Techie IT
१९ असोज २०७९, बुधबार

मौन कूटनीति : ताइवानको चर्चा


काठमाडौं । विषय प्रवेश : संसारमा धेरै देशहरूको नाम चर्चामा आउने गरेको छ । युक्रेनको चर्चा नसेलाउँदै ताइवान बढी चर्चामा आउन थालेको छ, अहिले । चर्चाको मूल कारण कसैको दादागिरी हो कसैको अहमपना हो, सैद्धान्तिक रूपमा सबैले भन्छन् भातृत्व र मातृत्व । अर्थात् भातृत्व भन्नाले एकै आमा सन्तान र मातृत्व भन्नाले एकै आमा भनौँ उही धर्ती, एउटै । ईश्वरीय दृष्टिले पूरै ब्रह्माण्ड एउटै उदर हो । संसारका पृथक भूमिमा पृथक स्वभावका मानिसहरू बस्दै आएका छन्, भूमिको रजाइँ गरिरहेका छन् । युरोपको रजाइँ आफ्नै प्रकारको छ, अमेरिका, रसिया अनि एसियामा थरिथरिको नेतृत्वले आफ्नो वर्चस्व कायम गरेको छ, क्षेत्रीयस्तरको रजाइँ गर्न चाहनेका संख्या पनि कम छैन, जहाँ हामी जोडिएका छौँ । आठ हजार माइल टाढाकाले एमसीसी छिराएर आफ्नो बनाउन खोजेको छ, कतै यतै, एकको वर्चस्व अरुले स्वीकार्नुपर्ने नत्र मातृभूमि नै रणभूमिमा पर्ने गरेको छ र त पुर्खाले प्रथम र द्धितीय विश्वयुद्ध देख्यो । हामी अहिले विज्ञानको चमत्कार जैविक हातहतियार देख्दै छौं ।

भनिन्छ, विश्वको आर्थिक राजधानी अमेरिकामा हातहतियारकै उत्पादन बढी हुनेगरेको छ । नेपाल विश्वको नक्सामा कतै नियालेर हेर्नुपर्छ । दुई सिंहहरू छन्, बीचमा बेला–बेला गर्जन्छन् । गर्जँदा निस्केको मुखको छिटाले नेपाली आँगनमा झरी बर्षन्छ र त पत्तै नपाई उत्तरको बेइजिङमा वर्षा हुँदा वा दक्षिणको दिल्लीमा झरी पर्दा यहाँ छाता ओढ्नुपर्छ । कि छाता र झल्लरी लिएर त्यताका दुलाहा दुलहीहरू यतै आएर कोठाचोटा घुम्छन्, कि त हामी स्वयम्बरमा सरिक हुन्छौँ कि त कन्यादानमा र त कालापानी, लिपुलेक दाइजोमा हुन्छ वा सीमा स्तम्भहरूले लुकामारी गर्न थाल्छन् । नजिकको सिमानालाई परका दादाले फ्रि तिब्बत भनिदिन्छ । अलि पर धेरै परको ताइवानलाई फ्री ताइवान भनिदिन्छ । नजिक भएकाले हाम्रो टाउको दुखाइ हुन्छ । अमेरिकी सभामुख पेलोसीको त्यहीँको भ्रमणपश्चात् हाम्रा परराष्ट्र मन्त्री भने बेइजिङ बोलाइन्छन् भनौँ छाता कताको ओढ्ने पहिले नै तानातान हुन्छ । काठमाडौंमा पत्रकार सम्मेलन हुन्छ, मौन कूटनीति भनेर ।

ताइवानको छोटो परिचय : चीनको औद्योगिक उत्पादन रहरलाग्दो छ र विश्व बजारमा उसको एकछत्र व्यापार छ । २५ वर्षअघिको कुरो हो, पंक्तिकारले संयोगले इन्डस्ट्रियल सिनारियो प्रडक्ट डिजाइन एन्ड डेमलप्मेन्टबारे एउटा सेमिनारमा ताइवानको राजधानी ताइपेइ जाने अवसर पाएको थियो । झण्डै पाँच घण्टा हवाइमार्गको यात्रापछि पुगिने त्यो ठाउँ एयटा टापु हो । वरिपरि समुद्र छ । सामुद्री बन्दरगाहहरूमा अहिले चीनले युद्ध पोतहरू मात्र तैनाथ गरेको छैन, मिसाइलहरू छोडेको, व्यापारिक नाका अन्य देशसंगको सम्बन्धविच्छेद गर्न लागेको छ चीनले ।

ताइवान सम्पन्न टापु हो, छुट्टै संविधान छ, लोकतान्त्रिक पद्धतिमा राजनीति चलेको छ । बुद्धधर्मी क्षेत्र हो । हरेक घरहरूमा बुद्धका प्राचीन विषयवस्तु, थान्का, मूर्ति, चित्र, धार्मिक ग्रन्थहरू हुने गर्छन्, सबैजसो घरहरूमा बुद्धसम्बन्धी विषयको पुस्तकालय नै हुन्छन्, हरेक घरमा पहिलो तलामा पुग्न पनि लिफ्टको प्रयोग हुन्छ । मध्यरातमा पनि केटीहरू फ्रि घुम्न सक्छन् । कसैले कसैलाई हस्तछेप गर्दैन । सीसी क्यामेरा सबैतिर हुन्छ, बजार सहज छ । सस्तो चाहनेलाई दिन विशेषको हाटबजार लाग्छ । घरमा खाना खानुभन्दा रेष्टुराँमा खाना खान मन पराउँछन् । समय र सामानको बचत समेतले गर्दा सफासुग्घर, राम्रो वातावरण, युरोप, यूएस, जापानको भन्दा कम छैन जीवनशैली त्यहाँ ।

पंक्तिकारलाई एक ताइवानीले रेष्टुराँमा खाना खान बोलाए, सी–फूडलगायत दर्जनौँ परिकार आए खानामा । परिकारहरू घुमाई घुमाई छानेर खान पाइने तर आफूलाई कुनै विषय मन नपर्ने टोटल्ली भेज भनेँ मैले । एक/दुई चम्चा सागको परिकार र केही भात लिएर खान थालेँ । बाँकी काम लागेन । पेट ख्याउँटै रहने भयो । ताइवानी मित्रले मलाई व्यंग्य गर्दै भने, ‘मिस्टर पुडेल नो फुड नो फ्रेन्ड ।’ हो रहेछ अहिले पनि खानपिन गर्दाका क्षणमा मेरा साथी रियर मात्रै हुन्छन् । सुख्खा रोटी र सागमा को बस्ने मसँग ? त्यतिबेला ताइवानमा ठूलो भूकम्प गयो । धेरै क्षतविक्षत भयो, सहानुभूतिकै लागि पनि जापानमा बस्ने मित्र नेपालीहरू ताइवान आउँदा पंक्तिकारले धेरैलाई भेट्ने मौका पाएको थियो । आफ्नो चलन हो, अन्तर्राष्ट्रिय सेमिनारमा पनि केवल भित्री दुई पिस कपडा लगाएका युवतीहरूले क्लास लिन्थे । पीएचडीभन्दा कम थिएनन् ती । हेर्दा बाईस तेईसका देखिन्थे । भिसा पासपोर्ट, एयर टिकट नलाग्ने र लफडा नहुने हो भने सानो प्लास्टिक आकारको पुतली बनाएर काठमाडौंको घर सजाउन ल्याउँजस्तो लोभ लागेको थियो पंक्तिकारलाई ।

अमेरिकाको चासो : नेपालले एक चीन नीति लिएको छ, असंलग्न परराष्ट्र नीति नै अबलम्बन गरेको भनेको छ । यूएसको एमसीसी स्वीकृतिपछि नेपालप्रति चीनको दौडधूप बढेको छ । एसपीपी पनि लगभग मौन स्वकिृतिजस्तै छ । हुन्न भन्ने पत्र आयो भनेको छ अमेरिकाले यहाँ देखाउन मिल्दैन भनिएको छ । अमेरिकी सभामुख पेलोसीले खुसुक्क ताइवान भ्रमण गर्ने चर्चा चलेलगत्तै राष्ट्रपतिहरू वाइडेन र सि पिङका बीच घण्टौँ टेलिफोनवार्ता भएको थियो । उताको भ्रमणलाई लिएर चीनले आगोमा नखेल्न चेतावनी दिँदा पनि भ्रमण रोकिएन । चीनले भनेको थियो, ‘क्षेप्यास्त्र प्रयोग हुन सक्छ, जवाफी कारबाही हुन सक्छ, नचलाऊ भन्दा पनि पेलोसीले भ्रमण गरिन्, यता रसिया पनि सशंकित छ अहिले । माओत्सेतुङका कम्युनिस्ट सेना र चेँगकाइ सेकका कोमितङ सेना मिलेर चीनलाई जापानको मुठीबाट अलग गरिएको हो पहिले ।

सन् १९४० को दशकमा चर्केको त्यहाँको गृहयुद्धले चीन र ताइवान अलग भएको हो । राज्यसत्तामा पुग्न लालयित भएकाले भीषण लडाइँपछि चेँगकाइ सेक र उनका कुमिताङ सरकारका अधिकारीहरू सन् १९४९ मा भागेर ताइवान क्षेत्र पुगे । धेरै समयसम्म यिनको ताइवानमा अधिकार जमिरह्यो, दबदबा पनि रह्यो । स्थानीय नागरिकहरूले खुला समाज चाहे, तानशाही प्रवृत्ति मन मराएनन् । जनताको विरोधपछि चेँगकाइ सेकका छोरा चियाँग चिँग कुओले प्रजातान्त्रीकरणको अभ्यास गर्न थाले । पछि राष्ट्रपति ली तेँग हुइले संवैधानिक परिवर्तन गरी प्रजातान्तिक व्यवस्था कायम गरे । उनलाई ताइवानीहरू प्रजातन्त्रका पिताका रूपमा हेर्छन् ।

ताइवानी नेताहरू लोकतान्त्रिक पद्धतिबाट भनौँ चुनावबाट आउँछन्, छुट्टै राष्ट्रपति छन् । चीनले भने मौका मिलाई आफैँले एकीकरण गर्ने भनिरहेको छ । अहिले सभामुख पेलोसीले त्यहाँका राष्ट्रपतिलाई भेटेर ताइवानप्रति ऐक्यबद्धता प्रकट गरिन् र ताइवानले पनि पेलोसीलाई उच्च नागरिक सम्मान अर्डर अफ् पर्पिसियन क्लाउड्स विथ स्पेसियल ग्रान्ड कोर्डन प्रदान गरेको छ । अब चीन आक्रोशित भएको छ । चिनियाँ सिमाना विश्वकै व्यस्त ताइवानी जलक्षेत्रमा चीनले युद्धपोतहरू तैनाथ गरेको छ । सैन्य अभ्यास सुरु गरेको छ । अन्तर्राष्ट्रिय जलमार्ग अवरुद्ध हुने चेतावनी दिएको छ । कतै ताइवानी र यसअघि देखिएको युक्रेन समस्याकै कारण भीषण अर्को तेस्रो महायुद्ध सुरु हुने हो कि संसारका देशहरू थर्कमान छन् अहिले । धेरैले भनेका छन्, ‘उत्तेजित नहुन र संयमित हुन तिनीहरूलाई, कारण त्यसको मार विश्वका सबैले खेप्नु पर्ने हुन्छ ।’

हाम्रो चासो र टिप्पणी : सन् १९५३ देखि नै चीनसँग दौत्य सम्बन्ध रहीआएको छ हाम्रो । धेरै चिनियाँहरूले नेपालमा ठूला लगानी गरेका छन् । सरकारीस्तरबाट चीनको योगदान नेपाललाई धेरै छ । उद्योग, कलकारखाना, सडक, विमानस्थलजस्ता पूर्वाधार, सवारीसाधन अनेकानेक जलविद्युत् योजनाहरू भनौँ विदेशी लगानीमा भारतपछिको दोस्रो ठूलो देश हो चीन हाम्रो । संयुक्त राष्ट्र संघको महासभामा नेपालले एक चीन नीतिको प्रतिबद्धता व्यक्त गरेको धेरै पहिले हो । तर चीनको बेल्ट एन्ड रोड इनिसियसन, बीआरआई प्रोग्रामलाई थाँती राखेपछि र एकाएक एमसीसी भित्र्याउँदै एसपीपीप्रतिको लुकामारी गरेको देखेर चीन नेपालप्रति सशंकित छ अहिले र त त्यताको दौडधूप निकै बलियो भइरहेको छ ।

हालै गुहमन्त्रीले चिनियाँ राजदूतलाई सिंहदरबार बोलाई आफ्नो नीतिप्रति ढुक्क रहन भनेका छन् भने चिनियाँ राजदूतले पनि सदाझैँ आउने चुनावमा यथाशक्य नेपाललाई सहयोग गर्ने बताएकी छन् । तर व्यवहारमा चीनलाई एक चीन नीतिप्रति स्पष्ट देखाउन नसकेको अवस्था छ । टिबेटियन शरणार्थीहरूका क्याम्प जावलाखेल आदि क्षेत्रमा अमेरिकनहरूको भीडभाड हुनेगरेको छ । आईडी वितरणको कुरो उठेको छ र चीनले हम्मेसी विश्वास गर्न सकेको अवस्था छैन र अहिले परराष्ट्र मन्त्रीको भ्रमण बेइजिङका लागि तय भएको छ । उता अमेरिकाका राजदूतलाई बोलाएर चीनले सातो लिएको छ । यसो गर्दागर्दै ठूलाको रडाकोमा सानाहरू मुछिने डर छ । नेपाली उखान छ, ‘घट्टमा मकै पिन्दा घुन आफैँ पिनिन्छ ।’ हाम्राले बुझ्न जरुरी छ, ‘इतिहासदेखि नै भनिएको कुरो नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’

पछिल्लो राजनीतिक परिवर्तनपछि यो बहुढुङ्गाबीचको तरुल भएको छ । नेताहरू उता गए हामी तपाईँकै हौं भन्छन्, जता गयो उतै ठीक्क भइदिन्छन्, विदेशीहरू भने दिक्क भइसकेका छन् । नेता मात्रै होइन नेतृहरू त्यस्तै छन् जता गयो उतै माइती बनाइदिने, राखी बाँधिदिने, विवाहको जोडी मिलाइदिनेलाई पनि भागभूरो दिलाउने चलन लाँपु भाग पुरानै चलन हो । अब त नागरिकता विधेयक पनि आइसकेको अवस्था छ । खुलमखुला ‘आए बाउको गए साहुको’ नेपाली उखान । घरबेटीलाई चित्त नबुझाई भएन । सिटदातालाई खुशी नगराई भएन, जसका कृपाले आप्mनो शान र मान बढेको छ । देशप्रतिको चिन्ता किन हुनुप-यो र ? रसियाले पाखुरा सुर्कँदा युक्रेन त्यस्तो भयो, अहिले ताइवानलाई ऊ पाखुरा सुर्कँदै छ । हामीले सुझबुझका साथ परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने थियो । आन्तरिक नीति नै भत्केको घरको जताततै दुलोजस्तो भएको बेला बाह्य नीतिमा परिपक्वता कसरी आउला र भारत चीन दुवै मौन बसेका बेला हामीले उफ्रँदै गएर नेटो समर्थित युक्रेनको पक्षमा मतदान गरेकैले स्पष्ट हुन्छ नि होइन र ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्