Techie IT
१४ असोज २०७९, शुक्रबार

बुढेसकालको बिर्सने रोग


प्रत्येक सेप्टेम्बर २१ तारिखमा अर्थात असोज ५ गते विश्व अल्जाइमर दिवस मनाउने गरिएको छ । यो दिवस सन् २०१२ देखि विश्वभरि मनाउने गरिएको थियो । अल्जाइमर रोगबारे जनचेतना जगाउने उद्देश्यले सेप्टेम्बर महिनालाई विश्वका धेरै मुलुकले अल्जाइमर महिनाको रूपमा लिई अल्जाइमरसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको सन्दर्भमा हाम्रो नेपालमा पनि राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, अल्जाइमर रोगसम्बन्धी कार्य गर्ने संस्था अल्जाइमर विस्मृति समाज र महासंघअन्तर्गत रहेका ज्येष्ठ नागरिक जिल्ला संघहरू र अन्य विभिन्न संघसंस्थाहरूले अल्जाइमर रोग लागेको हो वा होइन त्यस्ता व्यक्तिको डाइग्नोसिस गर्ने, अल्जाइमर रोगीका परिवार सदस्यलाई परामर्श दिने, रोगीलाई उचित हेरचाहको लागि अल्जाइमर केयर तालिम सञ्चालन गर्ने, विभिन्न सञ्चारका माध्यमबाट अल्जाइमर विशेषज्ञहरूबाट अन्तरवार्ता कार्यक्रम सञ्चालन गर्ने, अलजाइमर रोगको बारेमा लेख रचना प्रकाशन गर्नेजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको कुरालाई आत्मसात् गर्न सकिन्छ ।

हाम्रो देशको परिप्रेक्ष्यमा हालसम्म अल्जाइमरका बिरामीहरूको यकिन तथ्यांक नभए पनि अल्जाइमर डिजिज इन्टरनेसनलको प्रक्षेपणअनुसार सन् २०१७ मा यस रोगबाट पीडितको संख्या ८० हजार रहेको छ भने यो संख्या बढेर सन् २०३० मा एक लाख ३४ हजार र सन् २०५० सम्ममा दुई लाख ८५ हजार पुग्ने अनुमान गरिएको छ ।

मूलतः अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन  । खालि चिकित्सकले संस्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलापलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा सिकाउँछन् । नियमित शारीरिक व्यायाम, सामाजिक तथा बौद्धिक क्रियाकलापमा सक्रियता आदिले यो रोग बढ्ने गतिलाई मत्थर पार्न सक्छन् ।

हाम्रो जीवनशैलीका केही तरिकाहरूले अल्झाइमर रोग हुने सम्भावनालाई घटाउन सकिन्छ । यसको साथसाथै सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा बौद्धिक व्यायाम हुने खालका काममा लाग्नाले तपाईंको मस्तिष्कको कार्यक्षमतालाई जोगाउन सक्छ । सँगसँगै रक्तसञ्चार प्रणालीलाई चुस्त दुरुस्त राख्ने खालका नियमित शारीरिक व्यायामले पनि मस्तिष्कलाई ओरालो लाग्नुबाट जोगाउने क्षमता राख्दछ ।

चिल्लो पदार्थ कम भएको सागसब्जी र फलफूल बढ्ता भएको खानेकुराको नियमित सेवन पनि अल्जाइमर रोगको सम्भावनालाई न्यून गर्ने उपाय हो । मेडिटेर्यानियन आहारलाई अल्जाइमर रोग हुन नदिने राम्रो आहारका रूपमा लिइएको छ ।

काठमाडौँ उपत्यकाभित्र अल्जाइमर्स एण्ड रिलेटेड डाइमण्ड सोसाइटी, नेपालमार्फत बिर्सिने रोगसम्बन्धी ज्येष्ठ नागरिकहरूको अध्ययन गरिएको छ । नेपालमा केही गैरसरकारी संस्थाहरू बिर्सिने रोगसम्बन्धी कार्यहरूमा संलग्न छन् । अन्तर्राष्ट्रिय आँकडाहरूका अनुसार ६५ वर्षभन्दा कम उमेर समूहका चार प्रतिशतलाई यो रोग देखिन्छ भने ६५ देखि ७५ वर्ष उमेर समूहका १५ र ७५ देखि ८५ वर्ष उमेर समूहमा ४४ प्रतिशतमा यो रोग देखिन्छ । सरसर्ती हेर्दा अल्जाइमर रोग निदान भएका मध्ये ८२ प्रतिशत जति बिरामीहरू ७५ वर्षभन्दा बढी उमेर समूहमा पर्दछन् ।

त्यस्तै गरी नेपाल सरकारबाट बिर्सिने रोगको निःशुल्क उपचारका लागि एक लाख रुपैयाँ तोकिएको र सोको उपचार स्वास्थ्य मन्त्रालयले तोकेको त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल, पाटन एकेडेमी अफ साइन्सेज, काठमाडौँस्थित नेसनल एक्याडेमी अफ मेडिकल साइन्सेस र धरानस्थित वीपी कोइराला अस्पतालबाट उपचार गर्नुपर्ने व्यवस्था गरेको छ ।

यद्यपि यस रोगको पूर्ण उन्नमुलनका लागि यो थोरै रकम मानिएला तर यस रोग नियन्त्रणका लागि सरकारको यो पहिलो पाइलालाई उत्कृट कदम मान्नु पर्छ । यस रोगबाट पीडित जनताका उपचारका लागि यो अति महत्वपूर्ण र प्रशंसनीय कार्य मानिएको छ ।

हामीहरूले पनि आफ्नो मुटुको ध्यान आफैँले दिने गर्नुपर्छ । अल्जाइमरबाट बच्न युवावस्थादेखि नै स्वस्थ्यकर जीवनशैली अपनाउनुपर्छ । सकारात्मक सोचका साथ सामाजिक सेवामा लाग्दा शारीरिक र मानसिक क्रियाशीलताका कारण मनस्थिति स्वच्छ राख्न, उदासीनता कम गर्न सकिन्छ । अन्तरक्रिया, सभा, समारोहमा भाग लिँदा, खेलकुद, वनभोज, चाडपर्वमा सक्रिय हुँदा आनन्द प्राप्त हुन्छ । दिमागमा दबाब पर्दैन । शारीरिक क्रियाकलाप, योग, व्यायाम, प्रणायम, ध्यानले मोटोपन, र उच्च रक्तचाप र मधुमेह सन्तुलन राख्न सहयोग पुग्छ ।

मस्तिष्कका नयाँ कोषिकाहरू निर्माण गर्न र कोषिकाबीच सम्बन्ध जीवन्त राख्न नौला र चुनौती दिने कार्य गर्नुपर्छ । खासगरी बिर्सिने रोग लाग्नुपूर्व ५० वर्ष नाघेपछि रचनात्मक कार्यमा सक्रिय रहनुपर्छ । समग्र स्वस्थ्यका लागि सन्तुलित खाना खानुपर्छ । बढी चिल्लो, बोसो, नुन र चिनीले मुटुको लागि खराब गर्छ । मानिसका शरीरमा लगभग एक अर्ब कोषिका (सेल) छन् । करिब २५ प्रतिशत कोषिका मर्ने र नयाँ उत्पादन हुने प्रक्रियामा रहन्छन् । ती कोषिकाहरूको एक सञ्जाल छ । तिनैले एकआपसमा सूचना आदानप्रदान गर्छन् । नाक, कान, घाँटीका कोषिकाले दिमागलाई जानकारी दिन्छन् ।

अन्य अंगले पनि त्यसरी नै जानकारी दिन्छन् । जसरी सलाइ कोरेर ऊर्जा प्राप्त हुन्छ त्यसरी नै शरीरलाई कोषिकाले ऊर्जा दिन्छ । दिमागका कोषिका छिट्टै मर्ने प्रक्रियाले मानिसलाई अल्जाइमर हुन थाल्छ । यसबाट सम्झना शक्तिमा छिटै ह्रास भएर मानसिक हानि हुन्छ । बौद्धिक क्षमता कम हँुदै स्मरण शक्तिमा लगातार ह्रास हुन्छ ।

समग्रमा भन्नुपर्दा तीन वर्षअघि भएको अध्ययनअनुसार विश्वमा पाँच करोड अल्जाइमर्स रोगी पाइएका थियो । अबको पन्ध्र वर्षमा रोगीहरूको संख्या आठ करोड पुग्नेछ । सन् २०५० सम्ममा अकल्पनीय रूपमा रोगीहरूको संख्या बढ्ने अनुमान विशेषज्ञहरूले गरेका छन् ।

विशेषज्ञहरू अल्जाइमरका रोगीहरू यसैगरी बढिरहने हुन् भने हरेक पन्ध्र वर्षमा दोब्बर हुने डरलाग्दो भविष्यवाणी गरिरहेका छन् । यसर्थ विश्व अल्जाइमर दिवस यस्तै कुराहरूमा जनचेतना बढाउने हेतुले हरेक वर्ष यो दिवस मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ ।

डाक्टरहरूका अनुसार डिमेन्सिया र अल्जाइमर एउटै रोग होइनन् । तर यी दुईको बीचमा नजिकको सम्बन्ध छ । एक डाक्टरले त भने, डिमेन्सिया एउटा घर हो भने अल्जाइमर त्यही घरको ठूलो कोठा हो । उमेर ढल्कदै जाँदा ४० वर्ष नाघेपछि न्यूरोनका समस्या देखिएमा मष्तिष्कका सेल मर्न सक्छन् । बिर्सने रोग र अल्जाइमरको भिन्नता थाहा पाउन सजिलो छैन ।

बिर्सने रोग अल्जाइमरको लक्षणसँग मिल्न सक्छ । ६०–६५ वर्षको उमेरमा स्मरण शक्तिमा कमी हुँदै जान्छ । मानसिक समस्याले दिमागको कार्य क्षमता घट्छ । शरीरका हर्मोनको गडबडी र एकाग्रता नहँुदा बढी बिर्सिने हुन्छ । अस्वस्थकर जीवनशैली र बढी मदिरापानजस्ता कारणले वस्तु पहिचान, बोल्ने समस्या, जथाभावी पिसाब गर्ने, आफन्त नचिन्ने, एकातिर हिँडेको बिर्सेर अर्कोतिर हिँड्ने, रुने, बर्बराउने, रिसाउने, शंका गर्ने, निद्रा नपर्ने, घरी हाँस्ने घरी रुने आदि हुन्छ । दिमाग बढाउन कृत्रिम तरिकाले न्यूरोन बनाउने, सुपाच्य स्वस्थकर खाना खाने, व्यायाम, ध्यान, प्रणायम गर्ने र कम चल्ने हात (देब्रे) सक्रिय राख्ने, हिँड्ने, साग, अण्डा, माछा, बदाम, पानी खाने गर्नु लाभप्रद हुन्छ ।

ज्येष्ठ नागरिकको आवश्यक सम्मान गर्ने । रोग पहिचान गरी तोकिएको समयमा औषधि खुवाउने र पौष्टिक खाना दिने । ज्येष्ठको सरसफाइ आहार विहारमा ध्यान दिने । शारीरिक र मानसिक रूपमा सक्रिय रहन सहयोग गर्ने । खाना, आवास र तातो चिसो मिलाई स्याहार गर्ने । संघसंस्था सामाजिक गतिविधिमा संलग्न रहन सहयोग गर्ने । परिवारभित्र महत्वपूर्ण निर्णय लिँदा सल्लाह लिने र समय समयमा स्वास्थ परीक्षण गराइदिने । समय मिलाई सँगै खाना खाने र कुराकानी गर्ने ।

ज्येष्ठ नागरिकका विभिन्न क्षेत्रका ज्ञान, सीप र अनुभव तल्लो पुस्तालाई हस्तान्तरण गर्न सघाउने । ज्येष्ठ नागरिकका कुरा गोपनीय राख्दै मानव अधिकारको सम्मान र संरक्षण गर्ने । बच्चा र ज्येष्ठ नागरिकलाई एक्लो महसुस हुन नदिने । उनीहरूका आवश्यकता र चाहनालाई प्राथमिकता दिने । यसरी ज्येष्ठ नागरिकलाई सामाजिक, संस्कृति, धार्मिक कार्यमा रुचिअनुसार सहभागी गराउन आवश्यक छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्