Techie IT
१९ असोज २०७९, बुधबार

सिँचाइ आयोजनाको विलम्ब


काठमाडौं । नेपाल एक भूपरिवेष्ठित र कृषि प्रधान देश हो । यहाँको ६६ प्रतिशत मानिसहरू कृषि पेसामा आश्रित रहेका छन् । यस कृषि क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनको ३३ प्रतिशत प्राप्त हुन्छ । यहाँको जनताको जीविकोपार्जनको मुख्य स्रोत भनेकै कृषि व्यवसाय हो । यसको लागि सिँचाइ, मल र बीउ अति आवश्यक पर्छ । जबसम्म यी आधारभूत वस्तुहरू प्राप्त हुन सक्दैन तबसम्म कृषि विकासको कल्पना पनि गर्न सकिँदैन । यसैगरी मुलुकमा रहेको सात प्रदेशहरूमध्ये सुदूरपश्चिम क्षेत्रमा पर्ने कैलाली जिल्ला पनि एक हो ।

यस क्षेत्रअन्तर्गत टिकापुरमा रहेको रानी, जमरा र कुलरीया सिँचाइ आयोजना पनि एक हो । यो राष्ट्रिय गौरवको २५ वटा विभिन्न आयोजनामध्ये एक सिँचाइ आयोजना पनि हो । मूलतः यस आयोजनाले कैलाली जिल्लाको टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाको गरी जम्माजम्मी ११ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । यस सिँचाइ प्रणालीमा कमान्ड एरियाको दक्षिणी भागमा सिँचाइ गर्न रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा सिँचाइ प्रणाली र उत्तरी भागमा सिँचाइ गर्न कुलरीया सिँचाइ प्रणाली रहेको छ । यी प्रणालीहरूको व्यवस्थापन गर्न तीनवटै प्रणालीमा अलग–अलग जल उपभोक्ता संस्था (कुलो संस्था) रहेको र यी तिनै शाखा प्रणालीहरूको समन्वयको लागि कर्णाली कुलो (रानी जमरा र कुलरीया) सिँचाइ जल उपभोक्ता संस्था मुल समितिको रूपमा रहेको छ । यसरी आर्थिक वर्ष २०६६/६७ सालमा आधुनिकीकरण गर्न सुरु गरिएको यस प्रणालीलाई हाल नेपाल सरकारबाट राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिएको छ ।

यो आयोजनाको निर्माणकार्य सम्पन्न भएपश्चात् करिब १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ भने यसबाट यस क्षेत्रका करिब २३ हजार छ सय २२ घरधुरीका करिब एक लाख ४२ हजार तीन सय ६६ जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । यसका अलावा पूर्व–पश्चिम राजमार्गको समानान्तर पश्चिमतर्फ जाने लम्की विस्तार सिँचाइ शाखा नहरबाट पथरैया नदीसम्मको थप करिब छ हजार हेक्टरमा र दीर्घकालमा कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तारित गर्ने लक्ष्य लिइएको छ । यसरी समग्र सिञ्चित क्षेत्र ३८ हजार तीन सय हेक्टर रहने भए पनि हाल नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुसार २० हजार तीन सय हेक्टर क्षेत्रफलको निर्माणकार्य आर्थिक वर्ष २०८०/८१ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल सरकारले यस प्रणालीको विकासको लागि प्राथमिकता दिनुका साथै टिकापुरमा आर्थिक वर्ष २०६६/०६७ मा रानी जमरा र कुलरीया सिँचाइ आयोजना कार्यालयको स्थापना गरी मिति अक्टोबर १८, २०११ देखि सेप्टेम्बर ३०, २०१८ सम्म विश्व बैंकको सहयोगमा प्रणालीको आधुनिकीकरणको प्रथम चरणको काम सम्पन्न गरेको छ भने दोस्रो चरणको कार्य जुलाई १, २०१८ सम्झौता गरी डिसेम्वर ३१, २०२३ मा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

टिकापुर क्षेत्रको झण्डै एक सय २० वर्षको इतिहास बोकेको रानी, जमरा र कुलरीयाको सिँचाइ आयोजनाले परापूर्वकालदेखि नै त्यहाँ स्थानीय थारु समुदायहरूले आ–आफ्नो कृषि कर्मको लागि क्षमता अर्थात् गक्षअनुसारको सिँचाइ कार्य गर्दै आएका थिए । तसर्थ कालान्तरमा समयको परिवर्तन साथसाथै उक्त सिँचाइको पनि फेरबदल हुँदै आएको छ । हाल आएर यसलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाहरूमध्ये एकमा राखेको छ । यस सिँचाइ आयोजनामा नेपाल सरकारले पनि विश्व बैंकसँग ऋण लिएर यो आयोजना सन् २०२३ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । हाल आएर यो सिँचाइको मुख्य सिँचाइको स्रोत भनेको कर्णाली नदीको पानीलाई पहिले एउटै नहरबाट ल्याइएको थियो भने हाल आएर यो चिसापानी भन्ने स्थानमा जहाँ कर्णालीको पुल रहेको छ त्यही पानीलाई कुलरिया, जमरा र रानी गरी यी तीनवटा नै नहरहरूबाट छुट्टाछुट्टै नहरहरूबाट सिँचाइको लागि पानी व्यवस्थापन मिलाइएको छ ।

फलतः सिँचाइको साथसाथै यसमा ७ दशमलव ६ मेगावाडको विद्युत् निकाल्ने लक्ष्य पनि राखेको छ । फेरि यी सिँचाइका प्रत्येकको उपशाखा र प्रशाखा आदि नहरहरू रहेका छन् । यी प्रत्येक नहरहरूको आ–आफ्नो कमाण्ड क्षेत्रहरूमा पानी सिँचाइको लागि वितरण हुने व्यवस्थापनमा सम्बन्धित क्षेत्रका पानी उपभोक्ता समितिहरूले नै आवश्यक कार्य गरेका छन् । यसरी कुलरियाको १७ वटा उपशाखा, जमराको १९ र रानीको २२ वटा जति रहेको छ । त्यस्तै गरी क्रमशः प्रशाखाहरू पनि रहेका छन् । यो एसिया महादेशमा सबैभन्दा ठूलो सस्पेन्सन पुलहरूमध्ये यो कर्णालीको सबैभन्दा ठूलो पुल जुन एउटै पिलरबाट बनाइएको छ ।

नेपालको भौगोलिक तथा राजनीतिक विभाजनअनुसार केन्द्रीय संघ, सात प्रदेशहरू, ७७ जिल्लाहरू र सात सय ५३ स्थानीय तहहरू रहेका छन् । जसमा यो सुदूरपश्चिमाञ्चल प्रदेश पनि एक हो । यसको कैलाली जिल्लाको स्थानीय तहहरूमा १३ संख्याहरू रहेका छन् । जसमा छवटा नगरपालिकाहरू र सातवटा गाउँपालिकाहरू रहेका छन् । यसको सुरुवात पूर्वको कर्णाली नदी चिसापानीबाट सुरु हुँदै पश्चिम, दक्षिणतिर हुँदै क्रमशः कुलरिया, जमरा र रानी सिँचाइ आयोजना हुँदै छिमेकी राष्ट्र भारतको मोहना नदी अर्थात् तिकुटी सिमानासम्म फैलिएको छ । यहाँसम्म आउन टिकापुरबाट झण्डै २४ किलोमिटर जति टाढा छ । यहाँ नजिकै नेपालको सति बजार पनि छ । जहाँ पहिले ठूलो धानको खरिदबिक्री पनि हुने गर्दथ्यो । तत्कालीन समयमा सति बजार यस भेगको व्यापारी स्थानको रूपमा परिचित थियो । यहाँबाट केही अगाडि गएको खण्डमा राजापुर भन्सार कार्यालय पनि रहेको छ । त्यहाँ सिमानामा भारतीय बजार पनि रहेको छ । पहिले पनि यस आयोजनाहरूमा प्रत्येक घर परिवारहरूले आफ्नो जग्गाहरूमा सिँचाइ गरेबापत उक्त सिँचाइ आयोजनालाई रकमप्रति कट्ठा एक, दुई, पाँच हुँदै हाल आएर १५ रुपैयाँ कायम भएको छ ।

समग्रमा भन्नुपर्दा कैलालीको टीकापुरस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइले आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड खर्च गर्ने बुझिएको थियो । सो आयोजनामा २७ करोड बजेट भए पनि विभिन्न कारणले सो रकम मात्र खर्च हुने कार्यालयले जनाएको छ । अतः सिँचाइ आयोजनामार्फत कृषि एकाइले बीउ, मल, विषादीमा अनुदान दिने गरेको छ भने कृषि यान्त्रिकीकरण, सहकारीलाई बीउ उत्पादन, भण्डारण, प्रोसेसिङ, पूर्वाधारमा सहयोग गर्ने गरेको छ । यसैगरी केरा र च्याउ खेती तथा पशुपालनमा नश्ल सुधार र पशु स्वास्थ्य व्यवस्थापनमा किसानलाई आयोजनाले सहयोग गर्दै आएको छ । यसको साथसाथै विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत १२ लाख ४७ हजार अमेरिकी डलर सहयोग छुट्याइएकोमा सबै खर्च भएर करिब ८४ हजार अमेरिकी डलर मात्र बजेट बाँकी रहेको जनाइएको छ ।

यसरी आयोजनामार्फत वर्षेनी दुई हजार पाँच सयदेखि तीन हजार किसानले लाभ लिएको देखिए पनि दोहोरिँदा तेहेरिँदा करिब एक हजार किसानले मात्र लाभ लिएको पाइन्छ । उक्त आयोजनाबाट कतिपयले पटक–पटक लाभ लिनेगरेको कार्यालयका कर्मचारीको भनाइ रहेको छ । यसर्थ रानी, जमरा र कुलरियाको सिँचाइ आयोजनाले गर्दा हिउँदे, वर्षे, वशन्ते बालीहरूको उत्पादन स्थिति विगत वर्षको तुलनामा १० देखि १५ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । त्यसैगरी उत्पादनतर्फ पनि अध्ययन गर्दा पाँचदेखि १० प्रतिशतसम्म वृद्धि नै भएको अनुमान छ । त्यसैगरी खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, मत्यस्य उत्पादन पनि वृद्धि नै भएको छ ।

कृषि बालीलाई आवश्यक पर्ने मलमा गोठेमल १० देखि १५ प्रतिशत प्रयोग गरिएको छ भने अरु बाँकी प्रतिशत भने रासानिक मल प्रयोग गरिएको थाहा हुन आयो । त्यसरी नै बीउबिजनमा पनि ५ देखि १० प्रतिशत आफ्नै उत्पादनको प्रयोग हुन्छ भने बाँकी प्रतिशत भने बजारबाट किन्नुपर्ने अवस्था रहेको बुझिएको छ । त्यसरी नै कृषि सामग्री सामानहरूमा स्थानीय ५० प्रतिशत जति प्रयोग भएको छ भने बाँकी ५० प्रतिशत भने पावर ट्रिलर गरी अन्य उन्नत सामग्री प्रयोग भएको छ । त्यसरी नै विभिन्न बालीनालीहरूमा प्रयोग गरिने विषादी भने १५ देखि २० प्रतिशत जति प्रयोग भएको त्यहाँको कृषकहरूको भनाइ रहेको पाइन्छ । त्यसरी विभिन्न बालीनालीहरूबाट उत्पादित फसलहरूलाई स्थानीय बजारमा नै बिक्रीवितरण हुनेगरेको कृषकहरूको भनाइ रहेको पाइन्छ । र कतिपय उपजहरू आफ्नै घरपरिवारमा उपभोग हुनेगरेको छ । यहाँ हाल आएर केही बालीनाली जस्तै, खेती, केरा, फलफूल व्यावसायिकरूपमा खेती हुन थालेको बुझिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्