Techie IT
बिहीबार, कात्तिक १३,२०७७

संविधान दिवस : आफ्नै कथा आफ्नै व्यथा


असोज ३ अर्थात् संविधान दिवस, संविधान दिवस मनाउनकै लागि भनौँ वा परिस्थिति त्यस्तै बन्यो देशभरि अब सार्वजनिक यातायात खुलेका छन् । लामो समय घरबन्दी रहेका नेपालीहरूले हल्का राहतको अनुभव गर्लान् अब । सत्रौँ खर्बको बजेट, ढाइ घण्टा बढीको त नीति भाषण, मान्छे मर्ने बाँच्ने ठेगान नभएकोे परिवेश, सुरक्षा दिने प्रहरी कार्यालय आफैँ सिल हुन थालेको, अस्पतालका स्वास्थ्यकर्मीहरू आफैँ क्वारेन्टिनमा बस्न थालेका, धमाधम क्षेत्रक्षेत्रहरू सिल गरिँदै रहेका, अमेरिका, भारतले आफ्नो बजेटको धेरै रकम कोरोना राहतका लागि खर्च गरेका, यहाँ कर उठाउने मात्र गरेको, कैयन उदाहरण छन् हाम्रो गणतन्त्रको । सक्नेले साइकल चढ्दा हुन्छ, नसक्नेले मारुती भ्यान चढ्दा हुन्छ, एउटै गाडीको डेढ् करोड । यो रोक्ने आदेश गणतन्त्रको सरकारले किन नदिने ? मुलुकमा रोजगारी छैन, भएका रोजगारी गुमिसकेको छ । स्वेच्छा वा विवशताले नेपालीहरू विदेशिएका छन् ।

आर्थिक गतिविधि त ठप्प छन्, सरकार आफ्नो ढंगले बसिरहेको छ । ऊ छ अर्बको सवारीसाधन किन्ने तयारीमा छ, भेन्टिलेटर होइन, अस्पतालका क्षमता वृद्धिमा होइन, निषेधाज्ञा र लकडाउनमा व्यस्त छ । कोरोनाको मनोविज्ञानको कारण आज समाज अस्तव्यस्त छ, परिवार मात्र होइन सबै भाइचारा नै बन्द हुने स्थिति छ । बस्ती सार्न माग गर्दा गर्दै पहिरोमा किचिएर कतिको ज्यान गयो, हतियार प्रहार गरी मूला काटिएझैं कति काटिए, कतिले आत्महत्या गरे, मानौँ समाज पूरै निर्दयी भएको छ, यहाँ सरकार छ, सरकारीलगायत धेरै संघ संस्थाहरू छन्, तर सबै असरल्ल, टाल टुले काममा मात्र ।

सरकार भनिरहेको छ, हात नमिलाऊ, अंकमाल नगर, साबुन पानीले हात धोऊ, मास्क लगाऊ, भिडभाड नगर, कुनै कार्यक्रम नगर तर हात धुन पानी कहाँ छ ? मास्क कहाँ पाउने, हलचल नगरी मूर्तिजस्तै मानिस कसरी बस्न सक्छ ? बजार कसरी चलायमान हुन्छ ? सिनेमा हल बन्द गरौँला, एनजीओ, आईएनजीओ बन्द गरौँला तर अड्डा–अदालत, सेना, प्रहरी, उद्योग, हातमुख जोर्ने निकाय, पसल, पानी, शौचालय, ढल, फोहोर बिसर्जन, बैंक, सरसफाइ त बन्द गर्नै सकिन्न ।

सजिलो भयो विद्यालय बन्द गरियो, जाँचै नभई ए प्लस पनि भयो । खुला ढल छ कोरोनाभन्दा कम छ त ? धाराका, जारका पानी शुद्ध छन् त ? सबैका घरमा शौचालय छन् त ? भएका शौचालयमा हाल्ने पानी छ त ? ग्यास सिलिण्डरका लाइनमा मान्छे जम्मा नहुने ? बजार नगए मुखमा के हाल्ने, बस नचढे गन्तव्यमा कसरी पुग्ने ? कोठामा सीमित भएर पशुझैं व्यक्ति रहन सक्छ त ? अस्पतालको भीड कस्तो छ, सायद धेरैलाई थाहा होला ? यहाँको धूलो, हिलो, धूवाँ, यहाँ फाल्ने गरिएका फोहोर प्लाष्टिक, कवाडी सामान, सडक जाममा हुने वायु प्रदूषण, ध्वनि प्रदूषण कोरोनाभन्दा कम छ त ?

सरसफाइको कमी, खुला सीमाना, सार्वजनिक यातायातको व्यवस्था, हदम्याद पुगिसकेका थोत्रा गाडी, यहाँको वायुको गुणस्तर, मिसावटी खाना, खुला ढल, अशुद्ध पिउने पानी, खुल्ला आकासमुनी गुजारा गर्नुपर्ने अवस्था, ढुंगा क्रसर उद्योग, इँटा उद्योग, कलकारखानाबाट निस्कने केमिकल, खोलानालामा जीवप्राणीको अभाव, गरिबीको कारण सरसफाइमा न्यूनतम चासो नहुनुजस्ता विभिन्न कारणहरूले हामी सबैलाई मनग्गे सताएको छ । अर्थात् नदेखिएर आउने कोरोनाभन्दा देखिएर आउने कोरोनाको व्यवस्थापन किन गरिएन, तीन तहका सरकारले के काम गरे कि अर्बौँको बेरुजु, करोडौँका जिमखाना, लाखौँका शौचालय र करोडका कार्पेट, अनि अर्बौँका गाडीमा मात्र ध्यान गएको वा अनावश्यक विवादको विषयमा राम मन्दिर होइन र ?

पर्यटन वर्ष भन्दै हामीले विदेशी जोकोहीलाई भित्र्यायौँ । अघिपछिको साना ठूला जुनसुकै कार्यक्रममा विदेशी अनुहार नदेखाई हामीले कुनै कार्यक्रम गरेनौँ । गीत गाउने ठाउँमा विदेशी, नाच्ने ठाउँमा विदेशी, उद्योगमा विदेशी, व्यापारमा विदेशी, सभा, सेमिनारका प्रायोजक विदेशी, अर्थमा विदेशी, वाणिज्यमा विदेशी, योजना आयोगमा विदेशी, तारे होटलमा विदेशी नभई भएन । कुचो बढार्न विदेशी, घर निर्माण, तरकारी, फलफूल आपूर्तिमा, कपडामा, कपाल काट्ने काममा, सिकर्मी, डकर्मी, राष्ट्रिय गौरवका ठूला आयोजनामा विदेशी ठेकेदारी, जतासुकै विदेशी श्रम, हात मुख नभई हामीलाई भएन ।

गाउँघर उजाड छ, वर्र्षाले सहयोग गरेकाले रोपाइँ त राम्रै भयो तर किसानले रासायनिक मल हाल्न पाएनन् । अन्न, सागसब्जी, सबै खानेकुरा अर्काले पठाइदिनुपर्छ, त्यो पनि बिचौलियाहरूको हातबाट आएका विषाक्त खाना, फलफूल, दाल, गेडागुडी, दुध, मिठाइ, विषाक्त खानाका कारण परेको स्वास्थको समस्या कसले बुझ्ने ? खुला बजार भन्दै मनोमानी ढंगले मालको मोल असुलेको पीडा कसले बुझ्ने ? खानेपानी उपलब्ध गराएको धाराका पानी आउँछ ? बिजुलीको भाउले सताएको मन कसले बुझ्ने ? पालिकाहरूले उठाउने गरेको करले पिरोल्दा मनको घाउ कसले पुरिदिने ?

त्यसैले कोरोनाभन्दा कम छ त अन्य त्रासहरू ? सरकारले पचपन्न थरि औषधि निःशुल्क भनिरहँदा कुनै औषधि निःशुल्क भएको पाइँदैन, अस्पताल बन्द छन् । शुल्क तिरेर पनि औषधि नपाउने त्रास छ । देशको जेठो अस्पताल वीर अस्पतालमा अब अरु सेवा नदिने रे, सवा सय वर्ष बिताएको बुढो अस्पतालमाथि के अन्याय गरेको ? एक महिनामा चार पटक इन्धनको भाउ बढ्छ, अन्यत्र घट्छ, यहाँ न मास्क छ बजारमा, न ग्यास छ ।

खाद्यान्नमा कालोबजारी छ, मूल्यमा स्थिरता छैन, अत्याधिक मिसावट छ । बजार अनुगमन फितलो छ । हामीकहाँ खुला बोर्डर छ, वस्तु आयात नगरी सुख छैन । संक्रमण कसरी रोकिने ? भ्रमण वर्ष संकटमा परेको छ, विदेशीहरू कोरोनाको त्रासमा पर्दा पोखरा, ठमेल मात्र होइन, सबैजसो पर्यटन क्षेत्रमा त्रास छ । भारी बहुमतको सरकराले आधा कार्यकाल पूरा ग-यो । कतिले न्याय पाए, पाएनन्, त्यो खोजीको विषय होइन होला । नेतृत्वको इच्छाशक्ति देखिएन ।

देशले कूटनीतिक शक्ति देखाउन सकेन । एक टेलिफोनको बधाईले दक्षिण आफ्नो हुँदैन । कर्मचारीतन्त्र शिथिल बन्न पुग्यो । संघीय निजामती सेवा विधेयकले गति लिन सकेन । सबैतिर कर्मचारी खटन पटन गर्न सकिएन । लगानीको वातावरण तय हुन सकेन, निजी क्षेत्र आकर्षित हुन सकेन । सांसद लोगो फिर्ता भयो, झण्डा जलेको दृश्य भाइरल भयो, निजी क्षेत्र संशकित छ । करका दर बढाइएको छ । केन्द्रदेखि प्रदेश, स्थानीय सर्वेले अचाक्ली कर असुलेका छन् ।

भारतले नयाँ बजेटमा करको दरमा भारी परिवर्तन हुँदा यहाँ परिवर्तन भएन । विद्युतीय गाडीमा कर छुट दिन बोलिसकेको कुरा उल्टो कर बढाइयो । देशमा रोजगारी सिर्जना भएन । उद्योग, कलकारखाना स्थापना गर्नतिर ध्यान गएन । उद्यमशीलताको विकास भएन । उत्पादित वस्तुको बजारीकरणको समस्या भयोे । घरेलु, साना, मझौला र ठूला उद्योग फस्टाएनन् । देशमा पुँजीगत खर्च हुन सकेन, सञ्चालन भएका आयोजनाहरूमा बजेट अपुग छ, उत्पादन र सेवाको राम्रो विश्लेषण हुन सकेन । मेलम्चीको पानी अझै उठ्न सकेन । सुशासनको नारा देखावटी मात्र भयो । महँगीमा पिल्सिए आम जनताहरू । प्याजले आँसु बगाउन थाल्यो ।

हाम्रो समाजमा सामाजिक सद्भावको आवश्यकता खड्किएको छ । हिजोआज हामी दलित, जनजाति, महिला, मधेसी, थारु, उत्पीडित, सीमान्तकृत, पिछडिएका व्यक्ति, समूह भनेर नथाक्ने भएका छौँ । सत्तामा जाने गतिलो भ¥याङ पनि यही बनेको छ । राजनीतिक दलका चुनावी एजेण्डादेखि, संविधानसम्ममा यस्ता शब्दावलीहरूले राम्रो ठाउँ पाउने गरेका छन् । हरेक वर्षका नीति र कार्यक्रमदेखि आर्थिक वर्षका बजेटसम्म र राष्ट्र बैंकका मौद्रिक नीतिदेखि पुनर्कर्जासम्मका अर्थविशेषमा समेत यी शब्दावलीहरूले मनग्गे स्थान पाउने गरेका छन् ।

सरकारी सेवाको लोकसेवाको पाठ्यक्रम होस्, सरुवा बढुवासम्बन्धी कार्य हुन् वा गैरसरकारी संघसंस्था हुन् वा सार्वजनिक निकाय र विषय कुनै हुन् यी शब्दावलीहरूले ठाउँ नपाउने सायदै कतै होलान् । राज्यले दलित वा यस्तैक्षेत्र र विषयमा मनग्गे लगानी पनि गरेको छ । महिला आयोग, दलित आयोग, मुस्लिम आयोग, थारु आयोग कैयन आयोगहरू यसै कामका लागि तयार भएका छन् भने संविधानले सोचेको समाजवाद यस्तै हो त ? हो, लैगिंक र जातीय असमानतालाई हटाइनुपर्छ, भौगोलिक विकटता र आर्थिक असमानतालाई पनि ।

संघीयताले भौगोलिक विकटता हटायो कि हटाएन, घरदैलोमै सिंहदरबार पाउँदा र कोरोनाले छट्पटिँदा स्थानीय व्यक्तिमा मलमपट्टी लाग्यो कि लागेन यसमा अध्ययन आवश्यक छ कि फोहोर आउने गाडीमा मात्र बाटो बन्द गरे कि नगर, गाउँपालिकाहरूले सिल लाउने मात्रै काममा अघि बढे कि हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको छ । मुलुकको संरचना संघीय शासन प्रणालीमा छ । तर यो प्रणाली बहुतै खर्चिलो छ । विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ । जनतालाई सार्वभौम गराइनु पर्छ तर बोलीले मात्रै होइन व्यवहारत हुनुपर्छ ।

नेताजीको स्वार्थभन्दा नीतिले सञ्चालित हुनुपर्छ मुलुक । नेपालमा एक किसिमको द्वन्द्व कायमै छ । राजनीतिक परिवर्तन पूरा भएको भनिए पनि आर्थिक समृद्धिको मार्गमा राज्य खुलेर लाग्न सकेन । दिगो विकास र समृद्धिका लागि मुलुकको आफ्नै चिनारी हुन जरुरी छं । भाषिक औपनिवेशिकता छ यहाँ । भर्खरै बोली सिक्न लागेको बच्चाले बाबु, आमा वा हजुरबा भन्न जान्दैन । विदेशमा यस्तो हुन्न । अन्य मुलुकका आफ्नै भाषा छन्, थाइल्याण्ड, चीन, जापान, जर्मनी, रुस, कोरिया सबैको आफ्नै भाषा छ । टाढा जानु परेन भारतकै हेरे पुग्छ, हो, त्यसभित्र पनि आफ्नै मातृ भाषा, कति छन् कति ।

हाम्रो सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक भयो । भन्छौँ एकथरि गर्छौं अर्कै । बोलीमा स्थिरता छैन, निरन्तरता पनि । मानवमा चित्कार, कुण्ठा, बेमेल, विसंगति र बेचैनी अनि बेरोजगारी छ, बेवास्ता त छँदैछ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ । राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हाबी छ सबैतिर अनि सबैतिर भागवण्डा छ, सबैतिर राजनीतिक रोजगारी छ । दलमा नमिसिएकाहरूलाई कुनै ठाउँ छैन ।

विश्वविद्यालय होस्, वा प्राज्ञिक कुनै पनि क्षेत्र राजनीतिको झोला नबोक्नेहरूको केही स्थान छैन । सुख र सन्तोष, मानव अस्मिता मानव अंग बेचबिखन हुन थालेका छन् । सबै कुरा खुला बजारमै बिक्री वितरण हुन थालेको छ । ज्ञानभन्दा कुर्सी शक्तिशाली भएर ठडिएको छ, कामतिर भन्दा मामतिर, दामतिरको स्वार्थ बढी प्रेरित छ ।

सबैलाई पहिले कुवेर बन्ने इच्छा छ निःस्वार्थ सेवामा लाग्ने फुर्सद कसैलाई छैन । यस्तो परिवेशमा प्रमको सुखी नेपाली र समृद्ध नेपालको सपना कसरी साकार होला ? सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिकभन्दा पनि । पद, प्रसंशा र प्रतिष्ठा क्षणिक हो अनि पेसा पनि । पवर्गमा पर्ने पद कार्यालय रहुञ्जेल मात्र काम लाग्छ, प्रतिष्ठा उसको समाज हुञ्जेल मात्र, पैसा उसलाई घटनाले साथ दिउञ्जेल मात्र, पुत्र पुत्री, परिवार पनि उसको शरीर हुञ्जेल मात्र । कोरोनाले सिकाएको पाठ त्यही हो अहिले । अपवर्गको पुण्य भने बाँचुञ्चेल मात्र नभई मरिसकेपछि पनि काम दिन्छ ।

व्यक्ति एक हेर्दा मरुभूमिको कण हो, तर ऊसँग अथाह ज्ञान छ, अथाह ऊर्जाको स्रोत छ, विश्वमान चित्रमा मुलुक नेपाल सानो छ, शून्य दशमलव शून्य तीन प्रतिशत भूमि मात्र बोकेको छ यसले । तर यसको सगरमाथा, यसले अंगालेको बुद्धभूमि, अपार जलस्रोतको भण्डार, अथाह प्राकृतिक स्रोत साधन, विविधताको भूगोल, हिमाल, पहाड, पर्वतीय सृजना महाभारतको लेक, उर्वर तराईको भूमि, प्रशस्त औद्योगिक सम्भावना, एकमात्र हिन्दुबाहुल्य संस्कृति, धर्म, संस्कार, मन्दिरै मन्दिरले सजिएको सौन्दर्य, पर्यटन उद्योगको बेजोड सम्भावना, सरल स्वभावका नागरिकहरू, विश्वमै चिनिएको वीर गोर्खाली, नेपाली कहिल्यै उपनिवेशको छायाँमा नपरेको स्वाभिमानी जनता बहुभाषिक एकता, धर्म र संस्कृतिका पाखा पखेरामा हुर्केको समाज, पाहुनालाई देवता सरहको व्यवहार गर्ने, साहित्यको धनी बेजोड नमुनाहरू छन् यस मुलुकमा ।

युगौँयुगदेखिको इतिहास बोकेको सुन्दर, शान्त र विशालको नारा लिएको मुलुक भूपरिवेष्ठित बाध्यता र विवशतासँगै आशैआशाको त्यान्द्रोमा लत्रिरहेको छ, बहुमूल्य खनिज छ, हामीसँग हिमालको गर्भगृहमा सुन छ । वन पैदावार, जडीबुटीको खानि हो मुलुक । उपयोग गर्न, उत्सर्जन गर्न, उपभोग गर्न, सकिएको छैन । बस् समस्या त्यहीँनेर अड्किएको छ । यति हुँदाहुँदै पनि हामी भिक्षार्थी भएका छौँ । ग्यासको, मट्टितेलको, पेट्रोलको, हवाइ इन्धनको । हो, सबैथरि सबैथोक एकै ठाउँमा एउटै भूगोलमा नहुन सक्छ, नपाइन सक्छ । सधैँ पाइने वस्तु पानीको प्रयोग पनि हामीले सही ढंगले गर्न सकेनौँ ।

शुद्ध पिउने पानीको सधैँ हाहाकार छ, खेतीपातीमा सिँचाइ सुविधा छैन, पानीबाट उत्पादन हुने विद्युत्को संकट खेपेको खेप्यै छौँ, हामी । अनि बिजुली बेच्न एमसीसीलाई अगाडिकै ढोकाबाट छिराउँछौँ भनिरहेका पनि छौँ हामी संसदमै । हो, हाम्रो बोलीमा सत्यभन्दा मित्थ्या धेरै, व्यवहारमा सत्यभन्दा झुट धेरै छ । हामीसँग कृषिमा हाम्रै मलखाद र बीउबिजनले भन्दा रासायनिक मल र हाइब्रीड बीउले प्रश्रय पाएझैं अन्य मूल मुद्दामा पनि विदेशीकै फोटोकपी गर्नु भएन नि । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्