Techie IT
बुधबार, कात्तिक ५,२०७७

कोरोना भोगाइ र अबको व्यवस्थापन


सरकारी संयन्त्र कता चुक्यो ? सरकारले पहिलो चरणको लकडाउन क्रमशः खुकुलो बनाउँदै गइरहेको थियो । लकडाउनको अवस्थामा भक्तपुर छिर्ने नाकाहरू अव्यवस्थित भएको समाचारहरू आउने गरेको थियो । जिल्लाका सीमानाहरूमा गस्ती गर्नेहरूले राम्रै कमाइ गरिआएका थिए । त्यसबाहेक पहुँचवालाहरू एम्बुलेन्सको दुरूपयोग गरी आफ्नो गन्तव्यस्थल पुगिरहेका दृष्यहरूले सामाजिक सञ्जालहरू तरंगित पनि भइरहेका थिए ।

बजारमा सुरुवाती लकडाउन अवधिमा भारतमै अलमलिएका भारतीय मूलका व्यापारीहरू लामो दूरीका सवारीसाधनहरू औपचारिक रूपमा सञ्चालनमा नआउँदै टोल बजारमा देखिन थालेका थिए ।यस परिस्थितिमा भक्तपुर सहर पनि कोरोनाको उच्च जोखिमयुक्त क्षेत्रमा परिणत हुँदै थियो। क्रमशः काठमाडौँ उपत्यका कोरोना संक्रमणको हबको रूपमा देखिन थालिसकेको थियो ।

सीमा नाकामा भरपर्दो चेकजाँच, उपयुक्त क्वारेन्टाइन स्थल, सीमामा खटिने जनशक्तिको कमजोर नैतिकता, नियमति स्वास्थ्य प्रतिवेदन संकलन गर्न नसक्नुजस्ता अकर्मण्यताले भारतसँग खुला सीमानाका भएका जिल्लाहरू जस्तै काठमाडौँ उपत्यका पनि असुरक्षित रहन गयो । लकडाउन संक्रमण फैलिन नदिने उपाय हुँदाहुँदै, राज्य संयन्त्रले माथि उल्लेख गरेका कमजोरी हटाउन नसक्दा जनताहरूमा नैराश्यता छायो । थोरै पैसाको लोभमा सरकारी प्रोटोकलको बेवास्ता गरिदा घनाबस्ती रहेको उपत्यकामा संक्रमण दर उच्च दरमा बढ्न थालेको पुष्टि हुन्छ ।

मलाई कसरी संक्रमण भयो ? काठमाडौँ उपत्यका हुँदै भक्तपुर जिल्लामा पनि संक्रमण दर बढ्न थालेको कारण अत्यावश्यक काममा बाहेक घरबाहिर हिँड्न छोडेको थिएँ । साथीभाइ भेटघाट ठ्याम्मै रोकिसकेको थियो । कोरोना रोगको प्रकृति फरक छ । मानिसदेखि मानिस डराउनुपर्ने । केही महिनाअघि मोहन मैनालीको किताब मान्ठा डराएको जुग पढेको थिएँ । एक समय नेपालीहरू नेपालीहरूसँगै डराएर जीउनुपर्ने राजनीतिक संकटकालको कालकोठरीको जीवन व्यतित गर्न बाध्य बनेका थियौँ ।

आज अदृष्य भाइरसको कारण पुनः फरक ढंगले मानिससँग डराएर जीउनुपर्ने बाध्यता आइप-यो । हामी अपरिचितसँग सावधान र सचेत हुनेभयौँ तर परिचितसँग खासै डराएनौँ । फलतः परिचितहरूबाटै हामी संक्रमित हुन थाल्यौँ । मास्कको प्रयोग धुलो छेक्न मात्र गर्न थाल्यौँ । कुराकानी अस्पष्ट हुने भएर मास्क सारेर, झिकेर कुराकानी गर्न थाल्दा कोरोनाको संक्रमणको जोखिम बढ्न थालेको देखिन्छ ।

फ्रिजमा रहेको चिसो मेवा र काँक्रो खाँदा मलाई रुघा लागेको थियो । कोरोना संक्रमितहरूका र विज्ञहरूको अनुभव र विचार सुन्दा कोरोना हुनबाट जोगिन रुघालाई बढ्न दिनुहुँदैन । अघिपछि जस्तै निको होला भनी कुरेर नबस्न भन्ने सल्लाहअनुसार साइनेक्स औषधि र ज्वरो आउन सिटामोल खान थालेको थिएँ ।

ल्यापटप बनाउने बहानामा साथीकहाँ गएको थिएँ । १÷२ मिटरको भौतिक दूरी थियो । दुवैको मास्क छँदै थियो । चिया खान मास्क निकालेको याद छ । ल्यापटप बनाउँदा पनि साथीले स्यानिटाइजरको प्रयोग गरेकै थियो । साथीका दाइ र काका पनि कम्प्युटर मर्मत कोठामा आएर अलग्ग सोफामा बसेका थिए । ४० मिनेटको बसाइ सकेर घर फर्केको थिएँ । घर फर्किँदा साथीको ससुराबालाई कोरोना संक्रमण भएर साथी पनि कन्ट्याक्ट ट्रेसिङमा भएको जानकारीपश्चात् रिपोर्ट नआउञ्जेल आफू पनि कोठामा अलग्ग क्वारेन्टाइनमा बस्न सुरु गरेको थिएँ । साथीको रिपोर्ट नेगेटिभ आउने कामना गर्दै ३ दिन बिताएँ ।

कुनै लक्षण नदेखिएका साथीको पोजेटिभ रिपोर्ट आएकोले शंका लागि पुन परीक्षण गराए, त्यसमा पनि पोजेटिभ देखिएपछि, साथी एकान्तवासमा गए । तत्पश्चात् आफू पनि संक्रमणको दायरामा परिसकेको कारण मन बैचैन हुनथाल्यो । अनिद्रामै रात बित्न थाल्यो । साथीसँग सम्पर्क भएको हप्तादिनपछि शनिबार स्वाब संकलन भयो । पुरानो रुघा निको भइनसकेको कारण मेरो नतिजा पनि सुखद नहुनेमा चिन्तित थिएँ । यो समयमा कलेजको काममा अलि धपेडी महसुस गरेको थिए । राती अबेला काम गर्दाको थकान अघिपछि भन्दा बढी नै महसुस गरिरहेको थिएँ ।

स्वाब रिपोर्ट नगेटिभ हुनेहरूको आइतबार ४ बजे नै खबर मोबाइलमा आइसकेको रहेछ । जसको आएन उनीहरूको रिपोर्टमा खराबी भएको सम्भावनाले बलियो रूप लिँदै गइरहेको थियो । यो रात म मात्र होइन जहान परिवार पनि रिपोर्टको तनावमा निदाउन सकेनन् ।

सोमबार धड्कन बढ्न थालेको थियो । आज सुन्न नपरे हुन्थ्यो भन्ने लागेका खबर सुन्नपर्ने भयो भनी बिचलित भइरहेको थिएँ । नभन्दै १०ः३० बजेतिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको फोन आयो । नर्भस भइयो, डरले छाती धक्क फुलिसकेको थियो । रिपोर्ट पोजिटिभ आएको जानकारी दिइयो र स्वास्थ्य अवस्थामा कुनै खराबी भए नभएको सोधनी भयो । लगत्तै एकान्तवासमा बस्न निर्देशन दियो । स्वास्थ्यमा तत्काल कुनै खराबी देखिए ११३३ मा रिपोर्ट गराउन र अस्पतालको व्यवस्थापन हुने जानकारी समेत पाइयो ।

संक्रमण पहिले नै आफूसँग भएको पनि हुनसक्थ्यो । अन्त बजारमा किनमेल गर्दा आफूभित्र सरेको पनि हुनसक्थ्यो । संयोग वा विडम्बना भनुम नेवारी उखान याद आयो । काग बस्नु र हाँगा भाँच्नु । हो यस्टै हुन गयो । अन्य स्रोत वा कारण खोज्ने झन्झट कसले गर्ने पो हुन् । छोटो समय भेटघाट भएका साथी संक्रमित भएपछि उसैतिरबाट संक्रमण आयो भन्दा सबैलाई सजिलो हुने रहेछ । अरुलाई दोषी बनाउनु न्योयोचित नहोला । आफ्नै असावधानीमा गुनासो गर्नु उपयुक्त ठानेँ ।

कोरोना पुष्टिपछिको अवस्था : आफू पनि कोरोना संक्रमित भइयो भन्ने आधिकारिक जानकारी मिलेपछि आफैँलाई कमजोर महसुस गर्नपुगेँ । हिजोसम्म अनुहारमा देखिने हाँसोको रेखाहरू क्षणभरमा हराइसकेका थिए । जबरजस्ती हाँसेको अभिनय गर्न थालेँ । आफू त एकान्तबासमा हुने भइयो, घर परिवारलाई मानसिक तनाव र कार्यबोझ थपिने भयो ।

आफ्नो कारण ७५ वर्ष नाघेका बा आमा र ८ महिनाको बच्चालाई केही भइहाल्लाकि भन्ने पीरले सताउन थाल्यो । परिवारका सबै सदस्य नै तनावमा परेको देख्न सकिन्थ्यो । देखाएर रुन कसैले सकेन तर एकान्तमा रुन कसैले छेकेन । अब कसलाई खबर गर्ने कसलाई नगर्ने निक्कै अप्ठ्यारो अवस्थामा परियो । हिम्मत गरेरै परिवारका सदस्यहरूको र नजिकका साथीहरूलाई मेसेन्जरमा कोरोना संक्रमित भएको जानकारी दिएँ ।

क्षणभरमै जिल्ला जनस्वाथ्य कार्यालयको फोन आयो । स्वास्थ्य स्थितिको जानकारी लिइकन होम आइसोलेसनको व्यवस्था मिले नमिलेको जानकारी लियो । खासै स्वास्थ्य समस्या नभएकोले घरमै आइसोलेसनमा बस्न सकिने सुझाव मिल्यो । केही समयपछि भक्तपुर नगरपालिकाको जनस्वास्थ्य केन्द्रबाट फोन आयो । माथि भएजस्तै कुराकानी भयो । लगातारका यी तीन कलले ढाडसका साथै झर्को पनि मिल्यो ।

भनपा जनस्वास्थ्य केन्द्रका कोरोना फोकल चिकित्सकले तत्काल कन्टयाक्टमा बसेकाहरूको विवरण उपलब्ध गराउन अनुरोध भयो । अहिले बल्ल त संक्रमित भएको थाहा पाएँ, बुझेर भोलि खबर गरुमला भनेर फोन राखिदिए । त्यसपछि भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वको फोन आयो । जरो बढिरहेको जानकारी दिए । अप्ठ्यारो भए अस्पताल जाउँ भन्ने सल्लाह दिनुभयो । पीर नलिन, तनावमा नबस्न र उपचार प्रबन्धको चिन्ता नलिन ढाडस दिनुभयो । हुन्छ, केही परे खबर गरुमला भनेर कृतज्ञताका साथ फोन राखिदिए ।

यतिञ्जेलसम्ममा घरको माथिल्लो तल्ला छोडी तल्लो तल्लामा एकान्तबासमा बस्न आइसकेको थिएँ । नजिकका आफन्तहरूको फोन आउने क्रम सुरु भइसकेको थियो । मानसिक तनाव र शारिरिक अस्वस्थताका कारण फोन उठाउने मन हुदैनथ्यो । अत्यन्त जरुरी फोनबाहेक अन्य फोनहरू बेवास्ता गरिबसेँ । एकान्तबासको अनुभव लिइसकेका र घरमै कोरोनाको उपचार गरिरहेका चिनजानका साथीभाइहरूको फोन आउन थाल्यो । अनुभव सुनेर आफ्नो उपचारका खाका दिमागमा कोर्न थालेँ ।

तनावले ज्वरो नियन्त्रणबाहिर जान सकिने सम्भावनालाई ख्याल गर्दै तनावरहित बन्ने अभ्यास थालेँ । कोरोना रोगका नकारात्मक असरभन्दा यसलाई परास्त गर्न सकिने खालका समाचार र जानकारीहरू नेटमा खोज्न थालेँ । बिहानदेखि बेलुकासम्मका नियमित रुटिन अनुसरण गर्न थालेँ । पौष्टिक आहार, पुग्दो मात्रामा तातो पानी, जडीबुटी पानी, उपयुक्त खानपान, योग ध्यान, व्यायाम र सरसफाइमा दिनचर्या व्यतित हुँदै गयो ।

भोलिपल्ट सूर्यविनायक नगरपालिका वडा नं.८ का वडाध्यक्ष किरण थापाको फोन आयो । सन्चो बिसञ्चो र घर सिल्ड गर्ने नगर्ने छलफल भयो । म आफू घर सिल्ड नगरेकै अवस्थामा सुरक्षित भएकोले सिल्ड गर्न आवश्यक नभएको जिकिर गरेँ । परिवारको स्वाब रिपोर्ट नेगेटिभ नहुञ्जेल कोही घरबाट नबाहिरिने बचन दिएँ । सुरक्षा सावधानी र स्वास्थ्यको ख्याल राख्न अनुरोध गर्दै उहाले फोन राख्नुभयो । घर सिल्ड गर्ला, बटुवा छर छिमेकीले आतंकित नजरले परिवार र मलाई हेर्ला कि भन्ने ठूलो चिन्ता तरेकोमा आनन्दको स्वास फेरे । संक्रमितको घरको सिल्ड गर्ने नियमप्रति पुनः विचार गर्नुपर्ने देख्छु ।

औषधि उपचार : घरमै भतिजो चिकित्सक भएकोले म ढुक्क थिएँ । सबैको यस्तो अनुकुलता नहुन सक्छ । चिकित्सक साथीहरूलाई सम्पर्क गरी स्वास्थ्य अवस्थाको जानकारी गराउँथे । आएका सुझावहरूको टिपोट बनाउँथे । दैनिक अनुगमन तालिका बनाएर तापक्रम, अक्सिजनको मात्रा, रोगका अन्य लक्षणहरू, औषधिहरूको सेवनको तालिका बनाएर चिकित्सिकहरूलाई सेयर गर्थे । ४/५ दिनसम्म ज्वरो ९८ देखि १०१ सम्म बढ्ने घट्ने भइरह्यो ।

मेरो लागि ज्वरो नै कोरोनाको लक्षणका रूपमा देखेँ । अलि बढी असजिलो हुँदा ६ घण्टाको फरकमा सिटामोल खाए । फार्मेसीका साथीले केही हप्ता दिनअगाडि नै कोरोना भइहाले अत्यावश्यक औषधिहरू राख्न दिएको सुझावअनुसार औषधि जोरजाम थियो । सिटामोलसँगै भिटामिन सी, डी, हल्का खोकी देखिँदा कफट्याब र ज्वरो निको भएपछि कुनै व्याक्टेरियल इन्फेक्सन नहोस् भनेर अजिट्रोमाइसिन ५ दिनका लागि चिकित्सकीय परामर्शअनुसार सेवन गर्न थालेँ ।

दिउँसो बाफ लिने, साँझको व्यायामपछि स्टिमबाथ लिई तातोपानी नुहाउन थाल्दा निक्कै ताजगी अनुभुति हुँदोरहेछ । कोरोनाले छाती र फोक्सोमा असर पु-याउन सक्ने र श्वासप्रश्वासको समस्या आउन नदिन निक्कै सतर्क र सजग हुनुपर्दो रहेछ । जसको लागि नियमित तातोपानीको सेवन र बाफ लिने गर्नुपर्ने रहेछ ।

कोरोना संक्रमणको व्यवस्थापन कसरी गर्ने ?
१. कोरोना पोजिटिभ भएको दिन टेकु अस्पतालदेखि प्रहरी प्रशासनसमेत ५ ठाउँबाट विभिन्न कलहरू आए । केही समय अन्तरालमा सोधिने उही प्रश्नहरूको संख्या र उही जवाफले कोरोना संक्रमित विरामीलाई मानसिक तयारी नसकिँदै आक्रान्त पारेको महसुस हुँदो हो । तसर्थ कोरोना बिरामीसँग नियमित सम्पर्क र अद्यावधिक जानकारीका लागि एकल कार्यालयले जिम्मेवारी लिनुपर्ने देखिन्छ ।

एक निकाय सेवा प्रवाह संयन्त्र हुने हो भने ३ तहका सरकारको समन्वययकारी भूमिका पनि देखिन्थ्यो भने अर्कोतिर बिरामीले आफू एक्लो नरहेको भन्ने महसुस गर्न सक्दछ । बिरामी एक्लै बस्नुपर्ने यस प्रकारको रोगमा विरामीलाई दरिलो आड, भरोसा र साथ चाहिने हुन्छ । सोको बन्दोबस्त पनि चुस्त हुनेथियो ।

२. सुरुमा तारन्तार फोन आए पनि दिन बित्दै गएपछि कुनै पनि निकायको सम्पर्क भएन । घरमै एकान्तवासमा रहेका विरामीहरूको दैनिक स्वःअनुगमन चार्ट इमेलमार्फत वा फोनमार्फत बुझिलिए हरेक साँझ छोटो चिकित्सकीय परामर्श उपलब्ध हुन सकेको भए सरकारी सेवाको अनुभूति बिरामीहरूले पाउथेँ । ठूलै तनावबाट मुक्त हुन्थेँ ।

३. संक्रमित भइँदा मानसिक तथा शारीरिक दुवै दृष्टिबाट कमजोर भइन्छ । यस अवस्थामा साथीभाइ, इष्टमित्रहरूले बिरामीलाई फोन गरी उही प्रश्नहरू तेस्र्याउनुको सट्टा मेसेन्जर वा एसएमएसमार्फत जिज्ञासा वा संवाद राखिदिँदा सहज हुनेथियो ।

४. सरकारको अहिलेको अवस्थामा संक्रमण नियन्त्रण गर्ने नीतिहरू असफल भइसकेको देखिन्छ । सरकार आत्मसमर्पणको अवस्थामा पुगेको देखिन्छ । सबै कार्यालयहरू खुलेको अवस्थामा संक्रमित हुनेहरूको संख्या अझ बढ्ने निश्चित छ । तसर्थ अस्पतालमा बेड र आईसोलेसन सेन्टरहरू व्यवस्थित ढंगले विस्तार गर्नुपर्ने देखिन्छ ।

भएका सरकारी आइसोलेसन सेन्टरहरूको व्यवस्थापकीय कमीकमजोरीले सम्भव भएसम्म घरमै आइसोलेसनमा बस्नेहरूको संख्या बढ्नेछ । तसर्थ सबै परिवारले घरमा आइसोलेसन बस्न मिल्ने कोठाको प्रबन्ध गर्न आवश्यक छ । मितव्ययी ढंगले बाथरुम, शौचालय र सम्भव भए सानो भान्छाकोठा समेतको प्रबन्ध गर्न आवश्यक प्राविधिक र आर्थिक सहयोग सरकारले गर्नुपर्ने देखिन्छ । यसले भोलि संक्रमित भई सरकारी आइसोलेसन सेन्टरमा आउनुपर्दाको खर्चलाई निकै कम गर्न सहयोग गर्छ ।

५. आइसोलेसनमा बस्दा बिरामी वा बिरामीका परिवारले गर्नुपर्ने कामहरू के–के हुन् र गर्न नहुने कार्यहरू के–के हुन् ? सो खुल्नेगरी हाते पुस्तिकाहरू बनाई बिरामीको घरमा पु¥याउन आवश्यक छ । धेरै बिरामीले चिकित्सकीय परामर्श पाउन सकेको हुँदैन । तसर्थ यस्ता पुस्तिकाले स्वःउपचार र रोग प्रतिरोधात्मक पद्धति विकास गर्नमा समेत सहयोग मिल्नेछ ।

६. सकारात्मक सोच नै रोग परास्त गर्ने हतियार भएकोले सकारात्मक सोच विकास गर्न योगाभ्यास, ध्यान, तनाव व्यवस्थापन र शारीरिक व्यायामका विविध उपयोगी भिडियोहरूको सानो संग्रह पनि ईमेल वा अन्य माध्यमबाट बिरामीको हातसम्म पुग्ने व्यवस्था गर्न सकेमा एकान्तवासको अवधि निक्कै फलदायी हुने थियो ।

७. संक्रमित व्यक्ति घरको प्रमुख आर्थिक स्रोत हुनसक्ने भएकोले पौष्टिक आहार, घरपरिवार खाद्यान्नको जोहो आदिको अवस्था बुझी स्थानीय वडा कार्यालयले खाद्यान्न र आधारभूत औषधिमूलोको व्यवस्था गरिदिन सके स्थानीय सरकारको महत्व बढ्ने थियो ।

. धेरै संक्रमितहरूले धेरै थरिका सल्लाह शुभचिन्तकहरूबाट पाउने गर्दछन् । सबैले भनेबमोजिम गर्ने हो भने एक दिनभरि पनि नपुग्ने अवस्था छ भनी गुनासो व्यक्त गर्ने गरेको पाइन्छ । सही के हो, गलत कुन हो, अहिलेको आफ्नो स्वास्थ्य अवस्थामा गर्नुपर्ने के हो ? सो को उचित परामर्श बिरामीलाई खट्केको हुन्छ । यो खट्को कसरी टार्ने सो सम्बन्धमा स्थानीय सरकारले कोरोना फोकल एकाइहरू, विज्ञ व्यक्तिहरूको टिममा छलफल गरी निचोड प्रस्तुत गर्न सकिएमा निकै सान्दर्भिक हुने थियो ।

९. सामाजिक संजालमा कोरोना केही पनि होइन भन्ने खालका भ्रमहरू निक्कै प्रचार प्रसार भइरहेको छ । भ्रामक समाचार रोक्न सरकार असक्षम भयो । भ्रामक समाचार र खबर दिनेहरूलाई सरकारले निर्ममतापूर्वक निषेध गर्नु आजको टड्कारो काम हो । वैज्ञानिक तथ्य प्रमाणबाहेक स्वनामधारी विज्ञहरूको युट्युबदेखि अन्य मिडियाहरू अन्तरवार्ताहरूमा पूर्णतः निषेध गरिनुपर्छ । गलत अफवाह फैलाएको आरोपमा जेलमा किन नहाल्ने ?

१०. कोरोना ज्यान लिने रोग हो भनेर आतङ्कित हुने खालको समाचारहरूको निकै बाढी आउने गरेको छ । मेरो भोगाइमा कोरोना रोगको समयमै जानकारी पाई उपचार गर्न सकियो भने ठूलो दुर्घटना हुन नपाउँदै निको हुन सकिने प्रकृतिको रोग हो, सामान्य व्यक्तिको हकमा । असामान्य दीर्घरोगी र श्वासप्रश्वाससँग सम्बन्धित बिरामीहरूको लागि यो रोगले असामान्य क्षति पु¥याउन सक्नेतर्फ निकै नै सतर्कता र सावधानी लिन आवश्यक छ ।

११. यो रोगको लक्षण देखिए त अरुलाई संक्रमण हुनबाट जोगाउन सकिने थियो । तर लक्षण नदेखिने प्रकृतिका संक्रमितहरूको अनावश्यक आत्मविश्वासले धेरैलाई संक्रमण गराइरहेको हुन्छ । तसर्थ संक्रमितको सम्पर्कमा पुगिसेकेकाहरू, स्वाब दिइसकेकाहरू र लक्षण नदेखिएका संक्रमितहरू थाहा भएको दिनदेखि रिपोर्ट नेगेटिभ नआएसम्म स्व. एकान्तवासमा बसिदिएको खण्डमा धेरै हदसम्म समुदायस्तरमा यो रोगको संक्रमण फैलिन नदिन भूमिका खेल्न सक्थ्यो ।

१२. कोरोना रोकथाम र नियन्त्रणका लागि आत्मअनुशासन र इमान्दारिता सबै तह तप्काका नागरिक, कर्मचारी, व्यापारीहरूसँग हुन आवश्यक छ । यस समयमा अनुशासनहीन र अनैतिक कार्य गर्ने जोसुकै कर्मचारीलाई अपराधीको रूपमा दण्डित गरी कानुनी शासनको प्रत्याभूति सरकारले जनतालाई दिनसक्नुपर्छ ।

सरकार कर्तव्यच्युट भइदिँदा सरकारी निर्देशनको पालना कसले गराउने ? सरकारको आग्रह नागरिकले कसरी मानिदिन्छ ? तसर्थ सरकारले जारी गरेका निर्देशनहरूलाई हामी सबैले गम्भिरतापूर्वक पालना गरी अनुशासनमा बसेर कोरोना संक्रमण नियन्त्रण र रोकथाममा ठूलो सहयोग पु-याउन सक्छौँ । (उपप्राध्यापक, त्रिवि केन्द्रीय व्यवस्थापन विभाग, कीर्तिपुर) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्