Techie IT
बिहीबार, कात्तिक १३,२०७७

भारतसँगको व्यापारघाटा विद्युत् बेचेर सन्तुलनमा ल्याउन सकिन्छ


हामी यो आर्थिक वर्षको सुरुवाती चरणमा छौँ । कोभिड १९ को व्यापक बन्दाबन्दीमा पनि विराटनगर भन्सार कार्यलयबाट लक्ष्यभन्दा बढी राजस्व असुल भएको कुरा मिडियाबाट आइरहेको छ । त्यो राजस्व हासिल भएको निर्यातजन्य वस्तुबाट नभएर आयातजन्य वस्तुबाट भएको हो । नेपाललार्ई चाहिने खाद्यान्नदेखि गाडीको पार्टपुर्जा हुँदै औद्योगिक उत्पादनका लागि चाहिने कच्चापदार्थहरू आयात गर्दा उठेका ती राजस्व हुन् । यसमा यति र त्यति राजस्व उठ्यो भनेर राज्यले वा सरकारले गर्व गर्नुपर्ने कुनै कारण नै छैन । ती आयातित पदार्थमा नेपालको अर्थतन्त्र कसरी बाहिरीरहेको छ भन्ने कुरालार्ई मध्यनजर राख्ने हो भने यो अझै डरलाग्दो स्थिति पनि हो ।

हामीसँग भएको सामान्य उद्योग व्यवसायलाई अति आवश्यक पर्ने कच्चापदार्थ समेत हामीले उत्पादन गर्न सक्तैनौँ । दही भारतबाट झिकाएर नेपालमा मही मथेर घ्यु निकाल्ने कामजस्तै हो यो अवस्था । यस्तो विषम अवस्थामा छ हाम्रो औद्योगिकता । भन्सारबाट राजस्व उठ्नु त राम्रो हो तर आयातित वस्तुमा राजस्व लक्ष्यभन्दा बढी उठ्यो भनेर राज्यले गर्भ गर्नु बेकार छ । ती सामान खरिद गरेर नेपाल भित्र्याउँदा राज्यको पैसा बाहिरिएको हुन्छ । हामी आम्दानी होइन खर्च गरिरहेका छौँ भनेर बुझ्नुपर्ने हुन्छ ।

नेपालले जंगबहादुरदेखि केपी ओलीको सरकारसम्म आइपुग्दा, छिमेकी मुलुक भारतसँग निरन्तररूपमा व्यापारघाटा सहँदै आइरहेको छ । व्यापारको यो जघन्य असन्तुलन जतिसुकै विद्वान अर्थमन्त्री आए पनि कम गर्नसक्ने योजना ल्याउन सकेका छैनन् । र हामी आयातमुखी, रेमिट्यान्समुखी अर्थतन्त्रमा आश्रित मुलुक हौँ ।

जबसम्म राज्यले कृषि उत्पादन र औद्योगिक क्षेत्रमा व्यापक परिवर्तन ल्याउन सक्तैन, व्यापक सुधारका योजनाहरू सञ्चालन गर्न सक्तैन तबसम्म चाहेको सफलता यो मुलुकले हासिल गर्न सक्तैन । हामीसँग बेच्ने कुरा केही छैन । हामी किन्ने मात्रै काम गर्छौँ । एउटा सम्भावनाको क्षेत्र हाइड्रोपावर छ त्यो पनि अहिलेसम्म खास किसिमको नियमन र योजनाहिनतामा अलमलिएको अवस्थामा नै छ ।

बंगलादेशसँग भएको विद्युत् बिक्रीको सम्झौताको पनि टुंगो लागेको छैन । विद्युत् उत्पादनभन्दा पनि वितरण प्रणाली ज्यादै खर्चिलो र झन्झटिलो छ । नेपालमा उत्पादन गरेको विद्युत् बंगलादेश लैजान त्यतिकै खर्चिलो पनि छ । खास गरेर प्रसारण लाइनको लागि त्रिदेशीय मुलुकले साझेदारीको रूपमा काम गर्नु जरुरी छ । हामीसँग उत्पादन भएको बिजुली भारत र बंगलादेशलार्ई मात्रै बेच्न सकियो भने पनि यो मुलुकको आर्थिक उन्नति छिटो हुने थियो ।

ऊर्जा क्षेत्रमा लगानीको प्रशस्त सम्भावना छ । नेपालमा उत्पादित बिजुली आफैँले मात्रै पनि यदि खपत गर्न सकियो भने भारतबाट पेट्रोलियम पदार्थको आयातमा कमी आउनेछ । यसबाट बर्सेनि खर्बौँ रुपैयाँ विदेशीनबाट जोगिनेछ । भारतसँग भइरहेको व्यापारघाटालाई नेपालले विद्युत् बेचेर पुर्ति गर्न सक्ने सम्भावना छ ।

भारतसँग जलविद्युत्को क्षेत्रमा व्यापक र दीर्घकालीन सम्झौता गर्नु जरुरी छ । हामीसँग पेट्रोलियम पदार्थको खानी नभए पनि प्रशस्त पानी छ । पानी पनि हाइड्रोपावर उत्पादनका लागि सक्षम पानी छ । कुनै न कुनै रूपमा प्रकृतिले हरेक देशलार्ई केही न केही उपहार दिएकी छिन् । भलै हामीलार्ई सुन हिरामोति पेट्रोल युरोनियमजस्ता बहुउपयोगी खनिज पदार्थ नदिए पनि प्रकृतिले हिमाल दिएकी छिन् र प्रशस्त पानी दिएकी छिन् । हिमाल र पानीको मात्रै पनि उपयोग गर्न सकियो भने नेपालीहरूको जीवनस्तरमा प्रशस्त सुधार आउने छ ।

भारतबाट हिउँद महिनामा हामी आफैँले पनि बिजुली किनेर बालिरहेको अवस्था हो । तर अब यो अवस्था छैन । नेपालमा उत्पादन भएको वा नेपालले आफूले उत्पादन गरेर बाँकी रहेको हाइड्रोपावर बंगलादेशले किन्नको लागि पनि भारतीय सहमति आवश्यक हुनजान्छ । नेपाल बंगलादेश र भारतबीच त्रिदेशीय सम्झौता हुनु आवश्यक छ ।

नेपालले उत्पादन गरेको बिजुली भारतीय भूमि हुँदै बंगलादेश लानुपर्ने हुन्छ । बंगलादेशीहरू राजी छन् अब इन्डियाको निर्णयको आवश्यक छ । नेपालमा थप छ हजार मेघावाट बिजुली थपिँदै छ । बंगलादेशले नौ हजार मेघावाट बिजुली किन्छु भनिरहेको अवस्था हो । विद्युत् प्राधिकरणका मेधावी प्रशासक कुलमान घिसिङको नेतृत्वदायी भूमिकामा नेपाल विद्युत् प्राधिकरणले सोचेभन्दा निकै माथिको प्रतिफल हासिल गरिरहेको छ । त्रिदेशीय ऊर्जा करिडोरका माध्यमबाट नेपालमा उत्पादन भएको बिजुली भारतीय भूमिको उपयोग गरी नेपालको ऊर्जा तेस्रो मुलुकहरूमा वितरण गर्न सकिने अवस्था छ ।

तर जति कुरा गरे पनि भारत नै सहमतिमा आउनुपर्ने हुन्छ । बंगलादेशले आउदो २० वर्षभित्र करिब नौ हजार मेघावाट बिजुली किन्नको लागि आशय जाहेर गरिसकेको अवस्थामा अब भारतलार्ई समेत सहभागी गराएर संयुक्त लगानीमा बिजुली उत्पादन र वितरणको बाटो खुलाउनु अनिवार्य छ । छिमेकी देश भारतसँगको व्यापारघाटा सन्तुलनमा ल्याउने एकमात्र उपाय हो प्रशस्त हाइड्रोपावर उत्पादन र बिक्रीवितरण । भारत ठूलो देश हो, उसलार्ई जहिले पनि ऊर्जाको आवश्यक पर्छ ।

भारत नै एउटा पहिलो देश हो जसले नेपालमा विद्युत् उत्पादनका लागि सहकार्य गरी उत्पादन भएको बिजुलीलार्ई आफूले पनि उपभोग गर्न सक्छ । पेट्रोलियम पदार्थ भनेको खानीबाट उत्पादन हुने चिज हुन यो जुनसुकै बेला सकिन सक्छ तर पानी हिमाल रहेसम्म कहिले पनि नसकिने स्थायी ऊर्जाको स्रोत हो । विश्वमा सबैभन्दा धेरै विद्युत् उत्पादन गर्न सक्ने देश हाम्रो नेपाल हो ।

पर्वतबाट बगेका झर्ना र नदीका क्षमतावान पानी नै बिजुली निकाल्न योग्य हुन्छन् । समुद्र हुँदैमा हाइड्रोपावर निकाल्न सकिँदैन । यसको लागि पर्वतीय भूमि अनिवार्य रहन्छ । समुद्र त इन्डियासँग पनि छ बंगलादेशसँग पनि छ । समुद्रमा केवल नुनिलो पानी बग्छ तर बिजुली बग्दैन । बिजुली त नेपालको पानीमा बगिरहेको छ ।

भारतसँगको सहकार्यबिना नेपालको बिजुली अर्को मुलुकमा लैजान सक्ने सम्भावना छैन । बरु भारत र नेपाल मिलेर विद्युत् उत्पादन गर्ने अनि तेस्रो मुलुकलार्ई उक्त ऊर्जा बेच्न सकिने सम्भावना भने जहिले पनि रहिरहन्छ । हाम्रो भारतसँगको व्यापारघाटा धेरै पुरानो रोग हो । कोदो समेत भारतसँग किन्छौँ हामी ।

भूगोलको हिसाबले ठगिएका हामी त्यति धेरै जनसंख्या भएको देश पनि होइनौ । यहाँको कृषि उत्पादनले हामीले आफूले आफैँलाई पाल्न सक्ने सम्भावना छ । तर हामी नेपाली अल्छी छौं । सकेसम्म दुःख नगरूँ किनेर खाऊँ भन्ने प्रवृत्ति छ । हाम्रा खेतीयोग्य भूमि धेरै बाँझो पल्टिएका छन् । खेती गर्न सक्ने ऊर्जावान युवाहरू खाडी मुलुकमा लम्पसार छन् । सरकार रेमिट्यान्समा विश्वास राख्छ । सरकारको स्रोत भनेको उत्पादन होइन । आयातित वस्तुबाट उठेको राजस्व, अन्तर्राष्ट्रिय व्यापारबाट मिलेको आर्थिक अनुदान र नेपालीले खाडी मुलुकबाट नेपाल पठाएको रेमिट्यान्स नै राज्य सञ्चालनको एकमात्र स्रोत हो ।

नेपालमा गाडी उत्पादन हुँदैन । गाडी भारतबाट आयात हुन्छ । एउटा सामान्य निजी कारको भारतमा पाँच लाख भारुमा नेपाली मोटर कम्पनीले खरिद गर्छन् । त्यो कार नेपाल आउँदा करसहित ३० लाख नेपाली रुपैयाँ पर्छ । अनि सर्वसाधारणले त्यो कार ३५ लाख नेपालीमा खरिद गर्छ । भारतमा आठ लाख नेपाली पर्ने कार नेपाली उपभोक्ताले भने ३५ लाखमा किन्नु भनेको २७ लाख नेपाली बढी तिर्नु हो ।

सामान्य अवस्थामा एउटा कारले वर्षभरि पेट्रोल, टायर, मोबिल र अन्य पार्टसपुर्जामा समेत गरी करिब एक लाख पचास हजार नेपाली रुपैयाँ अनिवार्य खर्च गर्नुपर्ने हुन्छ । यसरी निजी कारबाट मात्रै हामीले भारतलार्ई हरेक वर्ष अर्बौँ रुपैयाँ पैसा बुझाइरहेका हुन्छौँ । हामीले भारतलार्ई बेच्ने कुनै उत्पादन छैन । हामी आफूलाई कृषिप्रधान देश भन्छौँ तर चामलदेखि दुधसमेत भारतसँग किनेर खानुपर्ने अवस्था छ । नेपाली उपभोक्ताले उपभोग गर्ने सबै सामान भारतबाट अनिवार्य किन्नुपर्ने हुन्छ । यही कारणले पनि भारतसँगको व्यापार सधैँ घाटामा चलिरहेको हुन्छ । घाटा पनि लाखमा होइन करोडमा होइन अर्बौंमा हुने गरेको छ ।

यो अवस्थालार्ई मध्यनजर राखेर नेपालमा अब थुप्रै हाइड्रोपावर उत्पादन सुरु हुँदै छ । अपर तामाकोसीदेखि अपर त्रिसुली घ, ए र अन्य बनिरहेका उत्पादन उन्मुख जलविद्युत् आयोजना नेसनल ट्रासमिसन लाइनमा जोडिने क्रममा छन् । हामीले उत्पादन गरेको बिजुली आफैँले उत्पादन गर्दा घर घरमा इन्डक्सन चुलो र विद्युतीय गाडीको आयातमा समेत राज्यले सहुलियत दिनु अनिवार्य हुन्छ । भारतबाट पेट्रोलियम पदार्थको आयात आधा घटाउनका लागि यस्ता विद्युतीय ऊर्जा उत्पादनको महत्वपूर्ण हात हुन्छ । अबको नारा नै ‘बिजुली बढाऔँ देश धनी बनाऔँ’ भन्ने हुनुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्