Techie IT
२३ साउन २०७९, सोमबार

काठमाडौंमा हैजाको त्रास


काठमाडौं । नेपालमा वर्षेनी गर्मी र वर्षाका बेला हैजाको बिरामी फेला परेको समाचार सुनिन्छ । यो वर्ष पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गतसाता राजधानी काठमाडौंमा एक व्यक्तिलाई हैजाको संक्रमण भएको पुष्टि गरेको छ । हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । गर्मी बढेसँगै राजधानीमा पानीको अभाव देखिने गरेको छ । हैजाको बिरामी फेला परेपछि यो रोगको प्रकोप फैलिन्छ कि भन्ने त्रास छ  ।

हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । नेपाली बृहत् शब्दकोशमा यसलाई तारन्तार दिसा र वमन भइरहने एक संक्रामक रोग भनेर लेखिएको छ । यसका लक्षणहरू कुनै पनि नदेखिनेदेखि मध्यम हुँदै गम्भीरसम्मका हुन्छन् । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्नु यस रोगको प्रमुख लक्षण हो । बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ । हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ । यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् ।

हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ । राम्रोसँग नपाकेको समुद्री खाना (सी फुड) यो ब्याक्टेरियाको मुख्य स्रोत हो । हैजाले मानिसहरूलाई मात्र असर पु-याउँछ । सरसफाइको अभाव, सफा पिउने पानीको अभाव तथा गरिबीले यसको जोखिमलाई बढाउने गर्दछन् । त्यस्तै समुद्री सतह बढ्यो भने पनि हैजाको संक्रमणदर बढ्छ भन्ने विश्वास गरिन्छ । दिसाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ ।

हैजा गम्भीर खालको झाडापखाला हो । समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ  । भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ । अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि वर्षेनी १३ लाखदेखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ । हैजाका कारण वर्षेनी २१ हजारदेखि एक लाख ४३ हजार मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ । हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ । गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ  । अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्वपूर्ण हुन्छन् । विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ ।

अन्य झाडापखालाझैँ हैजा हुँदा पनि पातलो दिसा र बान्ता हुन्छ । तर हैजा लागेको व्यक्तिले तारन्तार पातलो चौलानी पानीजस्तो दिसा गर्ने र वमन गर्ने चिकित्सकहरूको भनाइ छ । जसका कारण छिट्टै शरीरमा जलवियोजन हुने खतरा हुन्छ त्यसैले शरीरमा पानीको मात्रा कम हुन दिनुहुँदैन र दिसा नरोकिए तुरुन्त अस्पताल जानु बेस हुन्छ, जलवियोजनका कारण मांसपेसी बाउँडिने पनि उनी बताउँछन् । सामान्य झाडापखाला लागेको र एक/दुई पटक दिसा भएको हो भने त्यो व्यक्तिले घरमै जीवनजल खाएर स्वास्थ्य अवस्था कस्तो हुन्छ त्यो विचार गर्नुपर्ने हुन्छ । तर तारन्तर चौलानी पानीजस्तो पातलो दिसा भयो भने नजिकैको स्वास्थ्य चौकी जाने सुझाव चिकित्सकहरूको छ । यसको उपचारका लागि शरीरबाट घटेको पानी तथा लवण तत्व सेलाइनमार्फत दिइन्छ र एन्टिबायोटिकको पनि प्रयोग हुन्छ ।

हैजाको जीवाणुले सानोआन्द्रामा आक्रमण गर्छ । गर्मी र वर्षाको समयमा पानीको स्रोतमा हैजाको जीवाणु मिसिन पुग्यो भने दूषित पानी पिउने मानिसमा यो रोगको संक्रमण हुन सक्छ । दूषित पानी प्रयोग भएको खाद्य पदार्थबाट पनि यो सर्न सक्छ । त्यसैले पानी उमालेर तथा खाद्य पदार्थ राम्ररी पकाएर खान चिकित्सकहरू सल्लाह दिन्छन् । हैजा लागेको व्यक्तिको दिसा पानीमा पुग्यो ब्याक्टेरियाले पानी दूषित हुन्छ र त्यो पानी पिउने मानिसमा सर्छ । त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

हैजा र अन्य पानीजन्य सरुवा रोग रोकथाम गर्न खानेपानीको स्रोत सफा राख्न आवश्यक छ । खानेपानीका साथै ढल व्यवस्थापन गर्न पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । सबै व्यक्तिले एउटै स्रोतको पानी प्रयोग गर्ने तथा ढल र शौचालयको व्यवस्थित उपाय नभएको ठाउँमा हैजाले महामारीको रूप लिनसक्ने सम्भावना बढी हुने बताइन्छ । यसका साथै व्यक्तिगत सरसफाइमा पनि ध्यान दिनु आवश्यक भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।  खाना खानुअघि, खाएपछि, फोहर चलाएपछि र शौचालय गएपछि साबुनपानीले हात धुने बानी बसाल्दा यो रोगको नियन्त्रण गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले हैजा फैलन नदिन बचाउ तथा सुरक्षा, तयारी र प्रतिक्रियामा केन्द्रित हुन सिफारिस गरेको छ । संगठनले हैजामाथि निगरानी राख्ने प्रणालीको व्यवस्था गर्न जोड दिएको छ । हैजाले मानिसलाई मृत्युको मुखमा पु-याउन सक्ने भए पनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ । विकसित देशहरूमा साधारणतया सरसफाइ तथा विश्वव्यापी सुधारिएको पानी उपचार विधि अपनाइने हुनाले हाल हैजा मुख्य स्वास्थ्य समस्याको रूपमा रहेको छैन ।

अझै पनि धेरै स्थानमा खानेपानी र ढलको व्यवस्थापन तथा व्यक्तिगत सरसफाइको स्थिति चित्तबुझ्दो नभएकाले काठमाडौंबाहिर पनि हैजाको फैलन सक्ने सम्भावना रहेको बताइन्छ । देशका कतिपय स्थानमा झाडापखालाको कारण पत्ता लगाउन राम्रा प्रयोगशाला नभएको भएकाले हैजा हो कि हैन त्यो पत्ता लगाउन गाह्रो भएको देखिन्छ । हैजाका देखिएका ठाउँमा त्यो जीवाणु भएको स्रोत पत्ता लगाएर त्यसको व्यवस्थापन गर्नु सबैभन्दा उचित उपाय मानिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्