Techie IT
बिहीबार, कात्तिक ६,२०७७

न्यायिक उत्तरदायित्वको खोजी


बुटवल,२६ साउन

न्यायपालिका राज्यको अति संवेदनशिल, सम्मानित र विश्वसनीय अंग हो । विधिशास्त्रीय मान्यता अनुसार पनि कानूनको व्याख्या गर्ने, लागू गर्ने, अन्तत् न्याय प्रदान गर्ने महत्वपूर्ण भूमिका न्यायपालिकाको हो । न्यायपालिकाको उद्देश्य पनि सबै व्यक्तिहरु कानूनको शासन अन्तर्गत सुरक्षित, मर्यादित रुपमा बस्न बाच्च सक्ने अवस्थाको सुनिश्चितता गर्दै नागरिकहरुको अभिभावकको रुपमा रही अधिकारको संरक्षण र प्रवद्र्धन गर्नु हो । यसरी न्यायपालिकाले राखेका यि र यस्ता उदेश्य प्राप्तिका लागि उत्तरदायित्व महत्वपूर्ण खम्बा हो । कसैले पनि न्याय प्राप्तिबाट बञ्चित हुन नपरोस्, न्यायमा सबैको सहज पहुँच होस् र न्याय सरल, सहज, अनुमान योग्य अनि प्रभावकारी र परिणाममूखी पनि होस् भन्ने नै न्यायलयको मुख्य उद्देश्य रहेको हुन्छ । स्वतन्त्र, सक्षम र प्रभावकारी न्यायव्यवस्थाबाट नै सो उद्देश्य पुरा हुन्छ ।

सरल बुझाईमा उत्तरदायित्वले कर्तव्यलाई बुझाउँछ । जसलाई हामी जिम्मेवारी र जवाफदेही पनि भन्छौं तर कानूनी दृष्टिमा उत्तरदायित्वको अर्थ कर्तव्य वा जिम्मेवारी मात्र सिमित नरही यसले बैधानिक बन्धन, नैतिक बन्धन समेतलाई दर्शाउँछ । उत्तरदायित्वले सधै काम दिनेवाला (मालिक) काम गर्नेवाला सेवक प्रति संविधान र कानून प्रति उत्तरदायी हुनु पर्ने मान्यता राख्दछ । सार्वजनिक जवाफदेहिताको पदमा आसिन पदाधिकारीले आफ्नो पदीय जिम्मेवारी बहन गर्ने सिलसिलामा सम्पादित कार्यबाट प्रभावित हुने सरोकारवाला जनसमुदायलाई जवाफ दिनुपर्ने दायित्व वा कर्तव्यनै सार्वजनिक उत्तरदायित्व हो । पारदर्शिता, नैतिकता, प्रतिवद्धता एवं संस्थागत विकास सार्वजनिक उत्तरदायित्वको तत्वहरु हुन् । कर्तव्यको परिपालना, निर्णयमा पारदर्शिता काम कारवाहीमा निष्पक्षता एवं जिम्मेवारी वोध लगायत समयको परिपालना जस्ता कुराहरु सार्वजनिक उत्तरदायित्वका मापदण्डहरु हुन् ।

यसरी न्यायिक उत्तरदायित्वले आफ्नो निर्णयको जिम्मा लिने, उठ्ने प्रश्नहरुको सम्बोधन गर्ने, कामको मुल्याङ्न गर्ने अवसर जनतालाई दिने र गरेका काम र गर्न नसकेका काम स्पष्ट रुपमा सार्वजनिक जानकारीमा ल्याउनु पर्दछ भन्ने मान्यता न्यायिक उत्तरदायित्वको हो । न्यायिक उत्तरदायित्व संविधान र कानूनका उचित व्यावस्थाहरु मार्फत खोजिनु पर्दछ । न्यायाधीशहरु आफ्नो काम प्रति जवाफदेही हुनै पर्दछ । न्यायाधीशहरु मालिक होईनन् जनताका सेवक हुन्, सेवक जहिले पनि उत्तरदायी हुन्छ । त्यसैले न्यायाधीश पनि उत्तरदायी हुनु पर्दछ । न्यायिक उत्तरदायित्व भित्र न्याय प्रशासन, न्याय सम्पादन तथा समग्र अदालत व्यवस्थापन समेटिएको हुन्छ । यसले न्यायिक कार्यको स्तर, निकाय र प्रभावकारिता प्रतिको अवस्थालाई समेत संवोधन गर्दछ । उत्तरदायित्व र आचार संहिता एक सिक्काका दुई पाटा हुन् आचार संहिताले न्यायिक उत्तरदायित्वलाई सबल बनाउँछ ।

–एस बेक्टर मैया र डिएडेसाई “समाजका सबै अंग निकायहरु आफ्नो कार्यप्रति उत्तरदायी हुन्छन भने न्यायाधिशहरु पनि नहुनुपर्ने कुनै कारण हुँदैन ।”
–न्यायधिश बर्मा “हामीले अरुहरुले के–के गर्नुपर्छ भनेर भन्छौँ तर हामीलाई कस्ले भनिदिने हामीलाई कानूनको शासन पालना गराउने जिम्मेवारी दिईएको छ तर हामीले त्यसको पालना गर्नबाट छुट हुन पाउनु पर्छ भन्न सक्दैँनौ ।”

न्यायिक स्वतन्त्रता र उत्तरदायित्व एक अर्कासँग अन्तर सम्बन्धित विषय हुन् । न्यायिक उत्तरदायित्वले न्यायपालिकालाई न्यायिक मर्यादा र न्यायिक आत्मसंयमको सीमा भिन रहन उत्प्रेरित गर्दछ भने न्यायिक स्वतन्त्रताको प्रत्याभूतिबाटनै न्यायिक उत्तरदायित्व जीवन्त रहन्छ । न्यायिक उत्तरदायित्वको मूल मर्म भनेकै न्यायपालिकाले आफूले गरेका काम कारवाही वा निर्णयमा न्यायको मूल्य र मान्यताको उलंघन हुनु हुँदैन भन्ने हो त्यसैले उत्तरदायित्वको मर्मलाई प्रभावकारी रुपमा व्यवहारमा रुपान्तरण गर्न अन्तराष्ट्रिय र राष्ट्रिय स्तरमा न्यायाधीशहरुको आचार संहिता निर्माण भएको पाईन्छ ।

नेपालको सन्दर्भमा न्यायिक उत्तरदायित्व र न्यायिक सुशासन कायम गर्न संविधान एवं विभिन्न कानूनी व्यवस्थाबाट संवोधन गर्ने प्रयास अनुरुप न्यायाधीशको आचार संहिता २०७४ समेत जारी भएको अवस्था छ । न्यायपालिकाको रणनीतिक योजनाले समेत संविधान र कानून बमोजिम न्यायिक उत्तरदायित्व सुनिश्चित गर्दै न्यायिक आचार संहिताको पालना गरी न्यायिक सुशासन कायम गर्न न्यायपालिका क्रियाशील रहनेछ भन्ने आधारभूत मूल्यहरु परिभाषित गरेको पाईन्छ ।

न्यायालय जनताको आस्थाको अन्तिम धरोहर हो । न्यायपालिकामा सम्बद्ध न्यायाधीहरुको कार्यक्षमता, आचरण र पदिय कर्तव्यको ईमान्दारी पूर्वकको पालनाले मात्र न्यायपालिका प्रतिको जनविश्वास कायम रहन्छ । न्यायाधीशले आफ्नो न्यायिक उत्तरदायित्वको निर्वाह कसरी गरिरहेको छ र कति ईमान्दार, स्वच्छ, निष्पक्ष आचार संहिताको पालना कुन रुपमा गरिरहेको छ वा छैन ? झुकाव र प्रभावमा नपरेको विश्वास योग्य रुपमा देखिन सकिएको छ छैन नागरिक समाज र बुद्विजीवि वर्गबाट न्यायालयमा राजनीतिक भागवण्डाले स्थान पायो, न्याय सम्पादन प्रभावित बन्यो भन्ने स्वरहरु आउने गरेका छन् छैनन् तठस्थ, निष्पक्ष भएर तथ्य र प्रमाणका आधारमा न्याय सम्पादन गरिएको छ छैन ? यी सबै कुराहरुमा न्यायाधीशको ध्यान जानु जरुरी छ ।

निचोड
न्यायपालिका राज्यका अन्य निकायहरु भन्दा नियन्तत्रित कसैद्वारा प्रभावित र आन्तरिक रुपमा कमजोर हुन गयो भने त्यो अवस्था लोकतन्त्र र विधिको शासनका लागी सबैभन्दा प्रतिउत्पादक र अफापसिद्ध हुन जान्छ । कानून तथा संविधानको संरक्षण एवं संवद्र्धधनको प्रमुख जिम्मेवारी न्यायापालिकालाई सुम्पनु पछाडिको संवैधानिक दर्शन र मान्यता भनेको राज्यको अन्य दुई निकाय भन्दा न्यायापालिका बढी विश्वसनीय एवं निष्पक्ष हुन्छ भन्ने हो । संविधानले न्यायापालिकालाई स्वतन्त्र सक्षम र जवाफदेही बनाउन खोजेको देखिन्छ । सो कुरा बोलेर लेखेर निर्क्यौल गर्ने विषय नभै अदालतको कार्यबाट प्रमाणित हुन सक्नुपर्दछ र जनताले त्यसको अनुभुति गरेको हुनुपर्दछ । न्यायधिशको नियुक्तिमा सक्षम इमान्दार र निष्ठावान् व्यक्तिको खोजी गरिनु पर्दछ । सो हुन नसके न्याय सेवा भित्र र कानून व्यवसायमा लागेका इमान्दार र निष्ठावान व्यक्तिहरुको शिर निउरिरहने, पीडा बोध भइरहने कार्यले अन्तत न्यायको धर्म र मर्म ओझेलमा पर्दछ ।

न्यायालयका काम कारवाहीले जनविश्वास बढाउनु पर्ने हुन्छ । विभिन्न माध्ययमबाट गरिएका टिका टिप्पणीहरु निश्चयपनि शोभनिय हुँदैनन । यद्यपी शिष्ट, संयमपूर्ण सालिनतापूर्वक गरिएका अभिव्यक्ति भने स्वीकार योग्य नै हुन्छ जस्ले अझ बडि न्याय प्रतिको आस्था र जनविश्वासको बढोत्तरी गर्दै न्यायालयको गौरवलाई अक्षुण्ण राख्न मद्दत गर्दछ ।

न्यायिक उत्तरदायित्वको विषय कानुनी भन्दा पनि नैतिकतामा आधारित विषय हो । न्यायालय कानूनको सम्मान गर्ने थलो र न्यायाधीश कानूनको मनसाय पत्ता लगाउने कर्मि भएकोले तथ्य प्रमाण र कानूनको आधारमा निर्णय दिन प्रतिबद्ध र हँदैप्रत्यक्ष वा परोक्ष रुपले आउने प्रभाव, दवाव, भनसुन धम्की, आग्रह आदिबाट प्रेरित वा प्रभावित नभई न्याय सम्पादनलाई प्राथमिकतामा राख्नुपर्दछ । निन्दा गरोस् वा प्रशंसा, लक्ष्मी आउन् वा जाउन्, आजै मर्न परोस् वा कालान्तरमा कुनै चिन्ता नलिई असल न्यायकर्ताहरुले न्यायको बाटोलाई विचलित नभैकन पछ्याई रहन्छन् (भर्तुहरी नीतिशतक–८४ श्लोक) भन्ने हाम्रो धार्मिक उक्तिलाई मनन गर्दै मानविय स्वभावको नकरात्मक असर न्याय सम्पादनमा नपरोस् भनी सदासर्वदा सचेत रहि आचारसंहिता प्रति प्रतिबद्ध भइ न्यायिक उत्तरदायित्वलाई सबल बनाउनु पर्दछ । न्याय गरेरमात्र हुँदैन गरे जस्तो पनि देखिनु पर्छ भन्ने भनाईले निष्पक्ष न्यायको पृष्ठपोषणलाई दर्शाउँछ । न्याय सम्पादन सम्बन्धि कार्य राज्य व्यवस्थाको पवित्र काम मध्येको कार्य हो । किनकी यसको प्रभाव प्रत्यक्ष जीवन, स्वतन्त्रता र सम्पत्तिमा पर्दछ । यसको लागि निर्भिक, विवेकी, ईमान्दार र आचरणयुक्त न्यायकर्मी हुनुपर्दछ ।

न्यायिक उत्तरदायित्व अदालतको गरिमासँग सम्बन्धित छ । मुलतः सुशासन, कानूनी राज्यको प्रत्याभुति, न्यायपूर्ण समाजको स्थापना गर्न न्यायकर्मिहरु आफूले दिएका निर्णयहरु कानुन संगत छन् र स्वेच्छाचारी छैनन् भन्ने कुरामा संविधान र कानून प्रति उत्तरदायि हुनु पदछ । अन्ततः न्यायधिशहरु पनि जनताका सेवक हुन्, सेवक जहिँले पनि उत्तरदायी हुन्छ त्यसैले न्यायाधीश पनि आफ्नो कामप्रति उत्तरदायी हुनुपर्दछ । न्यायिक उत्तरदायित्व कानूनले भन्दा पनि न्याय कर्मी आफैले आफ्नो उत्तरदायित्व बुझेर निर्वाह गर्ने पक्ष हो । दण्डहिनताको अन्त्य, कानूनी राज्यको आभाष, सरकार र जनताको सम्बन्धलाई प्रगाढ, निर्दोष व्यक्तिको रक्षा, अपराधिलाई सजाय, विधिको साशन, शान्ति, समृदि, सुशासनको निश्चितताको लागि न्यायिक उत्तरदायित्व आवश्यक एवं अपरिहार्य विषय हो । (लेखक भिम प्रसाद भुर्तेल जिल्ला सरकारी वकील कार्यालय नवलपरासीका जिल्ला न्यायाधिवक्ता हुन ।) अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकबाट


क्याटेगोरी : विचार/ब्लग/साहित्य
ट्याग : #bichar blog

तपाईको कमेन्ट लेख्नुहोस्