Techie IT
बिहीबार, कात्तिक १३,२०७७

सन्दर्भ : विश्व ओजोन तह बचाउ दिवस


नेपाल हाल एसियाकै २० सहरमध्ये वातावरण प्रदूषित प्रमुख सहर हुनपुगेको छ । वातावरण संरक्षणको समस्यामा सुधार नेपालका निम्ति अत्यन्तै जरुरी छ । सहरीकरणको विस्तार, जनसंख्याको वृद्धिको साथै पानीको प्रदूषण, वायुको प्रदूषण र खासगरी सवारी साधनबाट हुने प्रदूषण व्यापक भइरहेको छ । जस्तो ध्वनि, दुर्गन्धसम्बन्धी प्रदूषण, पानीसम्बन्धी प्रदूषण, हावासम्बन्धी प्रदूषण अरु फोहोर मैला इत्यादिबाट जथाभावी हुने प्रदूषण नियन्त्रणभएका छैनन् ।

जथाभावी टायर जलाउने, फोहरमैला यत्रतत्र फाल्ने, प्लास्टिक जलाउने कार्य यथावत छन् । यस्तो प्रदूषणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रियस्तरमा कमन ल पद्धतिका मुलुकमा जस्तै राष्ट्रहरूउपर दुष्कृतिको दायित्वको कानुन छ । तर त्यस्तो कानुन हामीकहाँ छैन, भएको कानुन पनि कागजमा मात्रै सीमित छ । यस्तो कानुनको कार्यन्वयन गर्ने न त नागरिक चेतना छ, न त राज्यको कुनै प्रतिबद्धता छ । यसको मुख्य कारण सरकारको उदासिनता हो । यस्तो उदासिनताले ओजोन तहमा समेत प्रतिकूल असर पारिरहेको छ ।

ओजोन तह, अक्सिजनको तीन अणु तीन परमाणुहरूसँग मिलेर बनेको एक ग्यास हो । जुन वायुमण्डलमा धेरै कम मात्रा (०.०२ प्रतिशत)मा पाइन्छ । यो तीखो गन्ध भएको अत्यन्त विषालु ग्याँस हो । यो पृथ्वीको वायुमण्डलको ३० हजार फिटमाथि स्थायीरूपमा तह बनेर बसेको हुन्छ । यसले सूर्यबाट आउने विभिन्न हानिकारक परवैजनी किरणहरूलाई पृथ्वीसम्म आइपुग्नबाट रोक्ने गर्दछ । तर पृथ्वीमा बढ्दो मात्रामा रहेका कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड, सल्फरडाइअक्साइड, सीएफसीजस्ता हरितगृह ग्यासका कारण ओजोनतह पातलिँदै गएको छ ।

पृथ्वीमा भएका अनेकौं तत्वहरूमध्ये एकको घटी वा बढीले अरुलाई समेत असर पार्दछ । अन्य प्राणी, वनस्पति तथा समग्रमा जीवित प्राणी र मानव जातिको अस्तित्वमा समेत प्रश्न चिन्ह गर्न सक्दछ । यसको उदाहरणको रूपमा लोकतान्त्रिक जनताको सरकार, सिंहदरबारको अधिकार गाउँ तथा घरघरमा आइसकेपछि पनि देशको आर्थिक, भौतिक, सामाजिक, नैतिक तथा पर्यावरणको विनाश रोक्न खासै कदम चालेको पाइँदैन ।

पृथ्वीमा भएका विविध तत्वको कारणले वातावरणको नियन्त्रणमा भएको उदासिनताले वातावरणको क्षेत्रमा चिन्तित हुनुपर्ने अवस्था छ । वातावरणमा देखिने असन्तुलनले मानिसका आर्थिक, सामाजिक, राजनीतिक, जैविकलगायतका समग्र क्रियाकलापमा प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा प्रभावित भएको वातावरण विनाश मानव बाँच्ने आधार संख्याहरू नष्ट हुँदै गएर पग्लिँदो हिमश्रृंखला जल्दोबल्दो समस्यामा परिणत भएकोले वर्तमान समयमा वातावरणलाई वातावरणप्रेमीले अति महत्वका साथ हेर्न थाल्नुस्वभाविकै हो र तर सम्बन्धित सरकारी पक्ष आफ्नो दायित्व पूरा गर्न सकेको छैन । उल्टो सरकार वरिपरि घुम्नेले प्राकृतिक स्रोतको दोहन गरी विपद् निम्त्याएका छन् ।

योजनाकार र नीति निर्माणहरू वातावरणलाई असर पार्ने तत्वहरूको पहिचान गरेर मात्र निर्णय लिने तथा विकास योजना बनाउने अवस्थामा नपुगेको कारण यो वातावरणीय दुर्दशा भएको हो । यसको असर ओजोन तहमा समेत परेको छ । जसको परिणाम विगत तथा हालमा मानिसले वातावरणप्रति गरेको परिणाम तथा त्यसले मानिसलाई पारेको नोक्सानीलाई हेर्दा वातावरणको यथोचित संरक्षणबिना दिगो विकास दीर्घजीवी हुन नसक्ने प्रस्ट छ ।

मानव जातिको समुन्नति एवं अस्तित्वकै लागि पनि वातावरणको महत्व प्रस्ट हुँदै गएको छ । तसर्थ मानवजातिको सुख समृद्धिका लागि आर्थिक तथा सामाजिक क्रियाकलापको जति महत्व छ त्यतिकै मात्रामा वातावरणको संरक्षण पनि अपरिहार्य छ । वातावरणीय विनाशले नेपाल र नेपालीहरूको वातावरणीय परिवेशमा नकारात्मक परिणाम ल्याएको छ ।

मुख्यतः वातावरण तथा ओजोन तहको विनाशबाट जलवायु परिवर्तन भएको छ । जलवायु परिवर्तन विश्वव्यापी चुनौती र समस्याको रूपमा देखिएको छ । हरितगृह ग्यास उत्सर्जनमा नयूनीकरण नहुनाले तापमान वृद्धि भएको छ । नेपालमा पनि राजधानी काठमाडौँमा ३६ डिग्रीसम्म तापक्रम मापन गरिएको छ । यो जलवायु परिवर्तनको असर हो ।

नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न गई हिमश्रृंखला पग्लनु, पानीको मुहान सुक्दै जानु, अनावृष्टि र अल्पवृष्टि जस्ता समस्या देखा पर्नु, दुई हजार मिटरको उचाइसम्म लामखुट्टे देखा पर्नु, वन्यजन्तु लोप हुनु, कोभिड १९ महामारीलगायत, हैजाजस्ता रोग फैलनु, विनाशकारी आँधी र बाढी आउनु, नदीनालाको सतह घट्दै जानु आदि वातावरण तथा ओजोन तह विनाशबाट उत्पन्न परिणाम हुन् ।

छ दशक अगाडि नेपालको जनसंख्या करिब ५० लाख थियो भने हाल करिब तीन करोड पुगेको अनुमान छ तर वन, जङ्गल र जमीनको क्षेत्र बढेको छैन, जमीनको उत्पादकत्व बढेको छैन । कृषि आकाशे पानीमा निर्भरता, आयातीत बीउ, रासायनिक मल र कीटनाटक विषादीको प्रयोगबाट उत्पादन केही मात्रामा बढेको भए पनि गुणस्तरीय र स्वस्थ खाद्यान्न पाउनु चुनौती भएको छ ।

सन् १९७०/८० को दशकतिर अम्लीय वर्षाको समस्या चर्चामा थियो भने अहिले जलवायु परिवर्तनको चर्चा विश्वभर व्यापक छ । नेपालजस्तो कम विकसित देशमा औद्योगिक तथा सहरी विकासको क्रममा जल तथा वायु प्रदूषण र फोहरमैलाको समस्या र ग्रामीण भेगमा वनविनास चुनौती बन्दै गएको छ ।

प्राकृतिक स्रोतको उच्च प्रयोगबाट सृजना भएको भू–क्षय, बाढी, पहिरो, कृषि उत्पादन र वनको उत्पादकत्वमा कमीजस्ता समस्याहरू वृद्धि भएका छन् । यी समस्याहरूले जनस्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । वन विनाश, भू–क्षय, बाढी, पहिरोका साथै प्रदूषण एवं जलवायुको असर जस्ता वातावरणीय समस्या ठूलो चुनौतीको रूपमा बढिरहेको छ ।

वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छन् । यी जैविक वस्तुहरूमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् रूपमा प्रभाव पार्दछ । जीवजन्तु, वनस्पति र स्वयं मानिस पनि वातावरण विनाशको मात्राबाट अलग रहन सक्दैन । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ ।

मानिसको अस्तित्वको लागि वन जंगल जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वन जंगल, जल आदिको अस्तित्व संकटमा पर्नु भनेको मानव जीवन नै पूर्ण संकटमा पर्नु हो । मानिसको आफ्नो अस्तित्वको लागि प्रकृतिबाट धेरै वस्तुहरू ग्रहण गर्दछ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ नकि वातावरणीय विनाशबाट ।

अनियन्त्रित रूपमा डोजर चलाई प्राकृतिक स्रोत साधनको दोहन, होहल्ला, आवाज तथा हर्न, कारखानाको ध्वनि, सिमेन्ट, गिटी उद्योग, इँटा उद्योग आदिले वातावरण विनाश भई सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । फोहोरमैला व्यवस्थापनको लागि उचित ल्यान्डफिल्ड साइड नहुनु पनि वर्तमान वातावरणको विनाशको एक प्रमुख तत्वको रूपमा लिन सकिन्छ ।

घरायसी प्रयोजनबाट, कारखानाबाट, अस्पतालबाट, सडेगलेका वस्तुहरूबाट, वायु जल, माटो आदिमा हानिकारक तथा घातक फोहोरमैला निस्कन्छ । यसको उचित व्यवस्थापनको अभावले पनि वातावरणमा तीव्र हानि पु-याउँछ । यस्तै भू–क्षय, हरितगृह प्रभाव, ओजोन तह विनाश, अम्ल वर्षा, वन विनाश, सवारी साधन तीव्र वृद्धि अनियोजित सहरीकरण, अनियोजित औद्योगिकीकरण जनसंख्या वृद्धि, जनचेतनामा कमी आदि कारक तत्वबाट वातावरण विनाश भई पग्लिँदो हिमश्रृंखला जल्दोबल्दो समस्या आदि वातावरण विनाशको कारक तत्वको उपज होइन र ? वातावरण विनाशबाट जलवायुमा परिवर्तन भई वर्षा याममा वर्षा नभई धान, मकै, आलुजस्ता कृषि उत्पादनमा ठूलो असर परेको छ ।

जनचेनतनामा वृद्धि, वन संरक्षण, बढ्दो सवारी साधनको नियन्त्रण, भू तथा जलाधारको संरक्षण, जनसहभागितामा वृद्धि, विद्यार्थी हरूको भूमिका, गैरसरकारी संस्थालाई उचित प्रयोग, नैतिक शिक्षा, आम संचार दिगो योजनाकार, संरक्षणको मुख्य संरक्षक तत्वहरू हुन् । हामी सबै यसतर्फ लाग्नु जरुरी छ नत्र नेपाल आमाले सराप्ने छिन् । हामी र हाम्रा सन्तति सबैको साझा फूलबारी हो ।

नयाँ नेपाल निर्माणका लागि व्यवस्थित सहरीकरण प्रमुख आवश्यकता हो । सन्तुलीत र दिगो विकासका लागि वातावरण सुधार गरी ओजोन तह बचाउनु आवश्यक छ, तर गाउँबाट सहरतर्फ सुविधा रोजगारीको लागि आउने क्रम व्यापक छ । यसले गर्दा गाउँमा युवा जनशक्तिको खाचो भई कृषि क्षेत्रमा समस्या आएको छ । जनआन्दोलन दुईपछि नयाँ संविधान बनाउने जनताको अभिलासा पूरा भई नेपालको संविधान आएको छ । अहिले सो संविधान कार्यान्वयनको कसरतमा छ । तर राजनितिक दलहरूकको निहित स्वार्थको कारणले गर्दा नेपाली जनताले दुःख पाई देशको आर्थिक स्थिति गिरेका छ । यसको असर प्रत्यक्ष वा अप्रत्यक्षरूपमा वातावरणमा परेको छ ।

अतः विश्वकै अपार प्राकृतिक सम्पदाको धनी राष्ट्र नेपालमा वातावरण संरक्षण गरी ओजोन तह बचाई बिहानीको सुनौलो सगरमाथा, शीतल फेवातालमा परावर्तित माछापुच्छ्र्र्रेको छायाँ, लालीगुराँसको फूलबीच लुकामारी खेल्ने डाँफे चरी, मुनाल, कालिजजस्ता चराचुरुङ्गी, चारकोषे झाडीले प्रसिद्धि कमाएका हाम्रा जंगल अनि त्यसमा छुनुमुनु गर्ने हरिण मृग, कस्तुरीका सावकहरू, गैडाका केटाहरू, हात्तीका छावाहरू र कोइलीका मधुर स्वरहरू संरक्षण गर्नु हाम्रो दायित्व मात्र नभई कर्तव्य पनि हो । यो कर्तव्य पालना गर्न सके मात्र हरेक वर्ष १६ सेप्टेम्बर मा मनाउने विश्व ओजोन तह बचाऊ दिवसले सार्थकता पाउनेछ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्