Techie IT
१२ असार २०७९, आईतबार

पर्यटन : हाम्रो चासो


काठमाडौं । परिचय : हिजोआज सबैको मुखमा सुनिन्छ, पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि । टुरिजम वास्तवमा फ्रेन्च शब्द हो । १९औँ शताब्दीदेखि यस शब्दले बढी प्रश्रय पाएको हो । पर्यटक भनौं वा टुरिस्ट शब्द लेटिन भाषा हो । कुनै कामको सिलसिलामा, कुनै उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो । पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन् । पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन् । डब्लुटीओको परिभाषाअनुसार स्वदेश वा अर्को देशमा बिदा, विजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समयावधि भने एक दिनदेखि सय दिनसम्मको बसाइ उद्देश्य राखी भ्रमण गर्नेलाई पर्यटक भनिन्छ ।

दैवी भूमि नेपाल : संसारकै आकर्षक देश हो नेपाल, यस कारण कि यो वैदिक र देवभूमि हो । संसारको शिरोभाग अन्यत्र कहीँ नभएको स्वयं प्राकाट्य शम्भुको स्थल पशुपतिनाथ अनि श्रीशिवको विचरण क्षेत्र साथमा देवी गौरीको उद्गमस्थल छ र त यहाँ विश्वकै शिर सगरमाथा र गौरी शंकर हिमाल रहेको छ, जहाँको स्पर्श नपाएसम्म संसारका कुनै मानिसले अभय प्राप्त गर्न सक्दैनन् र यहाँको भ्रमण गर्न लालयित हुन्छन् । शाब्दिक अर्थले नै सगरमाथा भन्नाले संसारको शिर भन्ने बुझिन्छ ।

सगरमाथालाई अंग्रेजी भाषामा गडेज अफ् द स्काइ, गडेज अफ् द अर्थ्, देवढुंगो, गौरीशंकर हिमाल आदिले पुकारियो पहिले, तर पछि गौरीशंकर हिमाल उही रेन्जमा अर्को रहेकाले सगरमाथाको नाम भने विदेशीहरूले चोमोलुङ्मा भन्न थाले भने पहिलेदेखि हाम्रो भाषा पनि नेपांग्रेज भइरहेको दुई सय वर्ष छिमेकी भारत, ब्रिटिस इन्डिया कम्पनी सरकार चलेको र त्यहाँको प्रभाव हामीकहाँ कतै न कतै अध्ययन अनुसन्धानको क्रममा परेको देखिन्छ ।

सन् १८२३ देखि १८४३ सम्म भारतीय नापी नक्साका प्रमुख भई काम गरे बेलायती नागरिक जर्ज एभरेष्टले । सेवानिवृत्त जीवनपछि सन् १८५६ मा उनकै नामबाट यहाँका इतिहासकारले राखेको नाम सगरमाथालाई माउन्ट एभरेस्ट भनिन लाग्यो । तिब्बती सिमानाको सगरमाथा राजनीतिक हिसाबले नेपालको हुने भएपछि विश्वमा हालसम्मको अध्ययनमा आठ हजार मिटरभन्दा अग्लो हिमाल १४ वटा भएको र १४औँ अग्लो हिमाल भने सिसापाँग्मा जसको उचाइ आठ हजार २७ मिटर छ । त्यो तिब्बतको हुने घोषणा गरियो । साबिकमा आठ हजार आठ सय ४८ मिटर अग्लो रहेको सगरमाथालाई भने पछिल्लो नापपछि शून्य दशमलव ८६ मिटर थप गरी जम्मा आठ हजार आठ सय ४८ दशमलव ८६ मिटरको उचाइ मापन गरिएको छ ।

विश्वका १४ वटा अग्ला हिमालहरू एसिया महादेशका हिमालय रेन्जमा छन्, पश्चिमदेखि पूर्वतिर फैलिएका यीमध्ये एक तिहाइ नेपालमै छन् संख्यामा आठवटा । सर्वोच्च शिखर सगरमाथा शिखरको चुम्बन पहिलो श्रेय सन् १९५३ मे २९ का दिन न्यूजिलैन्डका एड्मन्ड पार्सिकल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पालाई जान्छ । भागवतमा सृष्टिको आद्योपान्त वर्णन गरिएको छ, भूगोल, खगोल, लोकालोक, ग्रहगति, ग्रहमण्डल, रसातल, पाताल आदि समेत ।

नमिलेको भूगोललाई पृथु राजाले मिलाए, त्यसपछि धर्तीको नाम पृथ्वी भयो, यो देवताको पृथु अवतार थियो, ठूला सात समुद्र, दक्षिण समुद्रमा रहेको पानीको दबाबले उत्तर अग्लिने क्रममा ठूला हिमालयहरू बने । सूर्यको तापले पानी माथितिर खिच्छ र भूमिमा बादलले जल वर्षा गराउँछ । संसार समथर गराउने क्रममा ऊर्जा सन्तुलन चिसो र तातो मिलाउने क्रममा पहाडहरू समथर हुन सकेनन्, यो प्रकृतिको देन र नियम थियो, अहिले पनि कुनै क्षेत्र मरुभूमि, समुद्रले घेरिएको वा अग्ला हिमालले शोभा दिएको अवस्था छ, आफूले नपाएको सौन्दर्य खोज्दै उही भूगोलका वासीहरू पर्यटकका नामले यत्रतत्र भ्रमण गर्नेगरेका छन्, अहिलेजस्तो राजनीतिक सीमांकन र फरक देशको धारणा पहिले थिएन, सबैजसो हालका देशहरूको नामकरण पछिल्लो समयमा मात्रै भएको हो ।

हिमालको विशिष्टीकरण : साबिकमा विशिष्टीकरण भएका १४ हिमालय क्षेत्रमा अध्ययन अनुसन्धानको क्रममा अरु छवटा थपिने क्रममा रहेका छन् । आठ हजार मिटर कमको बढी उचाइको हिमाल सिसापाँग्मा हो । विश्वको दोस्रो अग्लो हिमालको उचाइ आठ छ सय ११ मिटर के २ काराकोरम भने पाकिस्तानमा छ । तेस्रो कन्चनजंगा आठ हजार पाँच सय ८६ मिटर भारतको दार्जलिङ अनि हाम्रो ताप्लेजुङ सिमानामा पर्छ यो हिमालमा पहिलो पल्ट बेलायतका पर्वतारोही दुई जना जर्ज ब्यान्ड र जो ब्राउनले गरे । चौथो अग्लो हिमाल हो ल्होत्से आठ हजार पाँच सय १६ मिटर अग्लो, सन् १९५६ मे १८ मा स्वीट्जरलैण्डका दुई जना पर्वतारोही फिट्ज लुसिँगर र अर्नेस्ट रेइष्टले आरोहण गरे । पाचौँ मकालु आठ हजार चार सय ६३ मिटर छ, छैटौँ चोयु हिमालको उचाइ आठ हजार दुई सय एक मिटरको रहेको र यसमा पहिलोपल्ट पासाङ दावा शेर्पाले आरोहण गरे ।

सातौँमा परेको धवलागिरी हिमालको उचाइ आठ हजार एक सय ६७ मिटर छ, आठौँ मनास्लु आठ हजार एक सय ६३ मिटर को छ । नवौँ नाँगापति आठ हजार एक सय २६ मिटरको पाकिस्तानमै रहेको छ भने दसौं आठ हजार ९१ मिटर अग्लो हिमाल अन्नपूर्ण एक हो, एघारौँमा परेको आठ हजार ८१ मिटर अग्लो गासेर ब्रुम हिमाल पाकिस्तानमै रहेको छ । त्यति मात्रै नभएर बाह्रौँ आठ हजार ५१ मिटर अग्लो हिमाल ब्रोड पिक र तेह्रौँ अग्लो हिमाल आठ हजार ३५ मिटर अग्लो गासेर ब्रुम २ पनि पाकिस्तानमै पर्छ । पछिल्लो १४औँ अग्लो हिमाल सिसापाँग्मा तिब्बत र नेपालका बीचमा पर्ने र उचाइ आठ हजार २७ मिटर प्रमाणित छ ।

यो वर्षको गतिविधि : अन्तर्राष्ट्रिय रूपमा उठेको कारोनाको मुस्लोका कारण भिजिट् इयर ट्वान्टी–ट्वान्टी मनाउन सकिएन, गत वर्ष पनि पर्यटन विकासमा खासै उपलब्धि भएन । यस वर्षको हिमाल भनौँ वसन्त आरोहण सुरु भएको छ । नयाँ वर्षको वसन्त आगमनसँगै यसै वैशाख २४ गते शनिबारका दिन शेर्पा आरोही समूहले सगरमाथाको शिखरमा डोरी टाँग्ने काम सम्पन्न गरेको छ । डोरी टाँग्ने क्रममा विश्व कीर्तिमान आरोही कामीरिता शेर्पाले २६सौँ पल्ट सगरमाथाको शिरमा पुगी आफ्नै कीर्तिमानलाई नयाँ कीर्तिमान कायम गर्दै सगरमाथा शिखर पुगेका छन् । संयोग नै भन्नुपर्छ गत वर्ष पनि अहिलेकै समय वैशाख २४ गते नै त्यहाँ डोरी टाँग्ने काम सम्पन्न भएको थियो । पर्यटन मन्त्रालयकै भनाइमा सो दिन ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविर पुगेका थिए । हालसम्मको आँकडाअनुसार ३९ आरोही समूहले यस वर्षको आरोहण अनुमति लिइसकेका छन्, जसमा महिला ७३ जना र पुरुष दुई सय ४३ संख्या गरी तीन सय १६ जनाले अनुमति लिएका छन् ।

हालसम्मको रोयल्टी ३९ करोड ५५ लाख भइसकेको र सगरमाथालगायत २५ अन्य हिमालको आरोहण गर्न एक सय १३ आरोही समूहका दुई सय महिला र सात सय १८ पुरुषसहित ९१८ जनाले अनुमति लिएका, रोयल्टी बुझाएका पर्यटन मन्त्रलयको दाबी छ । यस अर्थमा पर्यटन क्षेत्रबाट हामीले नियमित विदेशी मुद्रा आर्जन गर्न सक्छौँ । यस वर्ष सगरमाथाका अरोही समूह ३९, कन्चनजंघाको आरोही समूह सात, मकालु चार हजार आठ ६३ मिटरको आरोही समूह चार, धवलागिरीको आरोही समूह दुई, ल्होत्से हिमालको आरोही समूह १३, आमदब्लम छ हजार आठ सय १४ मिटर अग्लो हिमालको आरोही समूह नौ, अन्नपूर्णको आरोही समूह चार, नुप्सेको आरोही समूह सात गरी हिमाल तथा पिक आरोहणबाट हालसम्म यो वर्ष मात्रै ४७ करोड ९२ लाख रोयल्टी प्राप्त भएको देखिन्छ ।

सरकारको नारा : असोज ११, पर्यटन दिवस हो हाम्रो । कोरोना त्रासले भ्रमण वर्ष, पर्यटन दिवस विगत दुई वर्ष खल्लो भयो, २० लाखको पर्यटक संख्या आगमनको हाम्रो संख्या पुग्न मासिक डेढ लाखको आगमन हुनुपर्छ, पर्यटनको सम्भावना विश्वमै राम्रो छ हाम्रो । तथापि यसै क्षेत्रबाट पाँच वर्षभित्र नौ लाख मानिसलाई रोजगारी दिने सपना भने अधुरो छ । कीर्तिमानी आरोही, बिना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गर्दै विश्व कीर्तिमान कायम गर्ने सोलुका हिमचितुवा अर्थात् आँगरिता शेर्पाको दिवसको दिनअघि असोज ५ गते निधन, तीन वर्षअघि पर्यटन मन्त्रीका रूपमा रहेका रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनाबाट भएको निधन, पछिल्ला दिनहरूमा हवाइमार्गको सुस्तताले हाम्रो पर्यटन क्षेत्र माथि उठ्न सकेको छैन । स्वदेशी र विदेशी दुवैलाई बेस्सरी सताएको कोरोना समस्या अन्तर्राष्ट्रियरूपमा अहिले पनि उठ्न लागेको देखिन्छ, रुस युक्रेन वारको गन्ध सबैतिर फैलिएको अवस्था छ । यद्यपि भूकम्पका कारण ध्वस्त भएका पुरातात्विक संरचनाहरू भने उभिन थालेका छन् ।

काठमाडौंको धरहरा स्तम्भ, रानी पोखरी, पाटन, काष्ठमण्डप, भक्तपुर क्षेत्रका पुरातात्विक र पर्यटनका अकर्षण अन्य केन्द्रहरू उठ्न लागेका छन् । पशुपति क्षेत्रको विश्वरूपा, जयबागेश्वरी मन्दिर, भक्तपुरको चाँगु नारायण मन्दिर उठेको छैन, पर्यटनमा सम्झनुपर्ने अरु धेरै नामहरू छन्, गोरखा दरबार, मनकामना, नुवाकोट मात्रै होइन पर्यटकीयस्थलहरू देशैभरि छन्, हिमालबाहेक प्रकृतिको छटामा रमाउन सकिने भू–क्षेत्रहरू नेपालमा असंख्य छन् । आधुनिक युग पर्यटकीय युग हो । नेपाल पर्यटकीय गन्तव्यको केन्द्र नै होे । र पनि पर्यटन क्षेत्रमा संलग्न जनशक्तिको गुणस्तरीयतामा कमी छ यहाँ ।

र अन्त्यमा आएका पर्यटकलाई कुन विशेष क्षेत्रमा केन्द्रित गराउने, अधिकांशको रुचि के हो ? हाम्रो प्राथमिकता के हो ? बजार कुन हो ? यस विषयमा खासै चासो राखेको देखिँदैन । पर्यटकहरूलाई सन्तोष गराउने, उनीहरूको बसाइ अवधि लम्ब्याउने, उनीहरूबाट यहाँ बढीभन्दा बढी खर्च गराउने तरिकाहरू के हुन् ? तिनको पनि पहिचान हुन जरुरी छ, तर दुःख दिएर होइन, सुविधा बढाएर हो । पर्यटक भित्र्याउन गरिने पूर्वाधर विकासमा पनि हामी पछाडि छौँ । राम्रो सडक, खानेपानी, सरसफाइ, शौचालयको प्रबन्ध, धुवाँधुलोरहित यात्रा, दुर्घटनारहित र भरपर्दो सुरक्षा, उद्धारको ग्यारेन्टी पनि न्यूनतम आवश्यकताका विषयहरू हुन् ।

नेपालमा आउने पर्यटक भौतिक सुख सुविधाका लागि भन्दा पनि आध्यात्मिक शान्तिका लागि आउने हो । प्राचीन समयदेखि नै देश देवभूमि, वैदिक भूमि, पवित्र भूमि हो । यो अन्तर्राष्ट्रिय स्तरमा बुझाउनका लागि एकमात्र विश्वकै नमूना पूर्वीय धर्म–संस्कृतिको धरोहर देश भन्ने पहिचान देशले गुमाउनु हुन्न । भैरहवा विमानस्थल निर्माण मात्रैले यो अभियान पूरा हुँदैन । केही विदेशी कलाकारहरूको पूजा गर्दैमा पनि यो अभियानले सार्थकता पाउन सक्दैन । चीन, हङकङ, अमेरिका, युरोपसम्म अभियान भनौँ नाराको पहुँच पुगेको हो, तर हाम्रो वायु सेवाले युरोप यात्रा गर्न सकेको छैन । चिनियाँ भाषामा नेपालबारे प्रवर्द्धनात्मक कार्यक्रमहरू भएको हो, तर नेपाल आउने बुद्धिस्ट र तिनको बसाइ अवधि बढाउन सकिएको छैन । हाल पर्यटकको औसत बसाइ एक साताभन्दा पनि कम छ । बसाइ अवधि नबढाएसम्म र उनीहरूको औसत खर्च वृद्धि नगरेसम्म यहाँको राजस्वमा बढोत्तरी हुन्न । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्