्ट्रिय क्रान्तिलाई समर्थन गर्दछ ।

एक लेखक मधु मिजारका शब्दलाई सापटी लिँदै भन्नुपर्दा सामान्यतया राष्ट्र निर्माण प्रक्रियामा मूर्त र अमूर्त दुई पक्षको प्रभाव हुन्छ । मूर्त तत्वले राष्ट्रले वैधता हासिल गर्न आवश्यक तत्वलाई समेट्छ भने अमूर्त तत्वले राष्ट्रप्रति अपनत्व जगाउने तत्वहरू समेट्छ । अमूर्त पक्षले नागरिकका बीचमा सौहार्दता, सामाञ्जस्यता तथा सद्भावलाई बलियो बनाउन भूमिका खेल्छ । अमूर्त तत्वले जनताको आत्मसम्मान, स्वाभीमान, प्रेम, सद्भाव तथा भावना समेट्छ । यतिबेला सरकार सञ्चालनकका कारण अमूर्त तत्वको निकै खडेरी छ । संक्रमित र मृतकको संख्या प्रेस विज्ञप्तिमार्फत जनतालाई सार्वजनिक गरेर मात्रै राज्यको दायित्व पूरा हुन्न । यतिबेला चाहिएको माथि उल्लिखित अमूर्त तत्व नै हो ।

नागरिकले महसुस गरेको एक्लोपन सरकारको डाटामा अटाएको छैन । रेमिट्यान्स पठाएर कुल गार्हस्थ्य उत्पादनमा योगदान गर्ने आप्रवासी कामदारलाई यतिबेला सबैभन्दा धेरै आवश्यकता सरकारको छ । साँझबिहान खान परिश्रम गरेर भोक टार्ने श्रमिक वर्गलाई यतिबेला सबैभन्दा धेरै सरकारको ढाडस चाहिएको छ । यसले राष्ट्रवाद बलियो होइन, झन् कमजोर बनाउँछ । नागरिकमा राष्ट्र र राष्ट्रियताप्रति वर्ग होइन, वितृष्णा जाग्नेछ ।

विश्वका अधिकांश नागरिकहरूझैं आज हामी पनि यतिबेला कोरोना भाइरसको विरुद्धमा लडिरहेका छौँ । संक्रमण झन्झन् भयावहरूपमा छ । मानवीय क्षतिहरू एकपछि अर्को बढ्दोरूपमा छ । लामो समयपछि लकडाउन खुले पनि जनजीवन सकसपूर्ण छ ।

आर्थिक क्रियाकलापहरू प्रायः अवरुद्ध छन् । उद्योग कारखाना खुले पनि कच्चापदार्थ, पुँजी र कामदारको समस्याले पिरोलिरहेको छ । कामको सिलसिलामा विदेश गएका ५०औं लाख मानिसहरू अनेक दुःखपीडा सहेर कोरोना महामारीसँग लडिरहेका छन् । कारोना संक्रमण नभएका मानिसहरू पनि विदेशमा रोजगारविहीन अवस्थामा छन् । कम्पनीका मालिकहरूले धेरैलाई निकालिसकेका छन् । उनीहरूलाई राष्ट्रवादको बारेमा सोध्ने हो भने नेपाली भूमीमा सहज तरिकाले आई काम गर्ने वातवरण हुनु हो । देशका नागरिकलाई केन्द्रमा राखेर महामारीविरुद्ध लड्दा राज्य सफल हुनेछ र राज्यप्रति नागरिकहरू पनि अनुदार हुने थिए । तर परिस्थिति त्यस्तो छैन । सत्ता सञ्चालकहरू कुबेलाको राष्ट्रवादी नारा आलापिरहेका छन् भने जनता रोग र भोकसँग जुधिरहेका छन् ।

अन्त्यमा शक्तिशाली कम्युनिस्ट पार्टी (नेकपा)को अन्तरविरोध सत्ता संघर्षको अन्तरविरोध उत्कर्षमा पुगेको छ । पार्टी एकता हुँदा सिद्धान्त, नीति र विचारमा नभएकोले नै यो दुष्परिणाम देखिएको हो । यो एकता छलछामको एकता हो । जसरी पनि चुनाव जिती सत्ता प्राप्त गर्नुपर्छ भन्ने हेतुले यो एकता भएको थियो । इतिहासमा भएका गल्तीहरूलाई सच्याउन जरुरी छ । कोरोनाले भयावह रूप लिइरहेको बेला आर्थिक संकट व्यहोरिरहेको अवस्थामा जनताले दुःख पाउने कुरा राम्रो हुँदैन । शासकहरूले कहिले राष्ट्रवादको कार्ड फाल्ने समय पटक्कै होइन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्