Techie IT
बुधबार, मंसीर १७,२०७७

नेपाली समाजमा स्त्रीमाथि हुने हिंसा


सबैभन्दा ज्ञानी छोरी, आफूलाई सघाउने छोरी, हुर्केकी छोरी मालती अब पराइघरमा गई । गच्छेअनुसारको बिहे त गर्नुपर्ने थियो तर त्यसो हुन नसके पनि नारायण पूजा मात्रै भए पनि पुजेर दिनुपर्ने थियो । यो कुराले पाकूको दिल बहुतै दुखी भएको थियो । गरिबी भनेको मान्छेको विवशताको घाउ रहेछ यही कुराको बोध भो उसलाई ।

पठ्ठो लालसिङ दङ्ग प-यो मालतीको जवानीमा । मालती पनि खुसी भै । माइती त्यहीँपारि हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु र बैनीहरूले । यस्तै सोच्थी ऊ र ढुक्क पनि थिई । दिउँसो दुई लोग्ने स्वास्नी मेला जान्थे सँगै बेलुकी रमाएर आउँथे ।

गरिब परिवारमा जन्मी हुर्किए पनि मालतीमा एउटा संस्कार थियोे । ठूलालाई आदर सम्मान र सानालाई स्नेह बाँड्थी ऊ । खेतमा मेला गएका बेला मालतीको जवानी र पारिवारिक कमजोरी पत्ता लगाएर प्रेमको जाल फ्याँकेको थियो लालसिङले र त्यो जालमा यति सहजै मालती पर्ली भनेर उसले कल्पना पनि गरेको थिएन ।

तर मालती पग्लिनु उसको लागि खुसीको कुरा थियो । दुई हप्ता दुवैले जवानीको आगो बाले । त्यो रापिलो आगोमा होमिए दुवै ।
असाध्य रमाइलो भो दुवैलाई । मालती लालसिङसँग अनुग्रहित थिई । उसले आर्थिकरूपमा सहयोग गरेको थियो आफ्ना बा आमालाई । गजमाने साहुको ऋणबाट मुक्त पारिदियो उसले ।

लालसिङले जे भन्यो ऊ त्यही मान्थी । लालसिङ उसका लागि प्राणेश्वर, पति, प्रेमी, माया सबथोक भयो । जवानीको भोकले कतिपय अवस्थामा मानिसहरू अन्धा हुन्छन् र त्यो अन्धताले भविष्यको बाटोचैँ अँध्यारो बनाइदिन्छ । परिबन्दले पनि कहिलेकाहीँ मान्छेलाई घेरा हाल्छ र उसले त्यो घेराबाट उम्किन ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । प्रेम त भर्खर फक्रेर लहलहाउन थाल्यो । मालतीलाई पहिले–पहिले उदास लाग्ने सिम्को डाँडो आजकल रमाइलो लाग्छ ।

किन हो कुन्नि सृष्टि किन यति अनुपम लागेको उसलाई ? किन हो कुन्नि घामको किरण किन बिघ्न यति प्यारो लागेको उसलाई ? किन हो कुन्नि बास्कोटे स्वारथोक फेदीगाउँ पारथोक आँखाले देखिने महरथोकदेखि भञ्ज्याङ्थोकसम्म सबै यति सुरभी लागेको उसलाई ? पहिले खेतमा मेला जाँदा छक्काएर जिउमा लालसिङले छोएको ऊ घरीघरी सम्झिन्थी र त्यो ससिम सम्झनाको एकान्तिक दैलो उघार्थी ऊ । अनुपम माया गर्थी ऊ लालसिङलाई । वैँसको त्यो उत्फुल्ल अनुरागले मालतीलाई स्पर्श गरेर घायल बनाउँथ्यो ।

लालसिङको छातिमा निदाउँथी ऊ निर्धक्क । ऊ यौनले तृप्त थिई । मायाले उत्फुल्ल थिई । प्यारले पुलकित थिई । उसले पाइरहेकी थिई मायाको संसार । एकदिन मेलामा मालतीले लालसिङको बारेमा केही नमीठो नजाती कुरा सुनी । त्यही नजाती कुराले उसलाई त्यो दिन खोइ किन पो हो कस्तो खिन्न लागिरह्यो मनमा ।

घरमा आइसकेपछि लालसिङले बेलुकी मज्जाले अगालोमा कस्यो र भुली उसले दिउँसोका यावत ऊ विपरीतका कुरा । एक दिन लालसिङले मालतीलाई काठमाडौं सहर घुम्न लिएर जानी भन्यो । त्यस दिनदेखि मालतीको भैँमा खुट्टा छैनन् । ऊ सपनामा रम्न थाली । मेरा पोइ त असाध्य जाती रैछन् बाफ्रे .. प्रेमको जुनेली ह्वात्तै बढ्यो उसका छातीमा । हिजोआज ऊ असाध्य पुलकित छे ।

निर्धक्क हुँदै ऊ सहर घुम्न आई । अनौठो लाग्यो सहर उसलाई । सहरमा एकजना आइमाई थिइन् । जसलाई उसले फुपू भनेर चिनायो । उनीहरू केही दिन त्यहीँ बसे । फुपूका श्रीमान् डाक्टर रे उतै भद्रुटार हस्पिटलमा कार्यरत । पछि सोधपुछ गर्दा त तिनै फुपाजुले मालतीका बाबुको परिवारनियोजन गरिदिएका रहेछन् ।

केही दिन रमाइलोसँग बित्यो । लालसिङले सब घुमाइदियो काठमाडौँ सहर । घन्टाघरदेखि धरहरासम्म । रानीपोखरीदेखि बुढानिलकण्ठसम्म । ऊ फुपूसँग खुबै मिल्न थाली । मालतीलाई फुपूकोमै छोडेर छिटो फर्कीआउँछु भनी लालसिङ खोइ कता गयो । फुपूको माइती त सिन्धुपाल्चोक थियोे । खै के साइनोले उसले ती आइमाइलाई फुपू बनायो । यो कुरो मालतीलाई खासै चासो पनि थिएन । फुपू असाध्य मिलनसार थिइन् ।

तिकना छोराछोरी सबै विदेश पढ्न गाका रे ! मालतीलाई केही दिनदेखि एउटा प्रश्न सोधपुछ गर्न मनलागेको थियोे ती फुपूसँग र उसले साहस गरेर सोधी पनि ( कि नियोजन गरिसके पछि पनि आइमाईले पेट बोक्न सक्छन्त फुपू ? फुपूले एउटै उत्तर दिई “अहँ सक्तैनन्“ । फुपू कहिलेकाहीँ मज्जाले रक्सी पिउँथिन् ।

फुपाजु नभएको फाइदा लिन्थिन् फुपूले । रक्सी पिएसी फुपू मनको कुरा सबै खोल्थिन् । सिन्धुपाल्चोकका केटीहरू आउने जाने गर्थे फुपूकोमा । कतिलाई त जागिर लगाइदिएको छु भन्थिन् तिन्ले । कोसेलीपात आउथ्यो गाउँबाट । मालतीका मनमा चिसो पस्यो कि आफ्नी आमाले सिङ्गो परिवारलाई धोका दिएको । त्यो कुरा मालतीले फुपूलाई सुनाई ।

फुपूको कुराले त मालतीमा निराशा छायो । फुपूले भनिन “तिम्री आमाको कोही अर्को पुरुषसँग माया पिरिम बसेको हुनुपर्छ नत्र अप्रेसनपछि कसरी बच्चा हुनु र ?“ फुपूले यति भनिसकेपछि आमाप्रतिको विश्वास सबै खरानी भो मायाको । “फुपू अब म पहाड जान्न यतै तपाईंले केही काम खोज्दिनु भनी मालतीले ।

छोडेर गएको पनि एक हप्ता बित्यो लालसिङले मालतीलाई । ऊ आएन सहर । म पहाडमै रमाइलो मानेर तिम्रो साथमै पो खुसी थिएँ त लालसिङ मलाई सहरमा किन छोडेर गएको … मालतीलाई रातभर निन्द्रा परेन त्यो दिन । बिहे गरेको करिब तीन महिना बितिसकेको थियो । एक दिन फुपूले वीरगञ्जसम्मको गाडीको टिकट किनेर ल्याइन् र भनिन्, “मालती अब तिमी र म भएर दिल्लीको व्यापार गर्ने“
“के व्यापार गर्ने फुपू“ मालतीले सोधी । “तिम्रा फुपाजु औषधिको दोकान खोल्ने भन्नुहुन्छ अब औषधिको व्यापार गर्ने हामी“ फुपूको कुरा सुनेपछि सहमति जनाई मालतीले ।

थानकोट काटेर बाहिर नगएकी मालतीलाई उल्का रमाइलो लाग्यो । थाकेर वीरगञ्ज घन्टाघर नजिकैको एउटा होटेलमा बस्न पुगे उनीहरू । दिल्ली जाने त खासै केही कुरो भाथेन । मालतीलाई दिल्ली पनि जाने भनेपछि खुसी लाग्यो सब देश देख्न पाइने भो भनेर । तल काउन्टरमा दिल्ली एक्स्प्रेसको दुइटा टिकट छोडेर लालसिङ निस्कियो ।

लालसिङ अघिल्लो डिब्बामा थियो । उनीहरू पछिल्लो डिब्बामा थिए । पहिलोचोटि रेल देखेकी मालती दङ्ग परी । यो छुकछुके रेल भनेको यस्तोपो हुँदोरहेछ है फुपू भन्दै रमाउन थाली । रातभर ऊ मस्त निदाई । भोलिपल्ट बिहान नौ बजे उनीहरू न्यू दिल्ली रेलवे स्टेसनमा झरे । राति मस्त निदाएकीले मालतीलाई त्यस्तो केही असजीलो भएको थिएन ।

अघिल्लो डिब्बा बाट लालसिङ निस्कियो । मालतीले कतै चिन्ली कि भनेर गलबन्दीले मुख छोपेको थियो । स्टेसनबाट एउटा रिक्सा पक्रियो लालसिङले र फुपू र मालतीले पनि अलिक पछि–पछि अर्को रिक्सा पक्रिए । पहाडगञ्ज पुग्यो रिक्सा । दुवै रिक्साको दूरीले एकअर्कालाई चिनिदैन । हाम्रो यताको ठमेलजस्तै पहाडगञ्ज टुरिष्ट एरिया हो । यहाँ बार्है महिना हिप्पीहरू घुम्न आउँछन् । यहाँ को आयो को आएन को कुन देशको हो कसैले कसैको चासो राख्दैनन् । यहाँ गाँजा भाङ्ग र अम्मलीहरूलाई सजिलो छ ।

टुरिष्ट एरिया भएर हो कि प्रहरीले हम्मेसी छापा पनि मार्दैन । अगाडि थियो लालसिङ चढेको रिक्सा । होटेल विनायकको काउन्टरअगाडि रोकियो । परैबाट लालसिङ त्यहाँ झरेको फुपूले हेरिरहेकी थिइन् । फेरि मालतीले देख्ली भनेर रिक्सा एकछिन् परै रोकी । यता लालसिङले होटेल बुक ग-यो । कुराकानी मिलाई र काउन्टरबाट अर्को होटेल “सेन्टर दिल्ली“ छि-यो । अनि पछि फुपू र मालती होटेल बिनायक पुगे । काउन्टरबाट साँचो लिएर माथि रुममा गए ।

पहाडगञ्ज र जीबीरोड सँगै छ । होटेल पुगेर लालसिङ फ्रेस भयो । एकजना नोयडा तिरको इन्डियनसँग दोस्ती थियो उसको ।
आजैको दिन आइपुग्ग्छु माल लिएर भनि खबर पठाएको थियो उसले । जीबी रोडलाई केटी सप्लाइ गथ्¥यो त्यो इन्डियनले । लालसिङ र ऊ जिग्री । होटेल सेन्टर दिल्लीमा अघिल्लो दिन नै आएर बसेको थियो ।
“माल देख्ना चाहुङ्गा तो अभि“ इन्डियनले भन्यो
“अरे काइको चिन्ता करते हो तु माल अछा हे यार“ लाले बोल्यो ।
“कोही तस्बिर हे तुमारे पास ?“
“तस्बिर क्यु माल देखोना । रुममे जाके देखो“
“ओतो फुपीजी भि हे साथमे ?“
हेतो । फुपी तो तुम्हाराही माल तो हे ! कोही चिन्ता नही यार ।
तुतो यैसा सोचरहा है ऊ धन्दा पहिलेबार कररहा है । ज्यादा नाटक मतकरो यार । बुरा कामभी करते हो फिर डरतेभी हो ।

तिनका कुराले यो धन्दा पुरानै थियो तिनको । इन्डियन गयो होटेल बिनायकमा । रुम नम्बर १०३ मा भित्रबाट चुकुल हालिएको थियो । उसले ढोका ढकढक ग-यो । बाहिर ढोकामा सानो प्वाल थियो । उसले एउटा आँखा सानो पारेर चिहायो भित्र । फुपू भित्रबाट आइन् र चुकुल खोलिन् । ढोका खुल्यो । इन्डियन भित्र गयो फुपूले स्वागत गरिन् इन्डियनलाई । उनीहरू दुवै चिरपरिचित । गफिन थाले । मालती बाथरुममा नुहाएर आई । सफेद अनुहार र पानीले भिजेको कालो कपाल देखेर इन्डियन चकित प-यो र खुसुक्क भन्यो फुपूलाई ।
“माल बहुत सुन्दर है यार क्या किमत लोगी बोलो देदुङ्गा ।“
फुपू मुस्कुराई र भनी “दादा ! सबसे ज्यादा किमत लेलुङ्गी यिस्की । ऊ तो भर्जिन है । किसिने आजतक छुवा नही यिस्को ।“

बिचरी मालतीले हिन्दी के बुझोस् । उसैको जिन्दगीको त्यहाँ मोलमोलाई हुँदै थियो । इन्डियनले तीन लाख भारु फुपूको हातमा थमाइदियो । फुपू मक्ख परी । पैसा झोलामा हाली । अब उसको काम भनेको जीबी रोडसम्म मालतीलाई छोड्न जानु हो । फुपू अचम्मकी थिई । नेपाली चेली जीबी रोडमा छोडदा छोड्दा उसलाई बानी परिसकेको थियो । प-यो भने ऊ आफैँ पनि इन्डियनसँग सुतिदिन्छे । मालतीलाई तिमी ढोकामा चुकुल हालेर बस खाना ल्याइदिन्छ यहीँ खानु । हामी बाहिर विज्नेसको केही सामान किन्नु छ भन्दै दुवै बाहिर निस्किए । थाकेर लखतरान भएकी मालती ओछ्यानमा ढल्नासाथ भुसुक्कै निदाई ।

दुवै पल्लो होटेल सेन्टर दिल्ली गए । लालसिङ फुपू र त्यो इन्डियन अब गफ गर्न थाले । भोलि जीबी रोडको ताज रेस्टुरेन्टमा मालतीलाई सुरुमा वेटरको काम लगाउने निर्णय भयो । एकैपटक धन्दा लगाउँदा ऊ आत्तिन सक्छे बिस्तारै टिप्सको लोभमा फस्छे र आफैँ वातावरण बुझ्दछे“ लालसिङको यो निर्णय फुपू र इन्डियनलाई पनि मन प-यो । पहिला पनि दुइटा नेपाली केटीलाई यसरी नै बेचेको हो उसले ।

एक हप्ता जति फुपू पनि बस्ने भइन् मालतीसँगै । अर्को पचास हजार भारु थपिदियो इन्डियनले उनीहरूलाई ।
त्यो इन्डियन आफैँ पनि स्त्रीलम्पट थियो । फुपूसँग पनि सुतेको थियो पहिला–पहिला आउँदा । योपालीचाहिँ ऊ आफैँ चाख्नी रे मालतीको जवानीको स्वाद । फुपूले हुन्छ भनी । लालसिङले भन्यो । “साब हमको थोडा भेटी देदो उसके बात आपका मर्जी ।“
फुपूले थपिन् साढे तीन लाख भारु दिएको छ त कति दिऊन् त्योभन्दा डेढ लाख भारु लालसिङको हातमा थमाइदिइन् फुपूले ।

लालसिङ दङ्ग प-यो । मध्यान्ह भयो । इन्डियनले तल काउन्टरमा खाना अर्डर ग¥यो । खाना खानुभन्दा पहिले एक बोतल ह्वीस्की र सेकुवा मगायो उसले । फुपूले पनि पिइन् मज्जाले त्यो दिन । उनलाई रक्सीको माद मज्जाले लागेको थियो । खाना खाएर उनी पल्लो होटेलमा मालती भएको ठाउँमा गइन् । मालती भोकै थिई । फुपू गएपछि भोक लाग्यो भनी । फुपूले तल काउन्टरबाट खाना मगाई । बेस्सरी भोक लागेको थियो मालतीलाई । उसले खाना खाई । फुपूले ओछ्यानमा बोलाई । मालतीको कपाल मुसारी । माया देखाई ।

मालती पुलकित भई । आज निकै दिनपछि उसलाई आफ्नी आमा पाकूको याद आयो । यसैगरी मुसार्थिन् सानोमा उसको कपाल पाकूले । उसले गाउँ सम्झी । स्याल्पिङे, सिम्ला पखेरो, फेदि गाउँ भञ्ज्याङथोक, महतगाउँ, झुपीटार, न्यारसाइलाको घर, कटरबोटे क्याके, पारथोक खोप्राबारी जहाँ–जहाँ ऊ मेला जान्थी ।

फुपू कहिलेकाही रक्सी पिउँछे । यो कुरा मालतीलाई थाहा छ । रक्सी पिएपछी ऊ जे पनि बोल्छे यो कुरा पनि थाहा छ । रक्सीको मादमा कहिलेत त फोहोर कुरा पनि बोल्छे फुपू । रक्सी पिएपछी फुपूलाई केटा मान्छे चाहिन्छ । आजचैँ मालतीसँग गफिरहेकी छे फुपू नसामा के के बोल्दै छे ।

“मालती त्यो अघि आएको इन्डियन छ नि त्योसँग म योभन्दा अगाडि आउँदा दुई रात सुतेको छु बुझिस् ? सत्य हो के नपत्याकी पत्यान ..तर ..तर अहिले म नसुत्ने बुझिस् । पैसावाल हो त्यो मोरो धोती । धेरै धनी छ । त सुत्छेस् ?… हँ …सुत्ने हो भने भन म भन्दिन्छु । पैसा त कति हो कति बेहिसाब छ बुझिस् । त्यसले तँलाई मन पराको छ नि । अघि मसँग कुरा गर्दै थ्यो । मैले भन्दै छु त्यसलाई त भर्जिन केटी हो भनेर । भर्जिन भनेको बुझिनस्, हत्तेरी भर्जिन भनेको कोही पनि लोग्नेमान्छेसँग नसुतेको हो क्या कस्तो नबुझेकी हो तैँले झुम्री ।

सुन त तँलाई नोकरी खोजिदिएका छन् तिन्ले तैँले काम गरेर धेरै पैसा कमाउनुपर्छ बुझिस् ? नत्र तेरो यो सुन्दरताको के काम मालती ? । जस्ले जे भने पनि शरीरमा जवानी रहुन्जेल सम्म मात्रै हो रेछ यो दुनियाँ । जब अनुहारमा अलिकति चाउरी पर्न थाल्छ नि घाम अस्ताएको पहाडजस्तै हो हाम्रो गालाको छाला । कसैले हेर्दैन । पोइले पनि अन्तै आँखा लाउन थाल्छन् । हेरत जे भए नि मत डाक्टरको श्रीमती हुँ नि तर बेकार । त्यसै खेर गो जवानी । धित नै मरेन कहिले । तेरा फुपाजु सधैं बिमारीसित । खोइ कुन्नि कान्छी पोल्या छन् कि उतैतिर नत्र किन त घरमा आउनै मान्दैनन् । तिनी पनि फुँडो हुन् ।

खुब चाहिन्थ्यो रे केटी म त सधैं एक्लो । सधैं तनावग्रस्त । बाँच्ने त आफ्नो जिन्दगी आफैँले हो । कोही पनि दुःखमा काध दिन आउँदैन बाबै । काम ठूलो सानो हुँदैन । जे पनि गर्दा हुन्छ । यो विदेश हो । यहाँ कसैले देख्दैनन् । पैसा कमाएर उता नेपाल गएसी सबले पुज्न थाल्छन् तँलाई बुझिस् । मन दरो बना । तेरो गाउँमा बाबा आमाले धेरै दुःख पाछन् तैले धेरै मिहिनेत गर्नुपर्छ बुझिस् ? त्यो इन्डियनले तँलाई जागीर खानलाई दुई महिनाको एडभान्स स्यालरी दिएका छन् ला ली मालती ।“

फुपूले बीस हजार भारु पैसा मालतीको हातमा राख्दी । जिन्दगीमा पहिलोचोटि यति धेरै पैसा देखी मालतीले । फुपूको कुरा सुनिरही केही बोलिन । गाउँमा बाआमा र भाइ बैनीको दुःख सम्झिँदा जागीर खाऊँजस्तो लाग्यो उसलाई । फुपूले दिएको पैसा हातमा समाई । उसलाई बिहे गरेर ल्याएको लोग्ने लालसिङलाई सम्झी यतिबेला । सहर ल्याएर छोडेर हिड्नुभो कहाँ हुनुहुन्छ खै ? गाउँ गए पनि त कमसेकम मलाई भन्नुपर्थ्यो नि । कति कठोर मन रैछ तिनको । आज पहिलोचोटि मालतीको मन कुँडियो लालसिङको व्यवहारसँग ।

बेमानी हुनुभन्दा त बेस्या हुनु ठिक । भोकै बस्दा म मर्न सक्छु तर वेश्या बन्दा त मर्दिनँ । यो पनि त एउटा कर्म नै होला । केहो खराब के हो असल । म वेश्या बन्दा कसैको लागि ठिक हुन्छु कसैका लागि खराब हुन्छु । समय स्थान र मान्छेको सोचअनुसार एउटै काम कसैलाई राम्रो कसैलाई नराम्रो हुन्छ भने सत्यचैँ के हो त ? म सत्य हुँ । म छु । यो जगत छ । दुःख छ । मसँग बहने मेरो आँसु छ । मबाट खोसिएको खुसी छ तर मसँग छैन । मसँग जे छ त्यो सत्य हो । मसँग जे छैन त्यो असत्य हो । मैले यति बुझेँ ।

आमाबाबुको आँसुभन्दा मेरो अस्मिता ठूलो होइन । भाइबहिनीको भविष्यभन्दा मेरो शरीर महत्व होइन । साहुको बचनको करौतीले ध्वस्त भएको बुढो बाउको छातिको जलनभन्दा मेरो जवानी महत्वपूर्ण होइन । म बाचूँला तर कसरी भोकले मरेको हेर्नु मेरो परिवार ? म जेठी छोरी । म कलेजा तिन्को । मुटुको छेवै भएर बहने धमनीको धकधक । मैले देखे जगत । मैले भोगे लोग्नेको तातोमाया । थाहा छ त्यो छल थियो । थाहा छ अहिले म कुनै वेश्यालयमा बेचिँदै छु । मलाई फकाउँदै छिन् यी फुपू ।

मैले यिनीहरूको आग्रह नमानेर विद्रोह गरेँ भने यिन्का पनि दिन सकिन्छन् । म हेर्छु यिन्ले कति पाप गर्दिरैछिन् । म सुतिदिन्छु त्यो इन्डियनसँग । के फरक छ र त्यो इन्डियन र मेरो लोग्ने लाल्सिङ ? उही रगत । उस्तै जवानी । उस्तै तातो । उस्तै अहंकार । उस्तै अभिमान । उस्तै निर्जीवता । उही घात । उही कोमलतालाई घोच्ने सुइरो । म त हिजैदेखि मर्दै र व्युझिँदै आएकी लज्जावती झार । कोही कुल्चिछन् । म मरेजस्तो गर्छु । एकछिन् र आफैँ व्युझन्छु फेरि । किनकि म मरेको छैन । बुहारी झार जस्तै छु म । कसैलाई कुल्चिनुमा आनन्द आउँछ । फेरि फेरि लत्रिएर उठ्छे बुहारीझार ऊ मर्दिन । ऊ झुकेकी मात्रै पो हो त । म मर्दिन यतिकै । केही गरेर मर्नुछ मैले । आमाको सुत्केरी अझै बासना आउँदै होला तिन्ले घाँस बोक्ने डोकोमा ।

बालाई अझै हप्काउँदै होलान् मेलामा । कुरा काट्तै होलान् मेरो गरिब बाआमाको गाउँलेले । आमालाई काख दिएकी धरतीले मलाई पनि काख दिन सक्थिन् । म आएँ । म छलिएँ । मलाई भोग्नुछ । मैले तिर्नुछ पुर्वजन्मको ऋण । पिठो पैँचो नपत्याउनेकी छोरी हुँ म । समाज यतिविघ्न निर्दयी छ । त्यो भोग्नेलाई थाहा हुन्छ । समयले लात मारेको छ मेरो जिन्दगीमा ।

म अलिकति विद्रोही छु । कहिलेकाहीँ आफैंलाई भत्काउनु मन लाग्छ । कहिलेकाहीँ आफैँलाई केस्रा–केस्रा केलाएर नग्याउन मन लाग्छ । सत्यको त्यो रहस्यमही पर्दा उघार्न मन लाग्छ । खै आज के भयो मालतीलाई ऊ भित्र–भित्र आज विद्रोह जागेको छ । उसको सोचाइको प्रकम्पन बढेको छ । फुपूले आफूबाट केही कुरा लुकाएजस्तो लागिरहेछ उसलाई ।

फुपूले रक्सी पिएको बेलामा सत्य कुरा बोल्छिन् । सत्यलाई पनि बाहिर आउन आखिर रक्सीकै साहारा चाहिने रहेछ । फुपूले दिएको बीस हजार आफ्नो व्यागमा राखी र दुई हजार भारु लिएर बाहिर रक्सी किन्न गई फुपूलाई पिलाउन । तल होटेल छेउमा रक्सी दोकान थियो उसले हिजो देखेथी तर अहिले बन्द थ्यो । दोकान चाहार्दै जाँदा उसले अलिक पर लालसिङ र त्यो इन्डियन गफ गर्दै आइरहेको देखी ।

लालसिङ देखेपछि उसको मुटु फुटेजस्तो भो । भक्कानिएर रोई । उसलाई वरिपरिका सबै घरहरू हल्लिएजस्तो लाग्यो । सम्झी उसले धान काट्न मेला जाँदा गाउँलेले उसको कुरा काटेको । उसले आफ्नो लोग्नेविरुद्धको आवाज सुन्न नपरोस् भनी कान थुनेकी थिई । “लालसिङले केटीलाई बिहे गर्दै बम्बै बेचेर आउँछ“ भन्ने कुरा । तर उसले पत्याकी थिइन । पहाडगञ्जको एउटा गल्लिमा देखी आज । केही बोलिन । उनीहरूले मालतीलाई देखेनन् ।

मालती आफू बसेको होटेलको काउन्टरमा गई र दुई हजार भारु देखाउँदै भनी “मलाई एक बोतल रक्सी देउन भाई होटेलको ब्वाइ एकछिन् बाहिर निस्कियो । र एक बोतल मिर्नोभ भोड्का लिएर आयो र मालतीलाई दियो । सिर्फ तीन सय भारु मात्रै लियो उसले । फुपू सुतिरहेकी थिइन् । बोतल देखाई उसले । “यी फुपू रक्सी पिउने होइन“ फुपू चकित परिन् । उसले लालसिङ र त्यो इन्डियनलाई बाहिर सडकमा देखेको कुरा केही भनिन । चुपचापले बसी । मालती भित्र अधैर्यताको बाँध भत्किएको छ तर सम्हालेकी छे उसले आफूलाई । जे कुराको पनि समय आउँछ भन्थी ऊ ।

गिलासमा रक्सी हाल्दिई उसले । सितान खसीको मासु आफैँ तल गएर ल्याई । खसीको भुटुवा र रक्सी पिउन सोखिन थिई फुपू । र रक्सी पिएपछि फुपूले असत्य कहिले बोल्दिनन् । फुपूलाई मज्जाले लाग्यो । मालतीलाई थाहा छ रक्सी र केटा फुपूको कमजोरी हो । आधा बोतल रक्सी पिएपछि फुपू बोल्न थालिन् ।

…“मालती तैंले मलाई पूरै जँड्या बनाइस् होइ…तर तर जे भने पनि त मेरो छोरी साथी सबैसबैसबै तैँ हो क्या मलाई लाग्या छैन तैँले मलाई लाग्यो भन्ठानेको …. साला… त्यो ..धोती पैसावाल छ क्या तर… तर… छोड त्यस्को पैसाले हाम्लाई के गर्छ होइ…मालतीले यही मौकामा सोधी “फुपू हामी यहाँ दिल्ली किन आएको के कामले आएको हामी कहिले फर्किने नेपाल भन्नु न“

“ त …चिन्ता नगर … तँलाई म सँगै लिएर जान्छु त्यो साले लालसिङेले तँलाई बेच्न ल्याएको यहाँ । बेच्यो तँलाई बेच्यो बेचिसक्यो तीन लाख पचास हजार भारुमा बुझिस् मालती ? अहिले मैले पिइरहेको यो रक्सी र मासु छ नि तँलाई बेचेको पैसा हो मालती… म क्षति पापिनी है साला त्यो डाक्टर नपुंसक छ त्यस्ले मलाई माया गर्न सक्तैन । यो लाले ठिक छ बरु भोटे भएर हुन्छ र बुद्धि हुनुपर्छ बुद्धि । बुद्धि बाहुनको जस्तै लालेको बुझुस ।

म .. म..म.. कस्तो अपराधिनी है आफ्नै छोरीचेली बेचेको पैसाले रक्सी र मासु खाने थुक्क म.. म.. म सुघुरनी म ..म पातर्नी म वेश्या म कुलटा म अधर्मी म भोग्या म । सीताजस्ती त सोझीलाई बहानाबाजी गरेर बेचेँ मैले तँलाई । म पनि त नारी नै हु नि । मैले बुझ्नुपर्थ्यो तेरो पीडा तर बेच्न ल्याए । चिन्ता नगर अलिक समय काम गर अनि फर्की नेपाल म छँदै छु नि तेरो …. ।

मालतीको हृदय धुजाधुजा भै फाट्न थाल्यो । आखाबाट आँसु होइन रगतको थोपा चुहिन थाल्यो । आज बल्ल उसलाई थाहा भो बेमानीहरूको जूटो सपनाहरूले कसरी आक्रमण गरेको छ मेरो सुन्दर शान्त नेपाललाई .. । मालतीको मनमा विद्रोहको राँको सल्कियो । बल्न थाल्यो ह्वारह्वार्ती । यो ज्वालामा अब जति पानी खत्याए पनि ननिभ्ने भो । ऊ पल्लो होटेलमा गई । लालसिङलाई घिसारेर ल्याई फुपूकोमा । लालसिङ पनि रक्सीको मातमा थियो । दुवैलाई एकैठाउँमा राखी । र भनी, भन् कति पैसामा बेचेको मलाई त्यो पैसा सबै निकाल्छौ कि अहिले पुलिसकोमा जाऊँ म । दुवै आँत्तिए । मालतीको अनुहारबाट विद्रोहको ज्वाला हुरहुर्ती दन्किरहेको थियो । लालसिङ म इन्डियनलाई बोलाएर ल्याउछु भन्दै थियो । मालतीले जान रोकी ।

झिसमिसे नहुँदै आफूलाई बेचेको पैसा आफैँले लिएर ती दुईलाई बाहिरबाट ताल्चा मारिदिएर मालती दिल्ली सेन्टर रेलवे स्टेसन पुगी । दिल्लीबाट फर्किएको चौथो दिनको दिन ऊ आफ्नो गाउँ फर्की । आउँदा प्रहरी चौकीमा फुपू र लालसिङविरुद्धमा चेलीबेटी बेचबिखनविरुद्धमा जाहेरी दिई । घरमा आई । बाआमाको ऋण तिरी । बैनीहरूलाई स्कुलमा भर्ना गरी । र आफैँ पनि स्कुल भर्ना भई । एउटा सानो खेत किनी । त्यो परिवारलाई सुसभ्य सुरक्षित बनाई । गाउँलेसँग आँखा जुधाएर कुरा गर्न सक्ने भई ऊ । मालती पार्थोक गाउँको एउटा दियालो भई । गाउँलेले केही नयाँ काम गर्दा अब उसैसँग सल्लाह लिनेभए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्