Techie IT
७ जेठ २०७९, शनिबार

आगलागी र चट्याङ : सरकारको चुनौती


काठमाडौं । विषय प्रवेश : यो लेख लेखिरहँदा काठमाडौँको शिरभाग शिवपुरीक्षेत्रमा डँढेलो लागिरहेको थियो । त्यसो त यो समस्या अघिल्लो वर्षमा पनि थियो, होस खुलेन हाम्रो । तीन तहको सरकार छ देशमा, पहिलो कार्यक्षेत्रमै पर्नुपर्ने हो स्थानीय सरकारको, यो नियन्त्रण कार्यमा । अहिले देशैभरि स्थानीय चुनावको सरगर्मी बढेको छ, अनकौँ मीठा र रसिला एजेण्डाहरू लिएर उम्मेदवारहरू चुनाव लड्दै छन्, विजयपश्चात् एजेण्डा बिर्सने यिनको रोग नै हो । सुक्खा मौसम फागुनदेखि जेठसम्मको याम भनेको आगलागीको उर्बर समय हो । भनौँ ८० प्रतिशत आगलागीका घटना यति बेला नै हुन्छन् । त्यसो त विगतलाई हेर्दा चैत र वैशाखमै ६० प्रतिशत आगलागी हुने गरेको छ देशमा । गत वर्ष छ हजार आठ सय केसहरू भए यस्ता र समग्रमा हेर्दा औसत वार्षिक दुई हजार पाँच सय केसहरू आउनेगरेका छन् देशभरिमा । आगलागीसँगै जोडिने विपत् हो चट्याङ, यसले धेरै धनजनको नोक्सान गरेको छ ।

वन जंगलको सफाइ : जीवनसँग जोडिएको विषय
शरीरलाई सफा राखेझैं वनक्षेत्रमा पनि झाडु आवश्यक छ, ढलापडा, सुकेका, कमजोर, बाङ्गाटिङ्गा रुखहरू, पतकर, झिँजाहरू, घाँसपातका लागि वर्षमा एक/दुई दिन उपभोक्ताहरूलाई वन खुला गर्ने नीति थियो पहिले । बस्तुभाउका लागि पतकर, घाँस, चरन, खाना पकाउनका लागि केही हल्का दाउरा, कृषिका उब्जनी प्राङ्गारिक मलका लागि पतकर, सोतर जसले कृषि र वनको परिपूरक अबस्था, खेतबारीको उत्पादन वृद्धि, गाउँबस्तीमा किसानको चहलपहल जसोतसो चलेको थियो पहिले । वन रक्षकहरूको निगरानीमा यस्तो कार्य हुन्थ्यो र वनजंगल डँढेलोबाट पनि बच्ने, त्यसको उपयोग पनि हुने र किसानको मनमुटुसँग गाँसिएको थियो वन । अहिले वनसँगको आत्मीयता टुटेको छ, आयातीत ग्यासको चरम अभाव, मलको अभाव, गाउँमा बस्तीको अभाव, जंगलमा डँढेलो लाग्दा स्थानीयहरू मुकदर्शक हुनुपर्ने अवस्था, स्थानीय तहको सरकार गाउँबेँसीमा डोजर चलाउने, जग्गाको कर लिएर आफू मोटाउने कार्यमा संलग्न छ । आवास बस्तीमा बाटो, पानी, ढलको सुविधा छैन, खेतमा सडक पिच गरिएको छ, मलिलो बारीमा डोजर लगाइएको छ, अनि युक्रेन, अर्जेन्टिनाबाट खाने तेल, भटमास, मकै आयात गरिएको छ, व्यापारघाटा, सञ्चित विदेशी मुद्राको अभाव, खर्बौँ विदेशी ऋणले देश टाट पल्टने अवस्था छ र किसानी हातहरू खाडीमा भेडा चराउन जाने भएका छन् । पछिल्लो समयमा जीडीपीमा कृषि, वन र मत्स्यको योगदान धेरै घटेको छ, यी क्षेत्रको योगदान घट्दा औद्योगिक र सेवाक्षेत्रको योगदान जीडीपीमा बढ्नुपर्ने थियो, तर छैन ।

डँढेलोको १० वर्ष : तथ्यांक आफैँ बोल्छ
गृह मन्त्रालय भन्छ : वन डँढेलोको घटना बढेको छ । ०६९/७० मा एक हजार सात सय ४१, ०७०/७१ मा दुई हजार २८, ०७१/७२ मा दुई हजार ७०, ०७२/७३ मा पाँच हजार एक सय ५४, ०७३/७४ मा एक हजार पाँच सय ८१, ०७४/७५ मा एक हजार एक सय ७५, ०७५/७६मा तीन हजार दुई सय ४६, ०७६/७७ मा छ सय ४६, ०७७/७८ मा छ हजार सात सय ९९ र चालू आव ०७८/७९ मा नौ सय ५० डँढेलोको घटना घटेको अभिलेख छ । वर्षा याममा बाढी र पहिरो, सुख्खा याममा आगलागी र चट्याङको विपत्ति हाम्रो नियति भएको छ । आगलागीमा वन सखाप हुने गरेको तर घर बनाउँन मलेसियाबाट काठ आयात गर्नुपरेको, हाम्रा नीतिकारको भिजन ठीक उल्टो छ, बस्ती गलेको छ असारे विकासले, पूर्व–पश्चिम राजमार्गजस्तो ठूलो परियोजना कार्यान्वयन गर्दा बुल्डोजर चलाइएको थिएन, हाम्रो पहाडी धरातल कुट्टो, कोदालो, चाँदे, कोदाली, डोको, नाम्लो चलाउने हो, सजिलो भन्दैमा गाडी कुदाएर मान्छे सखाप पार्ने होइन, जसले स्थानीय श्रमको पनि उपयोग हुने र बाढीपहिरोको मारमा नपर्ने पनि हो । अहिले हाम्रो विकास भ्यु टावरे र डोजरे भएकाले प्राकृतिक विनाश बढेको छ, मुसाको जस्तो जीवन भएको छ मान्छेको, एकैक्षणमा चिलिम हुने । आगलागीको घटना हुने भनेको त मानिसको लापरबाहीले हो ।

चट्याङको १० वर्ष : तथ्यांकलाई केलाउँदा
अर्को विपत् आकाशको चट्याङ हाम्रो वशमा छैन । विश्वका अधिकांश देशमा यसको प्रक्षेपणको प्रविधि छ, पहिले नै जानकारी गराइन्छ, मानिस सचेत हुन्छ । छिमेकी भारत मात्रै होइन दक्षिण एसियाका धेरै देशमा चट्याङ पर्नु पाँच/छ दिनअघि नै त्यो क्षेत्र आसपासमा सर्वसाधारणलाई सचेत गराइन्छ तर हामीकहाँ खेतबारीमा काम गर्दा गर्दै चट्याङमा परेर मानिसको अकाल मृत्यु हुन्छ हाम्रो मौसम पूर्वानुमान शाखाले वायुमण्डलमा उत्पन्न वायुको प्रभाव, स्याटेलाइट तथा तथ्यांक विश्लेषण गरी मौसमको अनुमान गर्छ तर जुन दिन पानी पर्छ भन्छ त्यही दिन बढी घाम लागेको पानी नपरेको अवस्था पनि अनुभव गरिएको छ ।

चट्याङको उर्वर समय चैतदेखि असारसम्म हो । खासगरी साँझतिर आकाशमा कालो बादल मडारिन्छ, बादलमा तापक्रमको कण घर्षण हुन्छ, विद्युतीय ताप उत्पन्न हुन्छ, तापक्रम अत्यधिक भएपछि चट्याङ पर्छ, सहज पानी पर्न लाग्दा वा पानी पर्न नसक्दा ठूलो आवाजसहित आकाशमा विद्युतीय झिल्का दिन्छ र त्यो झिल्काले जमिनको भागमा हान्छ, खासगरी अग्लो क्षेत्रमा, विद्युतीय सर्कुलेसन भएका ठाउँमा वा खुला स्थानमा यो बल्झिन्छ । चट्याङ परेर घर, भवनहरू ध्वस्त भएका मानिसको अन द स्पट् मृत्यु भएका केसहरू हामीले धेरै देखेका छौँ ।

खासगरी देशैभरि यस्तो प्रकोप छ हामीकहाँ र वर्षेनी । अभिलेख हेर्दा ०६९ मा एक सय ९६ यस्तो घटनामा एक सय ३१ जनाको मृत्यु, ०७० मा एक सय ८३ घटनामा एक सय ११ जनाको, ०७१ मा दुई सय नौ घटनामा एक सय २६ को, ०७२ मा एक सय ११ घटनामा ८३ को, ०७३ मा दुई सय २७ घटनामा एक सय १४ को, ०७४ मा दुई सय १६ घटनामा एक सय पाँचको, ०७५ मा दुई सय नौ घटनामा ६८ को, ०७६ मा तीन सय ५८ घटनामा ८८ को, ०७७ मा दुई सय ४७ घटनामा ६० को र ०७८ सालमा दुई सय तीन घटनामा ५६ जनाको मृत्यु भएको अभिलेख छ । विगत १० वर्षमा नौ सय ५२ जनाले आफ्नो जीवनी सकेका छन् र घाइतेको अभिलेख दुई हजार दुई सय ७५ जनाको छ, चट्याङकै कारण । औसत एक सय जनाले जीवन गुमाउने गरेका छन् हामीकहाँ चट्याङबाट ।

किन हुन्छ, कसरी बच्ने ? बंगालको खाडी नजिक पर्ने भू–भागमा यो बढी हुनेगरेको छ भनौँ देशको पूर्वी भाग मकवानपुर, उदयपुर, झापा, तराईका भू–भाग, चुरेक्षेत्रको दूरी वायुमण्डलसँग नजिक छ । अभिलेखअनुसार मकवानपुरमै ६७ जना, झापामा ७३ जना, उदयपुरमा ३९ जनाको मृत्यु भएको देखिन्छ । चट्याङ दुई प्रकारले हुन्छ : बादलभित्र र जमिनमा । बादलभित्र गर्जिने चट्याङले विद्युतीय उपकरण र सञ्चार आदानप्रदानमा अवरोध ल्याउँछ, जमिनमा पर्नेले भौतिक र मानवीय क्षति गरिदिन्छ । पछि बनेका आधुनिक भवनहरूमा अर्थिङ गरिएको हुन्छ तर सबैतिर प्रभावकारी अर्थिङ नहुँदा यसबाट बच्न सकेको अवस्था छैन ।

चट्याङ प्रतिरोधी घरहरू बन्न सकेका छैनन् । खुला आकाशमुनि काम गर्नेको सुरक्षा हुने कुरै भएन । अर्थिङ नभएमा घरको छानामा रड राखेर त्यसलाई तामा वा ग्याल्भोनाइज्ड आल्मोनियमको पाता वा रडमार्फत जमिनमुिन पु-याएर राख्दा पनि चट्याङको मारबाट केही हदसम्म बच्न सकिन्छ । बादल गड्याङगुडुङ गर्दा घरभित्रका विद्युतीय उपकरणहरू बन्द गर्ने, घरबाहिर नजाने, ढोका झ्यालहरू बन्द गर्ने, वालभित्ताहरूसँग स्पर्श नगर्ने, विद्युतीय प्रयोग भएका तारहरू टुटाउने, धातुका तारनजिक नबस्ने अग्लो, एक्लो रुखको मुनि नरहने गर्दा पनि यसको खतरा कम हुन सक्छ ।

अहिलेको समय भनेको प्रि–मौसमको समय हो । यतिबेला हावाहुरी, आगलागी, चट्याङको समस्या धेरै हुने गर्छन् । साँच्चै भन्नुपर्दा देशको विपत्ति भनेको पहिलो श्रेणीमा पर्छ, आगलागीको घटना र दोस्रोमा पर्छ चट्याङको घटना । चट्याङकै कारण लाखौँ धनमाल नोक्सान भएको विपत् न्यूनीकरण प्राधिकरणको भनाइ छ । चैत वैशाखमा किसानहरू प्रायः मकैबारीको काम, चैते धानका कारण खेतबारीतिरै रहन्छन् । यस्ता विपतिमा पर्ने पनि तिनै हुन्छन् । देशमा पाँचवटा मौसम पूर्वानुमानका संकेत दिने स्थानहरू छन् र पनि तिनमा या त प्रविधिको अभाव छ या आर्थिक व्यवस्थापनको । र त अधिकांशले आफू जोगिन आकाशको कालो बादल या मेघ गर्जन या अन्य कुनै प्राकृतिक इशारालाई बुझ्नुपर्ने बाध्यता छ ।

सुक्खा मौसममा आगलागी, डँढेलो, चट्याङ आदि विपति बढी हुने गर्छ । पहाडी जन जीवन जंगलका कारण चट्याङको सम्भावना बढ्ने र यसकै कारण बढी आगलागी हुनेगरेको अनुभव ताजै छ । तराईमा गर्मी धेरै हुने, घरहरू फुसका, खरका छाना हुन्छन्, खाना पकाइसकेपछि सामान्य लापरबाहीले ठूलो आगलागीमा परी ज्यान जोखिममा परेका घटना धेरै छन्, पाँचथर, ताप्लेजुङ, भोजपुर, इलाम आदिमा धेरै छन् । विपतको खतरा सूचीमा संघीय राजधानी पनि हो । हिउँदमा पानी कम पर्नाले, झाडी, वन, पतझरहरू सुक्नाले आगलागीका घटना बढी हुने गर्छन् । मौसम पूर्वानुमानझैं चट्याङको पूर्वानुमान गर्न सकिने प्रविधि जडान गर्ने सरकारी भनाइ थियो । र पनि प्राकृतिक र मानव निर्मित मानौँ सधैँ आइरहने विपत्ति सहिरहनु नेपालीको नियती नै भएको छ । चट्याङकै कारण वर्षेनी हामीकहाँ एक सय औसतमा मानिसको ज्यान जाने गरेको यथार्थ छ ।

र अन्त्यमा सत्ताको अंकगणित, जोड–घटाउ र दलहरू तानातानको अवस्थामा देखिएका छन् । एकजुट भई राष्ट्रिय एजेण्डामा जान सकेका छैनन् । हामीसँग विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप व्यवस्थापनको दक्षता सीप र क्षमता छैन । वर्षेनी भू–क्षय, बाढी, पहिरोले उर्वर मलिलो माटो बगेर खेर गएको छ भने पानीको धनी देश भएर पनि त्यसको उपयोग गर्न सकिएको छैन, पानीको प्रयोगका लागि अर्काको मुख ताक्नुपरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि असह्य छ देशमा ।

आगलागी र चट्याङ मात्रै होइन, शीतलहर र हिमपात ताल तलैयाहरूको विस्फोटको सम्भावनाले पनि देशलाई आक्रान्त बनाएकै छ । अन्तर्राष्ट्रिय रोग कोरोनाको विगबिगी छ तर मुलुकको मौसम अवस्थाले सधैँ सबै ठाउँमा राहत र आपत् उद्धारका कार्यलाई तीव्र बनाउन सक्ने अवस्था छैन । मुलुकमा विपत्का कारण हुने असर र प्रभावको वैज्ञानिक अनुसन्धान हुन जरुरी छ । त्यसका लागि क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ । भौतिक विकासको स्वरूप तय गर्दा पछि पर्नसक्ने वातावरणीय असर, सम्भावना, चुनौती सबै अध्ययन र अनुसन्धान गर्न जरुरी छ । बजेट तान्ने पवृत्ति, विकासको नाममा जथाभावी डोजर आतंक गरिनु हुन्न ।

विकास भनेको सहरीकरण मात्रै होइन, मानवीय सहजीकरण पनि हो । राजधानीका सडक र अव्यवस्थित बसोबास हेर्दा देशका प्राविधिक योजना शून्य प्राय छ । बस्ती सुरक्षित छैन । दमकल, पानीको गाडी नपुग्ने टोल, बस्ती राजधानीमा धेरै छन् । जताततै राजनीतीकरण छ । निमुखाले सहारा पाएनन् । विकासको ठूलै नारा दिने दलहरूले चुनावी एजेण्डा बाँडेका छन्, लेखनी, निबन्धजस्तै पूरा हुने होइन, आँखामा छारो हाल्ने मात्रै हो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्