Techie IT
१४ असोज २०७९, शुक्रबार

सन्दर्भ अन्तर्राष्ट्रय युवा दिवस : प्रसङ्ग रोजगारमूलक शिक्षा


काठमाडौं । संयुक्त राष्ट्र संघको सन् १९९९ को साधारणसभाको निर्णयपश्चात् सन् २००० देखि हरेक वर्ष १२ अगस्टका दिन अन्तर्राष्टिय युवा दिवस मनाउने परम्परा चल्दै आएको छ । संयुक्त राष्ट्र संघले यस वर्ष २०२२ का लागि ‘अन्तरपुस्ताको ऐक्यबद्धता : सबै उमेरसमूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ तय गरेको छ ।

नेपालमा पनि राष्ट्रिय युवा परिषद्ले यसै नारालाई सार्थकता हुनेगरी विभिन्न कार्यक्रमका साथ सप्ताहव्यापी दिवस मनाउँदै छ । नेपालमा मनाइने दिवसका नाराहरू केबल दिवस दिनका लागि मात्रै बन्ने गरेका छन् । नाराको उद्देश्य र यसलाई सार्थकता प्रदान गर्ने कार्यक्रमहरू विरलै हुन्छन् । नारालाई लक्ष्यमा पु¥याउनलाई वर्षभरिका लागि के, किन, कसले, कहिले, कहाँ, कसरी ? गर्ने भन्ने जवाफदेही र जिम्मेवारी तथा प्रगतिको अनुगमन निरीक्षण र मूल्यांकनका स्पष्ट कार्ययोजनाको खाँचो पर्दछ । अन्थया यो दिवस पनि कर्मकाण्डी मात्र नहोला भन्न सकिन्न । युवाको आर्थिक, शारीरिक, मानसिक, सामाजिक सशक्तीकरण र स्वाभिमानी बनाउने खालका नीति तथा कार्यक्रमको पर्याप्तता र प्रभावकारिता खट्किएको छ । ऊर्जाशील युवाहरूको रोजगारीका लागि विदेशिने लर्को दिनप्रतिदिन बढ्दो रहेको जगजाहेर नै छ ।

राष्ट्रिय युवा परिषद्ले परिभाषित गरेअनुसार १६ देखि ४० वर्ष उमेर समूहका युवाहरू नेपालको कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ । उत्साही दक्ष युवाजनशक्तिको सक्रिय सहभागिताविना समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक हुन सक्दैन । रोजगारी र शिक्षाबीच हुने अन्योन्यास्रित सम्बन्धलाई आत्मसात् गर्दै राष्ट्रिय युवा परिषद्ले रोजगारमूलक शिक्षा प्रवर्द्धनका लागि विभिन्न नीति तथा रणनीति प्राथमिकताका साथ अघि सारेको छ । उच्च माधयमिक तहसम्मको शिक्षालाई निःशुल्क, नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदाको उच्चतम सदुपयोग र संरक्षणमा टेवा पु-याउने कर्मठ र उद्यमशील स्वाभिमानी युवाजनशक्ति उत्पादन गर्ने नीति परिषद्ले लिएको देखिन्छ ।

समयानुकूल रोजगारमूलक उद्यमशील शिक्षाको अभावका कारण लाखौँ ऊर्जाशील युवाजनशक्ति दिशाविहीन भई बरालिएको, आफ्नो भविष्य स्वदेशमा नदेखेर विदेश जान भौतारिएको, विदेशमोहले गाउँ बस्तीमा मलामी र जन्ती जाने तन्नेरीको अभाव तथा श्रमिक अभावले कृषियोग्य जमिन बन्जर बनेको अहिलेको नियती बनेको छ । लाखौँको संख्यामा विदेशिएका युवा जनशक्तिलाई स्वदेशमै थेग्न युवा परिषद्ले विविध कार्यक्रम सञ्चालन गर्दै आएको जगजाहेर नै छ ।

बढ्दो बेरोजगारी समस्यालाई सम्बोधन गर्दै देश विकासमा युवा जनशक्तिको अधिकतम उपयोग गर्न परिषद्ले अघि सारेको युथ भिजन २०२५ तथा दशवर्षे रणनीतिक योजना र राष्ट्रिय युवानीति २०७२ को सफलता सरोकार पक्षसँगको सदभाव, सहयोग, सहकार्य, समन्वय, स्वामित्व र समीक्षा (७ स)मा भर पर्नेतर्फ हेक्का राख्न बिर्सनु हुँदैन । रोजगार सिर्जना र युवा सशक्तीकरणका लागि संघीय संरचनाअनुसारका तीनै तहका सरकार र युवा परिषद्बीच सुमधुर सम्बन्ध र सहकार्य अपरिहार्य रहन्छ ।

रोजगारप्रतिको धारणा : रोजगारीको लागि नेपालीहरू कस्तुरीले आफूमा भएको सुगन्धितविनाको ज्ञान नभएर कहाँबाट बास्ना आयो भन्दै भौतारिएर हिँडेजस्तै मृगतृष्णाको रूपमा आफ्नै देशमा उपलब्ध पेसा अंगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रुपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूलखेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारिका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ति पुगेको पाइन्छ । तर गर्वकासाथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन ? त्योभन्दा तल्लोस्तरको काम गर्न मुगलान नै पस्नु पर्नेकिन ? यस्तो नकारात्मक मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ?

आफ्नो देशमा रोजगारी नपाएमा चारैतीर अभावै अभावबाट छटपटीई निराश भई बिरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर र अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नहरूको विश्लेषणात्मक अध्ययन अनुसन्धान गरी सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

वर्तमान रोजगारीको नीतिगत व्यवस्था र अवस्था
नेपालको संविधानको धारा ३३ र ३४ ले प्रत्येक नागरिकको रोजगारी र श्रमको हक सुनिश्चित गरेको छ । राष्ट्रिय युवा परिषद्ले युवाहरूको समग्र विकास र विस्तारका लागि दशवर्षे रणनीतिक योजना र कार्यक्रमका पाँच स्तम्भ तोकेको छ । यी स्तम्भहरूको सबल र सफल कार्यान्वयन गर्न सकेमा निश्चय नै युवाहरूको जीवनस्तर मात्रै परिवर्तन नगरेर देशको मुहार नै फेर्न अहम् भूमिका खेल्नेमा दुईमत हुन सक्दैन् ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण २०७४/७५ अनुसार नेपालमा बेरोजगारीको दर ११ दशमलव ४ प्रतिशतमध्ये पुरुष १० दशमलव ३ र महिलाको १३ दशमलव ३ प्रतिशत रहेको छ । सर्वेक्षणाले १५ वर्ष वा सोभन्दा माथिको उमेरका जनसंख्या दुई करोड सात लाख ९४ हजारमध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा संलग्न देखाएको छ । रोजगारीमा सहरी क्षेत्र ६९ दशमलव २ र ग्रामीण क्षेत्रमा ३० दशमलव ८ छ ।

सर्वेक्षणअनुसार ३७ दशमलव ८ प्रतिशत औपचारिक र ६२ दशमलव २ प्रतिशत आनौपचारिक क्षेत्रका आर्थिक क्रियाकलापमा रहेको पाइन्छ । आपचारिक क्षेत्रको रोजगारीको हिस्सा १५ दशमलव ४ र अनौपचारिकको ८४ दशमलव ६ प्रतिशत रहेको छ । आर्थिक वृद्धिका लागि श्रमशक्ति खपत हुने गरी रोजगार सिर्जना हुन सकेको छैन । राष्ट्रिय योजना आयोगको १५औं योजनाको आधारपत्रमा औपचारिक क्षेत्रको रोजगारी हिस्सा ५० प्रतिशत पु-याउने र बेरोजगारी दर ६ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । पछिल्लो समय शिक्षित बेरोजगारी संख्या भयावहरूपमा बढेको छ । शिक्षाले सीपमूलक र उद्यमशीलताभन्दा पनि ज्ञानमूलक र सैद्धान्तिक बढी जोड दिइयो । शिक्षण संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाको रूपमा परिभाषित हुँदै जानु विकासको लागि शुभसंकेत होइन ।

सरकारले श्रम र रोजगारलाई प्रवर्द्धन गर्न आर्थिक वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगार सेवा केन्द्रहरूमार्फत बेरोजगारहरूलाई विकास निर्माण काममा लगाउने नीति लिएको छ । बेरोजगार लक्षित सीप विकास र उद्याशीलता प्रवर्द्धन गर्न स्थानीय तहसँगको सहकार्यमा तालिमको व्यवस्थाले मौजुदा अवस्था सुध्रिने अपेक्षा गरिएको छ । साथै युवाको जाँगर समृद्धिको आधार सार्थक बनाउन आगामी आर्थिक वर्ष युवा परिचालन वर्षको मनाउने अठोट गरी विभिन्न निकायमार्फत युवा परिचालन गरिने नीति लिएको छ । राष्ट्रिय युवा परिषद् र युवा स्वरोजगार कोषको संरचना परिवर्तन गरी युवाहरूलाई व्यवसायी नेतृत्व लिनेगरी क्षमता अभिवृद्धि गर्नेलगायतका संकल्प बजेटमा समावेश गरिएको छ । सरकारको नीति तथा कार्यक्रमको सफलता असफलता कार्यान्वयवनमा संलग्न जनशक्तिको इमान्दारिता र कार्यदक्षतामा भर पर्ने वास्तविकता हो ।

युवा विकास र गुणस्तरीय तथा व्यावसायिक शिक्षा
युथभिजन २०२५ ले आत्मसात गरेको युवा विकासका पाँच आधार स्तम्भमध्ये गुणस्तरीय व्यावसायिक शिक्षा पहिलो र प्रमुख मानिएको छ । खासगरी युवाहरूकामे योग्यता क्षमता र राज्यको आवश्यकतालाई मध्यनजर राखी विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी युवा जनशक्ति उत्पादन गर्ने लक्ष्यसहितको व्यावसायिक शिक्षा प्रदान गर्ने नीति युथ भिजनको देखिन्छ । व्यावसायिक शिक्षालगायतका आधारस्तम्भहरू सशक्त कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी गैरसरकारी निकायबीच सहकार्यको महत्व उत्तिकै रहन्छ । युथ भिजनका पाँच आधारभूत स्तम्भमा समावेश कार्यक्रमहरू अन्य मन्त्रालय र सरकारी गैरसरकारी निकायले पनि सञ्चालन गर्ने नीति लिएको पाइन्छ । गुणस्तरीय व्यावसायिक शिक्षाको लक्ष्य प्राप्तिका लागि शिक्षा मन्त्रालय र मातहतका निकायसँगको सहकार्यको अपरिहार्यतालाई नकार्न सकिन्न । व्यावसायिक शिक्षा प्रदान गरेर दक्ष युवा जनशक्ति उत्पादन गर्ने लक्ष्य सुगमतापूर्वक हासिल गर्न शिक्षाको जगको रूपमा रहेको विद्यालय तहको शिक्षा व्यावहारिक र गुणस्तरीय हुनुपर्दछ ।

विद्यालयतहको शिक्षाको व्यवस्था र अवस्था स्वरोजगार बन्ने बनाउने शिक्षा नीतिको अभाव खट्किएको देखिन्छ । आजको एकाईसौँ शताब्दीमा विज्ञान र प्रविधिमा भएका नयाँ–नयाँ आविष्कारले मानिसको जीवनशैलीलाई दिनदिनै परिमार्जन र परिष्कृत गर्दै लगेको छ । तर हाम्रा शिक्षण संस्थाहरूमा वर्षौँ अगाडि बनाइएका पाठ्यक्रम पाठ्यपुस्तकका विषयवस्तुको पठनपाठन हुन्छन् । यस्ता बासी विषयवस्तु र परम्परागत शिक्षण विधिबाट प्रतिस्पर्धी नागरिक उत्पादनको कल्पना गर्न सकिन्न ।

उच्च प्राप्तांकलाई मात्र गुणस्तर देख्ने सामाजिक संस्कार तथा भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिइने प्रगतिशील शिक्षाभन्दा श्रमप्रति सम्मानपूर्वक व्यवहार गर्दै परिश्रमको मूल्य र मान्यतालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्ने खालको शिक्षा आजको खाँचो हो । जसले श्रमको मर्यादा राख्दै भेदभावरहित भावना र व्यवहार भएको संस्कारयुक्त तथा कुनै कुरा सिकेपछि त्यसको आधारमा अन्य कुराहरू रचना र सिर्जना गर्दै परिवर्तित विश्व श्रमबजारमा खरो प्रतिस्पर्धा गर्नसक्ने सभ्य, सुशील तथा स्वाभिमानी देशभक्त पौरखी नागरिक उत्पादन गर्ने शिक्षा आजको आवश्यकता हो । संस्कृति र प्रकृतिलाई संरक्षण एवं परिमार्जन र परिष्कृत गर्दै समृद्ध समाज र देश बनाउने शिक्षा नीति र नियत गुणस्तरीय शिक्षा लक्षित हुनुपर्दछ । शिक्षण संस्थामा साधानस्रोत जुटाउन राज्यले धक फुकाएर लगानी गर्न हिच्किचाउन हुँदैन । अनि अनुशासित र लगनशील विद्यार्थी, सचेत अभिभावक, समर्पित शिक्षक, कुशल नेतृत्व, चुस्त व्यवस्थापन, भविष्यदर्शी शैक्षिक योजना समसामयिक पाठ्यक्रम, जागरुक समुदाय गुणस्तरीय शिक्षाका लागि न्यूनतम सर्त हुन् ।

शिक्षालाई गुणस्तरीय जनमुखी, प्रगतिशील जीवनोपयोगी आदि विशेषणबाट सम्बोधन गरिएको पाईन्छ । गुणस्तरीय शिक्षाको विकास र विस्तारमा राजनीति साधक नभई बाधक भएको गुनासा र आरोपहरू वास्तविकताको नजिक छन् । गुणस्तर व्यावहारिक ज्ञानामा आएको परिवर्तनभन्दा पनि प्राप्तांकको आधारमा निर्क्योल गर्ने प्रचलन प्रशस्तै छ । जसको कारणबाट आमा बुबाको अर्थ नबुझ्ने तर ड्याडममको संस्कारमा हुर्कने, दुध कहाँबाट आउँछ भन्दा डेरीबाट भन्ने गाईभैँसीको जानकारी नराख्ने कृषिमा हलो, फाली, करुवा दाँते आदिको बारेमा जानकारी नहुने सैद्धान्तिक ज्ञान मात्र भएको तर अल्प व्यवहारिक ज्ञान भएका नागरिकभन्दा आफ्नो परिवेशलाई समेत साक्षत्कार गरेर सिक्ने खालको शिक्षा नीतिको अवलम्बन गरिनु पर्दछ । शिक्षाले व्यवहारमा परिवर्तन ल्याउनुपर्दछ । माछा मारेर खुवाउनेभन्दा पनि माछा मार्न सिकाउने खालको जाँगरिलो पौरखी शिक्षा हुनुपर्दछ ।

दैनिक जीवनमा प्रयोग गर्ने विषय र विधि सिकाउने खालको भविष्यदर्शी शिक्षा हुनुपर्दछ । कुनै व्यक्तिको प्रमाणपत्रको प्राप्तांकभन्दा पनि उसले देखाउने बानीबेहोरा, चालचलन, चरित्रको आधारमा गुणस्तरीय शिक्षा परिभाषित गरिनु न्यायोचित हुन्छ । पेपर पेन्सिल परीक्षाको आधारमा मात्रै विद्यार्थीको उपलब्धिस्तर प्रस्तुति गरिने परम्परालाई निरुत्साहित गर्दै शिक्षाको मूल मर्मअनुसार व्यवहारमा सकारात्मक परिवर्तनको आधारमा मूल्यांकन गर्ने उपायहरू खोजिनु पर्दछ । उच्च अंक प्राप्त गर्नेले त्यसको औचित्य पुष्टि गर्न व्यवहारमा उतार्न सक्नुपर्दछ । हाम्रो मूल्यांकन पद्धति कसरी विश्वसनीय र वस्तुनिष्ठ बनाउन सकिन्छ भन्ने चिन्ता र चिन्तन गर्नुपर्ने देखिन्छ । किनकि एक सय पूर्णांकमा सरदर ३२ प्रतिशत मात्रै विषयवस्तु जानेमा उत्तीर्ण हुने पद्धतिलाई पुनरावालोकन गरिनुपर्दछ । त्यसप्रकारको परीक्षाबाट पनि सरदर ५२ प्रतिशत अंक मात्रै विद्यार्थीले प्राप्त गरेको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । कतिपय विषयमा पूर्णाङ्क प्राप्त गर्नु आठौँ आश्चर्य भएको छ ।

अर्कोतर्फ विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू जसलाई उच्च गुणस्तर भनिन्छ, उनीहरूको व्यवहार अपेक्षाकृत सकारात्मक भएको देखिन्न । सिर्जनशील, लगनशील, प्रतिस्पर्धी, उत्साही, ऊर्जाशील नागरिक बनाउने खालको व्यावहारिक पौरख गरिखाने शिक्षा आजको आवश्यकता हो । शिक्षाले श्रमप्रति सम्मान जगाउने धारणाको विकास गराउनु पर्दछ । पौरखी नागरिक बनाउन वर्तमान शैक्षिक पद्धतिलाई विद्यार्थी केन्द्रित गरिनुपर्दछ । विद्यालयको वातावरण विद्यार्थीको जीवनपद्धति र अनुभवलाई सम्बोधन गर्ने खालको हुनुपर्दछ । पौरखी नागरिक बन्ने अभ्यास विद्यालयमा आयोजना गरिने क्रियाकलापमा विद्यार्थीको अधिकतम संलग्नतामा सम्पन्न गर्ने नीतिलाई प्राथमिकता दिइनु पर्दछ । साथै उनीहरूको पारिवारिक, आर्थिक, सामाजिक सांस्कृतिक मूल्यमान्यता संस्कार एवं भावना आदिलाई मध्यनजर राखेर शैक्षिक नीति तर्जुमा गरिनु पर्दछ । राज्यले तोकेको पाठयक्रमको अतिरिक्त तीव्र गतिमा परिवर्तन आएको विज्ञान र प्रविधिलाई कक्षा कोठामा प्रवेश परिवेश सिर्जना गरिनु पर्दछ । शिक्षण अन्य पेसाभन्दा मर्यादित छ । शिक्षकको चरित्रलाई अन्य पेसाहरूभन्दा उच्च र निस्कलंक हुन्छ भन्ने आदर्श दृष्टिकोण पौराणिक कालदेखि नै आएको छ । गुरुलाई ब्रह्मा, विष्णु, महेश्वरसँग गर्दै आएको जगजाहेर छ । तर अहिले कतिपय शिक्षकको कार्यशैली र चरित्रको कारणबाट शिक्षकप्रतिको सम्मान धमिलिन थालेको छ ।

जवाफदेहिता र जिम्मेवारीको सवालमा पनि शिक्षण पेसा अन्य पेसाभन्दा महत्वपूर्ण नै छ । किनकि एक जना डाक्टरले गल्ती गरेमा एक/दुई जनाको ज्यान जान सक्छ, एक जना इन्जिनियरले गल्ती गरेमा घर, बाटो, पुल आदि भौतिक संरचना भत्केर केही व्यक्तिको जिउधन जोखिममा पर्न सक्छ तर यदि एक जना शिक्षकले पेसागत धर्मबाट विचलित भएर गलत शिक्षा दिएमा एक पुस्ताको मात्रै नभएर देशकै भविष्य डामाडोल हुन्छ । यी माथि उल्लिखित पेसालगायत सबै पेसाको जननी शिक्षण पेसा नै हो । त्यसकारण शिक्षण पेसालाई मर्यादित र आदर्श बनाउन सरोकार सबैले कुनै कसर बाँकी राख्नु हुन्न । शिक्षकले मर्यादा र गरिमा मागेर हैन व्यवहारबाट आर्जन गर्नुपर्छ ।

विद्यालयको वातावरण विद्यार्थीको वैयक्तिक एवं पारिवारिक विभिन्नतालाई उच्च मूल्यांकन गरेर सोहीअनुसार अधिकतम सम्बोधन गर्ने खालको बालमैत्री हुनुपर्दछ । कक्षाकोठा विद्यालय परिसर स्वस्थ स्वच्छ एवं चित्ताकर्षक हुनुपर्दछ । अतः शिक्षकले सर्वप्रथम बालबालिकाको पृष्ठभूमिलाई पढ्नुपर्छ, अनि मात्र त्यसलाई सम्बोधन गर्नेगरी शिक्षणका विषयवस्तु र विधिको छनोट गरिनुपर्दछ ।

अभिभावकले अँगालेको पेसालाई सम्मानपूर्वक कक्षा शिक्षणमा प्रवेश गराई छलफल गराउनु फलदायी हुन्छ । विद्यार्थीलाई सामाजिक, सांस्कृतिक कार्यक्रमको तर्जुमा र सम्पन्न गर्न जिम्मेवारीपूर्वक सक्रिय सहभागी गराउने परिस्थिति बनाउनु पर्दछ । विद्यार्थीले सामान्यतया छ घण्टा मात्रै विद्यालय र बाँकी १८ घण्टा घरपरिवार र समुदायमा बिताउँछन् । तसर्थ घरपरिवार र समुदायप्रति जिम्मेवार र जवाफदेहीपूर्वक व्यवहार गर्ने ल्याकतको विकास उनीहरूमा गरिनुपर्दछ ।

विद्यालयले घरपरिवारमा पनि सहज शैक्षिक वातावरण बनाउन विद्यार्थीको पठनपाठन बारेमा अभिभावकासँग निरन्तर सम्पर्क राख्ने नीति लिइनु पर्दछ । पारिवारिक वातावरण पनि बालबालिकाको रुचि र क्षमताअनुसार दिनानुदिन विज्ञान र प्रविधिमा भइराखेको प्रगतिको उच्चतम प्रयोगको अभ्यास गर्न सहज अवसर पाउने खालको हुनुपर्दछ । उनीहरूको जीवनशैलीलाई सुविधासम्पन्न, प्रभावकारी र प्रभावशाली बनाउँदै निरन्तर समाज र देशलाई प्रगतिउन्मुख बनाउन प्रयत्नशील जिम्मेवार नागरिक बनाउने खालको प्रगतिशील शिक्षा आजको खाँचो हो ।

बालबालिकाभन्दा हामी जान्ने छौँ हामीले भनेको मात्र उनीहरूले मान्नुपर्दछ भन्ने पुरातनवादी सामन्ति सोचका आधारमा उनीहरूलाई जबरजस्त लाद्ने खालको विषयवस्तु र विधिभन्दा पनि उनीहरूको क्षमताको मागअनुसारको शैक्षिक वातावरण बनाउने पौरखी नागरिक उत्पादनको पहिलो सर्त हो । कार्यकुशलतालाई निखार दिन स्थानीय आवश्यकताअनुसारको खपत हुने जनशक्ति उत्पादन गर्ने खालका पाठयक्रम निर्माण र कार्यान्यवन गरिनु पर्दछ । व्यावसायिक शिक्षाको प्रयोगात्मक कक्षामा उत्पादित सामान बजारसम्म लाने र ग्राहकलाई बेच्ने अभ्यास गराएर उनीहरूमा आत्मबल र आत्मविश्वास बढाउने खालको शैक्षिक नीति तथा कार्यक्रमको जरुरी पर्दछ । बालबालिकाको सक्रिय सहभागिता विद्यालयभित्र तथा बाहिरका कार्यक्रममा प्रत्यक्ष र परोक्षरूपमा बढाउन बाल क्लबलाई स्थापना गरी सक्रिय बनाउनु बुद्धिमानी हुन्छ । उनीहरूमा आत्मबल र आत्मविश्वासको वृद्धि र विकास गर्न सामाजिक तथा परोपकारी कार्यकलापमा प्रत्यक्ष सहभागी हुन प्रोत्साहित गरिनु पर्दछ । किनकि विद्यार्थीहरू भविष्यका कर्णाधार र वर्तमानका साझेदार हुन भन्ने मान्यताअनुरूप उनीहरूको सलग्नतालाई उच्च प्राथमिकता दिइनुपर्दछ ।

अन्त्यमा, मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो । जीवन र जगतसँग साक्षात्कार गर्दै घोकन्तेभन्दा पनि अभ्यास र अनुभवबाट हासिल गरेको व्यावहारिक ज्ञान र सीप दिगो हुने वास्तविकता हो । सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकूल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकारात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । ठूलो मान्छेभन्दा पनि असल नागरिक बन्न प्रेरित अर्थात् आफ्नो खुट्टामा उभिने पौरखी नागरिक बन्ने अभ्यास गर्ने थलोको रूपमा शिक्षण संस्था विकसित गर्नसकेमा मात्र गुणस्तरीय रोजगारमूलक शिक्षकोा सुनिश्चित गर्न सकिएला ।

शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्दछ । परावलम्बीभन्दा पनि श्रमप्रति आस्था र विश्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्यकेन्द्रित शिक्षा नीति तथा कार्यक्रम हुनुपर्दछ । रोजगारीको लागि अरुको मुख ताक्ने नभई रोजगार सिर्जना गर्नसक्ने आत्मबल र आत्मविश्वास भएको उत्साही बहुआयमिक क्षमता देखाउने जनशक्ति उत्पादन गर्ने भविष्यदर्शी शैक्षिक नीति र मार्गचित्र आजको आवश्यकता हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्