Techie IT
बिहीबार, कात्तिक १३,२०७७

नेपाल वायुसेवा निगमभित्रको भ्रष्टाचारको कथा श्रृङ्खला—२


नेपाल सरकारको पूर्ण स्वामित्व र नियन्त्रणमा भएर पनि यो संस्था जुनजुन पार्टीको सरकार बन्यो तिनै पार्टीका नजिकका मान्छेलार्ई महाप्रबन्धक बनाउँदै वा अध्यक्ष बनाउँदै भ्रष्टाचार गर्दै नेवानि सिध्याउने खेल निरन्तर भैरह्यो । यति भ्रष्टाचार पञ्चायतकालमा कहिले पनि देखिएन । खास गरेर प्रजातन्त्रलार्ई दुरूपयोग गर्नेहरूले यो संस्थालाई कमाइखाने खेत बनाए । २०४३ सालमा दुईटा बोइङ आयो बलिराम सिंहको पालामा । त्यतिबेला भ्रष्टाचारको गन्ध आएन । तर बोइङ किनेको कमिसन यदाकदा बलिराम सिंहको खातामा हरेक वर्ष आइरहन्छ भनेको चैँ हामीले सुनिएको हो ।

तत्कालीन नेपाली छापाहरूमा बोइङ खरिदमा भ्रष्टाचार भएको भनेर न्यूज पनि आएकै हो तर अहिलेजस्तो सञ्चालक समितिदेखि विभागीय मन्त्रीसमेत मिलिभगत गरेर भ्रष्टाचार गर्ने घटना बिरैलै हुन्थ्यो । नेपाल वायुसेवा निगमको ६३ वर्षको इतिहासमा गणतन्त्र स्थापनापछि सबैभन्दा भ्रष्टाचारका नयाँनयाँ इतिहास रचिँदै गए । एउटा अचम्मको कुराचैँ के रह्यो भने नेपाल सरकारको स्वामित्वमा रहेका धेरै संस्थानहरू कलकारखानाहरू बन्द बनाइए पनि यो संस्थाचाहिँ धन्न अहिलेसम्म जीवित छ । जीवितचैँ यो मानेमा छ कि यसलाई जोगाउन सकियो भने भ्रष्टाचार गरिरहन पाइन्छ भन्ने ।

अबचैं पहिलेको जस्तो अवस्था छैन । स्थिति दिनानुदिन गम्भीर बन्दै गएको छ । अहिले नेपाल वायुसेवा निगमको वित्तीय अवस्था अत्यन्तै नाजुक छ । कोभिडका कारण अन्तर्राष्ट्रिय फ्लाइटहरू ६ महिना बन्द भए । जाहाज उडाएर भन्दा पनि भूमिस्थ सेवा (ग्राउन्ड ह्यान्डलिङ) गरेर दैनिक एक करोड १० लाखभन्दा बढी आम्दानी गर्ने संस्थाको यो आम्दानी अहिले आएर २० प्रतिशतमा झरेको छ । यो अवस्था हुँदाहुँदै पनि पर्यटन मन्त्री र अध्यक्ष मिलेर निजी एयरलाइन्स हिमालयलार्ई सेल्फ ग्राउन्ड ह्यान्डल गर्न पाउने नियम बनाएपछि अब अन्य एयरलाइन्सको भूमिस्थ सेवा पनि हिमालय एयरलाइन्सले हत्याउने प्रबल सम्भावना छ ।

सञ्चय कोष र नागरिक लगानी कोषको पचास अरबको ऋण व्ययभार कसरी तिर्ने भन्ने कुराले अहिले नेपाल वायुसेवा निगम वित्तीय संकटमा परेको छ । यो वित्तीय संकट कसरी समाधान गर्ने भन्ने कुरामा तालुकदार मन्त्रालय र मन्त्री चिन्तित देखिदैनन् । बरु आफ्नालाई महाप्रबन्धक र अध्यक्ष बनाइरहेका छन् मन्त्रीज्यू यतिबेला । सुशील घिमिरेलाई अध्यक्षका रूपमा ६ महिनाअघि नियुक्ति गरेका मन्त्रीले फेरि नेवानिमा अर्को पद खडा गरेर महाप्रबन्धक किन नियुक्ति गरेको हो ? अवकाशप्राप्त कर्मचारीले पाउनुपर्ने सुविधा पाउन नसकिरहेको अवस्थामा फेरि किन महाप्रबन्धक नियुक्ति गरेको ? के अहिले महाप्रबन्धक नियुक्ति गर्नु जरुरी थियो र ? अहिले महाप्रबन्धक नियुक्ति गर्नासाथ नेवानिले आमूल परिवर्तन गर्न सक्छ र ? यो नियुक्तिले झन् खर्चमाथि खर्च थपिदिएको छ । अहिलेको अवस्थामा मितव्ययिता अपनाउनुपर्नेमा मन्त्री स्वयंले झन् खर्च थप्ने काम गर्दै हुनुहुन्छ ।

मितव्ययिताका नाउँमा कर्मचारीका सुविधा सबै काट्दै जाने अर्कोतिर माथिल्लो तहमा नयाँ नियुक्ति दिँदै जाने हो भने नेवानिको स्थिति झन नाजुक होस् भनेर चाहनु हो । एक संस्थामा महाप्रबन्धक र चेयरमेन नियुक्ति गर्दा मात्रै यस्को उन्नति हुने थियो भने खै त पर्यटन सचिव भएर त्यति लामो अनुभव बटुलेका अहिलेका अध्यक्षले नेवानीमा ७ महिनामा एउटा मात्रै कुनै उदाहरण लिन सक्ने काम गरे त ? अनि फेरि महाप्रबन्धक किन नियुक्ति गरेको ?

नेपाल सरकारले लकडाउनको बेलामा कुनै पनि कर्मचारीलार्ई जागिरबाट नहटाउनु भनेर घोषणा गर्दागर्दै पनि करारमा रहेका निर्दोष एक सय ४५ कर्मचारीलार्ई छानीछानी सेवाबाट हटाइयो । ती एक सय ४५ जनाले जति तलब थाप्छन् त्योभन्दा धेरै अहिले नियुक्ति पाएका महाप्रबन्धक र अध्यक्ष सुशील घिमिरेले नै खालान् । यो देशमा किन मजदुर अवस्थामा बाँचेकालाई मात्रै अन्यायको आगोमा झोसिन्छ हँ ? के यही हो सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने भनेको सरकारको यो रबैया ? यहाँ चार्टर्ड फ्लाइटमा ठूला तहका कर्मचारीले ब्राह्मलुट गरेको कसैले देख्दैन तर पसिना पोखेर महिनामा दश हजार तलब थाप्ने कर्मचारीलाई घरवारविहीन बनाइन्छ किन ?

कोभिडको बेलामा सामान्य होटलका कर्मचारीलार्ई त आधा तलब दिएर भए पनि नोकरी खोस्ने काम भएको छैन त्यस्तै कलकारखाना र अन्य उद्योगमा पनि कतै कर्मचारीको जागिर खोसिएको छैन । तर नेपाल वायुसेवा निगमको सञ्चालक समितिले निर्दोष १४५ जना कर्मचारीको जागिर खाइदियो ।
योभन्दा अगाडिको अंकमा मैले जहाज खरिदमा हुने अनियमितता, अन्तर्राष्ट्रिय प्रक्रिया र हवाइ एजेन्सीको बारेमा प्रकाश पारेको थिएँ ।

आजको यो लेखमा तल उल्लेख्य बुँदाहरूमा क्रमशः आफ्ना भनाइहरू राख्दै जानेछु ।
१. ग्राउन्ड ह्यान्डलिङ इकुपमेन्ट पर्चेज प्रक्रियामा भ्रष्टाचार
२. टिकट बिक्रीवितरणमा भ्रष्टाचार (लोकल र अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीसग मिलेर गर्ने आर्थिक चलखेल)
३. क्रुहरूको लागि आवास (होटेल सम्झौतामा) भ्रष्टाचार
४. फ्लाइट क्याटरिङका लागि चाहिने वार्षिक सामान (टेन्डरमा प्रक्रियामा नै भ्रष्टाचार)
५. जाहाज मर्मत सम्भारका लागि विदेशस्थित मेन्टेनेन्स कम्पनी हरूसँग मिलेर गरिने अदृश्य तर व्यापक भ्रष्टाचार
६. इन्जिनियरिङ एओजी (एयरक्राफ्ट अन ग्राउन्डेड) भ्रष्टाचार
७. इन्जिनियरिङ मेन्टेनेन्स तथा पार्टस रिपेरिङमा हुने भ्रष्टाचार
८. खरिद विभागबाट गाडीदेखि सारीसम्ममा हुने भ्रष्टाचार
९. भवन निर्माण, मर्मत, दैनिकी स्टेशनरी सामान खरिद र पुराना गाडी पुराना सामान अक्सनमा भैरहेका भ्रष्टाचार
१०. आन्तरिक उडानमा निजी एयरलाइन्ससँगको घातक साँठगाँठ मिलिभगत
११. ग्राउन्डेड भएका आन्तरिक उडानका जहाज (टिवनअटर) समयमा रिपेरिङ नगरी ग्राउन्डेड गर्दामा समेत भ्रष्टाचार
१२. यति एयरलाइन्सलाई दिएको दुईटा टुइनअटर जहाजमा भएको भ्रष्टाचार
१३. डलर सेक्टर(लुक्ला सोलुमा) हुने भ्रष्टाचार
१४. व्यापारिक क्षेत्र हङकङ बैंकक दुवइ आदि लोड फ्याक्टरमा हुने भ्रष्टाचार ।
१५. एक्सेस व्यागेजमा कर्मचारीहरूबाट हुने भ्रष्टाचार
१६. एयर्पोटस्थित काउन्टरबाट हुने नियमित भ्रष्टाचार

१. ग्राउन्ड ह्यान्डलिङ इकुपमेन्ट पर्चेज प्रक्रियामा हुने भ्रष्टाचार : हालसालै एयरबस ३३० को प्रयोजनका लागि भनेर ग्राउन्ड इक्युपमेन्ट विभागबाट ८ वटा डली खरिद भएको छ । उक्त डली खरिद प्रक्रियामा अन्तर्राष्ट्रिय बजार मूल्यभन्दा तीन करोड बढी मूल्य लागेको भन्ने कुरा सुनिएको छ । ती आठवटा कार्गो र लगेज डलीहरू खरिदका लागि पक्कै पनि अन्तर्राष्ट्रिय कोटेसन आह्वान गरेरै किनिएको होला । तर तीन करोडचैँ कसरी भ्रष्टाचार भएको हो त्यस्को छानबिन पक्कै होला सम्बन्धित निकायबाट । जहाजको कार्गो र व्यागेज कम्पार्ट होलमा ती डलिहरूमा सामान राखेर उडान भरिन्छ । सुनिन्छ ती आठवटा डली आयात गर्दा यातायात व्यवस्थापनमा खर्च भएको भनेर तर यो कुरा साबित गर्न त्यति सहज छैन ।

ग्राउन्ड इक्युपमेन्ट एउटा त्यस्तो विभाग हो जहाँ जाहाज ह्यान्डलिङका (भूमिस्थ) सेवाको लागि चाहिने प्रायः सबै सामान खरिद गरिन्छ । पुस व्याक, डलि, ट्रलि, यात्रु बस, स्टाटर, जनरेटर, जाहाजमा यात्रु चढाउने भर्याङ, जाहाज टो गर्ने इक्युपमेन्ट, टुवाइलेट कार्ट, देखि जाहाजलार्ई ग्राउन्डेड हुदा र उड्नु अघि आवश्यक पर्ने सबै सुविधा दिनुपर्ने सबै सम्बन्धित इक्युपमेन्टहरू यही विभागबाट नै खरिद हुन्छ । यो विभागबाट बेलाबेलामा हुने खरिद प्रक्रियालार्ई मात्रै समय समयमा निगरानी राख्ने हो र नियमन राख्ने हो भने नेपाल एयरलाइन्सभित्र सदियौँदेखि इक्युपमेन्ट पर्चेजमा हुँदै आएको व्यापक भ्रष्टाचारमा अवश्य कमी आउने थियो ।

नेपालस्थित इन्डियन एयरलाइन्सले आफ्नै देशमा बनेको टाटा कम्पनीले बनाएको टाटा बस प्रयोग गर्छ आफ्ना यात्रु ओसारपसार गर्नलाई तर हामीलेचैँ एउटै बसको पाँच करोडको मूल्य तिरेर ल्याउछौँ । जुन देशमा एउटा सियो बन्दैन त्यही देशको एयर्पोटमा यात्रु ओसार्न नेपाल वायुसेवा निगमले पाँच करोडको लक्जरियस बस प्रयोग गर्छ । जति महँगोको सामान खरिद गर्यो त्यति धेरै कमिसन आउने भएकोले यो दुनियाँमा कहाँ महँगो इक्युपमेन्ट छ त्यहीँ पुग्छ नेवानि कमाउ विभागका टोली । नेपाल एयरलाइन्सको कमाउ विभाग भनेको ग्राउन्ड इक्युपमेन्ट विभाग नै हो भनेर भन्दा अतिसयोक्ति नहोला ।

सम्बन्धित विभागीय प्रमुख उपप्रमुखदेखि महाप्रबन्धकसम्मको मिलोमतोमा हुन्छ त्याहा भ्रष्टाचार । नेपाल एयरलाइन्सभित्र हुने कुनै पनि भ्रष्टाचारमा विभागीय प्रमुख उपप्रमुख त्यसै लाइनका अन्य व्यक्तिहरूको संलगनता हुने गर्दछ । जर्मनबाट बस खरिद गर्न लागियो भने थुप्रै कर्मचारीहरू लगातार लाइन लागेर भ्रमणमा जाने गरिन्छ । चाकरीका भरमा भ्रमणमा जाने परम्पराले एउटा लामो कालखण्ड व्यतित भएको छ नेपाल एयरलाइन्सभित्र । यसै परम्पराका कारण पनि हो नेपाल एयरलाइन्स आज यो दुरावस्थामा पुगेको । इक्युपमेन्ट पर्चेजमा हुने भ्रष्टाचारका बारेमा बाहिर मिडियामा आउँदैनन् किनकि यो बारेमा नेपालका पत्रकारहरू प्रायः अनभिज्ञ छन् । उनीहरू केवल जाहाज खरिदमा हुने भ्रष्टाचारका बारेमा मात्रै लेख्छन् । यो विषय थाहा नभएर पनि होला । एक करोडको इक्युपमेन्ट खरिद गर्दा अर्को ५० लाख थप भ्रष्टाचार हुन्छ सबैको मिलिभगतमा ।

कर्मचारीले पनि यस्ता भित्रभित्रै भैरहेको भ्रष्टाचारको बारेमा बोल्न सक्तैन किनकि एउटा सामान्य कर्मचारी आफैं थिचिएको हुन्छ फेरि बिचरो उसलाई प्रमोशनको लोभ हुन्छ, पोस्टिङो लोभ हुन्छ, कहिलेकाहीँ यसो अन्तर्राष्ट्रिय ड्युटीको पनि लोभ हुन्छ । एउटा प्रमोशनले एउटा पोस्टिङ्ले र बेलाबेलामा पाइने अन्तर्राष्ट्रिय भ्रमणले सारा कर्मचारीहरू बाध्यताले चुपचाप बस्न विवश छन् र यो पनि एउटा अर्को कारण हो नेवानिले युगानुकूल आफूलाई परिवर्तन गर्न नसकेको र झन्झन् रुग्ण हुँदै गएको । माथिका सबै बुँदाहरूमा क्रमशः आगामी अंकहरूमा प्रस्तुत गर्नेछु । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्