Techie IT
२२ मंसीर २०७९, बिहीबार

बालबालिकाको नैतिक विकास र अभिभावक


काठमाडौं । कुनै पनि समाज वा राष्ट्रको लागि बालबालिकाहरू भनेका आशाका केन्द्र हुन् । समाज र राष्ट्रले बालबालिकाहरूबाट ठूलो आशा र भरोसा राखेको हुन्छ । किनकि बालबालिका भनेका भविष्यका कर्णधार हुन् र उनीहरूले नै भोलि गएर आफ्नो परिवार, समाज अनि सिंगो राष्ट्रको जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ । यस किसिमको जिम्मेवारीको भावना उनीहरूमा तब हुन्छ जब उनीहरू सानै उमेरदेखि नैतिक र चारित्रिक विकासको मार्गमा अग्रसर रहन्छन् । नैतिक र चारित्रिक रूपमा पथभ्रष्ट बालबालिकाहरू भोलि गएर उल्टो राष्ट्रको लागि बोझ बन्न पुग्दछन् । यस कुरालाई मनन गरेर बालबालिकाहरूको नैतिक र चारित्रिक विकासका लागि सर्वप्रथम अभिभावक वर्गले नै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । हुन त अभिभावक भन्नाले मूलतः बालबालिकाको मातापितालाई नै बुझ्ने गरिन्छ । किनकि बालबालिकाको असल भविष्य निर्माणमा उसको मातापिताले नै बढी महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तर बालबालिकाको असल भविष्य निर्माणको लागि निरन्तर लागिरहने र उनीहरूको लालनपालनमा खटिरहने व्यक्ति वा आफन्तलाई पनि बालबालिकाको अभिभावककै रूपमा लिन अथवा मान्न सकिन्छ ।

जे होस् बालबालिकाको सबैभन्दा पहिलो र प्रमुख गुरु भनेको अभिभावक वर्ग नै हुन् । बाल्यकाल भनेको मानव जीवनको प्रारम्भिक चरणको अवस्था हो । यस अवस्थामा उचित–अनुचित कुराको निर्णय गर्ने क्षमताको विकास भइसकेको हुँदैन । त्यसैले यस अवस्थामा कतिपय बालबालिकाहरू एक किसिमबाट स्वाभाविक रूपमा नै अनेकन उच्छृङ्खल क्रियाकलापहरूतर्फ अग्रसर हुन सक्तछन् । हाम्रो सामाजिक र पारिवारिक परिवेशले पनि यसमा बल पु¥याइरहेको हुन्छ । त्यसो त मानवीय स्वाभाव पनि प्रायः राम्रोभन्दा नराम्रो कुरामै छिटो आकर्षित हुनेगरेको पाइन्छ । र, यसमा बालबालिकाहरू अझ बढी संवेदनशील हुने गर्दछन् । बालबालिकाहरू पारिवारिक कलह, झुठ र प्रदूषित वातावरणमा हुर्किए भने उनीहरूको स्वभाव पनि त्यस्तै हुन्छ । वास्तवमा झगडालु स्वभाव राख्ने, ढाँँट्ने अथवा झुठ बोल्ने, अरुको अनावश्यक निन्दा–चर्चा गर्ने बानी व्यहोरा बालबालिकाले मूलतः बाबुआमाबाट नै सिक्ने गर्दछन् ।

प्रसिद्ध बालमनोवैज्ञानिक हैम्बर्गको भनाइअनुसार बालबालिकाहरू प्रायः सातदेखि एघार वर्ष उमेरको बीचमा उच्छृङ्खल क्रियाकलापतर्फ अग्रसर हुने गर्छन् भने मनोवैज्ञानिक ब्राइलको भनाइअनुसार बालबालिकाहरूमा झुटो बोल्ने प्रवृत्ति सात र आठ वर्षको बीचमा बढी मात्रामा रहेको हुन्छ । त्यस्तै अर्का बालमनोवैज्ञानिक हौलिङ्ग वर्थको भनाइअनुसार प्रायः तेह्र, चौध र पन्ध्र वर्षको किशोरावस्थामा बालबालिकाहरूमा अनेकन मनोवैज्ञानिक समस्याहरू देखिने गर्दछन् । त्यसैले अभिभावक र परिवारका सदस्यहरूले यस उमेरमा उचित नियन्त्रण अथवा मार्गदर्शन गरी उनीहरूलाई सही बाटोमा अग्रसर गराउनु पर्दछ । तर एउटा कुराचाहिँ हामीले के बिर्सनु हुन्न भने नियन्त्रणको नाममा उनीहरूप्रति अनावश्यक रुखो व्यवहार गर्नेगरेमा अभिभावक वर्गको लागि त्यो झन् प्रत्युत्पादक पनि बन्न सक्तछ । अनुभवले पनि के देखाएको छ भने आवश्यकभन्दा बढी नियन्त्रणबाट बालबालिकाहरूमा सकारात्मकभन्दा नकारात्मक परिणाम नै बढी देखिने गर्दछ । त्यसमा पनि केही अभिभावकवर्गले आफ्ना बालबालिकाहरूलाई अनावश्यक नियन्त्रण गर्ने बहानामा कुरैपिच्छे रुखो र कठोर व्यवहार गर्ने, कुनै कुरामा असफल हुँदा अथवा सामान्य त्रुटि हुँदा पनि सातो खानेगरी झपार्ने प्रवृत्तिले त उनीहरूको मनोबल यति कमजोर हुनपुग्छ कि उनीहरू आफूलाई बेकम्मा ठानी कुनै ठूलो दूर्घटना निम्त्याउन समेत बेर लगाउँदैनन् ।

त्यसैले अभिभावक वर्गले सर्वप्रथम बालबालिकाहरूको मनोभावना बुझ्नु आवश्यक हुन्छ । किनकि बालमनोविज्ञानबाट अनभिज्ञ अभिभावकले आफ्ना बालबालिकाहरूमा जबरजस्ती आफ्नो विचार लादेर उनीहरूलाई नैतिक विकासतर्फ अभिप्रेरित गराउन सकिन्न । यसर्थ बालबालिकाहरूले अज्ञानतावश कहिलेकाहीँ केही गल्ती अथवा त्रुटि गरिहाले पनि उनीहरूलाई न्वारानदेखिको बल निकालेर झपार्नुको साटो प्रेमपूर्वक सम्झाउने–बुझाउने गर्नु पर्दछ, ता कि भविष्यमा ऊ यसकिसिमको त्रुटि दोहो-याउन अग्रसर नहोस् । बाबुआमाले उनीहरूले गरेको राम्रो कामको उनीहरूकै अगाडि प्रशंसा गरिदिने र गलत कामबाट पर्ने नकारात्मक प्रभावबारे उनीहरूलाई राम्रोसँग सम्झाउने, बुझाउने गर्नुपर्दछ । त्यस्तै कतिपय अभिभावकहरू आफ्ना बालबालिकाहरूलाई ‘विद्यालय पठाइरहेको छु, आफूलाई त ढुक्कै छ’ भनेर बस्ने पनि गर्दछन्, जुन सही होइन । उनीहरू नियमितरूपमा स्कुल गइरहेका छन् कि छैनन् ? अनुशासितरूपमा कक्षा कोठामा बस्ने गरेका छन् कि छैनन् ? कतै आफ्नो नियमित पढाइबाट बरालिएर खराब संगत अर्थात् गलत बाटोतिर पो लागिरहेका छन् कि ? यसतर्फ पनि अभिभावक वर्गले बेला–बेलामा निरीक्षण अथवा निगरानी राख्ने गर्नुपर्दछ ।

मुख्य कुरा त अभिभावकवर्ग स्वयम् यस्तो कुनै अनैतिक कार्यमा संलग्न रहनु भएन, जसबाट बालबालिकाहरूको कलिलो मन–मस्तिष्कमा नकारात्मक प्रभाव परोस् । किनकि बालबालिकाहरूमा अरुको नक्कल र देखासिकी गर्ने प्रवृत्ति अत्यन्त प्रबल रहेको हुन्छ । अक्सर के देखिने गरेको छ भने आफ्नो परिवारको जस्तो किसिमको रहन–सहन हुन्छ बालबालिकाहरू पनि प्रायः सोहीअनुरूपको व्यवहार दर्शाउने गर्दछन् । अर्थात् कुनै घर–परिवारमा यदि अनावश्यक कलह र झै–झगडा भइरहन्छ भने निश्चितरूपमा त्यस परिवारका केटाकेटीहरू पनि झगडालु स्वाभावकै हुने गर्दछन् । त्यसैले छोराछोरीको अगाडि बाबुआमा अथवा अभिभावक वर्गले झगडा गर्ने, एक–आपसमा मारपिट गर्ने काम विलकुलै गर्नु हुँदैन । किनकि यसबाट बालबालिकाको कलिलो मन–मस्तिष्कमा प्रतिकूल असर पर्न जान्छ । त्यसैले घर परिवारमा आपसी विश्वास, सहयोग, समझदारी र सहानुभूतिको भावना रहुनु अति नै आवश्यक र जरुरी हुन्छ । त्यसमा पनि घर–परिवारमा यदि कुनै दृष्टिविहीन अथवा शारीरिक–मानसिक अपांगता भएका बालबालिका छन् भने उनीहरूको सुरक्षा र लालन–पालनमा अभिभावक वर्गले अझ बढी महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने हुन्छ ।

अन्त्यमा बालबालिकाहरूको लागि अभिभावकवर्गले विचार पु¥याउनुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने उनीहरूको अध्ययन, गृहकार्य, खेलकुद आदिका लागि निश्चित समयतालिका निर्धारित गरिदिनु पर्दछ । यसबाट उनीहरूमा नियमित र अनुशासित रहने अभ्यास बढ्न गई जीवनमा सफलता हासिल गर्ने उत्साह बढ्न जान्छ । यसका साथै बालबालिकाहरूलाई विद्यालयको पाठ्यपुस्तकमा मात्र सीमित नराखी अन्य बौद्धिक, ज्ञानवर्द्धक र विभिन्न वैज्ञानिक–दार्शनिक व्यक्तित्व र महापुरुषहरूको जीवनीमा आधारित पुस्तकहरू अध्ययन गर्न अभिप्रेरित गर्नु पर्दछ । त्यसैगरी बालबालिकाहरूलाई विभिन्न सिर्जनात्मक एवं रचनात्मक क्रियाकलापहरूमा सहभागी हुन अभिप्रेरित गरेर उनीहरूमा भएको प्रतिभा र सिर्जनात्मक क्षेमताको प्रस्फुटन गर्ने वातावरण अभिभावकवर्गले बनाइदिनु पर्दछ । यसबाट उनीहरूमा बौद्धिक र मानसिक विकासका साथसाथै आफूभन्दा अग्रजप्रति आदर र अनुजप्रति स्नेहभाव राख्नुपर्दछ भन्ने भावनाको विकास हुन्छ । त्यतिमात्र नभई प्रेम, दया, क्षमा, आपसी सहयोग अनि सद्भावना, सच्चरित्रता, भातृत्व र देशभक्तिजस्ता चारित्रिक आभूषणप्रति उनीहरूको झुकाव बढ्दै जान्छ जुन नैतिक र चारित्रिक उत्थानको दृष्टिले अति नै आवश्यक र अपरिहार्य मानिन्छ । (लेखक दुष्टिविहीन अभिभावक संघ–नेपालका अध्यक्ष हुन् ।) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्