Techie IT
बुधबार, कात्तिक ५,२०७७

नेपाली समाजमा स्त्रीमाथि हुने हिंसा
लक्ष्मण सिटौला
सङ्लो नदी तर्दाजत्तितको आनन्द मैले काहीँ पाइनँ । भर्खरै उदाएको घामको कोमल किरण जति खुसी अरु कोही देखिनँ । रुख, पात, बनबुट्टा र सल्लाघारीलाई स्पर्श गर्दै महकिँदै आएको शीतल बतासमा जति शान्ति मैले अन्त भेटिनँ । चराहरूजति नजिकका साथी मेरा अरु कोही भएनन् । पहाडी उकालोमा गहिरो श्वास फेर्दै हिँड्नुमा जति आनन्द मलाई कही मिलेन । नीलो आकाशमा अपलक हेरेर एकछिन् एक्लै टोलाउनु जतिको प्रसन्नता अरु केमा पाइन्छ होला र ? शरदको शीतल जुनजस्तै परपर पल्लो गाउँतिर बज्दै गरेको मालाश्री धुनमा जति रमाइलो अरु कुनै गीतमा पनि मिलेन ।

यो शरदको शारदीय बिहान कहिले नअस्ताए हुने । घामले चुमेको पहाडहरूमाथि कहिले रात नपरे पनि हुने । हिमालबाट बग्दै हेलिदै आएकी त्रिसुली किनारमा बसी जिन्दगीका खुशीका अमृतमय आँसु अलिकति मिसाएँ मैले पनि । यो उल्लास उमङ्ग, यो चपल चञ्चल, यो निःशब्द निनाद, यो घनघटा यो साउती तिमीसँग गरिरहन पाऊँ प्रकृति । रुँदामा पनि तिमी हाँसिरहेजस्ती । नयाँ दुलहीजस्ती हरियो वनको घुम्टो ओढेर लुकीलुकी हेछ्र्यौ मलाई । मानिस दुःखी र सुखी त आ–आफ्नै सोच र संस्कारबाट नै प्राप्त हुने त होला । म देख्छु कति गरिब परिवार कति धेरै रमाएर जिन्दगीको उकाली–ओराली खुसी र आनन्दले पार गर्दै छन् ।

मैले देखेको छु एउटा गरिब तर सुखी परिवार हाम्री गाउँकी पाकू दिदीको । तपाईंहरू कसैले पत्याउनुहुन्न होला है ! कि पाकूू दिदीले लेकमा घाँस जाँदा बच्चा जन्माएर डोकोमा हालेर ल्याउँथिन् भन्ने । विश्वका महानतम गरिब मान्छेमध्ये पाकू दिदी पनि एक थिइन् । अस्पताल र ओखती के हो थाहा छैन पाकू दिदीलाई । सुत्केरी भनेको के हो ? सुतक भनेको के हो ? सुत्केरीले मीठोमसिनो, ज्वानाको झोल, घ्यू खानुपर्छ भन्ने थाहा छैन पाकू दिदीलाई । तिनको लोग्ने (लोकते दाइ) पाकू दिदीमाथि केवल उक्लिन्थे मात्रै उक्लेपछि बच्चा भैहाल्ने कुन श्राप परेको हो कुन्नि यी दुई जोइपोइलाई भन्थे गाउँलेहरूले । तर तीचैँ भने सधैं मुस्कुराएको देखिन्थे ।

अचम्म त त्यो थियो कि हरेक छाक पिठो वा चामल उनीहरू पैँचो लगेरै पकाउँथे । अनि जुन घरबाट खाने अन्न लिएर जान्थे त्यही घरको खेतबारीमा काम गर्न हाजिर हुन्थे । जुन श्रमलाई तिन्ले पूजा गर्थे त्यही श्रमलाई गाउँका ठूलोठालो पल्टनेहरू भन्ने गर्थे ‘यिनीहरूलाई कसको श्राप परेको होला ?’

एउटा गज्जबको बानी थियो लोकते दाइमा । पाकू दिदी बर्सौटे थिइन्् । मेरो मतलव वर्षैपिछे बच्चा जन्माइरहने । दिनभर मजदुरी गर्थे बुढाबुढी । बेलुकी अलिकति झुम्म लाग्ने तीनपाने लगाउँथे । गाउँमा बेलुकीको खाना ६ बजे तयार हुन्छ । खाना खाएसी जाडो महिना छ भने अगेनामा आगो ताप्ने, गर्मी महिना छ भने लामखुट्टे धपाउने गुइँठा सल्काउने अनि सुत्ने । दिनभरको थकाइले निन्द्रा पनि कहाँ राम्रो आउँछ र अनि तीन पाने पियो एकछिन् मात्तियो, एकछिन् तात्तियो सुत्यो ।

यसैगरी गरी पाकू दिदीले चार छोरी जन्माइसकेकी थिइन् । मेलापात, घाँस, दाउरा, जाँदा अरु लोग्नेमान्छेसँग पनि जिस्किन्थिन् तिनी । उनले सोचेकी थिइन् पुरुष भनेका त्यही बच्चा जन्माउने गुलेलि लिएर मात्रै जन्मेका बज्रस्वाठ हुन । उनी लोकते दाइलाई त्यस्तै व्यवहार गर्थिन् र भन्ने गर्थिन् ‘मेरा पोइलाई राम्रो पनि चाहिन्न, मीठो पनि चाहिन्न, सफासुघर पनि चाहिन्न, नुहाउन पनि पर्दैन, रोपाइँमा होस् कि कोदो रोप्दा वा मङ्सिरको धान भित्र्याउँदा होस्, दिउँसो जे लायो राति पनि त्यही लायो सुत्यो ।’

लोग्नेस्वास्नी भएर बेलुकी आधामाना कोदाको झोल पिए मस्त ! अगालो मारे निदाए । सबैको ओछ्यान एउटै अगेनावरिपरि । चार छोरी र दुई जोइपोइ मझेरीमा सोत्रान । कहिलेकाहीँ म बिहानै पुग्थे लोकते दाइकोमा मेला डाक्न । पुग्दा लोकते मस्तले घुर्दै हुन्थे । पाकू दिदीचैं गाईवस्तुको भकारो सोहोर्दै हुन्थिन् बिचरी ।

ठूली छोरी मालती १४ वर्षको भैसकी । गाउँमा स्कुल त छ नि । तर पढ्न जान मान्दिन । अर्की माइली मुना १३ वर्षकी भैछ । ऊ पनि केही दिन स्कुल गएर छोडेकी । बरु साइली सुकु चै जान्छे । तीन दिदीबैनी उल्का राम्रा छन् । मिजासका छन् । जेठी अगेनामा भात पकाउँछे । माइली वन गएर घाँसदाउरा गर्छे । साइली सुकू घरधन्दा गर्छे । पानी लिन सिम्लाको पखेरो धाउनुपर्छ । पाकू दिदी र लोकते अहोरात्र अरुको मेला नगए यिन्लाई खान पुग्दैन ।

गज्जब छ जिन्दगी ! जस्लाई हामी गरिब भन्छौ ती हामीभन्दा धेरै सुखी छन् । खुसी छन् । इमानदार छन् । प्रसन्न छन् । प्रेमिल छन् । लोकते दाइ भन्थे ‘तीन बीस दुई भए भाइ अहिलेसम्म टाउको समेत दुखेको छैन ।’ लोकते दाइ एउटा सोझा किसान । किसानहरू प्रायः सबै सोझा हुन्छन् । एउटा सानो पराले झुपडी । त्यही पनि बर्खामा चैँ अलि अलि पानी चुहिन्थ्यो । पानीको धारले रातोमाटोले लिपपोत गरेको पिँडी खोपिल्टो पार्दा समेत छाउने जागर नचलाउने तिनै हुन लोकते दाइ । अरुका हराभरा पार्छन् तिनी तर आफ्नै भनेचैँ छानो चुहिन्छ । पाचौं बच्चालाई पनि पाकू दिदीले पुड्कन्चीको छागामा पाइन् ।

त्यो छाँगावरिपरि धेरै हरियो घाँस पाइन्छ । म सधैँ देख्थे पाकू दिदीको ठूलो पेट । जुन दिन पेट घटेको देख्थेँ अनि सोच्थेँ ल यिनले बच्चा जन्माइछन् । के पायौ पाकू दिदी योपालीचैँ भन्थेँ म । अनि उत्तर आउँथ्यो ‘उही त होनि ! पोहोर जे पाको योपाली पनि त्यै ।’ छोरी छोरी मात्रै पाएर तिम्लाई अब बच्चा नपाऊ भन्ने लाग्दैन ? म सोद्थेँ तिन्लाई । अनि उत्तर जहिले नि रेडिमेट आउँथ्यो, खै र तिम्रा लोकते दाइले मानेका ? तीनपाने घिचेसी चल्न आउँछन् अनि बर्सेनि जन्मिन्छन् राँडहरू । मैले चाहेर के हुन्छ र मनु भाइ ? कुरो सही हो पाकू दिदीको । आइमाईले चाहेर पनि के होस् बरा ।

निरिहता बोकेर बाचे पनि हास्छिन् तिनी । घाँसको भारीमाथि कति बोकेर ल्याइन् तिन्ले रगत र सालनालसहितको शिशु । रगत मिसिएको घाँस कति खाए होलान् तिन्का गाइवस्तुले । खोइ कसरी पाउँछिन् होला तिन्ले एक्लै लेकमा बच्चा ? कसरी सहन्छिन् होला सुत्केरी व्यथा । तिनी रगत लत्पतिएको फाटेको फरिया लगाउँदै शिशुलाई भारीमाथि पटुकिले बेरेर ल्याउँथिन् ।

ठाँउ–ठाँउमा टालेको फरियाको रङ पनि भिन्नभिन्न देखिन्थ्यो । घरमा आएसी घ्याम्पोमा पीठो हेर्थिन रे । अनि मलखाडीमा लहलह भएको साग मिसाएर खोले पकाउँथिन् र मज्जाले खान्थिन् । लोकते बेलुका मेलाबाट फर्केर आउँदा फेरि पनि छोरी नै पाइछ बस यति मात्रै भन्थे रे उनी । जेठी, माइली, साइलीसम्मको न्वारान गरे तिनले पछि त झन्झट लाग्न थालेछ न न्वारन न पास्नी न सुतक । वर्षैपिछे बैनी थपिएको देखेर ठूली छोरी मालतीलाई पनि दिक्क लाग्न थालेछ ।

“हाम्रा बाआमा सुत्केरी भाको दुई महिना पुगेको हुँदैन तीनपाने पिएर चल्न थाल्छन्“ ठूलीले मेला जाँदा कुरा काटेको लोकते दाइले था पाएछन् । एक दिन अगेनोमा झोक्राएर बसेको बेलामा भएन हैट अब त लाजै भो भनेर परिवार नियोजन पो गर्न परो भनेर पाके दिदीसँग सल्लाह मागेछन्
होइन ओइ पाकू ? छोरीले त गाउँभरि हल्ला गरिछ नि, के भनी छ र ?
“खै के–के भनी रे हाम्रा बाआमालाई कति चाहिया हो बच्चा रे“
“ठूली ले भनिकी रे“?
“हो के । अब पुगो हौ । म भोलि बिहानै भद्रुटार हस्पिटल जान्छु“
“किन र“?
“परिवार नियोजन गर्न नि अब किन हुनु “
“पैसा लाग्च होला नि फेरि कोसँग दारा ङिच्याउनु र ?“
“लाग्दैन होला “?
“अ तिम्लाई भनेर सित्तैमा गर्दिन्चन होलान् नि नियोजन । साच्चै
ए बुढा यो नियोजन भनेको क्या हो हँ ?
“खसी पार्नी हो क्या“
“के भन्नुहुन्छ हौ अहिलेचैँ तपाईं बोका हो
र ! छि के भन्दा हुन्“
“लौ हेर थाहै रैन्च यल्लाई ?
“अनि के हुन्छ त भन्नुन खसी भएपछि बच्चा हुन्नन र “?
“हुन्नन् क्या हुन्नन्“
“हो र पक्कै हो ? फेरि भयो भने त पैसा फिर्ता माग्न पर्च नि ?
“के त उसो भ जाम्त पर्सी ? कसैको नि मेला छैन त्यो दिन “?
“अर्कोपालीचैँ छोरा पो हुन्थ्यो कि के था ? कतै भगवान दायिना पो हुन्छन् कि बुढा । कि एक वर्ष रोकि ने हो ?“
“हैट के भन्छे राँड, यहाँ बेजत भैसको आफ्नो“

“ल ल भो जानो पर्सी । खसी भएपछिचैँ म भाठा चल्न नआउनु अहिले भन्देछु । तीनपाने पिएसी तिम्लै सकसक लाग्छ मलाई त के ! आफ्नो बिचार “पर्सिपल्ट कसैको मेला थिएन । अलिकति पैसा सापट लिगे गोकर्णसँग र चले बिहानै लोकते दाइ भद्रटार हस्पिटल । हस्पिटल पुगेसी तिन्ले भने “म खसी बन्न आएको“ भनेर डाक्टरलालाई । डाक्टरले कुरा बुझे र भने श्रीमतीको अनुमति लिनुभाछ? लिएछु क्यारे“ भनेछन् । नभन्दै आधा घन्टाअगाडिसम्म लोकते दाइ बोका थिए । आधा घन्टापछाडि तिनी खसी भए । अघि फटाफट हिँडेर आएको त्यही बाटो अहिले गाह्रो पो लागेछ तिन्लाई । घर पुगे । पाकू पनि बुढा कतिबेला आउने हुन खसी भएर भन्दै पिँढीमा झोक्राएर बसिरहेकी थिइन् । लोकते दाइ पुगे । फ्यात्त भैमा बसे । १५ दिनअगाडि लेकमा जन्मेकी शिशु चिसो भुइँमा लडिरहेकी थिई ।
“खसी बन्नुभो“
“बनेनी“
“कति पैसा लाग्यो त ?“
“एक पैसा नि लेनन् । अझै डाक्टर भन्दैथे गाउँमा अरु पनि धेरै बच्चा जन्माएर बसेकालाई बोकाहरूलाई सम्झाएर खसी बन्न हस्पिटल जानू भन्दिनु भलो हुन्छ भन्दै जुस पो ख्वाएर पठाए “आम्मै जुस पनि खौदा रैचन म नि जान्थेँ नि“ धाप्पिएर घर पुगेका थिए तिनी । अस्ती पारेको बासी मही थियो ठेकीमा सारेर ल्याई पाकूले ।

एक कचौरो मही पिएसी अमिलो डकार्दै लागे सिम्लाको पखेरामा एक डोको घाँस ल्याउँछु भन्दै । सरल मान्छेको सरल जिन्दगीजस्तो त्यही घर मुनि बगिरहेको स्याल्पिङे खोलाझै बगिरहेको थियो । स्याल्पिङे आफ्नै गतिमा बग्न थालेको सदियौँ भयो एकतमासले बगिरहेको छ मैले देखेदेखि त्यो त्यस्तै छ । त्यो कहिले रोकिएन । मैले थाहा पाएदेखि ती लोकते दाइको जिन्दगी पनि त्यतिकै एकनासले बगिरहेछ । परिवार नियोजनलाई खसी पार्ने भन्थे गाउँमा । गाउँले एक आर्कालाई सबलाई थाहा छ कोको खसी भएको छ भनेर । गाउँमा सबको हिसाबकिताब एकले आर्काको राखेको हुन्छ ।

लोकते खसी बनेर आएको पनि गाउँमा एकाएक हल्ला फैलियो । स्वारथोकको जगमान बुढा भन्दै थिए -“अलिक दिन लोकतेलाई काममा नलगाउनु खसी भएर आएपछि एक हप्तासम्म आराम गर्न दिनुपर्छ“ । बासकोटेको रामबहादुर भन्दै थिए “बिचरो घरमा खाने अन्न त छैन के खाएर तग्रोस“ । पारथोकका पाठक कान्छाले पनि था पाएछन् र बोल्दै थिए“ एक माना घ्यू खानुपर्छ लोकते अब पहिलाको जस्तै हुनलाई“ । खोप्राबारी जेठा बा पनि बोल्दै थिए“ मैले पनि अप्रेसन गरेपछि दुई हप्ता आराम गरेको । मीठो चोखो नखति कुरा खानुपर्छ अब अलिक दिन लोकतेले “ ।

हरेक दिन मेलामा यही कुरा सुनिन्थ्यो । मलाई अचम्मचैँ यस्मा लागिरहेको थियो कि हरेक वर्ष पाकू दिदीले लेकमा घाँस जाँदा बच्चा पाएर ल्याउँथिन् कसैले भन्दैनथे यिनी सुत्केरीबा, यिन्ले आराम गर्नुपर्छ । यिनी कमजोरी छिन् यिनले केही हप्ता ताकतिलो कुरा खाएर घरमा बस्नुपर्छ भनेर तर अहिले एउटा सामान्य परिवार नियोजन गरेर आएको लोकतेलाई चैँ यत्रो ख्याल राख्छन् गाउँलेले । यो विभेद किन ? स्त्रीको चैँ ज्यान होइन र ? मलाई अचम्म लाग्थ्यो किन नारी र पुरुषमा यो विभेद !

सुत्केरी हुँदा कति रात अलौटा मकै खाएर सुतिन पाकू दिदी । सालनाल र शिशु पटुकिमा पोको पारेर फेदिगाउँबाट झर्थिन् घाँस बोक्तै पाकू दिदी । कसैले सोध्दैनथे तिनलाई एक माना चामल लगेर पेटभरि भात पकाएर खाउ भनेर । तर आज लोकते खसी भएर आउँदाचैँ यत्रो सोधिनिधि !

गाउँलेको करकापले लोकते दाइ केही दिन मेला गएनन् । छोरीहरू पनि खुसी भए कि अब आमाले अर्को बैनी पाउँदिनन् भनेर । तिनले भाइको आशा कहिले राखेनन् । जेठी मालतीले सोच्दै थिई कि मैले बाउको कुरा काटेर ठीक गरिछु । कमसेकम बुढाले परिवार नियोजन त गरेर आए । छोरीहरूले देखेका थिए हरेक रात आमाको सुत्केरी कन्तबिजोग । तिनीहरूले भोगेका थिए तीनपाने पिएपछि बाउ र आमाको हर्कत । अब त अप्रेसन भो तिनपाने पिए पनि बाउले त्यस्तो हरकत नगर्लान् र फेरि–फेरि आमा सुत्केरी नहोलिन् ।

एउटा सुखी परिवार दुःखी परिवारमा परिवर्तन हुँदै गैरहेको ती छोरीहरूले महसुस गर्न थालिसकेका थिए । जेठी मालती पन्ध्र पूरा पुगेर सोह्र वर्ष लागिसकेकी थिई । गरिब नै भए पनि ज्याला गरेर लोकतेले छोरीहरूलाई भोकैचैँ कहिले राखेका थिएनन् । खोले नै खाए पनि पुष्ट थिए नानीहरू । भात खाने साहुका छोरीहरूभन्दा ज्याला गरेर खोले खाने लोकतेका छोरीहरू असाध्य रसिला भरिला थिए । यही भन्थे गाउँले पनि । मेला गाका ठाउमा गाउँका अल्लारे ठिटाहरूले जिस्क्याउन सुरु गरिसकेका थिए मालतीलाई । लोकते र पाकूको जिम्मेवारी दिन प्रतिदिन थपिरहेको थियो ।

सबैभन्दा दुखको कुरो त भन्नै बाकी छ मैले । पाकू दिदी फेरि दुई जिउकी भइन । छोरीहरूमा निराशा छाउन थाल्यो । गाउँलेले मेलापातमा हल्लिखल्ली मच्चाउन थाले“ लोकतेले अप्रेसन गरेको छ पाकूले फेरि भुडी बोकी“ । भुँडी त बोकी तर कस्को भुडी बोकी । भुडी त यसै बोकिँदैन । बोकाइदिने अरु कोही बोका हुनुपर्छ । त्यो बोकाको खोजी हुनुपर्छ भन्ने मान्यता राख्यो गाउँलेले । पाकूको श्रम, मजदुरी, पसिना, ज्याला, भोक, रोग इमान्दारिता र अहिलेसम्मकै सोझोपनको कसैले मूल्यांकन गरेन । तर जब लोकतेले अप्रेसन गरिसकेपछि पाकूले पेट बोकी गाउँलेको निद हराम भो ।

छोरीहरूलाई छेड्ने काम हुन थाल्यो । “मालती तेरी आमाले कस्को पाप बोकी थाहा होला भन्न“ ? । मेलामा मालतीलाई यसरी गाउँले हरेक दिन केरकार गर्न थाले मालती रुन मात्रै सकेकी छैन । ऊ घरमा आमासँग पनि बोल्दिन । बाउसँग पनि बोल्दिन । बैनीहरूसँग पनि बोल्दिन । आमाको मुख पनि हेर्न छोडेर गाई गोठमा गएर एक्लै सुत्न थाली ।

मंसिरको धान काट्ने बेला थ्यो । बाउ मेला गएको ठाँउमा मालती जान्नथी । उ अर्कैकोमा जान्थी । लोकतेलाई गाउँलेले फ्याउ फ्याउँथी पार्न थालेका थिए “लोकु तेरी बुढीले फेरि पेट बोकि रहस्य के हो“ ? । गाउँलेले सिधै भन्न सकेका थिएनन् । घुमाउरो पाराले कुरा धुत्न खोज्थे । पाकू र लोकते अब सँगै मेला हिँड्न् छोडे । दुवै अलग–अलग । आलोचना सहनुभन्दा बरु बेग्लाबेग्लै मेला गयो भने कचकच त सुन्न पर्दैन भन्ने कुरो तिनका मनमा आयो कि खै के हो ।

पाँचौ बच्चा जन्माइ सकेकी पाकूसँग अझै हिम्मत छ । एउटा बच्चा नाफामा फेरि पेटमा आयो । उ चुपचाप छे । पुरुषले भन्दानी महिलाले सोधपुछ गर्थे र उसलाई यो अनावश्यक तर्क बजानले गर्दा मेला पनि नजाउ जस्तो लाग्न थालिसकेको थियो उस्लाई तर नगएर पनि के गर्नुर सात जना जहानको पेट त पाल्नै प-यो नि फेरि । एकदिन ममालती निहुरेर धान काटिरहेको बेलामा सुनखानी गाउँको समर सिंहको नातीले जिस्क्यायो ।
“ओइ मालती मसँग बिहे गर्छेस्“!
“के थात मलाई !“
मालती लजाई । हुन्छ पनि भनिन । हुन्न पनि भनिन । बिहे उसको बसको कुरो पनि थिएन । मालती जता–जता मेला जान्थी उतै उतै धाउन थाल्यो समर सिहको नाति लालसिङ पनि । केटो खाइलाग्दो थ्यो । लरक्क परेको । जात चै नमिल्ने । मालतीलाई चार दिन पछ्यायो लालसिङले । अन्तत पगाल्यो ।

मेला सकिएपछि उनीहरू अँधेरी दोभानको पाटीमा बसेर गफ गर्थे । जोडीचैँ मिल्थ्यो लालसिङ र मालतीको । सलक्क बढेको । घोर्ले बोको जस्तो थियो तामाङको छोरो । हामी जिस्काउँदाचैँ लालसिङे भन्थ्यौँ उस्लाई । सुनखानी बछला प्राविमा सँगै पढेको । मालती पनि सानोमा बछला प्राविमा दुई–चार महिना पढ्न गकी रैछ ।

केही दिनदेखि मालतीलाई निन्द्रा आएको छैन । घरमा था छैन कसैलाई पनि । एक दुईचोटी माइली बैनीले सोधेकी थिई उसको उदासीपन तर केही बोलेकी थिन मालती । ऊ बेग्लै सुत्छे गाई गोठमा । आमाप्रति नकारात्मक छे । बाउले परिवार नियोजन गर्नु अनि आमाले पेट बोक्नु, यो कुराले उसको मन खाइरहेको थियो । झन् मेलामा दिनदिनै दुनियाँलाई जवाफ दिँदैमा थाकेकी थिई । गज्जब छन् गाउँले पनि । कुरा काट्न नम्बर एक ।

अरुको दुःखमा हास्ने । खिल्ली उडाउने र खुचिङ भन्ने । गाउँका हुर्केका चेलीबेटी जिस्काउने । धारोमा गाग्री राखेर घन्टौ बिताउने । तर्कारी पकाएको देखि जोइपोइ सुतेका, कोपरादेखि थालसम्मका गफ गर्छन् पँधेर्नीहरू ।

लालसिङले फकाएछ तर मालतीलाई भने एउटा चिन्ता थ्यो । आमाले इज्जत फालेकी नै भए पनि भाइबहिनीको भविस्य के होला भन्ने । लालसिङसँग भागेर जाने निधो त गरी तर यस्ती आमा कि छोरी पोइल नगए के गर्छे त ! भनेर फेरि तिनै गाउँलेले कुरा काट्न थाल्छन् भोलि मेलापातमा । के गर्नु के नगर्नु दोधारमा परी मालती ।

१६ वर्षको बैँशालु यो उमेरमा उसलाई पनि लाउलाउ खाउखाउ रमाइलो गरु भन्ने चाह हुन्छ नै । एउटा आफ्नो कोही केटा साथी होइदेओस् भन्ने चाह हुन्छ सोह्र/सत्र लागेका बँैशालु युवतीहरूलाई । ऊ चाहन्थी आफ्नो परिवारको आर्थिक अवस्था सुधार होस् । ऊ चाहन्थी बुढो भैसकेका बाबू त्यहाँमाथि पनि अप्रेसन गरिसकेकालाई कति ज्याला मजदुरी गर्न पठाउनु ।

एकदिन पाकू अगेनामा सानी बैनीलाई तातो पार्दिदै झोक्राएर बसिरहेकी थिई । यो दृश्यले मालतीको आमाप्रतिको स्नेह उर्लियो । उसले मनमनै सोची । ह्या म पनि किन बेफ्वाकमा आफ्नै आमाप्रति पाप चिताऊँ । न बाले अप्रेसन गरी भनेर यतिकै ढाटेका पो हुन कि के था लोग्नेमान्छेको जात हो नि ? आमाप्रति न कतै घोर अन्याय पो भा छ कि के था ? म त अलिकति बुझेकी दुई/चार अक्षर पढेकी छोरी पो त । आमा नजिक गएर बसी भुइँमा थुचुक्क । छोरी नजिक आएर बसेकीले पाकूले पनि हेरी पुलुक्क । आमा छोरीको लामो गन्थन भो ।

अब भने आमाप्रतिको उसको विश्वास बढ्यो । भरे बेलुकी बाउ मेलाबाट आएपछि सोधपुछ गर्ने निधो गरी मालतीले । बेलुकी भो । बा मेलाबाट आए । थाकेर आएका लोकते दाइ परालको पुरानो चकटी ओछ्याएर अगेनो छेउमा बसे । सिल्बरको कसौंडीमा भात छढ्किदै थ्यो ।
“हैन बा तपाईंले अप्रेसन त गर्नुभएको हो ?“
“हो नि किन सोधेकी “?
“अनि आमाको यो हालत किन त फेरि“?
“छोरी मान्छे भएर तँलाई यस्ता कुरा सोध्न लाज लागेन “?
“यहाँ गरिबीको कारण प्रतिदिन अरुसँग मागीखान लाज भएन अनि मैले आमाको यो हालबारे सोधपुछ गर्न केको लाज बा“?
“सोध्न तेरी आमालाई मलाई मात्रै के सोध्छेस्“
“सोधेँ त मैले आमालाई पनि “?
“के भन्छे त “?
“बिचरी आमाको केही दोष छैन“

चुरो कुरो पत्ता लागेन । आमाको पनि गल्ती छैन । बाको पनि गल्ती छैन । आखिर दोष कसको थियो त ? मालती अवाक भइरहेकी थिई । समस्या सुल्झाउन सकिएको थिएन । गरिबीका कारण काम छोडेर कतै हिँड्ने कुरा पनि भएन । एकदिन लालसिङ पाकूको घरमा आयो र मालतीको हात माग्यो । लोकतेलाई केही पैसा दिएर भए पनि फकाउने निर्णय गर्यो उसले । पाकू र लोकते एकै भए । जात मिल्दैन । “कसरी सरासर थापाकी छोरी तामाङलाई दिनु यो कुरा गर्न मिल्दैन“ भनी पाकूले । लालसिङले फकाउँदै भन्यो “यो घरको समस्या मेरो समस्या हो । भन्नुन बरु म हजुरहरूलाई ऋण तिर्न मद्धत गर्छु र बिहे गर्दा खर्च पनि गर्न लगाउदिन । मालती मलाई मन प¥यो अनि ऊ पनि मलाई मन पराउँछे “ पाकूलाई पनि आशा लाग्यो कि गजमाने साहुको ऋण तिर्न पाए त मुक्ति मिल्ने थ्यो भनेर ।

मालतीलाई एकदिन एकान्तमा बोलाएर सोधपुछ गरी पाकूले कि उसलाई लालसिङ मन परेको छ त ? मालतीले भनी “आमा लालसिङ कस्तो मनकारी छ तपाईंहरूला के थाहा ? त्यतिको केटा भए मलाई हुन्छ र अनि कुरो रह्यो जातको । माथि आघेटारको सरु पनि त पुडि गाउँको श्यामसुन्दर परियारसँग पोइल गएकी हो नि खै अहिले सरु घर–माइती गरिराकी छे त !“ झन् लालसिङले हाम्रो व्यवहार पनि मिलाइदिन्छु भनेका छन् नि ।

के कति लेनदेनको कुरा भो कुन्नि अब लालसिङसँग मालती बिहे गर्ने भई । पैसाकै कारण पाकू र लोकते मिले । बिहे त खास के हो र एकदिन आफ्नो लुगाफाटो बोकेर मालती लालसिङको घर गई ।

बैनीहरूले धेरै दुःख माने कि दिदी बिहे नै नगरी लालसिङसँग गई भनेर । केही दिन घरमा शून्यता छायो । “टीकाटालोसम्म भए नि गर्नुपथ्र्याे नि बिचरीको । त्यतिकै पैसा लिएर लालसिङलाई जिम्मा लाएछन् लोकतेका बुढाबुढीले आफ्नी छोरी“ आखिर फेरि गाउँलेले भन्नी कुरा पाए ।

सबैभन्दा ज्ञानी छोरी, आफुलाई सघाउने छोरी, हुर्केकी छोरी मालती अब पराइ घरमा गइ । गच्छे अनुसारको बिहे त गर्नुपर्ने थ्यो तर त्यसो हुन नसके पनि नारायण पुजा मात्रै भए पनि पुजेर दिनुपर्ने थियो । यो कुराले पाकूको दिल बहुतै दुखित थियो । गरीबी भनेको मान्छेको बिवशताको घाउ रहेछ यही कुराको बोध भो उसलाई ।

पठ्ठो लालसिङ दङ पर्यो मालतीको जवानीमा । मालती पनि खुसी भै । माइती त्यही पारी हो बोलाए पनि सुन्छन् मेरा आमाबाबु र बैनीहरूले । यस्तै सोच्थी उ र ढुक्क पनि थिइ । दिउँसो दुई लोग्ने स्वास्नी मेला जान्थे सँगै बेलुकी रमाएर आउथे ।

गरिब परिवारमा जन्मी हुर्किए पनि मालतीमा एउटा सस्कार थियोे । ठूलालाई आदर सम्मान र सानालाई स्नेह बाड्थी उ । खेतमा मेला गएका बेला मालतीको जवानी र पारिवारिक कमजोरी पत्ता लगाएर प्रेमको जाल फ्याकेको थियो लालसिङ्ले र त्यो जालमा यति सहजै मालती पर्ली भनेर उसले कल्पना पनि गरेको थिएन ।

तर मालती पग्लिनु उसको लागि खुसीको कुरा थियो । दुइ हप्ता दुवैले जवानीको आगो बाले । त्यो रापिलो आगोमा होमिए दुवै । असाध्य रमाइलो भो दुवैलाई । मालती लालसिङ सँग अनुग्रहित थिइ । उसले आर्थिक रूपमा सहयोग गरेको थियो आफ्ना बा आमालाई । गजमाने साहुको ऋणबाट मुक्त पारिदियो उसले ।

फुपुले रक्सी पिएको बेलामा सत्य कुरा बोल्छिन् । सतत सत्यलाई पनि बाहिर आउन आखिर रक्सीकै साहारा चाहिने रहेछ । फुपुले दिएको बीस हजार आफ्नो ब्यागमा राखी र दुई हजार भारु लिएर बाहीर रक्सी किन्न गै फुपुलाई पिलाउन । तल होटेल छेवैमा रक्सी दोकान थियो उसले हिजो देखेथी तर अहिले बन्द थ्यो । दोकान चाहार्दै जाँदा उसले अलिक पर लालसिङ र त्यो ईन्डियन गफ गर्दै आइरहेको देखि ।

लालसिङ देखेपछि उसको मुटु फुटे जस्तो भो । भक्कानिएर रोइ । उसलाई वरिपरिका सबै घरहरू हल्लिए जस्तो लाग्यो । सम्झी उसले धान काट्न मेला जाँदा गाउँलेले उसको कुरा काटेको । उसले आफ्नो लोग्ने बिरुद्धको आवाज सुन्न नपरोस भनी कान थुनेकी थिइ । “लालसिङ्ले केटीलाई बिहे गर्दै बम्बै बेचेर आउँछ“ भन्ने कुरा । तर उसले पत्याकी थिन । पहाडगन्जको एउटा गल्लिमा देखि आज । केही बोलिन । उनीहरूले मालतीलाई देखेनन ।

मालती आफू बसेको होटेलको काउन्टरमा गै र दुई हजार भारु देखाउदै भनी – “ मलाई एक बोतल रक्सी देउन भाइ “ होटेलको ब्वाइ एकछिन् बाहिर निस्कियो । र एकबोतल मिर्नोभ भोड्का लिएर आयो र मालतीलाई दियो । सिर्फ ३०० भारु मात्रै लियो उसले । फूपू सुतिरहेकी थिइन् । बोतल देखाइ उसले । “यी फूपू रक्सी पिउने होइन“ फूपू चकित परिन । उसले लालसिङ र त्यो ईन्डियनलाई बाहिर सडकमा देखेको कुरा केही भनिन । चुपचापले बसि । मालती भित्र अधैर्यताको बाध भत्किएको छ तर सम्हालेकी छे उसले आफुलाई । जे कुराको पनि समय आउँछ भन्थी उ ।

गिलासमा रक्सी हाल्दिइ उसले । सितान खसीको मासु आफै तल गएर ल्याइ । खसीको भुटुवा र रक्सी पिउन सोखिन थिइ फूपू । र रक्सी पिएपछी फुपुले असत्य कहिले बोल्दिनन । फुपुलाई मज्जाले लाग्यो । मालतीलाई थाहा छ रक्सी र केटा फुपुको कमजोरी हो । आधा बोतल रक्सी पिएपछी फूपू बोल्न थालिन

…“मालती तैले मलाई पुरै जडया बनाइस होइ…तर तर जे भनेपनी त मेरो छोरी साथी सबै सबै सबै तै हो क्या मलाई लाग्या छैन तैले मलाई लाग्यो भन्ठानेको …. साला… त्यो ..धोती पैसाबाल छ क्या तर… तर… छोड त्यस्को मुजि पैसाले हाम्लाई के गर्छ होइ…मालतीले यही मौकामा सोधी “फूपू हामी यहाँ दिल्ली किन आएको के कामले आएको हामी कहिले फर्किने नेपाल भन्नुन“

“ त …चिन्ता नगर … तलाई म सँगै लिएर जान्छु त्यो साले लाल्सिङेले तलाई बेच्न ल्याएको यहाँ । बेच्यो तलाई बेच्यो बेचिसक्यो तीन लाख पचास हजार भारुमा बुझिस मालती । अहिले मैले पिइरहेको यो रक्सी र मासु छ नि तलाई बेचेको पैसा हो मालती… म क्षति पापिनी है साला त्यो डाक्टर नपुंसक छ त्यस्ले मलाई माया गर्न सक्तैन । यो लाले ठिक छ बरु भोटे भएर हुन्छ र बुद्धि हुनुपर्छ बुद्धि । बुद्धि बाहुनको जस्तै लालेको बुझुस ।

म .. म..म.. कस्तो अपराधीनी है आफ्नै छोरीचेली बेचेको पैसाले रक्सी र मासु खाने थुक्क म.. म.. म सुघुरनी म ..म पातर्नी म बेश्या म म कुलटा म अधर्मी म भोग्या म । सीता जस्ती त सोझीलाई बहाना बाजि गरेर बेचे मैले तलाई । म पनि त नारी नै हु नि । मैले बुझ्नुपर्थ्यो तेरो पीडा तर बेच्न ल्याए । चिन्ता नगर अलिक समय काम गर अनि फर्की नेपाल म छ दै छु नि तेरो …. ।

मालतीको हिर्दय धुजाधुजा भै फाट्न थाल्यो । आखाबाट आँसु होइन रगतको थोपा चुहिन थाल्यो । आज बल्ल उसलाई थाहा भो बेमानीहरूको जुठो र झुठो सपनाहरूले कसरी आक्रमण गरेको छ मेरो सुन्दर शान्त नेपाललाई .. । मालतीको मनमा बिद्रोहको राको सल्कियो । बल्न थाल्यो ह्वारह्वार्ती । यो ज्वालामा अब जति पानी खत्याए पनि ननिभ्ने भो । उ पल्लो होटेलमा गै । लालसिङलाई घिसारेर ल्याइ फुपुकोमा । लालसिङ पनि रक्सीको नसामा थियो । दुवैलाई एकठाउमा राखी । र भनी “ भन कति पैसामा बेचेको मलाई त्यो पैसा सबै निकाल्छौ कि अहिले पुलिसकोमा जाउ म । दुवै आत्तिए । मालतीको अनुहार बाट बोद्रोहको ज्वाला हुरहुर्ती दन्किरहेको थियो । लालसिङ “ म ईन्डियनलाई बोलाएर ल्याउछु“ भन्दै थियो । मालतीले जान रोकि ।

झिसमिसे नहुदै आफुलाई बेचेको पैसा आफैले लिएर ती दुइलाई बाहिर बाट ताल्चा मार्दिएर मालती दिल्ली सेन्टर रेलवे स्टेशन पुगि । दिल्ली बाट फर्किएको ४ औ दिनको दिन उ आफ्नो गाउँ फर्किइ । आउँदा प्रहरी चौकिमा फूपू र लालसिङ विरुद्धमा चेलीबेटी बेचबिखन बिरुद्धमा जाहेरी दिई । घरमा आइ । बाआमाको ऋण तिरी । बैनीहरूलाई स्कुलमा भर्ना गरि । र आफै पनि स्कुल भर्ना भै । एउटा सानो खेत किनि । त्यो परिवारलाई सुसभ्य सुरक्षीत बनाइ । गाउले सँग आँखा जुधाएर कुरा गर्न सक्ने भै उ । मालती पार्थोक गाउँको एउटा दीयालो भै । गाउँलेले केही नयाँ काम गर्दा अब उसैसँग सल्लाह लिने भए । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्