Techie IT
शनिबार, मंसीर १३,२०७७

अब खाँचो पुरुष सचेतनाको….


सुरुमा तपाईंहरूलाई म एउटा तथ्य प्रस्तुत गर्न चाहन्छु । सिन्धुपाल्चोक घर भएकी एक महिला काठमाडौँ नया बसपार्कमा मरणासन्न अवस्थामा भेटिनुभयो । हेर्दा गर्भवतीझैँ देखिनुहुन्थ्यो । उहाँको पेट ठूलो थियो । मानवसेवा आश्रमको टोलीले उद्धार गरी उपचारका लागि वीर अस्पताल लगे । परीक्षण गर्दा गर्भवती नभई किड्नीको कारण उहाँको पेट फुलेको भन्ने पत्ता लाग्यो । उहाँको जीउभरि चुरोटका ठुटाले पोलेको दाग थियो । शरीरको गोप्य अंगमा पनि ठुटाले पोलेर छियाछिया परेको थियो । उहाँ विक्षिप्त अवस्थामा हुनुहुन्थ्यो । वीर अस्पतालमा केही समय उपचार गरिए पनि उहाँलाई बचाउने कयौँ प्रयास सफल भएन ।

बाग्लुङबाट सिन्धुपालचोक हिँडेकी महिला बाटोखर्चको अभावमा नयाँ बसपार्कको एउटा होटलमा केही कामको आसामा पुग्छिन् । २६ वर्षको कलिलो उमेरमा एउटा होटेल व्यवसायीको खराब आचारण र मन्नस्थितिको कारण यौन दुर्व्यवहारमा पर्छिन् । विभिन्न किसिमका यातना तथा चुरोटका ठुटाले यौनाङ्गमा छियाछिया हुने गरेर पोलिनुपर्छ । यो चरम यातना कतिदिनसम्म भयो होला । सोच्न सक्नुहुन्छ ? अब भन्नुस्, हाम्रो समाज कता गइरहेको छ । आज हाम्रो मानसिकता कता गइरहेको छ ?
हामीले चाहेका कुरा किन प्राप्त हुन सकेको छैन ? के हामी सुखशान्ति आनन्द, खुसीको चहाना राख्दैनौँ र ? हामी जुन डुंगामा सवार छौँ, त्यही डुंगाको छेउमा प्वाल पारिरहेका छौँ अनि यात्रा लामो र सरल होस् भन्ने चाहाना गर्दछौँ । ईश्वरको दुई रचना महिला र पुरुषबीचको विभेदले हाम्रा धेरै सुखको पल छिनिरहेको छ । हामी हाम्रा आमा, दिदीबहिनी, श्रीमतीलाई आफूभन्दा नसक्ने, घरको चुलाचौका गर्ने जात, अर्काको घरमाजाने जात यस्ता संकुचित मानसिकताबाट हेरिरहेको छौँ । अनी हाम्रो समाज कसरी उन्नतिको पथमा लम्कन्छ ?

आज हाम्रो समाजमा महिला हिंसाविरुद्ध सचेतनाको कार्यक्रम धेरै नै हुने गरेको छ । संघीय सरकारदेखि स्थानीय सरकारसम्म करोडौँ बजेट विनियोजन हुन्छ तर समाजमा हुने महिला हिंसाका घटना घट्नुको साटो बढिरहेको छ । लकडाउनको समयमा पनि महिला हिंसालाई छाया महामारीको रूपमा हेर्ने सकिने भनी सर्वोच्च अदालतको परमादेशमा उल्लेख गरेको छ ।

देशको ५१ प्रतिशत जनसंख्या रहेको महिला समानताका कुरा भने अझै कमजोर छ । राजनीतिक संलग्नता होस्, सरकारी या गैरसरकारी वा रोजगारीमा निक्कै कम महिला सहभागि हुने गरेको राष्ट्रिय महिला आयोगको २०७५ को वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा निजामती सेवामा २३ दशमलव ७२ प्रतिशत र नेपाल प्रहरी र सशत्र प्रहरीमा ३ दशमलव २ प्रतिशत र ४ दशमलव ९५ प्रतिशत सहभागिता उल्लेख छ । नेपाल सरकारको विभिन्न निकायले महिला समनाता तथा हक हितका लागि हालेको बजेट खेर गइरहेको त छैन यहाँ गम्भिर प्रश्न खडा भएको छ । त्यसैले गुनात्मक उपलब्धि हुन सकिरहेको छैन ।

बजेटः ठूलो खर्च, उपलब्धि शून्य : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७६/७७ को बजेटमा पनि महिला विकास कार्यक्रम तथा महिला सशक्तीकरण कार्यक्रममा क्रमशः दुई करोड ४२ लाख तथा पाँच करोड चार लाख बजेट छुट्याएको छ । यस्तै स्थानीय सरकार तथा प्रदेश सरकारको बजेटमा पनि ठूलै सम्बोधन गरिएको छ । बजेटमा महिला सशक्तीकरण भनिए पनि देशमा महिला हिंसाको घटना दिन प्रतिदिन बढ्दै गइरहेको छ । हिंसा पीडित महिलाको न्याय प्राप्तिको स्थिति कमजोर रहेको कुरा निर्मला पन्तको बलत्कारपछि भएको हत्या दरिलो उदाहरण हो ।

महिलाको सशक्तीकरणसँगै अब महिला हक, हित र संरक्षणको विषयमा पुरुषमा पनि सचेतना हुनु जरुरी छ । घरको सेवा गर्न पुरुषले पनि हुन्छ । श्रीमान्को कमाइ मात्र श्रीमतीले खाने होइन, श्रीमानले पनि श्रीमतीको कमाइ खान हुन्छ । महिलाबाट महिला जोखिममा रहनेभन्दा पुरुषबाट बढी जोखिममा रहेको पाइन्छ । त्यसमा पनि आफ्नै परिवारको सदस्यबाट ।

पुरुषको गलत सोच : अर्काे एउटा दृष्टान्त म प्रस्तुत गर्न चाहन्छु । म सेवारत संस्था मानवसेवा आश्रममा एक जना बहिनी नर्सिङ सेवाको लागि आउन चहानुहुन्थ्यो तर उहाँको दाई र बाबालाई छोरी मान्छे, विवाहको उमेर भएको छ, घरभन्दा बाहिर रहन हुन्न भने मानसिकताले छोयो । रातको ८ बजे सुत्ने समय भएको बेलाम ६/७ किमी टाढाबाट लिन आउनुभयो र लिएर जानुभयो । सेवामा जोडिन दिनुभएन । महिला हिंसा रोक्ने कार्यक्रम जति गरे पनि, महिला हिंसाविरुद्ध १६ दिने अभियान चलाए पनि जबसम्म हाम्रा समाजका पुरुषको सचेतनाको स्तरमा वृद्धि हुन्न तबसम्म हाम्रा आमा, दिदीबहिनी, घरको चुलोमा र श्रीमान तथा सन्तानको व्यवस्थापनभन्दा टाढा जान सक्नु हुन्न ।

वीर गोर्खालीको देश, सगरमाथाको देश, भगवान गौतम बुद्धको देश, नाथैनाथको देश नेपाल पुरुष प्रधान देशको रूपमा रहेको राज्य हो । २१औँ सताब्दीमा यो कुरा भन्नु र हुनु दुवै निकै नै दुःखद् हो । आज विश्व चन्द्रमामा वस्ती निर्माण, मंगलमा खेती, अर्को सूर्यको निर्माणको कुरा गरिरहँदा हामी आझै पनन महिला समानता र हकहितका कुरा गरिरहेको छौँ । देश विकासका मेरुदण्ड जनता जो आज पनि महिला र पुरुषको रूपमा विभक्त रहेको छ । तर आज पनी हाम्रो समाजमा धेरै किसिमको विभेद छ, र यो विभेद कति समयसम्म रहने हो त्यसको टुङ्गो छैन । जबसम्म हामी चेतसिल हुँदैनौँ, विवेकी हुदैनौँ तबसम्म यो चलिनै रहन्छ ।

आज हाम्रो समाजमा महिला सचेतनाका धेरै कार्यक्रम हुने गरेको छ । मेरो आफ्नो विवेकले के भन्छ भने अब महिला सचेतना होइन पुरुष सचेतनाका कार्यक्रम जरुरी भइरहेको छ । किन ? किन की, आज समाजमा हुने धेरैभन्दा धेरै खराब काम, सामाजिक द्धन्द्ध, मतभेद, असमानता, अराजकता, कुरिती पुरुषबाट नै हुने गरेको छ । किन की महिलामा भन्दा पुरुषमा धेरै किसिमको दुर्व्यसनी रहेको छ र पुरुषले गर्ने दुर्व्यसनी धेरै हदसम्म खुला पनि रहेको छ । त्यो घर, घर जस्तो हुन्छ, जुन घरको पुरुष वास्तविक मानव जस्तो छ । नत्र घर नर्कजस्तो बनिहाल्छ । दिन दिनै झगडा, मदिरा पान, अराजकता, अपमान र कुसंस्कार सुरु हुन्छ । भन्ने गरिएको छ पुरुष बाहिरबाट कमाउने अनि महिलाले घर चलाउने हो । के तपाईँलाई लाग्दैन यो साँच्चि कै मजाक हो भनेर ? के पुरुष नभएका महिलाले आफ्नो घर सञ्चालन गरेको छैनन् ?

महिला आमा हो, महिला सृष्टि हो, महिला जननी हो अनी महिला संस्कारकी खानी हो, देवी हो । हामी त्यही सृष्टिलाई थिचोमिचो गरिरहेको छौँ । हाम्रै परिवारमा रहेको आमा, दिदीबहिनी, श्रीमतीलाई हिंसा गरेर हाम्रो परिवार कसरी सम्वृद्ध हुन्छ । आफ्नै नाता गोता आफन्तबाट नै महिला असुरक्षित रहेका छन् । हामी सृष्टिकै सचेत नागरिक भएर पनि यति कुरा किन नबुझेको होला ? कति हाँस्यापद छ है मानिसको चेतना । एउटा घरमा भएको मान्छे दुखी हुँदा अर्कोचाहिँ कसरी खुसी हुन सक्छ ।

पुरुषबाट बढी हिंसा : म यो भन्दिन पुरुषहरू मात्र गलत हुन्छन् भनेर महिलामा पनि त्यसको प्रभाव छ । तर धेरैभन्दा धेरै चाहीँ पुरुषको कारणले गर्दा समाजमा असमानता, अराजकता, महिला हिंसा जास्ता कुरा भइरहेको छ । हाम्रो समाजमा पुरुषमा पढाई धेरै तर चेतना र विवेक कम भएको छ । चेतनशील पुरुष र समझदार महिला भएको घर वास्तविक मन्दिर हो । पुजा पाठ र धर्म कमाउनको लागि, अनि एक असल संस्कार विकासको लागि अरु कहीँ पनि जान पर्दैन ।

धेरै महिलाहरू सडकपेटीमा बास बस्न विवस छन् । भरतको विभिन्न स्थानमा बेचिन विवस छन् । विभिन्न किसिमको शोषणसहित आफ्नो घर चलाउन विवस छन् । गर्भमा रहँदै मर्न विवश छन् । कलिला बालिका बलात्कृत भइरहेका छन् । यी सम्पूर्ण कुरा भनेको पुरुषमा भएको चेतनास्तर अभावको प्रतिविम्ब हो । अब महिलालाई होइन सचेतना पुरुषलाई आवश्यक छ । महिलामा भएको सचेतनाले घटना भएपछि बाहिर आउँछ यदी यो सचेतना पुरुषमा हुने हो भने त्यो घटना नै हुन पाउँदैन ।

पुरुष सचेत हुनु जरुरी छ । महिला कर्तव्यमुखी र जिम्मेवार हुन जरुरी छ । हाम्रो समाजमा त्यस्ता घटना पनि छन्, जुन महिलाको कारण पुरुष पीडामा छन् । त्यो पनि पुरुषको आफ्नो चेतानास्तर कम भएको कारणले हो । मानसिक तथा शारीकि क्षमताबराबर भए पनि महिलालाई हामी पुरुष मानिकताले पेलिरहेका छौँ, अनि तिमी सक्दिनौँ भनिरहेका छौँ । हाम्रो सीमित स्वार्थपूर्ति र आवश्यकताको आधारमा महिलालाई विभिन्न रूपमा प्रयोग गर्दै आइरहेका छौँ ।

अब जागरणको बेला भएको छ, पुरुष जागरणको बेला । नेपाल सरकारले समस्त महिलाको हकहित, संरक्षण गरी उनीहरूलाई विकासको मूल प्रवाहमा लैजानका लागि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन गरी सेवा गरिरहेको छ । २०७२ सालको संविधान जारी भएपछि महिला आयोगले संवैधानिक हैसियत पाएको छ । अन्य विभिन्न संघसंस्था पनि खुलेका छन् । महिला अधिकारको कुरा जोडतोडले उठेको छ र केही प्राप्त पनि भएको छ । तर अझै अभाव छ । देशको कुल जनसंख्याको आधाभन्दा बढी अंश ओगट्ने महिलालाई पूर्ण समानता र हक दिनका साथै पुरुष सचेतनाको पनि जरुरत पर्दछ । आजैबाट लाग्ने कि ? (लेखक तिमल्सिना मानवसेवा आश्रमका समर्पित अभियन्ता हुनुहुन्छ) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्