Techie IT
२३ साउन २०७९, सोमबार

बढ्दो व्यापारघाटाको पिरलो


काठमाडौं । नेपालमा हाल सार्वजनिक ऋणको ब्यारोमिटर उच्च रहेको छ । यसरी हेर्ने हो भने चालू आर्थिक वर्षको ११ महिनामा व्यापारघाटा बढेर करिब १६ खर्ब पुगेको छ । यसर्थ दिनप्रतिदिन आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापारघाटा बढ्दै गएको हो । यसको साथसाथै भन्सार विभागले हालसालै प्रकाशित गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि जेठ महिनासम्ममा व्यापारघाटा २५ प्रतिशतले बढेर १५ अर्ब ७७ अर्ब ३८ करोड ६० लाख ७८ हजार रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष सो अवधिमा व्यापारघाटा १२ खर्ब ६२ अर्ब ११ करोड नौ लाख ६५ हजार रुपैयाँ रहेको थियो । यसर्थ मुलुकमा विगत चार वर्षमा सार्वजनिक ऋण डेढ सय प्रतिशतले बढेको भन्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको साथसाथै आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ थियो । यो सोही अवधिको कुल गार्हस्थ्य उत्पादनको २२ दशमलव ७ प्रतिशत हो । त्यसरी नै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४० दशमलव ५ प्रतिशत पुगेको छ । यसलाई सरसर्ती हेर्ने हो भने जीडीपीका हिसाबले यो हालसम्मकै उच्च अंक हो । यसमा भन्ने हो भने विगत सरकारले अनुत्पादक क्षेत्रमा धेरै रकम खर्च गरेकाले कारणले गर्दा सार्वजनिक ऋण बढेको हो भनेर धेरै अर्थ विश्लेषकहरूले बताउँदै आएका छन् । फलतः भन्सार विभागको पछिल्लो तथ्यांकले ११ महिनाको अवधिमा आयात २७ दशमलव ५ प्रतिशतले बढेर १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँ भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँ आयात भएको थियो । ११ महिनाको अवधिमा निर्यात भने ५३ दशमलव ३ प्रतिशतले बढेर एक खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँ पुगेको विभागको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ रुपैयाँको निर्यात भएको थियो । गत आर्थिक वर्षको यही अवधिमा यो व्यापारघाटाको आँकडा आठ खर्ब रुपैयाँभन्दा केही बढी थियो । मुख्यतया पट्रोलियम पदार्थ डिजेल, पेट्रोल तथा खाना पकाउने एलपीजी ग्यास आयातमा उच्च हुँदै गएको छ । यो ११ महिनाको अवधिमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । यसरी सरसर्ति हेर्ने हो भने दुई खर्ब ८१ अर्ब ६१ करोड ७४ लाख ४३ हजार रुपैयाँबराबरको (पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र ग्यास) आयात भएको छ । यस्तै सो अवधिमा ७० अर्ब १२ करोड ६२ लाख पाँच हजार रुपैयाँको खाद्यान्न आयात भएको विभागको तथ्यांक छ । देशले विभिन्न एक सय ६६ देशमा वैदेशिक व्यापार आयात–निर्यात गर्ने गरेको छ । ती मुलुकमध्ये एक सय ४१ देशसँग व्यापारघाटा र २५ देशमा नाफा रहेको छ । अफगानस्थान, अल्जेरिया, अजरबैजान, बरबुन्डा, कंगो, डेनमार्क, फिजी आइसल्यान्डलगायतका देशमा व्यापार नाफामा रहेको छ । त्यस्तै, यस अवधिमा एक खर्ब ८५ अर्ब ८३ करोड ७० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा एक खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।

मुलुकको व्यापारघाटाले नेटो काटेको छ । यसरी वर्षेनी पेट्रोलियम पदार्थको आयात बढिरहेको छ । फलतः जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रूपान्तरणको प्रमुख आधारको रूपमा रहेको कृषि नेपालको अर्थतन्त्रको एक प्रमुख क्षेत्रको रूपमा रहँदै आएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र कृषिलाई उत्थानशील अर्थतन्त्रको प्रमुख आकारको रूपमा विकास गर्न सकिन्छ । देशमा दुई तिहाइ जनता अझै पनि कृषि पेसामा संलग्न छन् । विडम्बना के रहेको छ भने कृषिप्रधान देशमा कृषिजन्य वस्तुको आयात उच्चदरमा बढिरहेको छ । यसरी पछिल्लो दुई दशकको अवधिमा मुलुकको सार्वजनिक ऋण जीडीपीको २० प्रतिशतको हाराहारीमा थियो तर दुई/तीन वर्षयता ऋण ह्वात्तै बढेर ४० प्रतिशतको हाराहारीमा पुगेको छ । अर्थतन्त्र कमजोर भएको बेला ऋण धेरै तिर्नु पनि घातक हुन्छ । हाल हाम्रो सार्वजनिक ऋण प्रत्येक नेपालीको टाउकोमा ५६ हजार आठ सय ४२ पुगेको छ । जुन भोलिका दिनमा अझ बढ्ने निश्चितप्रायः छ । यसप्रति शासकले बेलैमा सचेत रहनुपर्ने देखिन्छ ।

नेपालको पछिल्लो समय व्यापारघाटा अस्वाभाविकरूपमा बढेको छ । सो विभागका अनुसार कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य पाँचवटा नाकाबाट मात्रै ८० प्रतिशत बढी आयात निर्यात हुनेगरेको छ । भन्सार विभागले प्रकाशित गरेको तथ्यांकमा वीरगञ्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर भन्सार र वीरगन्ज सुख्खा बन्दरगाह भन्सार नाकाहरूबाट सबैभन्दा धेरै सामान तथा वस्तुहरू आयात र निर्यात भएको थियो । जसमध्ये सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुने उत्कृष्ट भन्सारमा वीरगञ्ज भन्सार नाका पहिलो नम्बरमा रहेको छ । यसैगरी, दोस्रो स्थानमा रहेको भैरहवा नाकाबाट बितेको ६ महिनाको अवधिमा झण्डै दुई खर्ब रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । जुन कुल आयातको १६ दशमलव २५ प्रतिशत हो ।

सोही अवधिमा भैरहवा नाकाबाट ३९ अर्ब ५० करोड ४० लाख ८१ हजार रुपैयाँ रकमबराबर सामान निर्यात भएको थियो । जुन कुल निर्यातको ३ दशमलव ३२ प्रतिशत हो । यसरी नै तेस्रो नम्बरमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाकाबाट बितेको ६ महिनाको अवधिमा एक खर्ब २४ अर्ब रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १२ दशमलव ४० प्रतिशत हो । सोही अवधिमा यस भन्सार नाकाबाट कुल १६ अर्ब ८० करोड रुपैयाँबराबरको सामान तथा वस्तु निर्यात भएको थियो । जुन कुल निर्यातको १४ दशमलव १४ प्रतिशत हो ।

चौथो नम्बरमा रहेको विराटनगर भन्सार नाकाबाट सो अवधिमा कुल एक खर्ब १६ अर्ब रुपैयाँबराबरको सामान तथा वस्तु आयात भएको थियो । यो कुल ११ दशमलव ५९ प्रतिशत हो । सो अवधिमा सामान निर्यातमा दोस्रो स्थानमा भने विराटनगर रहेको छ । यस नाकाबाट ३३ अर्ब ३८ करोड रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो । यो कुल निर्यातको २८ दशमलव ८ प्रतिशत हो । सो अवधिमा सबैभन्दा धेरै वस्तु तथा सामान आयात गर्ने उत्कृष्ट पाँचौँ स्थानमा वीरगन्ज ड्राइपोट रहेको छ । यस ड्राइपोट भन्सार नाकाबाट सो अवधिमा एक खर्ब १० अर्ब रुपैयाँबराबरको वस्तु तथा सामान आयात भएको थियो । यो कुल आयातको १० दशमलव ९६ प्रतिशत हो ।

त्यसैगरी, निर्यातको आधारमा उत्कृष्ट चौथो स्थानमा मेची भन्सार नाका रहेको छ । सो समयमा मेची भन्सार नाकाबाट पाँच अर्ब २१ करोड रुपैयाँबराबरको सामान निर्यात भएको थियो । यो कुल निर्यातको ४ दशमलव ३२ प्रतिशत रहेको भन्सार विभागले जनाएको छ । यस नाकाबाट सो अवधिमा कुल आयातको ३४ दशमलव ८० प्रतिशत आयत तथा कुल निर्यातको ४७ प्रतिशत निर्यात भएको छ । देशको आयातको वृद्धिदर उच्च हुनु र निर्यातको वृद्धिदर न्यून हुनु नै व्यापारघाटाको अवस्था हो । जसले गर्दा बढ्दो उपभोग प्रवृत्ति तथा आर्थिक गतिविधिका कारण वस्तु आयात उच्चदरमा बढेपछि व्यापारघाटा चुलिएको हो ।

गत आर्थिक वर्षको छ महिनामा भएको कुल निर्यातको तुलनामा ५४ दशमलव ८६ प्रतिशत अर्थात् एक खर्ब १८ अर्ब १८ करोड रुपैयाँको वस्तु निर्यात गरेर पनि हाम्रो व्यापारघाटा कम गर्न सकिएन । आयात भएका वस्तुमध्ये सबैभन्दा बढी छ महिनामा एक खर्ब ५३ अर्ब रुपैयाँको धुवाँ भएर उड्ने वस्तु पेट्रोलियम पदार्थ रहेको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रणात्मक प्रावधान ल्याएको भए पनि त्यसको प्रभाव व्यापारघाटा कम गर्ने देखिएन ।

समग्रमा भन्नुपर्दा निर्यातको अंश सानो हुँदा वृद्धिले पनि ठूलो प्रभाव भने पार्न सकेको छैन । यसरी तुलनात्मकरूपमा बढी स्वदेशी सीप तथा कच्चापदार्थमा आधारित गलैँचा तथा जुटबाट बुनिएका लगायतका कपडाको निर्यात निकै कम मात्रामा भएको देखिएको छ । आर्थिक वर्ष समाप्त हुन बाँकी अबका केही दिनमा सम्भव भएसम्म निर्यातमा बढी जोड र आयातमा कडाइ गर्ने नीति अर्थतन्त्रका लागि लाभदायक हुनेछ । यतिबेला हाम्रो अर्थतन्त्र सार्वजनिक ऋण र व्यापारघाटाले थलिएको छ । भारतपछि यसरी धेरै मात्रामा आयात चीनबाट भएको छ । यसरी सरकारी तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकबाट जम्माजम्मी ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको थियो । यसरी निर्यातको दाँजोमा आयातदर वृद्धि हुँदा अहिले नेपालको व्यापारघाटा थप चुलिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्