Techie IT
२३ साउन २०७९, सोमबार

विकास भनेको के हो र कसरी गर्ने ?


काठमाडौं । विकास शब्दसँग सबै परिचित भए पनि यसलाई अथ्र्याउन भने निकै कठिन हुन्छ । सर्वसाधारणदेखि उच्च उद्योगी व्यापारी, राजनीतिज्ञजस्ता सबै तह र तप्काका मानिसहरूले विकासबारे चासो लिएका हुन्छन् । तर, यसलाई परिभाषित गर्ने कार्य भने त्यति सजिलो छैन, जति भन्न सजिलो हुन्छ । राजनीतिज्ञहरूले विकासलाई राजनीतिसँग जोडेर विकासको परिभाषा गरेका हुन्छन् । उनीहरूको विचारमा राजनीतिले राम्रो भूमिका खेल्यो भने विकास अघि बढ्न सक्छ भन्ने उनीहरूको तर्क हुन्छ । हुन त शासकीय स्वरूप र प्रणाली जनभावनाअनुकूल हुन सक्यो भने निश्चय नै विकासले निर्दिष्ट बाटो लिन सक्ने हुन्छ । त्यसैले अहिले विश्वका कतिपय मुलुकहरूले विकासको लागि राजनीति हुनुपर्दछ भनेर जनतामुखी राजनीतिको पक्षमा वकालत गर्दै आएका छन् ।

नीतिमध्ये सबैभन्दा माथि राजनीति हुने गर्दछ । एउटा राजनीतिले धेरै अरु नीतिहरू निर्माण गर्दछ । हाम्रो संघीय संसदीय प्रणालीमा संसद्बाट नीति निर्माण गरिएका हुन्छन् र ती कार्यान्वयन पनि भई रहेका छन् । विकासको लागि आवश्यक हुने नीति नियम बनाउने कार्य राजनीतिबाट हुने भएकोले विकास गर्ने पहिलो पाइला भनेको नै राजनीति हो । यसरी विकास भन्नु नै राजनीति हो भन्ने तर्क पुष्ट्याइँ गर्ने कार्य राजनीतिबाट भई नै रहेको पाइन्छ ।

विकाससँग सामाजिक पक्ष पनि त्यत्तिकै जोडिएको हुन्छ । समाजमा विभिन्न परम्परागत कुरीतिहरूले जरा गाडिरहेका हुन्छन् । त्यस्ता कुरीति जहिलेसम्म रहन्छन् तबसम्म समाज सभ्य र सुसंस्कृत हुन सक्दैन । समाज सुधारिँदै गयो र समाजमा रहेका पुरातनवादी कुरीतिहरू निराकरण हुनसके भने विकास भएको भन्न सकिन्छ । विकास भन्नुको अर्थ समाज सुसंस्कृत र सभ्य हुनु हो । त्यसो हुन सकेको अवस्थामा सामाजिक विकास भएको मानिने हुन्छ ।

आर्थिक क्षेत्रको विकास भएको अवस्थामा मात्र विकास भएको ठहर्छ भन्ने कुरा अर्थशास्त्रीहरूको राय देखिन्छ । हुन पनि राजनीति तथा सामाजिक क्षेत्रको विकास गर्नको लागि पनि अर्थकै आवश्यकता पर्दछ । अर्थ अथवा पैसा भएन भने न त राजनीति अगाडि बढ्न सक्छ, न त समाज नै । मानिसमा रक्तसञ्चारको जति आवश्यक हुन्छ, त्यस्तै आर्थिक पक्षको हुँदोरहेछ । पैसा नहुने हो भने यी दुवै क्षेत्र निकम्मा हुँदारहेछन् । त्यसैले पैसालाई न्यूनतम मात्रामा लगानी गरेर अधिकतम उपलब्धि हासिल गर्नेतिर लागिएको हुन्छ । किनकि वित्तीय साधनस्रोत सीमित हुन्छन् । यसको योगदानबाट धेरै क्षेत्रले प्रगति प्राप्त गर्नुपर्ने हुन्छ ।

यी उल्लिखित विचारहरूको आधारमा विकास भनेको कुनै एक क्षेत्रको विकास भएर मात्र हुने होइनरहेछ भन्ने बुझ्न सकिन्छ । विकास भनेको राजनीति, सामाजिक, आर्थिकजस्ता सम्पूर्ण क्षेत्रको समुन्नत प्रगति हुनु नै विकास भन्न सकिन्छ । यी क्षेत्रहरूको विकास गर्नु नै विकासको मूर्त रूप हो । त्यस कारण अहिले सबै देशहरू यही अभियानमा लागेका देखिन्छन् ।

विकास भन्ने शब्द धेरै अवयवसँग सम्बन्धित हुन्छ । त्यस्तै गरी विभिन्न देशहरूसँग पनि । नेपाल जस्तो अतिकम विकसित देशमा विकासको चाहना भनेको गाँस, बास र कपास नै हुन् । खान, बस्न र आङ छोप्न पाए पुगिहाल्यो । यति कुरा पुग्यो भने विकास भइहाल्यो । त्यस्तै सामान्य शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता न्यूनतम मानवीय आवश्यकता पूर्ति भए भइहाल्यो । अरु कुरा हामीहरूको लागि परको हुन जान्छ । यसैलाई हामी विकास भन्न सक्दछौँ ।

तर, विकसित मुलुकहरूको लागि यी सुविधाले मात्र विकासको अर्थ पूरा हुँदैन । हामीहरू भुइँको कुरा गर्दछौँ, उनीहरू अन्तरिक्षको कुरा गरेका हुन्छन् । हामीहरूमध्ये केही संख्याको लागि सवारीसाधनको आवश्यकता हुन सक्दछ । उनीहरूको लागि भने यो केही हुँदै होइन । उनीहरूलाई अन्तरिक्षमा जानु छ र अन्तरिक्ष यानको आवश्यकता छ । हो, त्यसैले विकासलाई हेर्ने दृष्टिकोण व्यक्ति र देशपिच्छे पृथक हुने गर्दछ । विकसित देश र अल्पविकसित देशका आवश्यकता फरक–फरक हुने हुँदा विकासलाई हेर्ने दृष्टिकोण पनि भिन्न भिन्न हुँदोरहेछ । एक व्यक्तिको आवश्यकता अर्काको लागि त्यही वस्तु विलासिता हुँदोरहेछ ।

हो, अब यहाँ प्रश्न आउँछ विकास भनेको के हो त ? कुनै देशका सबै नागरिकहरूको जीवनस्तरमा वृद्धि भएर मुलुक सर्वाङ्गीन समुन्नत हुनुलाई विकास भन्न सकिन्छ । एउटा क्षेत्रको विकास भएर मात्र पनि विकास भयो भन्न सकिँदैन । यस्तो विकास अपूर्ण हुन्छ । विकासलाई सम्पूर्णतामा हेरिनुपर्दछ । अर्को कुरा विकासलाई आ–आफ्नो दृष्टिकोणको बुझाइ हुँदोरहेछ । जसले जसरी भने पनि विकासको अन्तर्निहित परिभाषा वा बुझाई एउटै हुने गर्दछ अर्थात् सारमा भन्दा समृद्धि ।

विकासलाई हामी सबैले लगाउने ह्याटको रूपमा पनि लिन सकिन्छ । एउटै ह्याट बच्चादेखि बुढाले लाउँदा पनि सबैको टाउकोमा मिलेकै हुन्छ । जसले लाउँदा पनि मिल्ने । हो, यस्तै रहेछ विकासलाई परिभाािषत गर्ने विषय । जसरी टोप सबैलाई मिलेको हुन्छ विकास भन्ने शब्द पनि सबैलाई उस्तै लाग्दोरहेछ । अनि मर्म पनि उस्तै । त्यसैले विकास सबैको लागि उस्तै हो, उस्तै होइन । यही नै हो आजको समस्या ।

अब प्रश्न आउँछ के भयो भने विकास हुन्छ त ? यसको जवाफ पनि त्यत्तिकै कठिन छ । कसैले आर्थिक वृद्धिलाई लिएका छन्, भने कसैले प्रतिव्यक्ति आयलाई त, कसैले कुल गार्हस्थ्य उत्पादनलाई लिएका छन् । कसैले न्यून मुद्रास्फीति, कसैले प्रतिव्यक्ति बाँच्ने आयुलाई । अन्य कतिपय अवयवहरूको वृद्धि भयो भने विकास हुन्छ भनिएको पनि पाइन्छ । त्यसैले अर्थशास्त्रीय दृष्टिकोणबाट हेरिँदा यी क्षेत्रहरूको विकास नगरी विकास हुनै सक्दैन ।

अब हामी आफ्नै देशको विश्लेषण गरौँ । हाम्रो कुल गार्हस्थ्य उत्पादन ४८ खर्ब ५१ अर्ब छ । आर्थिक वृद्धिको अनुमान ८ प्रतिशत र मुद्रास्फिति ७ प्रतिशतभन्दा कम हुने अनुमान छ । प्रतिव्यक्ति आय १३ सय ७८ अमेरिकी डलर छ । व्यक्तिको आयु ७१ वर्ष पुगेको छ र प्रत्येक नेपालीको टाउकोमा ६५ हजार ऋण थुपरिएको देखिन्छ । विप्रेषणबाट रकम पनि आइरहेकै छ । देशको अर्थतन्त्र धान्ने मुख्य आधार भनेको यही नै हो । राजस्व पनि लक्ष्यअनुरूप नै असुली भएको छ । आगामी आर्थिक वर्षको लागि १२ खर्ब ४० अर्बको राजस्व प्राप्त हुने अनुमान छ । यसो हेर्दा हाम्रा अर्थतन्त्रका सूचकहरू त्यति नराम्रा देखिएका छैनन्, तैपनि विकास हुन सकेको छैन । कस्तो विडम्बना ?

सिद्धान्तका कुरा र तथ्यांकका आधारहरू पनि त्यति भरपर्दा हँदा रहेनछन् । यसो हेर्दा जीडीपी पनि ठीकै छ । मानिसको आयु पनि ठीकै छ । प्रतिव्यक्ति आम्दानी पनि ठीकै र समष्टिगत अर्थतन्त्र ठीकै हुँदाहुँदै पनि हामी किन गरिब त ?

यहाँ बुझ्न पर्ने कुरा के रहेछ भने सिद्धान्तमा लेखिएका र तथ्यांकले दिएका आधारहरू पनि विश्वास गर्न सकिँदोरहेनछ । यिनीहरू त योजना तर्जुमा गर्दा र कुनै विषयको निष्कर्षमा पुग्नको लागि सरकारबाट प्रस्तुत हुने केवल आधार मात्र हुँदा रहेछन् । वास्तविकता अर्कै हुँदा रहेछ । प्रत्येक नेपालीको आम्दानी अहिले १३ सय ७८ अमेरिकी डलर पुगेको छ । एउटा परिवारमा सामान्यतया पाँच जना सदस्य हुन्छन् । एक व्यक्तिको आम्दानी करिब एक लाख ४० हजार रुपैयाँ हुनआउँछ । पाँच जनको एकै ठाउँमा हिसाब गर्दा सात लाख हुन आउँछ । यतिठूलो आम्दानीले त सबै धनी हुनुपर्ने होइन र ? अहँ, यो पनि हुँदोरहेनछ । किनभने करिब ३१ प्रतिशत जनता गरिबीको रेखामुनी रहेका छन् र अधिकांश जनताको जीवनस्तर उच्च हुनुको सट्टा खस्कँदै गइरहेको अवस्था छ ।

यी तथ्यांक भनेका सालाखाला हुन् । यसले के देखाउँछ भने थोरै नेपाली धेरै धनी छन् र धेरै नेपाली धेरै नै गरिब छन् । उनीहरूले आर्जन गरेको धेरै आम्दानी केही नहुनेको टाउकामा जोडेर हिसाब गरिन्छ । अनि प्रत्येक नेपालीको आम्दानी अमेरिकी डलर १३ सय ७८ पुग्दोरहेछ । त्यस्तै गरेर अरुले लिएको ऋण पनि गरिबको शिरोभार हुँदोरहेछ । त्यस कारण हामी धनी भएर पनि गरिब हुनपुगेका रहेछौँ । हामी धनी हुनलाई त हाम्रो जीवनस्तरमा सुधार आउन पर्दोरहेछ । जीवनस्तरमा सुधार नआई भएको विकासको आँकडाको केही अर्थ हुँदोरहेनछ ।

विकास गर्नको लागि त गरिबीको दुश्चक्रलाई तोड्न सक्नुपर्ने हुन आउँछ । यसको लागि आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्दछ । उत्पादनमा वृद्धि भए पछि बचत गर्न सकिन्छ । बचत भएपछि त्यो रकम लगानी गर्न सकिने भइहाल्यो । लगानीबाट पुनः आम्दानी गर्न सकिन्छ । यसरी आम्दानी गरेर प्राप्त गरेको बचत रकम पटक–पटक लगानी गरेर आम्दानी गर्न सकिने हुँदा गरिबीको दुश्चक्रलाई तोड्न सकिन्छ । विकास गर्ने भनेको यसरी नै हो ।

हाम्रो शासकीय प्रणालीले विकासको मोडल तलदेखि माथि गर्दै जाने भने पनि त्यो हुनसकेको छैन । स्थानीय तहमा सञ्चालन गरिने कतिपय योजनाहरू स्थानीय जनताको आवश्यकता र चाहनाअनुसार तर्जुमा हुन सकेका छैनन् । केन्द्रबाटै लादिएका देखिन्छन् । तल्ला तहका भुइँमान्छेको लागि तलैबाट माथि सर्दै विकास जानुपर्ने हो तर माथि विकास भइसकेपछि तल झर्दै जाने ट्रिकल डाउन विकासले कहिले विकास होला र ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्