Techie IT
१० असार २०७८, बिहीबार

दिगो अर्थतन्त्रको भरपर्दो विकल्प : कृषि र जलस्रोत


विश्व नै आज दिगो आर्थिक विकासको खोजीमा छ । आर्थिक वृद्धि समयसापेक्ष गर्न सकिएला तर दिगो आर्थिक विकास लामो समयपछि मात्र प्राप्त गर्न सकिन्छ । आर्थिक विकास आर्थिक वृद्धिमा निर्भर हुन्छ । वृद्धि सीमित सूचकले निर्धारण गर्दछन् भने विकासका लागि धेरै सूचकहरू पूर्ण भएको हुनुपर्दछ । विकासले मानिसको गुणस्तरीय जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । विकास मानिसको गुणस्तरीय जीवनमा भएको परिवर्तनबाट अनुभूति गर्न सकिन्छ ।

सञ्चालित अर्थतन्त्रलाई थप वृद्धि र चलायमान बनाउने स्रोतको खोजी विश्वका हरेक देशले गरिरहेका छन । भएका स्रोतको उचित सदुपयोग तथा वैकल्पित स्रोतको उपयोगमार्फत हरेक देशले आफ्नो अर्थतन्त्र सबल बनाउने प्रयास गरिरहेका हुन्छन् । अर्थतन्त्रकै अवस्था(क्षेत्र) र सबलीकरणले दिगो विकासलाई इङ्गित गर्दछ । विकासको आधारमा विश्वलाई विकसित, विकासोन्मुख र अतिकम विकसित गरी तीन भागमा बाँडिएको हो । यसमध्ये नेपाल मिश्रित अर्थव्यवस्था अंगालेको अतिकम विकसित मुलुकमा पर्दछ ।

नेपाल विश्वमा सगरमाथाको देश, वैदिक सनातन धर्म अंगालेको देश भनेर चिनिन्छ । यहाँको भूगोल हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ । जसमध्ये ८३ प्रतिशत भू–भाग हिमाली र पहाडी क्षेत्रले र १७ प्रतिशत मात्र भू–भाग तराईले समेटेको छ । तराई क्षेत्र कृषियोग्य समथर छ त्यही देशको आधा जनसंख्या बसोबास गर्दछन् । विश्वको तुलनामा सानो मुलुक भए पनि प्राकृतिक स्रोतमा धनी मानिन्छ ।

जलस्रोतमा मात्र विश्वको जलस्रोतको दुई दशमलव २७ प्रतिशत उत्पादन क्षमता नेपालसँग रहेको छ । वनजंगलले लगभग ४५ प्रतिशत क्षेत्रफल ओगटेको छ । प्रशस्त खनिजजन्य स्रोतहरू छन् जुन उत्खननको पर्खाइमा बसिरहेका छन् । यिनको समुचित उपयोग हुन नसक्दा दिनानु दिन खेर गइरहेका छन् । विश्वका हरेक देशले आफ्नो दिगो अर्थतन्त्रका लागि स्थायी प्रकृतिका स्रोत परिचालन गरिरहेका हुन्छन् । आफूसँग उपलब्ध स्रोत, उत्पादन क्षमता, वातावरण र रोजगारीलाई मध्यनजर गरी स्रोतको परिचालन गरिएको हुन्छ ।

(क) कृषि :- नेपालमा आर्थिक विकासका लागि उपलब्ध विभिन्न स्रोतहरूमध्ये उत्तम विकल्प कृषि र जलस्रोत हुन् । कुल जनसंख्याको लगभग ६५ प्रतिशत कृषिमा निर्भर छन् जसको प्रमुख पेसा कृषि रहेको छ । देशको कुल खाद्यान्न उत्पादनले देशलाई खाद्यान्न पुग्ने अवस्था छ तर उपलब्ध भू–भागको पूर्णत उपयोग भएको छैन । कुल क्षेत्रफलमा १८ प्रतिशत कृृषियोग्य भूमि छ । उत्पादनको हिसाबले राम्रो नै मान्नु पर्दछ ।

कृषियोग्य जमिनमा सिँचाइमा भएको समस्यालाई सरकारले यथाशीघ्र समाधान गर्दा उत्पादनले तीव्रता लिन्छ । हाम्रा मुख्य उत्पादनमा धान, मकै, गहुँ, कोदो, जौ र फापर पर्दछन् । कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवनको विसं २०७७ को डायरी हेर्दा कुल गार्हस्थ्य उत्पादनमा कृषिको २६ दशमलव ५० प्रतिशत योगदान छ जसमा मत्स्यको शून्य दशमलव ४८ प्रतिशत रहेको छ ।

कृषि उत्पादनमा धानको सबैभन्दा ठूलो त्यसपछि मकै, गहुँ, कोदो र फापरको योगदान रहेको देखिन्छ । आव २०७५÷७६ मा मुलुकभर धान, मकै, गहुँ, कोदो, जौ, फापर गरी कुल एक करोड ६८ लाख पाँच हजार पाँच सय ५० मेट्रिक टन खाद्यान्न उत्पादन भएको थियो ।

नेपालीलाई एक वर्षका लागि ६१ लाख मेट्रिक टन खाद्यान्न भए पुग्ने पनि सोही डायरीमा बताइएको छ । यो तथ्याड्ढलाई आधार मान्दा एक तिहाईले नेपालीलाई पुग्ने र दुई भाग अन्नलाई व्यावसायिकरूपमा प्रयोग गर्न सकिने देखिन्छ । तर वर्षैपिच्छे अर्बौंको खाद्यान्न आयात गरेको तथ्यांक देखिनु नेपालमा उत्पादन खाद्यान्न उत्पादनकै समयमा भण्डारण व्यवस्थापन नभएको कारण हुनसक्ने आंकलन गर्न सकिन्छ । यसरी हेर्दा नेपालले अहिलेकै अवस्थामा ५३ अर्ब ५० करोडबराबरको खाद्यान्न निर्यात गरी विदेशी मुद्रा आय गर्न सक्दछ अहिलेसम्म उत्पादनयोग्य भूमि बाँझो रहेकोलाई उत्पादनमा परिणत गरी उत्पादन गर्दा लगभग ६० अर्बबराबरको निर्यात गर्न सकिने अवस्था छ ।

कृषि उत्पादनले नेपालको आधारभूत जीवन संरक्षण हुन्छ, यो विकासको पहिलो सर्त हो । यसै पेसाका कारण आम गाउँवासीले आफ्नै थातथलोमा बस्ने अवसर प्राप्त गर्दछन् गाउँमै बसेर आफ्ना सन्तानको सपना साकार पार्न सक्छन् । ग्रामीण उत्पादनका साधनमा सबै सर्वसाधारणको पहुँच विस्तार हुन्छ । अवका दिनमा सरकारले कृषिक्षेत्रलाई प्रोत्साहन गर्न प्रयाप्त कृषि ऋण, मल, जलको सुविधा, प्राङ्गारिक÷जैविक मलमा जोड, कृषि भण्डारणजस्ता सुविधा उपलब्ध गराउनु पदर्छ । यस क्षेत्रले मानिसको दैनिक जीवन यापनलाई निरन्तरता दिन्छ भने निर्यात अभिवृद्धि भई दिगो रोजगारी सृजना हुन पुग्छ ।

(ख) जलस्रोत :- जलस्रोतमा नेपाल विश्वकै दोस्रो ठूलो राष्ट्रमा पर्दछ । नेपालसँग सैद्धान्तिकरूपमा ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता छ जसमध्ये ४२ हजार मेगावाट आर्थिक/प्राविधिकरूपमा सहज छ । नेपालले जलविद्युत्लाई नै पूर्ण ऊर्जाको रूपमा प्रयोग गर्दा अर्थतन्त्रमा ठूलो योगदान पुग्दछ ।

हाल नेपालमा विद्युतीय ऊर्जाको प्रयोग जम्मा १४ प्रतिशत मात्र छ । पेट्रोलियम पदार्थको ६० प्रतिशत, कोइलाको २० प्रतिशत र अन्य ऊर्जा छ प्रतिशत रहेको छ । उर्जा एक युनिट विद्युत् खपत गर्दा ८४ रूपैयाँ बराबरको अर्थतन्त्रमा योगदान पुग्ने एक अध्ययनले देखाएको छ । तर नेपालमा प्रतिव्यक्ति विद्युत् खपतको दरलाई हेर्दा अति न्यून देखिन्छ ।

नेपालमा दुई सय ४५ युनिट मात्र प्रतिव्यक्ति विद्युत् खपत भइरहेको छ । आन्तरिकरूपमा विद्युत् खपत बढाउँदा अर्थतन्त्र पनि बलियो बन्दै जान्छ यसको खपत बढाउनु पर्नेमा ऊर्जा मन्त्री वर्षमान पुनले जोड गरिरहेका छन् । दैनिक जीवनमा खाना बनाउन प्रयोग गरिने उर्जाको रूपमा विद्युत् खपत गराउँदा ग्यासभन्दा १२/१५ प्रतिशतले सस्तो पर्ने हुन्छ ।

त्यसैगरी सवारी साधनलाई एक किलोमिटर गुड्न एक रुपैयाँ पचास पैसाबराबरको विद्युत् प्रयोग हुन्छ । जुन पेट्रोलको तुलनामा अत्यन्त कम हो । पेट्रोलबाट एक किलोमिटर गुड्न सात देखि १० रुपैयाँसम्म खर्च हुन्छ । हाल नेपालमा सबैतहका सवारीसाधन गरेर एक लाख पचास हजारको हाराहारीमा गुडिरहेका छन् । यसबाट ठूलो नेपाली रुपैयाँ बाहिरिनबाट रोकिन्छ ।

पछिल्लो समय नेपालमा एक हजार तीन सय ८६ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । गत वर्ष एक हजार तीन सय ५० मेगावाट पिक डिमाण्ड रहेकोमा यो वर्ष कोभिड–१९ को कारण ११ सय मेगावाट मात्र डिमाण्ड रह्यो । यसमा पनि रातको समयमा विद्युत् खेर गइरहेको छ । रातको समयमा लगभग एक डेड करोडको विद्युत् खेर गइरहेको ऊर्जा मन्त्रीको दाबी छ ।

विशेषतः वर्षामा धेरै विद्युत् खेर जान्छ त्यसका लागि विद्युतीय ऊर्जा प्रयोग हुने वस्तुको प्रयोगमा जोड दिनुपर्ने विद्युत् विशेषज्ञहरूले बताइरहेका छन् । हरेक क्षेत्रमा प्रयोग हुने ऊर्जाको रूपमा विद्युत्लाई नै प्रयोग गर्ने हो भने सन् २०२८ सम्ममा नेपाललाई १० हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिन्छ । १० हजार मेगावाट उत्पादन गरी प्रतियुनिट विद्युत् खपत ८४ रुपैयाँले हुँदा अर्थतन्त्रको सबलीकरण बृहत् हुन्छ ।

कृषि र जलस्रोतको उत्पादनमा भएको वृद्धिले राष्ट्रिय अर्थतन्त्र बलियो बन्छ । यी क्षेत्रको उत्पादन दिगो र निरन्तर हुने हुनाले आम्दानीमा पनि निरन्तरता हुन्छ । रोजगारी बढ्छ, प्रतिव्यक्ति आयमा वृद्धि हुन्छ । मानिसहरूले गुणस्तरीय जीवन व्यतित गर्न पाउँछन् । सकरात्मक सोचको विकास भई समाजमा हुने आपराधिक घटनाको अन्त्य हुन्छ । देशमै रोजगारी सृजना भई विदेशिनेहरू अति न्यून हुन्छन् । नागरिकमा राष्ट्रप्रेम जागृत हुन्छ । नागरिक व्यक्तिगत स्वार्थमा भन्दा राष्ट्रिय स्वार्थमा लाग्ने वातावरण बन्दै जान्छ ।

वास्तवमा आफूसँग भएको स्रोतको उपयोगबाट आर्थिक वृद्धिको सम्भावना खोज्ने हो । प्रकृतिले हरेक देशलाई एउटा न एउटा प्रचुर सम्भावना बोकेको प्राकृतिक स्रोत प्रदान गरेको हुन्छ । अन्य देशको तुलनामा त नेपाल प्राकृतिक स्रोतमा धेरै धनी छ । यिनको उचित सदुपयोग र प्रयोगको नीति मार्फत उत्पादन गर्नुृपर्ने हुन्छ । यिनले निरन्तर उत्पादन प्रदान गर्दछन् । अहिले नेपालमा कृषि र जलविद्युतको उत्पादनमा लगानीको ठूलो धक्का दिन जरुरी छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्