Techie IT
२२ मंसीर २०७९, बिहीबार

पर्यटन प्रवर्द्धनमा : बज्रबाराही


काठमाडौ । काठमाडौं उपत्यकामा बाराही देवीस्थलहरू चारवटा छन् । उत्तरमा श्वेत–बाराही, पूर्वमा नीलबाराही, पश्चिममा धूमबाराही र दक्षिणमा बज्रबाराही । यस लेखमा बज्रबाराहीको संक्षेपमा चर्चा गर्ने प्रयास गरिन्छ । बज्रबाराहीलाई बज्रयानी देवता हेरुकचक्रसंवरकी स्त्रीशक्ति मानिन्छ । बज्रबाराही देवीको पवित्र थलो नेपाली ललितकलाले धपक्क सिँगारीएको ललिपुर जिल्लाअन्तर्गत चापागाउँ वा वा–देः भनिँदै आएको पूर्वलिच्छवीकालीन प्राचीन बस्ती चम्पापुरको पूर्व किनारस्थित उपवनभित्र अवस्थित छ । यो थलो देवस्थल हुनाको साथै धेरै कारणले पनि आकर्षण र लोकप्रिय छ ।

सुन्दर निकुञ्ज, शीतल छहारी, जैविक विविधताले भरिपूर्ण, सुमधुर चराको स्वर, मनोरम हराभरा दृश्यवली, स्वस्थ पर्यावरण, शान्त वातावरण, विचित्र प्राकृतिक छटा आदिले यस थलोलाई उपत्यकाभरि भनेजसो बेजोड, विशिष्ट र विलक्षण बनाएको छ । सुन्दर उपवनभित्र अवस्थित मन्दिर, मूर्ति, चित्र आदिले झकमक्क भएको यो देवस्थल अनुपम प्राकृतिक सम्पदा र उच्च मानवकृतिको संगतिपूर्ण संयोग पनि हो । त्यसैले देवीको पूजा गर्न आउने श्रद्धालु भक्तजन, पिकनिक मनाउन आउने युवायुवती, के संयोगवस आइपुग्ने बटुवा सबैलाई यस थलामा पाइलाहाल्नेबित्तिकै यसको मनमोहताले प्रकृतिसँग आत्मसात् भएको भावनाले केही घण्टाको लागि भए पनि मन्त्रमुग्ध पार्दछ ।

श्रद्धा र भक्तिको स्रोत देवदेवीहरूको सान्निध्य मन्दिरको कलात्मक भव्यता, जरुवा पानीको पर्याप्त, आकस्मिक आवश्यकताको परिपूर्ति गर्न सक्षम बस्तीको सामिप्य आदिको कारणले यो ठाउँ धार्मिक पर्यटनमा अग्र स्थलमा पर्दछ । बज्रबाराही देवीको पूजा गर्नाले जीवनमा आइपर्ने विध्नबाधा आदि हट्छ र विधिवत् साधना गर्नसके सिद्धि प्राप्त हुने किंवदन्ती छ । बज्रबाराही देवीको मन्दिरमा प्रायः सबै दिन दर्शनको लागि भिडभाड हुने गर्दछ । विशेषगरी यहाँ दुईवटा जात्रा हुन्छ : मंसिरमा हुने जात्रा र चैतमा हुने जात्रा । यस देवीका कयौँ विशेषताहरू छन् । सोमध्ये केही उल्लेख गरिन्छ ।

काठमाडौं उपत्यकाका साथै बाहिरका कृषकहरूले आफूले पालिराखेका वस्तुहरू पहिलो पटक बियाउँदा पहिलो बेतेको बिघौती देवीमा चढाउन ल्याउने परम्परा छ । यिनको पूजाआजाबाट मानिसहरूको बस्तीमा भूतप्रेत आदिबाट हुने विध्नबाधाहरू हट्छ साथै अष्टसिद्धि प्राप्त हुन्छ । उपत्यका तथा हाम्रो देशमा देवी देवताको जात्रा वर्षको दुई पटक गरिने चलन विरलै हुन्छ । यस देवीको वार्षिक जात्रा दुई पटक हुन्छ । यस जैविक विविधतापूर्ण उपवनबाट रुख काटेर दाउरा लैजाने त के कुरा सुकेका हाँगाबिँगा, चोइटा, पातपतिङ्गर, झिँजामिजासम्म पनि सोहोरेर यहीँ बाल्न वा लैजान हुन्न भन्ने परम्परा छ ।

यस जंगलमा अर्काे विशेषता दिउँसो जंगलका रुखबिरुवाहरूको पातपतिङ्गरबाहिर उडाएर लगे पनि साँझ परेपछि ती सम्पूर्ण पातपतिङ्गर जंगलभित्रै आउँछन् भन्ने कुराले प्रसिद्धि पाएको छ । विश्वकै दुर्लभ चरा काँढे भ्याकुर, दुर्लभ खालको नाग जातिजस्ता जीवको बासस्थानले प्रसिद्धि कमाएको छ । अर्काे विशेषता स्थानीय जनाताका घरपालुवा पन्छी र जन्तुहरू यस वनमा चर्न गए पनि जंगलभित्रका हिंस्रक जनावरहरूबाट मार्ने र खाने गरेको पाइँदैन भन्ने किंवदन्ती छ ।

नेपालमा धार्मिक तथा ऐतिहासिक पर्यटनको सम्भावना अत्यन्त छ । छिमेकी मुलुक भारतमा एक अर्ब चालीस करोड मानिस संस्कृति, भाषा, धार्मिक परम्परा एकैनासको रहेका छ । करिब ७९ प्रतिशत जनता हिन्दु धर्मावलम्बी छन् । भारतले धार्मिक पर्यटनको लागि चारधामको व्यवस्था गरेको जस्तै नेपालमा पनि सो व्यवस्थापन गर्न जरुरी छ । प्रत्येक वर्ष नेपालको कुल व्यापारघाटाको ६० प्रतिशत अंश भारतसँग रहने गरेको छ । यो व्यापारघाटा कम गर्न नेपालमा धार्मिक पर्यटन बढाई आयआर्जन गर्न बज्रबाराही मन्दिरजस्ता नयाँ धार्मिकस्थलको पहिचान र विकास गरी आकर्षण र आस्थाको केन्द्र बनाउन जरुरी छ ।

नेपाल धार्मिक, ऐतिहासिक, सांस्कृतिक धरोहरको धनि देश भएकोले धार्मिक पर्यटन भित्र्याई देशलाई समृद्ध बनाउने थुप्रै अवसरहरू छन् । पर्यटनको अंश विश्वको निर्यातमा ७ प्रतिशत र सेवा निर्यातमा २९ प्रतिशत रहेको पाइन्छ । सरकारले पर्यटन, धार्मिक तथा ऐतिहासिक आदि पर्यटन उद्योगलाई गति दिन सन् २०२३ देखि २०३३ लाई नेपाल पर्यटन दिवसको रूपमा मनाइने समाचार आएको छ । यो कार्यक्रम सफल बनाउन बज्रबाराहीजस्ता देशैभरका ऐतिहासिक तथा धार्मिक क्षेत्रलाई सर्किटको रूपमा जोडी विभिन्न देशका हिन्दु धर्मावलम्बी हाम्रो देशमा भ्रमण गर्न लालाहित गराई पर्यटनबाट आयआर्जन गर्न अति जरुरी छ ।

विश्वमा सूचना र सञ्चारको जगतमा एक्काईसौँ शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र स्वदेशी तथा वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा विश्वमा महामारीको रूपमा फैलिएको कोरोना महामारीले हाम्रो जन्मभूमिमा पनि धक्का दिएको छ । सो क्रममा वैदेशिक रोजगारीमा गएका दाजुभाइ, दिदीबहिनी जन्मभूमिमा फर्किरहेका छन् । सो कारण बेरोजगारीको समस्या हल गर्नको लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रविन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूमिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यस क्षेत्रमा तुलनात्मकरूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक धार्मिक पर्यटन उद्योगको विकासबाट आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले धार्मिक पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाटयस क्षेत्रको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन सक्दछ ।

हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीयस्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण बज्रबाराही क्षेत्र आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्द्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धन गर्नु अहिलेको समयको माग हो ।

यस क्षेत्रमा भएका विभिन्न मन्दिरको एकीकृत पर्यटकीय व्यवस्थापन गर्नु अतिआवश्यक छ । योजनाको अभावले गर्दा यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको सर्किटको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । स्थानीय सरकारको समन्वयमा बज्रबाराही क्षेत्रमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ ।

पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्दछ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस बज्रबाराही क्षेत्रभित्रदेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारधी । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्