Techie IT
बिहीबार, कात्तिक १३,२०७७

आर्थिक वृद्धिका गैरआर्थिक कारकहरू


आर्थिक वृद्धि नै अर्थतन्त्रलाई चलायमान बनाउने एकमात्र कारक हो । उत्पादनका साधनहरूको उत्पादन परिमाण तथा उत्पादकत्वको वृद्धिले नै आर्थिक वृद्धि हुन्छ । आर्थिक वृद्धिलाई कसरी उच्च बनाउने र आर्थिक विकासको जग मजबुत बनाउने भन्ने विषयमा सरकार, अर्थशास्त्री तथा नीति निर्माता चिन्तित रहदै आएका छन् । अर्थशास्त्रीहरू वृद्धिका मोडेल तथा सिद्धान्त विकास गर्नमा अनुसन्धानरत रहन्छन्, नीति निर्माताहरू नीति कार्यक्रममा ती सिद्धान्त ढाँचालाई ढाल्ने काम गर्छन् भने सरकार वैधता र दिशोबोधको भूमिकामा रहन्छ ।

सन् १८०० तिर अमेरिकाको प्रतिव्यक्ति आय जति थियो, आज सय गुणाभन्दा बढी भएको छ । यसले अर्थतन्त्रको आकार र गुणस्तर पनि बढाएको छ । चीनले विगत २० वर्षमा लगाता झण्डै दुई अंकको आर्थिक वृद्धिदर हासिल गरेकोले अल्पविकसितबाट विकासशील हुँदै विकसित हुने यात्रामा माथि उठ्दै छ । चीनको इकोनोमिक डबल टाइम विश्वका अन्य मुलुकको भन्दा आधा कम छ । भारतले पनि आर्थिक वृद्धिदर बढाउन आक्रामक नीति कार्यक्रममार्फत चीनलाई पछ्याइरहेको छ ।

अहिले विश्व कोभिड १९ को महामारीले आर्थिकरूपमा झण्डै ठप्प र सामाजिकरूपमा स्तब्ध छ । सबैजसो मुलुकहरू अर्थतन्त्रलाई नयाँ सामान्यीकरणमा फर्काउने र त्यसपछि आर्थिक गतिविधि बढाउन नीति कार्यक्रम बनाइरहेका छन् । बहुराष्ट्रिय संस्था र मानवताबावादी संगठनहरू यस कार्यमा सहयोग पु¥याइरहेका छन् । निष्कर्षमा के भन्न सकिन्छ भने नयाँ सामान्यीकरणमा गएपछि पनि अर्थतन्त्रलाई पूर्ववतः अवस्थामा ल्याउन वर्षभन्दा बढी लाग्न सक्छ, त्यसपछि मात्र अर्थतन्त्रले स्वाभाविक गति लिन्छ ।

कतिपय विचारकहरू कोभिड १९ का विषयमा अतिरञ्जित सञ्चारले आतङ्क माच्चिएको भन्न थालेका छन् । कतिपयले जीवन पहिलो, त्यसपछि अरु भन्ने मान्यतासाथ स्वास्थ्य सावधानी अवलम्बन गरी आर्थिक सामाजिक प्रक्रिया सुरु गर्नुपर्ने मान्यता राखिरहेका छन् । कतिपय भने कोभिडको अन्त्य नभएसम्म जीवन प्रणाली सामान्य हुदैन भन्दैछन् ।

जे होस निकटमै जसरी भए पनि नयाँ सामान्यीकरणको अवस्था प्राप्त हुन्छ नै र त्यसपछि आर्थिक गतिविधिमा आक्रामक बन्नुको विकल्प छैन । नयाँ सामान्यीकरणले आक्रामक नीति हस्तक्षेप र कार्यप्रणालीको माग गर्नेछ । किनकि अबको सामान्यीकरण भनेको नयाँ सामान्यीकरण हुनेछ, जुन हिजोको जस्तो मात्र हुनु हुँदैन । जसका लागि यसका कारक पक्षहरूलाई सम्बोधन गर्नु पर्दछ ।

आर्थिक वृद्धि उत्पादनका साधनहरूको पूर्ण उपयोग र उत्पादनका प्रक्रियामा प्रविधि एवम् सीपको दक्षतामूलक उपयोग गरेपछि मात्र प्राप्त गर्न सकिन्छ । आर्थिक वृद्धिका लागि आर्थिक तथा गैरआर्थिक कारकहरूले प्रभाव पार्ने गर्दछ । आर्थिक साधनमा प्राकृतिक स्रोत (खानी, पानी, बन र भूमि)को उपलब्धता, आर्थिक साधन तथा सांगठनिक अवस्था, प्रविधि र खोज, श्रमको दक्षता, बजार अवस्थिति र संरचनात्मक पक्ष पर्दछन् ।

कतिपय अर्थशास्त्री प्राकृतिक स्रोत, मानव संसाधन, पुँजी र प्रविधिलाई मात्र उत्पादनको आर्थिक कारकका रूपमा लिने गर्दछन् । यी कारकहरू अन्तरक्रिया वा अभ्यासको परिणाममा नै कुनै पनि अर्थतन्त्रको अवस्था र स्तर बढ्ने गर्दछ । आर्थिक वृद्धिलाई महत्व दिनुको चार कारणहरू छन् । पहिलो यसले मुलुकवासीको समग्र जीवनस्तरमा सुधार ल्याउछ । दोस्रो, जनताको बढ्दो आयस्तरका कारण सरकारलाई आवश्यक हुने आय सिर्जना हुन्छ, त्यसपछि सरकारको लगानी क्षमता बढी अर्थतन्त्रको आकार र स्तर झनै बढाउन सकिन्छ । तेस्रो, आर्थिक वृद्धिले काम (रोजागरी) र आर्थिक सुरक्षा बढाई आर्थिक वृद्धिको थप आधार विस्तार गर्दछ र चौथो, बाह्य व्यापार विस्तार गरी अर्थतन्त्रको मजवुतीकरणमा योगदान पु-याउँछ ।

त्यसैले सरकारहरू करको दर कटौती, शिक्षा तथा सीप विकास जस्ता सामाजिक ओरहेडमा लगानी, अनुसन्धान र विकास र वृद्धिमुखी नीति वातावरणमार्फत आर्थिक वृद्धि गर्न सतत रहन्छन् । सरकारको सफलता असफलताको मूल्याङ्कन पनि अर्थतन्त्रको यी सूचकका आधारमा गरिन्छ । अर्थतन्त्रका आकार ठूलो हुने मुलुकहरू विकसित छन् ।

मुलुकले आर्थिक विकासको गति पक्डेको छ छैन भन्ने कुरा प्रतिव्यक्ति आय कति छ भन्ने आधारमा हेरिन्छ । आय वितरण र आर्थिक न्यायको पक्ष पनि आर्थिक वृद्धिमा निर्भर हुन्छ । रोटीलाको आकार ठूलो बनाएपछि नै भाग लगाउँदा न्याय गर्न सकिने हो । आर्थिक वृद्धि र विकासको आवश्यकता विकसितभन्दा अल्पविकसित मुलुकमा अधिक रहन्छ । भोक, अशिक्षा, विकास संरचनाको अभाव, पुँजी न्यूनता, परम्परागत प्रविधि, आर्थिक सामाजिक असमानता जस्ता पक्षहरूको सामाधान खोज्ने जल्दोवल्दो चुनौती त्यही रहन्छ ।

अल्पविकसित मुलुकहरूमा आर्थिक वृद्धिका लागि चाहिने आर्थिक कारकहरू सकारात्मक हँुदाहुँदै पनि गैरआर्थिक कारकले आर्थिक वृद्धि र विकासलाई अहम् प्रभाव पारेको देखिन्छ । आर्थिक पक्ष सबल भएर पनि किन वस्तु सेवा उत्पादनलगायतका आर्थिक प्रक्रिया सहज हुदैनन् भन्ने पक्षमा नीति निर्माता तथा सरकारहरूले त्यति ध्यान दिएका हुदैनन्, र भनिरहेका हुन्छन् आर्थिक वृद्धि भएन, आर्थिक विकास भएन, बेरोजगारी बढ्यो, गरिवलाई राहत दिन सकिएन आदि । के हुन् त त्यस्ता गैरआर्थिक कारकहरू जसले आर्थिक वृद्धिलाई असर गरेको छ ?

पहिलो कारकमा सामाजिक आनीवानी, रीतिथिति, मूल्य, व्यवहार, परम्परा, मनोविज्ञानजस्ता कुराहरू पर्दछन् । अल्पविकसित मुलुकमा निर्वाहमुखी खेती गरिन्छ । आफ्ना उत्पादनबाट सामान्य जीवन निर्वाह गर्ने, बचत गरेर भविष्य सुरक्षित हुने, पुँजी निर्माणमा खासै उत्साहित नहुने, भइनभइ भोजभत्तेर, दाइजो, उपहारलगायत फजुल खर्च गर्ने परम्परा गढेर रहेको देखिन्छ । नराम्रो सामाजिक मनोविज्ञान के पनि रहन्छ भने पढलेखा र उच्च खानदानका मानिसले श्रम गर्नु हुँदैन, श्रम गर्ने भनेको गरिब र विपन्न मानिसको काम हो भन्ने नकारात्मक भावना गढेर रहेको हुन्छ । दोस्रो, मानव संसाधनको स्तर न्यून रहन्छ, शिक्षा सीपमुखी नभई ज्ञानमुखी र कामकाजीभन्दा पनि टेवुल मानिस उत्पादन गर्नमा केन्द्रित हुन्छ । श्रम र सीपलाई सम्मान दिइँदैन ।

तेस्रो पक्ष राजनीति हो, जहा असल संस्कृतिको सर्वथा अभाव रहन्छ । राजनीतिले समग्र अर्थतन्त्रलाई चलायमान गराउने वातावरण निर्माण, उपयुक्त नीति वातावरण र अर्थतन्त्रको दिशाबोध गरेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा यो आफैँ दिग्भ्रमित हुन्छ, महँगो चुनाव प्रणाली, हर्स ट्रेडिङ, ‘मनी इन पोलिटिक्स’को वर्चस्व र सम्बद्ध पक्षबीचको अस्वस्थ स्वार्थसाङ्लो रहन्छ । जसका कारण सुशासन कायम हुँदैन, विधि र प्रक्रिया मिचिन्छन् र आर्थिक साधनहरू उत्पादन प्रक्रियामा सहभागिता जनाउन सक्दैनन् ।

लगानी र उद्यमशीलताले सुशासनको माग गर्दछ तर बेथितिबाट सा-है डराउँछ । राजनीतिक समाजले जवाफदेहिता निर्वाह नगरेपछि अन्यपक्षमा यसको प्रभाव स्वतः पर्दछ । परिणामतः अन्य पक्षलाई नियमन गर्ने नैतिक आधार गुम्ने गर्दछ । चौथो गैरआर्थिक पक्ष प्रशासनिक प्रणाली हो । यो प्रत्यक्ष परोक्षरूपमा समस्त राज्यप्रणालीलाई प्राण भर्ने सांगठनिक व्यवस्था हो ।

प्रशासनले नीति कार्यान्वयन, लगानी वातावरण निर्माण गरी समस्त प्रणालीमा मूल्य, मानकमा आधारित बनाउने भूमिका खेल्दछ । तर राजनीतिक प्रणाली नबसेको समाजमा प्रशासनले कर्मचारीतन्त्रीय शैली र अकर्मण्य प्रवृत्ति देखाउन थाल्दछ । सकारात्मकता, परिवर्तनबोध, ग्रहणशीलता, विश्वास र क्षमताको परिचालन देखाउँदैन ।

परिणामतः बचत परिचालन, पुँजी निर्माण, लगानी, उद्यमशीलता उपयोग हुँदैन र आर्थिक वृद्धि होइन, बाह्य व्यपारमार्फत उपभोग संस्कृति विकास हुनगइ अर्थतन्त्रले स्थानीय आधार गुमाउन पुग्छ, स्वावलम्बन संस्कृति हराउँदै जान्छ । यसका प्रभाव तत्काल मात्र होइन, दीर्घकालसम्म रहने गर्दछ । मुलुक अविकासमा जकडिन पुग्छ । त्यसैले वृद्धिमुखी, विकासमुखी संस्कृति निर्माण गर्न आर्थिकभन्दा गैरआर्थिक कारक कम महत्वपूर्ण रहँदैन ।

नेपालका आवधिक योजनाले उच्च, विस्तृत आधार भएको, समावेशी र दिगो आर्थिक वृद्धिमार्फत आर्थिक विकासको लक्ष्य राखेको छ । नेपालको आर्थिक वृद्धि उच्च नभई न्यून छ, फराकिलो नभई केही सहरकेन्द्रित छ, समावेशी नभई कृषिलगायत केही आर्थिक क्षेत्रले महत्वपूर्ण हिस्सा हिस्सा ओगट्छ, र दिगो नभई तलमाथि भइरहन्छ । आर्थिक वृद्धिदरलाई अपेक्षित बनाउन नीति संरचना, संगठन पुनसंरचना र अन्य प्रणालीसँगको औपचारिक सम्बन्ध विकासमा थुप्रै कामहरू हुँदै आएका छन् ।

सामाजिक क्षेत्र र पूर्वाधार विकासमा आशालाग्दो प्रवृत्ति पनि देखिन थालेको छ । तर आर्थिक वृद्धिको दर साह्रै न्यून छ । पुँजी निर्माण, बचत परिचालनको गति पनि सुस्त छ । परिणामतः सस्तो श्रम, रणनीतिक अवस्थिति र प्राकृतिक स्रोतको अथाह उपलब्धताको फाइदा लिन अर्थतन्त्र चुकेको छ ।

आर्थिकभन्दा गैरआर्थिक कारकका कारण लगानीमा स्वागत संस्कृति छैन, संस्था विकासको पक्ष एकदम कमजोर छ । गरिबी न्यूनीकरणका लागि उत्पादनशील रोगारी सिर्जना, कोरोना सङ्कटपछिको अर्थतन्त्रको पुनर्निर्माण र मुलुकले लिइएको समृद्ध नेपाल सुखी नेपालीको अभीष्ट पूरा गर्न आर्थिक वृद्धिका गैरआर्थिक कारकहरू सुधार गर्नुको विकल्प छैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्