Techie IT
शनिबार, मंसीर १३,२०७७

नेपाल वायुसेवा निगमभित्रको भ्रष्टाचारको कथा शृंखला–३


११ वटा टुइनअटर, दुर्ईवटा एभ्रो, दुर्ईवटा पिलाटस पोर्टर, दुईवटा बोइङ ७२७ र पछि दुईटा बोइङ ७५७ थपिएपछि नेपाल वायुसेवा निगमले एक समय चमत्कार गरेको थियोे । पूर्वमा जापानदेखि पश्चिममा लन्डन फ्र्यान्कफर्टसम्मको आफ्नो उडान यात्रा फैलाउन सफल भएको थियो ।

त्यस्तै आन्तरिक उडानमा ३६ वटा सेक्टर र हरेक उडान सिट क्षमता ९० प्रतिशतले भरिएका हुन्थे । आफ्ना कर्मचारीलाई बोनस ख्वाउन सफल नेपाल वायुसेवा निगम हिजोको त्यो स्वर्णकालको वर्चस्व आजसम्म बचाइराख्न सफल भएन दुःखको कुरा यसमै छ । हिजो प्रविधिको पूर्ण विकास नभएको बेलामा विशेष विज्ञता हासिल नगरेका कर्मचारीको अभावमा पनि यो संस्थाले आफ्नो साख जहिले पनि उच्च राख्न सक्यो । रोयल नेपाल भनेपछि एउटा बेग्लै छाप र ब्रान्ड विश्वमा थियो । दैनिक दिल्लीमा दिनको ३ फ्लाइट थियो । भारतीयहरूको नजरमा रायल नेपाल थियो, एउटा सम्मानको शिर उचो थियो समस्त कर्मचारीहरूमा पनि ।

लुक्लाको आम्दानीले कर्मचारीलाई तलब ख्वाउन पुग्थ्यो । संस्थाभित्रका प्रत्येक कर्मचारीमा मर्यादा, अनुशासन, कर्तव्यबोध, दृढता, लगनशीलता र निरन्तर संस्थाप्रतिको उत्तरदायी भूमिकाप्रति सजग थिए । एउटा अफिसरसँग धेरै जिम्मेवारी र शक्ति हुन्थ्यो । उसले आफूअन्तर्गतको कर्मचारीलाई अनुशासनबद्ध बनाउथ्यो । भ्रष्टाचार गर्ने त परै जाओस् सोच्नु पनि पाप हो भन्ने कुरा दिमागमा भरिएको हुन्थ्यो । नेपाल वायुसेवा निगमभित्र चेन अफ कमान्ड थियो जस्तो अहिले पनि नेपाल आर्मीमा छ । इन्जिनियरिङ विभागमा रातभर मेन्टेनेन्सको काम हुन्थ्यो ।

हरेक फ्लाइट समयमा हुन्थ्थे । अहिलेभन्दा त्यतिबेलाका कर्मचारीहरू भलै कम शिक्षित थिए होलान् तर तर तिनको विज्ञता कार्यक्षमता र अनुशासन अहिलेका विज्ञ कर्मचारीको भन्दा कम थिएन । अहिले सबै शिक्षित सबै आधुनिक सबै जान्नेसुन्ने सबै पारंगत सबै विद्वान भएको बेलामा नेपाल वायुसेवा निगमको हालत किन जीर्ण हुनगयो ? यो धेरै सोचनीय विषय हो । हामी जति आधुनिक हुँदै गयौ त्यति नै अमर्यादित र भ्रष्ट हुँदै गयौँ भन्ने कुराको प्रमाण नै अहिले नेपाल वायुसेवा निगमको दुरावस्थाले देखाइरहेछ । त्यही भएर पनि होला मानिसहरू हिजोकै व्यावस्थापन राम्रो थियो कमसेकम हिजो यति धेरै भ्रष्ट र पापी मान्छे त थिएनन् भन्ने गर्छन्

कर्मचारीको माथिल्लो तहमा अनुशासन नभएपछि तल्ला तहका कर्मचारीमा अनुशासनको अपेक्षा राख्नु बेकार हुन्छ । चेकइन काउन्टर आफ्नो ड्युटी गर्न गएको सहायक स्तरको कर्मचारी एक्सेज व्यागेज नकाटिकन पैसा खुरुखुरु आफ्नै खल्तीमा हाल्छ । यात्रुलाई पनि सजिलो भो किनभने २५ प्रतिशत पैसा तिरे भो अनि उस्लाई ७५ प्रतिशत फाइदा भो । अहिले सीसी क्यामराको डरले एयर्पोटबाहिर नै मोलमोलाइ हुने गर्छ । पुलिस प्रशासनदेखि इमिग्रेसनसम्मको सेटिङमा काम हुन्छ । चेकइन व्यागेजमा लाखौं विदेशी मुद्रा पास हुन्छन् । नेपालको विदेशी मुद्रा यसरी चोर बाटो हुँदै सबको सेटिङमा बाहिर जान्छ । एयरलाइन्स कर्मचारी, एयरपोर्ट प्रहरी, इमिग्रेसन सबैको मिलेमतोमा दुर्ई नम्बरी काम हुन्छ एयर्पोटमा ।

नेपाल एयरलाइन्सको प्रायः सबै आन्तरिक उडान हुने क्षेत्रमा अर्बाैंको अचल सम्पत्ती छ । पूर्व विराटनगरदेखि पश्चिम धनगढी एयरपोर्टसम्म घर जग्गाहरू छन् । ती सबै आज बेवारिसे अवस्थामा छन् । कति जग्गा त व्यक्तिका नाउँमा दर्ता पनि भैसके होलान् काठमान्डौँ एअरपोर्टको गोल्डेन गेटसँगैको १६ रोपनी जग्गा बेवारिसे अवस्थामा मिल्किरहेको छ जहाँको जग्गाको मूल्यनै प्रतिआना ७५/९० लाख छ । अहिलेको बजार भाउअनुसार एकै स्थानमा लगभग तीन अर्बको जग्गा छ सिनामंगलस्थित तर नेवानीमा जो चेयरमेन भएर आए पनि हेयरम्यान भएर आउने हुन कसैलाई पनि त्यो जग्गाको बारेमा चासो हुँदैन । चासो हुने क्षेत्र भनेको नयाँ जहाज खरिद गर्ने नै हो किनकि त्यसबाट अर्बौं कमिसन आउँछ ।

त्यो जग्गा अब यतिकै राखिरहने हो भने साझ मिचिँदै जान्छ र सबै हराउँछ । नेपाल वायुसेवा निगमका कतिपय जग्गाजमिन कौडीमा मिल्किएका छन् भिल्लको देशमा मणि मिल्किन्छ भनेको यही हो । दुईटा ७५७ जहाज उडानयोग्य हुँदाहुँदै पनि एयरबस ३३० आएपछि अनाहकमा ग्राउन्डेड गरियो । नेपाल एयरलाइन्सका उडानयोग्य भएका कतिपय ठूलासाना जहाजहरू सामान्य प्राविधिक समस्या हुँदैमा यो बन्दैन भनेर ग्राउन्डेड गर्दिने परम्परा तब सुरु भयो जब निजी एयरलाइन्सले नेपालमा हवाइ सेवा सुरुवात ग¥यो । प्राइभेट एयरलाइन्ससँग प्रतिस्पर्धामा उत्रनुपर्ने हो तर निजीसँग आन्तरिक साँठगाँठ गरेर आफ्नो जाहाज जतिसक्दो थन्क्याउने र निजीलाई आफ्नो व्यापार दिने अनि निजीबाट कमिसन खान पल्केका संस्थाघाती गतिविधि ज्यादै मौलाएको छ  ।

एउटा पाँचौ तहमा नेपाल एयरलाइन्स प्रवेश गरेको प्राविधिक कर्मचारीलाई दशौं लाख खर्च गरेर नेपाल एयरलाइन्सले सक्षम इन्जिनियर बनाउँछ । इन्जिनियर बनेर हवाइ विभागले लाइसेन्स दिएको भोलिपल्टबाट त्यही इन्जिनियर निहु खोज्न थाल्छ । तलब कम भो भन्छ । अनि निजीले बढी दिन्छु भन्छ ऊ उतै जान्छ नेपाल एयरलाइन्सको छातिमा लात्ती हानेर ऊ निजीमा तुरुन्तै जान्छ । के यो पनि एउटा कहालीलाग्दो भ्रष्टाचार भएन र ? जसले जन्मायो, हुर्कायो, पढायो, सक्षम बनायो पछि त्यही मनुष्य नेपाल एयरलाइन्सको शत्रु बन्छ । इन्जिनियरिङ विभागमा हतौडा हान्न आएका मेक ४ का प्राविधिक कर्मचारी आज संस्थाले इन्जिनियर बनाइसकेपछि निजीमा पाँच लाख खाने भएका छन् ।

यो अदृश्य भ्रष्टाचार कसले रोक्ने ? हो अन्तर्राष्ट्रिय तालिम लिएका प्राविधिक कर्मचारीलाई तालिम पूर्वबोन्ड त गराउँछ तर त्यो बोन्ड कम्तीमा १५ बर्षको हुनुपर्छ अनि आफूले तयार गरेका इन्जिनियर निजी एयरलाइन्सले तान्दैन वा तालिमबाट फर्केर आएकाहरू जति लोभ देखाए पनि निजीमा जान सक्ने सम्भावना कम हुन्छ । नेपालमा खुलेका अहिले सञ्चालनमा रहेका प्रायः सबै प्राइभेट एयरलाइन्समा नेपाल एयरलाइन्सका प्राविधिक कर्मचारीले भरिएका छन् । निजीमा नेपाल एयरलाइन्सबाट जति पनि कर्मचारी गएका छन् ती सबै नेपाल एयरलाइन्सले सक्षम बनाएका व्यक्तिहरू हुन् ।

प्रशासनिक कर्मचारी जाँदामा फरक पर्दैन तर प्राविधिक र इन्जिनियरले बीचमै नेपाल एयरलाइन्स छोडेर जाँदा नेपाल एयरलाइन्सलाई कति हानी नोक्सानी हुन्छ भन्ने कुरा माथिल्लो निकायले कहिले पनि हिसाबकिताब गरेन । आखिर यो पनि एउटा भ्रष्टाचार नै हो । लाखौँ खर्च गराएर इन्जिनको, लाइन, नेभिगेसन, इलेक्ट्रिकल, इलोक्टनिक, कम्युनिकेसन र मेन्टेनेन्स इन्जिनियरको लाइसन दिलाउँछ नेपाल एयरलाइन्सले अनि काम गर्न जान्छन् प्राइभेट एयरलाइन्समा जहाँ बढी तलबभत्ता आउँछ । हामी नेपाली जतिसुकै बुद्धिजीवी होऊ हामी पैसाका भोका छौँ । यो प्रवृत्ति रोक्न नेपाल एयरलाइन्सको प्रशासनले कहिले पनि सकेन । नेपाल एयरलाइन्सको अधोगति हुनुमा यो एउटा अर्को कारण पनि हो ।

जहाज लामो समयसम्म ह्याङ्गरमा थन्किनु भनेको कुनै पार्टपुर्जा नपाएर होइन । त्यो जहाज निजी एयरलाइन्सका कारण जानाजाना नबनाइएको हो । यसमा तिनै निजी एयरलाइन्ससँग मिल्ने गद्दार प्राविधिक कर्मचारीको हात छन् । इन्जिनियररिङ विभागीय प्रमुखलाई कहिले हतार छैन जहाज जहिलेसुकै बेला बनोस् वा जतिदिन ग्राउन्डेड होस् । जति धेरै लामो समयसम्म ग्राउन्डेड गरायो निजीले हन्डी खुवाउँछ । नेपाल एयरलाइन्समा सुधार गर्नुपर्ने क्षेत्र यति व्यापक छ कि जो लेख्ने हो भने पाँच सय पेजको किताब नै हुन्छ । नेपाल एयरलाइन्सको जहाज नउडोस् भन्ने चाहन्छ निजी आन्तरिक उडान चलाउने वायुसेवा कम्पनीहरू ।

अब अहिले त अन्तर्राष्ट्रिय फ्लाइट गर्ने निजी एयरलाइन्स पनि सुरुवात आइसकेको छ । नेपाल एयरलाइन्सको आन्तरिक उडान अब बन्दजस्तै भएको छ । चाइनिज जहाजहरूलाई पूर्णरूपमा ग्राउन्डेड गरिएको छ । एमए ६० ले ट्रन्क रुटमा राम्रै उडान गरेको थियोे । लगभग ६५ प्रतिशत सिट बिक्री हुँदा फ्लाइट घाटामा जादैनथ्यो । यसको दैनिकी बीमा र मेन्टेनेन्स कष्ट बढी थियो । यो समस्यालाई डिप्लोम्याटिक तहबाट वा सरकारी तवरबाट समाधान गर्न सकिन्थ्यो तर त्यसतर्फ कसैले नि सोचेन ।

त्यस्तै प्रकृतिका जहाज उडाएर निजी एयरलाइन्सहरूले राम्रै प्रगति गरिरहेका छन् भने नेपाल एयरलाइन्स चैँ किन सधैं नोक्सानीमा छ ? नेपाल एयरलाइन्सको पक्षमा सरकार कहिले भएन । सरकारले कहिले नेपाल एयरलाइन्सलाई जोगाउनु पर्छ भनेन । सरकारले निजी एयरलाइन्सलाई काख दियो नेपाल एयरलाइन्सलाई लात दियो ।
सरकारको स्नेह नपाएरै भए पनि घिस्रेर कनेर कुथेर नेपाल एयरलाइन्स यतिबेला ६३ वर्षको बुढौली अनुहार बोकेर उभिएको छ । दुई÷चार जना राम्रा पाइलोट दुई/चार जना निर्देशक र औंलामा गन्न सक्ने केही असल जेहेन्दार कर्मचारीले नेपाल एयरलाइन्सलाई बचाइरहेका छन् ।

थोरै कर्मचारी असल हुँदा तिनको आवाज त्यसै खहरे समुन्द्रमा मिसिएको जस्तो हुन्छ । असल मान्छेलाई समयले पाखा लगाइदिन्छ । नेपाल एयरलाइन्सभित्रको भ्रष्टाचारको त्यस्ता अनेकौं शृंखला छन् जो लेखेर भनेर बोलेर तत्काल सकिनेवाला छैन । भ्रष्टाचारलाई शून्यमा झार्छु भनेर कसम खाएका मुलुकका अभिवावक आफैँ विवादास्पद छन् यो देशमा । नेपाल एयरलाइन्सभित्र लोकसेवाबाट लिइने परीक्षामा समेत प्रशासनिक भ्रष्टाचार छ । लिखितमा नाम निकालेपछि त्यहाँ बार्गेनिङ सुरु हुन्छ । अन्तरवार्ता हुनुअगाडि नै सम्बन्धित व्यक्तिकोमा पैसाको बिटा पुग्न थाल्छ । पैसा खाएर मात्रै नियुक्ति दिने प्रचलन भित्रभित्र सुरु भएको धेरै भैसकेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय पोस्टिङममा जाने कर्मचारीबाट समेत पैसा असुल्ने परम्परा सुरु भएको छ । खास गरेर अन्तर्राष्ट्रिय पोस्टिङका लागि निश्चित योग्यता निर्धारण गरिएको थियो । अंग्रेजी भाषा परीक्षा उतीर्ण अनि प्रशासन र मार्केटिङमा राम्रो दक्षता हासिल गरेकालाई पठाउने भनियो तर पछि आफैँले बनाएको नियम आफैंले तोड्यो प्रशासनले । अन्तर्राष्ट्रिय पोस्टिङमा जाने कर्मचारीलाई व्यापारीहरूले पैसा खर्च गर्न थाले । व्यापारीले पैसा सहयोग गर्ने त्यो पैसा पोस्टिङ कमिटीले खाने परम्परा बस्न थालेको छ खास गरेर हङकङ दुवई मलेसिया र दोहामा यो प्रवृत्ति छ । पैसा भयो भने जस्तोसुकै कमजोर कर्मचारी पनि अन्तर्राष्ट्रिय पोस्टिङका लागि उपयोगी हुन्छ भन्ने कुराले मान्यता पाउन थालेको छ ।

दुर्ई लाइन अंग्रेजी लेख्न नजान्ने व्यक्तिले पनि अन्तर्राष्ट्रिय पोस्टिङ खाए यो संस्थाभित्र यस्तो प्रवृत्ति हाभी भएको छ । संस्था बचाउ भन्दा पनि पैसा कमाउ कुर्सी बचाउ भोलि जेसुकै होस् भन्ने कुराले कसैलाई पिरोले पो संस्थाको उन्नति हुन्छ । सक्षम मान्छेले काम गर्ने मौका कहिले पनि नपाउने केवल नेताकोमा धाउने राजनीति गर्ने र पैसा खर्च गर्नेले मात्रै मौका पाउने यो संस्थालाई जगैदेखि पुनर्जीवन दिनु आवश्यकता छ । नेपाल एयरलाइन्सभित्रको प्रशासनिक भ्रष्टाचार र अन्य भ्रष्टाचारको बारेमा क्रमशः अर्को अंकमा लेख्नेछु । क्रमशः … (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्