Techie IT
शनिबार, मंसीर १३,२०७७

कोरोनाको बीचमा आएको दशैँ


विश्वमा कोरोना महामारीले विभिन्न मुलुकहरूलाई आक्रान्त बनाइरहेको छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । यस्तो अवस्था आएको दशैँलाई घर परिवारमा रहेका जे–जति रहेका छौँ उनीहरूबीच रहेर दशैँ मनाउँदा कुनै पनि फरक नपर्ने कुरा सरकारदेखि लिएर सम्पूर्ण मिडियाहरूमा पनि आएको छ । संसारमा एक मात्र हिन्दु राष्ट्र नेपाल हो । मूलतः कोरोना संकटले सामाजिक, आर्थिक अवस्था दयनीय भएका बखत आइपुगेको दशैँ अर्थात् नवरात्री देवी उपासना घर–घरमा सजिलैसँग गर्न सकिन्छ ।

यहाँ बसोबास गर्ने बहुसंख्यामा हिन्दूहरूको बाहुल्यता रहेको छ । जसमा उनीहरूको ठूलठूला चाडपर्वहरू दशैँ, तिहार, छठ, धान्य पूर्णिमा, तमू ल्होछार, माघी आदि हुन् । यीमध्ये सबैभन्दा महान पर्व बडादशैँ पनि एक हो । आश्विन महिनाको शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिनपर्यन्त चल्ने भएको हुँदा वा दशमीलाई विशेष महत्व दिएकोले यसको नाम दशैँ रहन गएको अनुमान गर्न सकिन्छ । यस पर्वलाई हाम्रो देशको राष्ट्रिय पर्वको रूपमा मनाइन्छ । मान्यजनको आशीर्वाद, निधारभरि रातो टीका, कपाल र कानमा जमरा, गलामा विभिन्न किसिमका मालाहरू दशैँ पर्वका विशेषता हुन् । यस पर्वमा नौ दिनसम्म देवीका विभिन्नरूपमा पूजाआजा, अर्चना, फूलपाति महोत्सव आदि कार्यक्रमहरू गरिन्छन् ।

यसको साथसाथै यो आफैँमा महान पर्व पनि हो, यो पर्वलाई बढीभन्दा बढीरूपमा देवीदेवताहरूलाई पशुबली दिने पर्वको रूपमा मान्यता पाएको पाइन्छ । यसै कारणले होला यो पर्वलाई मासु खाने रूपमा समेत लिने गरिन्छ । यद्यपि, नेपाल सरकारले पनि अन्य पर्वमा भन्दा यस पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउने हुँदा धेरै बिदा दिएको छ । सारा नेपालीहरू आ–आफ्ना घरमा गएर आफन्तहरूसँग भेटघाट गरी रमाइलो गर्दै ठूलो पर्वको रूपमा मनाइने गरिन्छ । यस पर्वमा बली दिने पर्वको रूपको साथसाथै आफ्ना इस्ट देवतालाई मान्ने पर्वको रूपमा पनि लिन सकिन्छ । सामान्य व्यक्तिको लागि यो दशैँ महान पर्व निकै नै खर्चिलो अन्य चाडपर्वहरूमध्ये लिने गरेको पाइन्छ ।

यस साल भने कोरोनाको कहरले गर्दा नगण्यरूपमा काठमाडौँबाट दशैँका लागि विभिन्न जिल्लाहरूमा जाने संख्या नगण्यरूपमा रहेको छ । त्यसैगरी प्याजको मूल्य आकासिएको छ भने त्यस्तै गरी चिनीको पनि मूल्य पनि वृद्धि भएको छ । यसरी नै दूधजन्य पदार्थ ध्यू, दही, पनिर, मक्खनमा मूल्यवृद्धि भइसकेको छ । दैनिक भान्साको लागि प्रयोग हुने चामल, दाल, गेडाकुडी, तरकारी र फलफूलहरूको मूल्य दिनहुँ वृद्धि हुँदै गएको छ । यी वस्तुहरू गरिबदेखि धनीसम्मलाई नभई नहुने उपभोग्य वस्तुहरू हुन् । आजकाल यसको मूल्य सर्वसाधारण व्यक्तिले धान्नै नसक्ने गरी बढेको छ । यसर्थ सम्बन्धित निकायको भनाइअनुसार कालिमाटी तरकारी बजारले उपत्यकाको ७० प्रतिशत माग धान्ने गर्दछ । हाल तरकारी बजारमा दैनिक नौ सय टन आयात भइरहेको जनाएको छ ।

यसमध्ये करिब ४५ प्रतिशत भारतबाटै आयात भएको छ भने बाँकी ५५ प्रतिशत स्थानीय उत्पादनले धान्ने गरेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ । अहिले गत वर्षको तुलनामा खसीको मासुमा दशैँ आउनुभन्दा अगाडि नै वृद्धि भइसकेको छ । यस्तो अवस्थामा सरकारको कुनै पनि बजार अनुगमन हुन सकेको देखिँदैन । दशैँ तिहारमा आर्थिक अवस्था कमजोर हुने परिवारले समेत ऋण गरेर खसी बोकाको मासु किन्छन् । एकातिर यस पर्वमा बर्सेनि पशुबलीविरुद्धका आवाजहरू पनि उठ्ने गरेको अखबारहरूमा एकातिर आएका छन् भने अर्कोतिर देशभरि नै पशुपन्छीको बलि अत्यधिक मात्रामा हुँदै आएको पनि देखिन्छ ।

परम्परागतरूपमा रहेको धार्मिक तथा सांस्कृतिक मान्यता यो पर्वसँगै जोडिएको हुँदा पशुपन्छीको खपत बढी हुने गरेको हो । अहिले प्रमुख धार्मिक स्थलहरूमा पशुबलि नगरौँ भन्ने नारासहित विभिन्न किसिमका पोष्टर, पम्पलेट, प्रचारप्रसार बढ्दोरूपमा हुन थालेको छ । अर्कोतिर भने सामान्य आर्थिक अवस्था भएकाले घरमै खसी बोकाको बलि दिएर मासु खान्छन् दशैँ तिहारमा मूल्य बढी हुने भए पनि हालको बजार भाउ बुझ्ने हो भने अहिलेजस्तो चर्को मूल्य कहिल्यै नभएको खसी किन्ने उपभोक्ताहरू बताउँछन् ।

विगतका सरकारले खाद्य संस्थानमार्फत चीनबाट भेडा/च्यांग्रा ल्याएर नेपाली जनतालाई सरल तथा सुपथ मूल्यमा पनि बिक्रीवितरण गर्ने प्रचलन थियो । त्यस्तै गरी आफ्नै देशका तराई भेग कृषकहरूले पालन गरेको खसीबोकाबाट कृषि विकास बैंकले ऋण स्वरूप कृषकहरूले लगेको ऋण कट्टा गरी खसीबोक्राहरू किसानहरूबाट किनेर दशैँको अवसरमा राजधानीलगायत विभिन्न सहरी क्षेत्रमा सर्वसुलभ मूल्यमा बिक्रीवितरण गर्ने प्रचलन थियो भने अहिलेको बलियो एक मानाको सरकारले यसतर्फ कुनै ध्यान दिएको देखिँदैन । यस्तै गरी गत वर्षमा राजधानीमा मात्रै दशैँ तिहारको अवसरमा ६५ हजारको हाराहारीमा खसीबोकाहरू व्यापारीहरूबाट किनबेच भएको थियो भने यसपालीको दशैँ तिहारको लागि ७०/८० हजारको हाराहारीमा खसी बोकाको माग काठमाडौँ उपत्यकालाई रहेको सम्बन्धित क्षेत्रका विशेषज्ञहरूको भनाइ रहेको पाइन्छ । यसैगरी व्यापारी दृष्टिकोणले व्यापार गर्ने व्यापारीहरू यस्तो किसिमको व्यापार गर्ने गरेको पाइन्छ ।

यसमा पनि किसानहरूको खसी बोकाको मूल्य कम पाउने र बीचमा व्यापार गर्ने बिचौलीहरूले यसमा बढीभन्दा बढी नाफा कमाउने अवस्था रहेको छ । यसमा सरकारको कुनै पनि निगरानी हुन सकेको देखिँदैन । जसले गर्दा दुःख, कष्ट गरी खसीबोक्रा उत्पादन गर्ने कृषकहरू पनि एकातिर मारमा परेका छन् भने अर्कोतिर उपयोग गर्ने उपभोक्ताहरू पनि यसको मारमा परेका छन् । नेपालमा प्रतिदिन एक अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरूको संख्या धेरै ठूलो रहेको छ । मुलुकका कम आम्दानी र बढ्दो मूल्यवृद्धिले उनीहरूको जीवनयापनमा कठिनाइ पैदा भएको छ । यसले गर्दा अब चाडपर्व समेत हुनेखाने, सम्पन्न, धनीमानी, उच्च वर्गका शासक, प्रशासनको मात्र मनोरञ्जन गर्ने अवसरका रूपमा परिणत हुँदै छ । र चाडपर्व विपन्न र गरिब नेपालीहरूको पहुँचभन्दा बाहिरको विषय बन्दै गएको छ ।

अन्त्यमा भन्नुुपर्दा नेपाली घर आँगन बडा दशैँको आगमनको साथसाथै ठूलो महान चाडबाड दशैँ भित्रिने क्रममा रहेको छ । सबै नेपालीहरूको दशैँ ठूलो पर्व हो । यसैको आगमनको प्रतिक्षामा सबै रहेका छन् । यस पर्वमा झन्डै दश अर्बबराबरको मासु आवश्यक पर्ने सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । त्यसमा पनि लगभग एक तिहाइ मासूको आपूर्ति स्वदेशबाट हुन्छ भने बाँकी तीन तिहाइ मासुको आपूर्ति भारतलगायत विभिन्न अन्य मुलुकबाट हुने गरेको सम्बन्धित विशेषज्ञहरूको भनाइ रहेको पाइन्छ । चाडबाडको पहिलो स्वागत बजारले गर्नु स्वाभाविकै हो । तर बजार व्यवस्थापनमा सरकार, अझै सचेत नभएको अवस्थाले आम उपभोक्तामा चिन्ता छाएको छ ।

यो चाडपर्वमा अत्यधिक प्रयोग हुने वस्तु चामल, दाल, गोडागुडी, पनिर, मासु, फलफूल, तरकारी, चिनी र ध्यू तेलको मूल्य आकासिएको छ । चाडवाडको नाममा अत्यधिक नाफा कमाउने उद्देश्यले धेरैजसो घुसखोरी, काला बजारीहरूले समानहरू लुकाई राख्ने र प्राप्त हुन सक्यो भने पनि एक केजीमा परलमोलभन्दा ६०/७० रुपैयाँ बढी मूल्य तिर्न उपभोक्ता बाध्य भएका छन् । त्यसमाथि पनि बढी रूपैयाँ तिरेर पनि नपाइने पीडा आफ्नै ठाउँमा छ । दैनिक उपभोगमा आउने कैयौँ वस्तुको अवस्था हो यो । यस्तै अरु थुप्रै वस्तुहरूको महँगीका कारणले गर्दा सामान्य व्यक्तिको लागि महान चाडपर्व दशैँ तिहारजस्ता पर्वहरू दशा बन्दै छ, यो कुनै स्वाभाविक प्रक्रियाबाट भएको होइन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्