Techie IT
बिहीबार, मंसीर १८,२०७७

जनैपूर्णिमाको महत्व र प्रचलन


हिन्दुहरूको धार्मिक तथा सांस्कृतिक पर्व श्रावणी पूर्णिमाका दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ । यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए । अतः यस दिनलाई वेदजयन्तीको रूपमा पनि चिनिन्छ । यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ । नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ ।

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ, तिल, कुश साथमा लिई अविच्छिन्न वंश परम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद–वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ–आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षि मण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् । आज हिन्दुहरूको महान चाडको रूपमा जनै पूर्णिमा अर्थात् रक्षाबन्धनको पर्वको रूपमा परापूर्वकाल देखि मनाउँदै आएको छ ।

जनैपूर्णिमाको दिन मुलरूपमा ब्राह्मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सूचक धागो बाँधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्यहीनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर विभिन्न धर्मग्रन्थमा उल्लेख भए पनि, यसलाई विद्वान समाजमा जे–जसरी लिउन् तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन, दिदीबहिनीले दाजुभाइलाई बोलाएर जनै दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरूको सु–स्वास्थ, दिर्घायु जीवनको लागि कामना गर्दै आशीर्वाद दिने र विभिन्न थरीका खाने कुरा, ढकने (खिरको परिकार), सेलरोटी, खिचडीजस्ता खानेकुरा आजको दिनमा सबैभन्दा महत्वपूर्ण रहने भएकोले मीठो स्वादमा पकाएर दाजुभाइलाई खान दिने र हाँसीखुसी खाँदै सबैले यो चाड मनाउने गर्दछन् भने आजको दिनमा बुढापाकाले भने आफूले मान्य आफ्ना ज्वाइँचेलालाई बोलाएर ज्वाइँबाट हातमा धागो बान्दै जनै फेर्ने र ज्वाइँलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन छ । हिन्दु धर्मावलम्बी ब्राह्मण बाट सुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउँदै आएको छ ।

चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ । खुसीयालीको चाड विशेषगरी विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका हुन्छन् । अनि दिदिबहिनी हुनुहुन्छ भने आफ्ना दाजुभाइहरूका लागि राखी खरिद गरी राखी बाँधिदिने प्रचलन छ । अनि दाजुभाइहरूले भने आफ्नी दिदिबहिनीहरूका लागि के–कस्तो उपहार दिने भन्ने तरखर गरेका हुन्छन् ।

हरेक चाडवाडको आ–आफ्नै महत्व र सन्दर्भ हुन्छ । कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन हो । ब्राह्मण र क्षेत्रीय पुरुषहरूले हिन्दु परम्पराअनुसार यज्ञोपवित अर्थात् जनै लगाउने चलन रहिआएको छ । बाल्यकालपश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू–पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै अर्थात् यज्ञोपवित धारण वा ग्रहण गरिन्छ ।

मन्त्रले जपेको जनै छवटा काँचो धागो (६ सुते धागो) लाई दुई बेग्लाबेग्लै गाँठो पारिसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिकरूपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका ६ वटा धागोको डोरामध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीनवटा डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ । आजको दिनको मन्त्रस्येन बद्धो वलिराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल । अर्थात् ‘जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।’ आजको दिनलाई नेपाल भाषामा गुंपुन्ही पनि भनिन्छ । नेवार समुदायले आजको दिनलाई ‘गुँला महिनाको पुन्हि’ अर्थात् ‘गुँपुन्ही’ भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपंकर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ । आज विभिन्न गेडागुडी भिजाएर नेवार समुदायमा क्वाटी खाने चलन छ ।

रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्पराअनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रहिआएको छ । कतिपयले आफैँ गुरु पुरोहितकहाँ गई या मठमन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् । । यसै दिन दिदीबहिनीहरूले आफ्ना दाजूभाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रंगीचंगी धागो र फूल जोडिएको राखी लगाइदिने चलन चल्दै आएको छ ।

नेपालको तराईक्षेत्रमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ । आजको दिन ज्वाइँ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाडौँको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, गुल्मीको रेसुङ्गा र रिडीको ऋषिश्वर मठमा, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर, धनुषासागर, महोत्तरीको जलेश्वरनाथमा, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोटलगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामलगायत विभिन्न धार्मिक स्थान, मठ, मन्दिर, पवित्रस्थल, नदी किनारमा मेला पनि लाग्दै आएको छ ।

विशेषतः ब्राह्मण, क्षेत्री या अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातको नाडीमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थअनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नका लागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३–३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकको योग मानिन्छ ।

परिवर्तित परिपेक्ष्यमा चुँडाकर्म या उपनयन सकेका ब्राह्मण वा क्षेत्री मात्रभन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जो कोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात् जनै अरुलाई लगाइदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस् मन्त्रिएका यज्ञोपवितहरूको धारण गर्नाले सभिथा अर्थात् सूर्य भगवानको प्रत्यक्ष ऊर्जा प्राप्त गर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक, मानसिक र आध्यात्मिक सामथ्र्यको वृद्धि हुने विश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरूको कर्ता र अभियन्ता बन्न योग्य पनि ठह-याउँछ । आजभोलि वैदिक सनातन धर्मलाई केवल जातीय आधार र छुवाछुतका रूपमा लिइने चलन छ, जुन अत्यन्त सङ्कुचित कुण्ठा मात्र हो । यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्ययनशीलताको पथ नै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रूपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातीय पृष्ठभूमिको भए पनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

यो चाडमा गेडागुडी भिजाएर अंकुरित भएका गेडागुडीबाट बनेको ‘क्वाँटी’ खाने चलन पनि छ । नेपाल भाषामा क्वातिको शाब्दिक अर्थ ‘क्वाः’ भनेको तातो परिकार ‘ति’ भनेको झोल त्यसैले ‘क्वाति’ भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाँटी खाने दिन पनि भनिन्छ । दुई दिनअघिदेखि पानीमा भिजाई राखिएको विभिन्न ९ प्रकारका गेडागुडीहरू (मुङ, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।

आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरू हट्ने जनविश्वास रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वाँटीलाई ‘न्वाँगी’ भनिन्छ । देशमा हुनुहुन्छ या विदेशमा हुनुहुन्छ, परिवारसँग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाईं जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न, तपाईंहामी जहाँ छौँ जे गर्दै छौँ, आजको यो सांस्कारिक काँचो धागो वा दाजुभाई, दिदीबहिनीहरूबीचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालीन परम्पराको निरन्तरतालाई युगौँयुगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस् ।

धर्मले संस्कार, अनुशासन, मर्यादा, जिम्मेवारीको पाठ सिकाउने गर्दछ । आजको यस पर्वले आफन्तसँग भेटघाट, भाइचाराको विकास, संस्कारको विकास तथा उमङ्गको समयका रूपमा लिने गरिन्छ । कोरोनाको महामारीले गर्दा यस वर्ष भव्यरूपमा मनाउन सकिने छैन तर सामाजिक परम्परा अनुसार सामाजिक दूरी कायम गरी रक्षाबन्धन पर्व मनाउनुपर्ने अवस्था सिर्जना भएको छ । आजको यस महत्वपूर्ण पर्वको अवसरमा सकारात्मक सोच र आत्मीयताको विकासका लागि शक्ति प्रदान गर्न सकोस् भन्ने आसा एवं विश्वासका साथ सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्