Techie IT
१२ असार २०७९, आईतबार

श्रमको सम्मान र रणनीतिको कार्यान्वयन


काठमाडौं । नेपालको श्रम संस्कृतिका आफ्नै मौलिक विशेषताहरु रहेका छन् । श्रम र श्रमिकको सम्मान गर्ने संस्कार हाम्रो श्रम संस्कृतिमा अपेक्षित रुपमा स्थापित हुनसकेको छैन । परम्परागत रुपमा सदीयौँदेखि हामीले अपनाउँदै आएको र रुपान्तरित हुननसकेको विकृत श्रम संस्कृतिले मुलुकलाई समेत वर्षौँदेखि पछाडि धकेलिरहेको छ । यो स्थितिमा सुधार गर्दै काम गर्ने संस्कृति तथा श्रमको सम्मान हुने वातावरणको सृजना गर्न सरकारले नीतिगत, संस्थागत एवं कार्यक्रमगत रुपमा थुप्रै प्रयासहरु गर्दै आएको छ । तर, यस किसिमका व्यवस्थाहरुको कार्यान्वयनबाट श्रम संस्कृतिमा रुपान्तरण हुन् भने सकिरहेको छैन । यसै मेसोमा, नेपाल सरकारले हालसालै श्रम तथा श्रमिकको मर्यादा अभिवृद्धि तथा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने दीर्घकालीन सोचका साथ ‘श्रमको सम्मान, राष्ट्रको अभियानसम्बन्धी रणनीति, २०७८’ कार्यान्वयनमा ल्याएको छ ।

जातिका आधारमा कामको बाँडफाँट गरिएको नेपालको ऐतिहासिक पृष्ठभूमिमा उपलब्ध आन्तरिक रोजगारीका कतिपय अवसरमा सामाजिक प्रतिष्ठाका कारण युवाहरु आकर्षित हुने गरेका छैनन् । समाजमा कतिपय उत्पादनशील र रोजगारी एवं स्वरोजगारी सृजना हुने काम र त्यस किसिमका काममा संलग्न कामदारलाई समेत अत्यन्तै घृणाको दृष्टिले हेर्ने गरिन्छ । सैलुन चलाउने हजाम, डकर्मी, सिकर्मी, प्लम्बर, टेलर, पेन्टर, साइकल, मोटरसाइकल मर्मत गर्ने वर्कशपमा काम गर्ने मिस्त्रीजस्ता राम्रै आम्दानी हुने काममा संलग्न मानिसहरुलाई हेयको दृष्टिले हेरिने मात्र हैन बोलीचालीका क्रममा सामान्य आदरार्थी शब्दहरु प्रयोगमा समेत कञ्जुस्याइँ गर्ने गरिन्छ । सेफ्टी ट्यांकी सफाइ गर्ने स्विपर, माली, कुचीकारजस्ता काम गर्ने मानिसहरुलाई समाजले हेर्ने नजर त अझै घिनलाग्दो रहने गर्दछ ।

साइकलमा तरकारी, फलफूललगायतका दैनिक उपभोग्य सामग्री राखेर टोल–टोल घुमेर घरदैलोमै सेवा पु-याउने साना व्यापारीहरु हुन् वा घर, घर पुगेर पुराना कागज र प्लाष्टिकका सामान संकलन गर्नेहरु नै किन नहून्, यस्ता मानिसहरुलाई पनि समाजमा सम्भ्रान्त कहलिएकैहरुले हेप्ने र घृणा गर्ने गरेका दृश्य दैनिकजसो देख्न पाइन्छ । समाजले उछितो काढ्ने यस्ता श्रमप्रधान कार्यको सूची लामै बन्नसक्छ । यद्यपि, सामाजिक रुपमा निकृष्ट कोटीमा राखिरहेका यस्ता कामहरुबाट समाजको घृणा सहेरै पनि धेरै मानिसहरुले जीविकोपार्जन गरिरहेका पाइन्छन् । हाम्रो परम्परागत समाज र विकृत श्रम संस्कृतिले न त यस्ता मानिसहरुले गर्ने श्रमको सम्मान गर्न जानेको छ न हाम्रो बेरोजगार युवापुस्ताले यस किसिमको काम गर्ने कल्पना गर्न नै । आन्तरिक रोजगारीका क्षेत्रमा देखिनेगरेको यस किसिमको सामाजिक प्रतिष्ठा र व्यवधानकै कारण लाखौँ युवाहरु बाध्य भएर रोजगारीका लागि विदेशिने गरेका छन् ।

हाम्रो सामाजिक परिवेशमा सानो बच्चादेखि नै अभिभावकहरुले विभिन्नखाले श्रम गर्ने मानिसहरुलाई गर्ने निकृष्ट व्यवहारका कारण बाल मस्तिष्कबाटै कतिपय उत्पादनशील कामहरु पनि घटिया वा तल्लो दर्जाका काम हुन् भन्ने मानसिकता विकास हुने गरेको छ । यस्ता कामलाई पेशाका रुपमा अंगालोमा तुच्छ र अपहेलित बनिने डरले बच्चादेखि नै घर गरिरहेको हुन्छ । फलस्वरुप, अरबी मुलुकहरुको तातो गर्मीमा गएर ‘थ्रिडी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट काम गर्न तयार हुने तर, देशभित्र यसकिसिमका उत्पादनशील काम गरेर जीविकोपार्जन गर्ने सोेचसम्म बनाउन नसक्ने संस्कृति युवापुस्तामा झाँगिएको छ । यही कारण, कतिपय परम्परागत पेशाहरु लोप भइसकेका छन् । कृषिजस्तो उत्पादनशील पेशाप्रति युवापुस्ताको विकर्षण यति बढिसकेको छ कि पढे–लेखेका युवापुस्ताहरु बरु बेरोजगार नै बस्न तयार छन् तर, कृषि, पशुपालनजस्ता पेशालाई जीविकोपार्जनको आधारका रुपमा अंगाल्न कुनै हालतमा तयार छैनन् ।

एकातिर, रोजगारी र स्वरोजगारीका धेरै क्षेत्र एवं पेशालाई यस किसिमले हेला गरिन्छ भने अर्कोतिर बेरोजगारी समस्या वर्षेनी बढ्दो क्रममा रहेको छ । देशको श्रम बजारमा वार्षिक रुपमा पाँच लाख १२ हजारभन्दा बढी श्रमशक्तिको प्रवेश हुने सरकारी अनुमान छ । यीमध्ये वार्षिक ५० हजार हाराहारी अर्थात् उपलब्ध श्रमशक्तिको करिब १० प्रतिशतलाई मात्र मुलुकी अर्थतन्त्रले जेनतेन रोजगार बनाउने सामथ्र्य राख्छ । बाँकी रहन आउने साढे चार लाखभन्दा बढी युवाहरु वैदेशिक रोजगारीको भर पर्नुपर्ने नत्र बेरोजगार बन्नुपर्ने बाध्यात्मक अवस्था छ । रोजगारीको दर खुम्चिरहेको छ भने वैदेशिक रोजगारी पनि पछिल्ला वर्षहरुमा आफैँमा समस्याग्रस्त बन्दै गएको छ । यसरी हेर्दा नेपालमा बेरोजगारी समस्या वर्षेनी तीव्रतर रुपमा बढ्दो क्रममा रहेको मात्र हैन, मुलुकी अर्थतन्त्रका लागि एउटा विकराल चुनौतीकै रुपमा देखापरेको छ । देशभित्र समाजले उत्कृष्ट ठहराएका र सम्मानजनक भनेर ‘ट्याग’ लगाएका रोजगारीका क्षेत्रहरु अत्यन्त सीमित छन् र यीबाहेकका रोजगार बजारमा उपलब्ध रोजगारी ग्रहण गर्नुअघि समाजले के भन्छ भनेर सोच्नुपर्ने बाध्यताका कारण आम युवापुस्ता जुन कुनै क्षेत्रमा रोजगार बन्नबाट हच्किरहेको देखिन्छ । यस किसिमको सामाजिक परिवेशका कारण बरु, युवाहरु बेरोजगार बन्दा उतिसारो टाउको नदुःखाउने हाम्रो समाजले देशमा उपलब्ध जुन कुनै किसिमका रोजगारीलाई अंगाल्न पनि दिइरहेको हुँदैन ।

नेपालको श्रम संस्कृतिमा विद्यमान यिनै यथार्थहरुका बीचमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमको सम्मान, राष्ट्रको अभियानसम्बन्धी रणनीति हालसालै जारी गरेको छ । मुलुकको श्रम तथा रोजगारीका क्षेत्रमा न्यूनतम मानवीय मर्यादालाई कायम राख्न काम तथा श्रमिक प्रतिको धारणामा व्यावहारिक परिवर्तन ल्याउने र श्रम तथा रोजगारीका क्षेत्रमा सबै प्रकारका भेदभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ रणनीति जारी भएको हो । रणनीतिले निर्दिष्ट उद्देश्य प्राप्तिका लागि विभिन्न कार्यनीतिहरु तय गरेको छ । श्रमिकको सम्मानसम्बन्धी सचेतनामूलक अभियान कार्यक्रम सञ्चालन गर्ने, समाजमा विशिष्ट व्यक्तित्वलाई परिचालन गरी श्रमिकको सम्मान गर्ने र भेदभाव गर्न नहुने विषयलाई सञ्चार गर्नेजस्ता कार्यनीति रणनीतिको दस्तावेजमा उल्लेख भएका छन् । यसैगरी, शैक्षिक, प्राज्ञिक क्षेत्रका पाठ्यक्रम तथा मोड्युलमा काम गर्ने संस्कृति तथा श्रमिकको सम्मान गर्ने विषय समावेश गर्न नीतिगत पहल गर्ने, बालश्रमलगायतका सबै प्रकारका शोषण हटाउने अभियान शोषण रहित श्रमिक’ सञ्चालन गर्नेलगायतका विषय पनि रणनीतिमा समेटिएका छन् ।

सम्मानपूर्वक जीवनयापन गर्न पाउने नागरिकको संवैधानिक अधिकारलाई श्रम तथा रोजगारीका क्षेत्रमा सुनिश्चित गर्न नीतिगत नियमन तथा अनुगमन गर्ने, जीवनोपयोगी सीप विकासका कार्यक्रम सञ्चालन गर्ने तथा परामर्श सेवा उपलब्ध गराउनेजस्ता कार्यनीतिहरु हालै जारी भएको रणनीतिले तय गरेको छ । रणनीतिले आफ्नो उद्देश्यप्राप्तिका लागि अन्तर्तह, अन्तर्निकाय र निजी क्षेत्रसँग बहुपक्षीय साझेदारी र समन्वय कायम गर्ने व्यवस्था समेत गरेको छ । श्रमको सम्मानलाई अभियानकै रुपमा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवको संयोजकत्वमा संघीय रणनीति निर्देशक समितिको संस्थागत व्यवस्था समेत रणनीतिमा गरिएको छ ।

श्रमको सम्मान गर्ने विषय अन्तर्सम्बन्धित विषय भएकोले मुलुकको समग्र आर्थिक अवस्था, रोजगारीका क्षेत्रमा हुने विकास, विस्तार एवं काम र श्रमिकप्रतिको धारणाले यसलाई प्रत्यक्ष असर पारेको हुन्छ । काम र श्रमिकप्रति समाजको मूल्यमान्यता र धारणामा समयसापेक्ष परिवर्तन भएमा मात्रै नयाँ पुस्ता आन्तरिक रोजगारीमा आकर्षित भई वैदेशिक रोजगारीको बाध्यतालाई न्यूनीकरण गर्न सकिन्छ । यो स्थितिमा हाल जारी भएको रणनीतिको प्रभावकारी कार्यान्वयन गर्दै श्रमको सम्मान गर्ने संस्कृति स्थापित गर्न यस क्षेत्रका थुप्रै सुधारहरु आवश्यक छन् । मुलुकको श्रम तथा रोजगारीका क्षेत्रमा न्यूनतम मानवीय मर्यादालाई कायम राख्न ठोस पहल गर्ने, मुलुकमा उपलब्ध रोजगारीका अवसरहरुमा सबै जाति तथा वर्गलाई समावेश गर्ने गरी सामाजिक चेतनाको अभिवृद्धि गर्ने, आन्तरिक रोजगारीको यथोचित व्यवस्थापनका लागि काम र श्रमिकको सम्मान हुने वातावरणको सृजना गर्नेजस्ता सुधारहरु आवश्यक छन् । यथार्थमा, वास्तविक श्रमिकलाई दोस्रो दर्जाको नागरिकका रुपमा हेर्ने गलत परिपाटीमा बदलाव नआएसम्म मुलुक समृद्धिको यात्रामा अघि बढ्न सक्दैन ।

श्रम नै त्यस्तो महत्वपूर्ण शक्ति हो जसले, श्रमिकको जीवनलाई सुखी र समृद्ध बनाउनुका साथै राष्ट्रनिर्माण र सामाजिक, आर्थिक रुपान्तरणको मार्गप्रशस्त गर्दछ । मुलुकमा विद्यमान श्रम संस्कृतिलाई बेलैमा सुधार गरी रुपान्तरित नगर्ने हो भने तीव्रतर रोजगारी सिर्जनाका चर्का नारा लगाएर मात्रै वर्षेनी विकराल ढंगले बढिरहेको बेरोजगारी समस्या हल हुनसक्ने अवस्था छैन । वैधानिक मान्यताप्राप्त सबै किसिमका श्रम र श्रमिकको सम्मान गर्ने वातावरण निर्माणका लागि सबै सरोकारवालाहरु एकजुट हुनसके श्रम संस्कृतिमा सुधार गर्न धेरै गाह्रो पर्दैन । बेलैमा यसो गर्न नसक्ने हो भने हाम्रो परम्परागत श्रम संस्कृतिले देशका लाखौँ युवापुस्ताहरुलाई दीर्घकालसम्मै बेरोजगारी, अर्धबेरोजगारी र परनिर्भरताको बाध्यात्मक चक्रव्यूहमा धकेलिरहने निश्चित छ । अतः सरोकारवाला सबै पक्षबाट कर्तव्य र दायित्वबोधसहित हाल जारी भएको रणनीतिको कार्यान्वयन हुनसके श्रमको सम्मान गर्ने संस्कृति स्थापित हुनसक्ने आशा गर्न सकिन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्