Techie IT
१३ असोज २०७९, बिहीबार

नेपालमा कृषि र बजारीकरण व्यवस्थापन


काठमाडौं । जग्गाजमिन खनजोत गरी बालीनाली लगाउनु कृषि हो । बाली सपार्न, उत्पादन बढाउन र दैनिक उपयोग गर्नको लागि गरिने गाई, भैँसी, बाख्रा भेडा, बंगुर कुखुरा माछा आदि पालनलाई समेत कृषिमा समेटिएको छ । कृषि मानिसको दैनिक जीवनसँग प्रत्यक्षरुपमा सरोकार राख्ने क्रियाकलाप हो । मानिसले दैनिक उपभोग गर्ने वस्तु कृषिकै उपज भएकोले यसको संरक्षण, विस्तार र बजारीकरण हुनु अत्यन्त आवश्यक छ । आधारभूत आवश्यक्तामध्येको गाँस कृषिमा निर्भर गर्दछ । यसको गाम्भीर्यतालाई बुझ्न ढिला गर्नु हुन्न ।

सम्पूर्ण जीवको जीवनको आधार कृषि भएकोले यसैमार्फत हरेक प्राणीलाई खाना प्राप्त भइरहेको हुन्छ । यसर्थ हरेक प्राणीको जीवनरक्षा गर्ने काम कृषिले गरिरहेको हुन्छ । यसको उपभोग जुनसुकै स्तरको प्राणीले गर्ने गर्दछ । यसले प्राकृतिक रुपमा सबै प्राणी समान छन् भन्ने बुझाउँछ । कृषि उत्पादनमा स्वच्छता, स्वस्थता र रोग निरोधकता विद्यमान हुन्छ । यसमा सम्पन्नता प्राप्त गर्नु लामो समयसम्म जिउने अवसर प्राप्त गर्नु हो । कृषि क्षेत्रबाट उत्पादन भएका वस्तुहरू मौसमविशेष, वातावरणविशेष, स्थानविशेष हुन्छन् । जसको गुणस्तर मौसम वातावरण र स्थानले समेटेको हुन्छ । जस्तैः मुस्ताङको स्याउ, मुडेको आलु, त्रिसुलीको बदाम आदि । कृषि प्रणालीमा उपयोगिता ह्रास नियम लागू हुने हुँदा यसको उत्पादन प्रकृतिमा निर्भर गर्दछ । मानिसले आवश्यक मलजलमा ध्यान दिए पनि आवश्यकताअनुरुप उत्पादन बढाउन घटाउन सक्दैन ।

तसर्थ यो पेसामा लगनशीलता, परिश्रम बढी आवश्यक पर्छ । लगनशीलता परिश्रमअनुरुप उत्पादन हुने/नहुने कुराचाहिँ प्रकृतिमा निर्भर हुन्छ । कृषि पेसामा आबद्ध मानिसहरूलाई कृषक भनिन्छ । यिनीहरूले नै मौसमअनुरुप कृषि उत्पादन गरी उपभोग र वितरण गर्दछन् । विश्वमा यही पेसा अन्य पेसाको तुलनामा पछि परेको पाइन्छ । कृषि पेसामा आबद्ध एउटा कृषक र औद्योगिक पेसा गर्ने उद्योगीबीचको भौतिक सुविधामा देखापरेको अन्तरले अधिकांश मानिसहरूले यो पेसा छोड्दै गएको आकलन गर्न सकिन्छ । दिनानु दिन विश्वमा बढेको भौतिक सुविधाका वस्तुहरूको प्राप्ति कृषि पेसाले धान्न कठिन हुने हुँदा यो पेसालाई मानिसहरूले विस्थापित गर्न थाले बल्लतल्ल गरेको उत्पादनले पनि बजार नपाउनुले गर्दा खाँटी कृषकको मनोबल घट्दै गएको पाइन्छ ।

व्यावसायिक कृषि पेसा अवलम्बन गरेका कृषकले आफ्नो उत्पादनलाई बजारीकरण गर्ने सुविधा/पहँच नहुनुले ठूलो घाटा व्यहोर्नु परेको अवस्था छ यस अवस्थामा उनीहरूलाई एउटा संगठन जसले उत्पादनलाई उचित मूूल्य प्रदान गरी बजारसम्म पु-याइदिने, आवश्यक मल बीउ समयमा जुटाइदिने काम गरोस् । त्यो अवसरको खाँचो ग्रामीण कृषकमा अधिक छ । सांगठनिक बजारीकरण नहुँदा उनीहरूले आफ्नो उत्पादनबाट पाउनुपर्ने वास्तविक मूल्य पाइरहेका छैनन् । सरकारले उपलब्ध गराउने भनेको कृषि अनुदान वास्तविक किसानसम्म पुग्न सकेको छैन । जग्गाका दलालहरूले जग्गा संकलन गरी नक्कली कृषक बनी सरकारी अनुदान लिइरहेका छन् । जसको नियमित उत्पादन नै छैन । यसले सरकारको कृषि अनुदानलाई बालुवामा पानी खन्याएसरह बनाएको छ । तिनै बीचका दलाल जसले कृषिबाट उत्पादित वस्तु गुन्द्रुकको मूल्यमा खरिद गरी सुनको मूल्यमा उपभोक्तालाई वितरण गर्दछन् । उत्पादक र उपभोक्ता दुवै पक्ष पीडित बन्दै गएको देखिन्छ । अबका दिनमा कृषि बजारीकरणको आधुनिक प्रणाली अवलम्बन गर्दा कृषकलाई न्याय दिन सकिनेछ न्यायिक कृषि प्रणालीले कृषकको मनोबल बढाई उत्पादनले थप गति प्राप्त गर्दछ ।

कृषि क्षेत्रबाट उत्पादित वस्तुलाई आवश्यक बजारको व्यवस्था मिलाउनु कृषिको बजारीकरण हो । कृषकले मौसमअनुसार उत्पादन गरेको कृषि उत्पदनलाई बजारसम्म पु-याई उचित कारोबार हुने वातावरणले कृषकले आफ्नो मूल्य प्राप्त गर्दछन् । उपभोक्ताले सुपथ मूल्यमा वस्तु खरिद गर्न पाउँछन, उपभोक्ताको उपभोग क्षमतामा वृद्धि हुन्छ । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन हुन पुग्दछ । कृषि बजारीकरणमार्फत कृषिक्षेत्रमा हुने उत्पादनको एउटा चक्रिय प्रवाह चलिरहेको हुन्छ । यसमा कृषक पहिलो पक्ष हो उसले उत्पादन प्रक्रियामा भाग लिई उत्पादन अभिवृद्धि गरिरहेको हुन्छ । उत्पादन भएको वस्तु संकलकमार्फत भण्डारीकरण हुन्छ र बजारसम्म पुग्दछ । बजारमा पुगेको वस्तु उपभोक्ताले बजारमूल्यमा खरिद गरेर उपभोग गर्दछन् । यसरी हुने बजारीकरण र उत्पादनको चक्रिय प्रवाहले कृषिको व्यवस्थापन प्रणालीगत ढंगले हुने देखाउँछ ।

कृषि बजारीकरणका उद्देश्यहरू : कृषकलाई आवश्यक मल, बीउ, रकम आवश्यकताअनुरुप प्रदान गर्ने । उत्पादनमा रासायनिक मलभन्दा प्रांगारिक मलको उपयोगमा जोड दिने, सिँचाइ, बाटो र सञ्चारको उचित व्यवस्था कृषकलाई सरकारले मिलाइदिने, भएको उत्पादन संकलक संगठन/संस्थामार्फत भण्डारीकरण गरी कृषकलाई वस्तुको उचित मूल्य प्रदान गर्ने, कृषकले आफ्नो उत्पादन भण्डारककोमा पठाउने, भण्डारकले आवश्यक मल बीउ कृषकलाई पठाउने, उत्पादनको बजार मूल्य लागत र माग आपूर्तिलाई ध्यान दिई तय गर्ने, संस्थाको विधानको उद्देश्यअनुरुप गर्ने, संकलकले संकलन गरेर वस्तु बजारमा पठाउने, पठाउँदा सानो नाफाको अंश राखी सुरक्षितरुपमा पठाउने, संकलक र बजारबीचको सम्बन्ध विधानसम्मत हुनुपर्ने, बजारबाट उपभोक्ताको हातसम्म पुग्दा उत्पादनको टिकाउपन हेरी थोरै टिकाउपन भएका वस्तुमा (२० देखि २५) प्रतिशत र टिकाउ बढी भएका वस्तुमा (१० देखि १५) प्रतिशतभन्दा बढी नाफा लिन नहुने र बजारीकरणका सबै निकायमा सूचनाको प्रवाह निरन्तर हुनुपर्ने ।

बजारीकरण अवलम्बन गर्दा हुने फाइदाहरू : उत्पादकले उत्पादनको उचित मूल्य प्राप्त गर्दछ, उत्पादकले उत्पादन गरेको मौसमी वा बेमौसमी वस्तुलाई आधार मानी मूल्य तोक्ने र संकलक उत्पादकबीचको नाफाको अन्तर ५ देखि १० प्रतिशतभन्दा बढी हुन नहुने जसले गर्दा दुवै पक्ष लाभान्वित बन्ने, संकलक निकाय वा संस्था हुने हुँदा मूल्यअन्तर ठूलो नहुने, संकलकले उपभोक्ताको हातसम्म कुन दरमा पुग्छ भन्ने कुरा निरीक्षण गरिरहने हुँदा एक–अर्काबीचमा अधिक नाफाको स्थिति हुँदैन । सबैले उचित मूल्यमा प्राप्त गर्नाले मुद्रास्फिति हुँदैन र बजारमा अभाव सिर्जना नहुने हुँदा निरन्तर मूल्य प्राप्त भइरहन्छ । आयमा ठूलो उतारचढाव आउन दिँदैन ।

बजारीकरण व्यवस्थापन गर्न चाल्नुपर्ने कदमहरू : कृषकलाई आवश्यक मल, बीउ, रकम आवश्यकताअनुुरुप प्रदान गर्ने, प्रांगारिक मललाई जोड दिने, कृषकले उत्पादन गरेको सम्पूर्ण उत्पादन संकलकले लिइदिने र त्यसको मूल्य कृषकलाई हप्तादेखि १५ दिनभित्रमा दिने, कृषक खेतबारीमै बसेर मूल्य लिने, बजारले पसल–पसलमा समान पाउने हुँदा वस्तुको वितरणमा छिटो छरितो र तीव्रता आउँछ । जसले गर्दा उत्पादन थप सक्रिय र गुणस्तरीय बन्दै जान्छ, कृषकले उत्पादन मात्र गर्ने, संकलकले बजार खोज्ने कार्यले उत्पादन खेर नगई उचित सदुपयोग हुन्छ ।

अबका दिनमा कृषि र यसको बजारीकरणलाई पूर्णतः पालना गर्ने वातावरण बनाइँदा कृषि अर्थतन्त्रले गति लिन्छ । यस संयन्त्रले उपभोक्तालाई ताजा, सुपथ मूल्य र सहजीकरण प्रदान गर्दछ । कृषकले उत्पादनको उचित मूल्य समयमै प्राप्त गर्ने र उत्पादनको पूर्णत सदुपयोग हुनुले कृषकमा थप हौसला सिर्जना हुन्छ । कृषिको उन्नति र विकासको लागि सरकारले पूर्वाधार निर्माण गरिदिनुका साथै उत्पादनदेखि उपभोगसम्मको संयन्त्रमा अवलोकन र नियन्त्रण गर्न जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्