Techie IT
२२ मंसीर २०७९, बिहीबार

स्वच्छ र स्वस्थ मासु उपभोक्ताको नैसर्गिक अधिकार


काठमाडौं । मानिसको भोजनबाट चय अपचय भई मानिसको शरीरका लागि दैनिक जीवनचर्या सुचारु गर्न मानिसले दैनिक गर्ने क्रियाप्रक्रियाबाट मानिसको शरीरमा क्षय हुने शक्ति, तन्तुको पुनः निर्माणका लागि, कार्बोहाइड्रेट, बोसो, प्रोटिन अनि खनिजको निरन्तर आपूर्ति हुन आवश्यक हुन्छ । यी सबै पोषक तत्वको स्रोत वनस्पतिजन्य तथा पशुजन्य मानिन्छ । मानिसले गर्ने दैनिक शारीरिक तथा मानसिक क्रिया–प्रतिक्रियाबाट मानिसको शरीरबाट तन्तुहरु नष्ट हुने गर्छन, जसको बनोटमा प्रोटिनको महत्वपूर्ण भूमिका हुन्छ । भनिन्छ प्रोटिनका स्रोत वनस्पतिजन्य पनि हुन्छन् तर पशुजन्य स्रोतबाट प्राप्त हुने प्रोटिन भने उत्कृष्ट मानिन्छ । जुन हामी पशुपन्छीबाट प्राप्त गर्दछौँ ।

मासु भन्नाले हाम्रा धर्म संस्कृति, रीति रिवाजअनुसार उपभोग गर्न हुने पशुपन्छीहरु वध गरी तीनको शरीरबाट पाउने उपभोग्य तन्तुलाई बुझिन्छ । तर आज हाम्रा परिवेषमा जसरी पशुपन्छीहरु वध गरिन्छ अनि जसरी मासुको बिक्रीवितरण गरिन्छ त्यस्ता स्रोतबाट प्राप्त मासु हामीले सेवन गर्दा के हामी साँच्चिकै मासुबाट प्राप्त हुने भनिएको उत्कृष्ट प्रोटिन प्राप्त गर्न सक्छौँ ।

हाम्रा वधस्थल तथा मासु बिक्री गरिने पसल कस्ता छन् ?
राँगा प्रजाति वध गरिने स्थल प्रायजसो नदीकिनारका बगर हुन् भन्दा फरक पर्दैन । त्यसको लागि काठमाडौंकै विष्णुमति किनार हेरे पुग्छ । यसरी यस्ता ठाउँमा वध गरिएका राँगाको मासु धोईपखाली गर्न आवश्यक पानी पनि त्यही विष्णुमति खोलाको प्रयोग गरिन्छ भन्न के आइतबार कुर्ने ?
आजको हाम्रो परिप्रेक्षमा पशुवधशाला ऐन २०५५, नियमावली २०५७, तथा निर्देशिका २०६४ त छ । जसअनुसार प्रत्येक किसिमका पशुपन्छी वध गर्नुअघि स्वस्थ/अस्वस्थ भए/नभएको जाँच गर्नुपर्ने व्यवस्था छ । तर यसरी बगर–बगरमा गरिने वध प्रत्येक घर–टोलमा गरिने वधको निरीक्षण तथा अनुगमन गर्न न त पर्याप्त जनशक्ति नै छ न त भौतिक स्रोत साधन नै । यसरी व्यवसायी आफैँले आफूखुशी वध गरी भाग लगाई तयार पारेको मासुनजिकै बगेको खोलाको पानी प्रयोग गरी सफा गरेको मासु कति स्वच्छ, सफा र जनस्वास्थ्यको लागि स्वस्थ होला यक्ष प्रश्न त यही छ ।

अझ हाम्रा परम्परागत मासु बिक्री गर्ने चलन भुइँमै खसीबोका वध गर्ने गुन्द्री तथा प्लास्टिक ओछ्याएर पनि मासुपसल थाप्ने, रातो लुगाले मासु छोपेर राख्ने अनि छिन–छिनमा पानी छर्कने चलन त परम्परागत नै छन् । यसले त्यो मासुलाई कति स्वच्छ, सफा र स्वस्थ राख्न मदत गर्ला ?
मासु विज्ञानको सिद्धान्तले भनेको छ, ‘पन्छी प्रजाति तथा बंगुर प्रजातिबाहेक वध गरेपछि त्यसको छाला छुट्याउनुपर्छ । टाउको, खुट्टाको तल्लो भाग अनि आन्द्राभुँडी भित्री अंश, मुटु, कलेजो, फोक्सो, फियो, मिर्गौला पनि । यसपछि बाँकी रहेका वध गरिएको पशुका भाग वर्गीकरण गरी मात्र तयार हुने मासुलाई मासु भनिन्छ । यीबाहेकका माथि उल्लिखित अंश बिक्रेताले बिक्री गर्न चाहे छुट्टै राखी बिक्री गर्नुपर्ने हुन्छ । अझ हाम्रो आफ्नो प्रचलनमा वध गर्न कानुनीरुपमा अनुमति दिइएका पशु तथा तिनका लिगअनुसार वध गरी तयार पारिएको मासु के साँच्चै उपभोक्ताले पाउँछन् होला ? यो समस्या चौपाया प्रजातिमा बढी छ । मानिन्छ खसीराँगाका मासुको मूल्य बढी नै हुन्छ । खसी भनी बेचिने गरेको मासुमा बोका/बुढी बाख्री वा भेडाभडीको मासु नमिसाइएको भन्ने एकिन कसरी गर्ने ? राँगाको मासु भनी बिक्री गर्न राखिएको मासुमा दुध दिँदा–दिँदा थाकेको बुढीभैँसी पर्दैन पो कसरी भन्ने ?

यसका पूर्वाधार के हुन सक्छन् ?
१) मासुजनित रोग, मासु उत्पादन, मासु बिक्रीवितरणबारे सूचना प्रवाह गर्ने ।
२) मासु उत्पादन वितरण, पशु वधशाला सञ्चालन र मासु परीक्षणसम्बन्धी भएका कानुनी व्यवस्थाबारे सरोकारवालालाई सुसूचित गर्ने ।
३) नगरपालिका क्षेत्रमा मासु बिक्री गर्न चाहने व्यवसायीले सम्बन्धित नगरपालिकामा पूर्वस्वीकृति लिई मासुपसल सञ्चालनको मापदण्ड पूरा गरी मासुपसल सञ्चालन गर्ने ।
४) पशु वधशालाबाट प्रमाणित एवं वर्गीकृत मासु, मासुपसलसम्म रेफ्रिजरेटर भ्यानमा राखी पु-याउने जिम्मा सम्बन्धित वधशाला सञ्चालकको हुने व्यवस्था गर्ने ।
५) मासुपसलमा नियमित बिक्रीपछि पनि बाँकी रहन गएको मासु डिप फ्रिजमा संरक्षण गरी राख्ने व्यवस्था हुनु पर्ने ।
६) प्रत्यक मासु पसलमा बिक्री गर्न राखिएको मासुमा मासुको स्रोत, गुणस्तर अंकित चिह्न प्रस्ट देखिने व्यवस्था गर्ने ।
७) वधस्थलमा वध गर्न ल्याइने पशुको वधपूर्वको स्वास्थ्य परीक्षण तथा वधपछि पनि परीक्षण गरी मात्र त्यस्ता पशुबाट प्राप्त हुने मासु स्वस्थ/अस्वस्थ अवस्थाअनुसार वर्गीकृत चिह्न अंकित गरी मात्र मासु पसलसम्म पु-याउने व्यवस्था गरिनुपर्नेछ ।
यसको समाधान के ?
प्रत्येक सहरी क्षेत्र, महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिका क्षेत्रमा हाल वध गरिने पशुको किसिम, मासुको खपतअनुसारका क्षमताका व्यवस्थित वधशाला, वधस्थल निर्धारण गरी स्तरोन्नति वा नयाँ निर्माणको प्रक्रिया, निजी व्यवसायी सहकारी व्यवसायीको समितिको अग्रसरतामा निर्माण अनि सञ्चालन गर्ने हो कि ?

सैद्धान्तिकरुपमा माथि उल्लिखित तथ्य सहज देखिए पनि हाम्रा आफ्ना सामाजिक परिवेशमा सहज छैन । तथापि हामी विश्व व्यापार संगठनको सदस्य तथा विश्व पशु स्वास्थ्य संगठनको सदस्यराष्ट्र भएकोले अन्य विश्वका सदस्य राष्ट्रले गरेको प्रतिबद्धताअनुसार हामी पन्छिन सक्दैनौँ पनि । यसकारण गर्न के पो सकिन्छ । वर्तमानको समग्र मासुसम्बन्धी हालको ज्ञानको मूल्यांकन पूर्वाधारका स्थिति, उपभोक्ताको संचेतनाको स्थिति हेरी सरोकार पक्षलाई यथोचित अभिमुखीकरणका कार्यक्रम सञ्चालन पो गर्ने हो कि ।

No description available.

यसबाहेक सम्बन्ध पक्षलाई सहभागितामूलक प्रशिक्षण दिने हो कि ? वधशाला निर्माण मासुपसल सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि स्थानीय निकाय, सरकारी वा गैरसरकारी क्षेत्रबाट आर्थिक अनुदान, सामग्री अनुदान, सो सम्भव नभए अनुदान वा सहुलियतको रुपमा ऋणको व्यवस्था गर्न सकिन्छ । यसबारे सोच्ने बेला आएको छ । न्यूनतमरुपमा यतिसम्म गर्न सकिएमा उपभोक्ताले हालको अवस्थाभन्दा केही स्वच्छ, सफा र स्वस्थ मासु पाउनेछन् । किनकि सुधारका सम्भावना अनन्तः हुने गर्छ । एकै पटक अति महत्वकांक्षी योजना गर्दा काठमाडौंको थानकोट दुर्घटनाको अनुभव हामीसँग छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्