Techie IT
बुधबार, कात्तिक ५,२०७७

नेपालमा राजनीतिक पार्टीहरूको विनिर्माण र नेपाली कांग्रेस


के हो राजनीति ? राजनीति शास्त्र ज्ञानको अरु शास्त्रजस्तै जीवनपयोगी हुनथालेको हजारौं वर्ष भइसकेको छ । प्राचीन युनानी राज्यका प्रसिद्ध साहित्यकार होमरको दुई भव्य महाकाव्य इलियड र ओडिसीमा राजाको राजनैतिक भुमिका बारेमा व्याख्या गरिएको छ । राजा, राज्य र राजनीतिका बारेमा विशद व्याख्या गरिएको यो प्राचीनतम आदि ग्रन्थलार्ई आधार मान्ने हो भने राजनीति एउटा समाजविज्ञान हो ।

समाजको मनोवैज्ञानिक अध्ययन गर्ने शास्त्रका रूपमा राजनीतिलार्ई मानिँदै आयो । युरोपेली राज्यहरूको निर्माण र पतन अनि दुई ठूला विश्वयुद्धले विश्व जगतलार्ई धेरै कुराहरू सिकाएको छ । राजनीति समाजको विज्ञान त हुँदै हो तर राजनीति समाजसँग कसरी अन्तर्घुलन हुन्छ भन्ने कुरा हामीलार्ई पूर्वीय साहित्य दर्शनले पनि सिकाएको छ । रामायणमा आदर्श राज्य, आदर्श राजा, आदर्श नारी, आदर्श जनता र आदर्श समाजका बारेमा गहिरो विशेष परिचर्चा भएको छ ।

राजनीति के हो भनेर बुझ्नलाई पूर्वीय सभ्यतामा रामायण युग र पश्चिमी सभ्यतामा होमरकृत इलियड ओडिसीसम्म पुग्नुपर्ने हुन्छ । राजनीति चेतना हो । राजनीति ज्ञानहरूकै परिपुञ्ज हो । राजनीतिले धर्म, अर्थ, समाज, संस्कृति, सभ्यता, शासन, शासक तथा राज्य सञ्चालनका लागि चाहिने योग्यताका बारेमा पनि व्याख्या गर्छ । महाभारतमा भीष्मले निर्देश गरेअनुसारको शासन पद्धति, रामायणमा रामको चरित्रले निर्देश गरेअनुसारको शासन पद्धति अनि होमरको महाकाव्यमा बयान गरेअनुसारको राजाको स्वैरकल्पनाअनुसारको राज्य पद्धति नै राजनीतिक शासन पद्धति हो ।

जब जनतामा दुराचार, पापाचार, राग, द्वेष उन्माद, क्रोध, लोभ, हत्या, हिंसा, भ्रष्टाचार र असामाजिकता फैलिन्छ त्यसलार्ई नियमन नियन्त्रण गर्ने साधन भनेको राजनीतिक उपाय मात्रै हो । राज्य नियन्त्रणमा राजनीतिको अहम् भूमिका रहन्छ । धार्मिक युगमा धर्म नै कानुन थियो । धर्मबाट नै मनुष्य नियन्त्रणमा थिए । धर्मयुगमा धर्म नै राजनीति थियो । मध्ययुगमा राजनीति र धर्ममा एकता भयो । अनि राजनीति एउटा दर्शन बन्यो । राजनीति सामाजिक दर्शनबाट नै अनुप्राणित भएको हुन्छ । एकै अर्थमा भन्नुपर्दा राजनीति चेतनाको त्यो आलोक हो जसका कारण मानव सभ्यता आदिम बर्बर युगबाट आधुनिक सभ्य र प्रजातान्त्रिक युगमा परिवर्तन भएको छ ।

परिवर्तन राजनीतिको संस्कार हो । राजनीतिज्ञ अनपेक्षित अबुझ होला अदूरदर्शी होला अनपढ होला तर राजनीतिक विचारधारा त्यो ज्ञानहरूकै सूर्य हो । जसको आलोकले पृथ्वीमा उज्यालो आइरहेको छ अनादीदेखि । राजनीतिमा पराधिनता र स्वाधिनता भन्ने कुरा महत्वपूर्ण हुन्छ । राजनीतिमा स्वतन्त्रताले खास महत्व राख्छ । राजनीतिक रूपमा स्वतन्त्रताको गीत हिजोदेखि आजसम्म बजिरहेकै छ । राजनीतिको अभीष्टता जनस्वतन्त्रता नै हो । राइट अफ फ्रिडम भनेकै राजनीति हो । जहाँ आदर्श राजनीति हुन्छ त्यहाँ आदर्श राज्यको परिकल्पना आइहाल्छ ।

युरोपेली देशमा विभिन्न विशिष्ट विद्वानहरूले सामाजिक चेतना जगाउने क्रममा आदर्श राजनीतिको परिभाषा निर्वाण गरे । देशलाई राजनीतिले गतिशीलता प्रदान गर्छ । सामाजिक चेतनाको अर्को रूप भनेको राजनीति हो । मानव चेतना को निर्विकल्प ज्ञानको रूपमा राजनीतिक चिन्तनलार्ई मानिन्छ । समाजमा म के हो ? समाज के हो ? मेरो कर्तव्य के हो ? समाजमा मेरो स्थान के हो ? समाज निर्माणमा मेरो भूमिका केहो भन्ने कुराको सचेतना नै राजनीतिक चेतना हो । असमानता जहाँ हुन्छ त्यहाँ विरोधको स्वर गुन्जन्छ । विरोधको प्रचेष्टाबाट नै राजनीतिको किरण उदय हुन्छ । पहिला राजाले मान्नुपर्ने धर्मलार्ई राजधर्म भनिन्थ्यो । पछि त्यही राजनीतिक सिद्धान्त बन्यो ।

नेपालका राजनीतिक पार्टीहरू र यसको विनिर्माण : राजधर्मबाट राजनीतिक विचारको उदय भयो । राजनीतिलार्ई राजाको नीति पनि भनियो । पछि हुँदै गएपछि राजनीति संघसंगठनका माध्यमबाट, असंख्य असन्तुष्ट व्यक्तिहरूको वर्गसंघर्षबाट यो परिभाषा प्रेरित हुँदै गयो । यसरी राजाबाट राजनीति अब जनतामा संगठितका रूपमा परिभाषित हुन थाल्यो । अझ पछि राजनीतिक पार्टीहरूको प्रादुर्भाव भयो । पार्टी, संघसंगठनका बारेमा यसको अभ्यास पश्चिमी देशबाट नै सुरु भएको हो । खास गरेर पार्टी संघसंगठनका कुरा स्वतन्त्रताका कुरा भौतिकवादका कुरा दार्शनिक विद्वान अरस्तुले नै हिजो बताएका थिए र हाम्रो भारतवर्षमा रामायण युगमा वाल्मिकीले हिजो यो कुरा रामायणमा बताइसकेका थिए ।

रामायणमा बादर संगठनको कुरा आजभन्दा दशौँ हजार वर्ष अगाडि नै व्यक्त भैसकेको थियो । अहिले आधुनिक युगमा पार्टी र संघसंगठनका माध्यमबाट राजनीति गरिन्छ । आधुनिक नेपालका निर्माता खासगरेर पृथ्वीनारायण शाहकालदेखि नेपालमा संगठित राजनीतिको सुरुवात भएको मानिन्छ । सैन्य शक्तिका लागि पनि संगठन विस्तार एउटा अपरिहार्य कार्य थियो ।

निर्वाचन आयोगका अनुसार नेपालमा थुप्रै राजनीतिक पार्टीहरू विधिवत ढंगले स्थापित भए । ती पार्टीहरूको नाम यसप्रकार छन् : अखण्ड नेपाल पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, खम्बुवान राष्ट्रिय मोर्चा, खस समावेशी राष्ट्रिय पार्टी, गरिब एकता समाज पार्टी नेपाल, गरिब जनताको क्रान्ति पार्टी, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल, चुरेभावर राष्ट्रिय पार्टी, चुरेभावर लोकतान्त्रिक पार्टी, जन प्रजातान्त्रिक पार्टी, जनजागरण पार्टी नेपाल, जनता दल, नेपाल, जनता दल युनाइटेड, जनता दल लोकतान्त्रिक पार्टी, जनता पार्टी नेपाल, जनतान्त्रिक तराई मधेश मुक्ति टाइगर्स, जनमोर्चा नेपाल, जनयुनिटी कोअपरेटिभ पार्टी नेपाल, तराई पहाड हिमाल समाज पार्टी, तराई मधेश पहाड हिमाल एकता पार्टी, तामाङसालिङ राष्ट्रिय जनएकता पार्टी, थरुहट तराई पार्टी नेपाल, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा, देशभक्त समाज, नयाँ नेपाल राष्ट्रिय पार्टी, नयाँ शक्ति पार्टी, नेपाल, नयाँ संघीयता जनधारणा पार्टी, नव नेपाल निर्माण पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी/लेनिनवादी), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी/लेनिनवादी, माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (मालेमा) साम्यवादी, नेपाल कम्युनिस्ट पार्टी (माले–समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी), नेपाल गणतान्त्रिक एकता पार्टी, नेपाल गौरवशाली पार्टी, नेपाल जनसमावेशी एकता पार्टी, नेपाल नागरिक पार्टी, नेपाल न्यायिक दल, नेपाल प्रजा परिषद्, नेपाल प्रजापरिषद्, नेपाल मजदुर किसान पार्टी, नेपाल युवा किसान पार्टी, नेपाल राष्ट्रसेवा दल, नेपाल राष्ट्रिय यातायात विकास दल, नेपाल लेबर पार्टी, नेपाल श्रमजिवी दल, नेपाल सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी), नेपाल सद्भावना पार्टी (युनाइटेड), नेपाल समाजवादी पार्टी (लोहियावादी), नेपाल समावेशी पार्टी, नेपालआमा पार्टी, नेपाली कांग्रेस, नेपाली कांग्रेस (प्रजातान्त्रिक), नेपाली जनता पार्टी, पिछडावर्ग निषाद दलित जनजाति पार्टी, बहुजन समाज पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन, मधेश समता पार्टी नेपाल, मधेशी जनअधिकार फोरम नेपाल, मातृभूमि नेपाल दल, युनाइटेड ग्रीन अर्गनाइजेसन, युवा शक्ति नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रवादी जनता पार्टी, राष्ट्रिय एकता पार्टी राष्ट्रिय चुरेभावर पार्टी, राष्ट्रिय जन विकास पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय मधेश एकता पार्टी नेपाल, राष्ट्रिय मधेश बहुजन समाजवादी पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रिक युवा पार्टी, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय स्वाभिमान पार्टी नेपाल, लिबरल डेमोक्रेटिक पार्टी, लिम्बुवान मुक्ति मोर्चा, लिम्बुवान मुक्ति मोर्चा नेपाल, लोक दल, लोकतान्त्रिक जनता पार्टी नेपाल, लोकतान्त्रिक पार्टी–नेपाल, विवेकशील नेपाली, विवेकशील नेपाली दल, विवेकशील साझा पार्टी, विश्व सत्यवादी पार्टी, श्रमिक जनता पार्टी–नेपाल, संघीय गणतान्त्रिक समाजवादी पार्टी नेपाल, संघीय लिम्बुवान राज्य परिषद्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), संघीय विकासवादी पार्टी नेपाल, संघीय सद्भावना पार्टी, संघीय समावेशी समाजवादी पार्टी नेपाल, संयुक्त जनमोर्चा, संयुक्त प्रजातन्त्र पार्टी, संयुक्त राष्ट्रवादी मोर्चा नेपाल, संघीय समाजवादी पार्टी नेपाल, संघीय समाजवादी फोरम, नेपाल, सद्भावना पार्टी, समाजवादी जनता पार्टी, समाजवादी पार्टी नेपाल, सहकारी पार्टी नेपाल, साझा पार्टी, सोसल रिपब्लिकन पार्टी, हिन्दु प्रजातान्त्रिक पार्टी नेपाल र ॐ सेना नेपाल आदि ।

माथि उल्लिखित पार्टीहरू अहिले सबै सक्रिय छैनन् । इतिहासको गर्तमा ती कतिपय विलय भैसकेका छन् । अवशेषको स्थान्तरण हुने क्रियालाई मैले यहाँ अवशेषान्तरण भनेर परिभाषित गर्न खोजेको छु नयाँ पार्टी जन्मिने र नयाँ पार्टीमा समान विचार र समान उद्देश्य भएका पार्टीहरू अन्तर्घुलन हुने प्रक्रिया पार्टीको विनिर्माण हो ।

नेपालमा दर्ता भएका कतिपय पार्टीहरूको केही स्थुल अंश अर्को पार्टीमा बिलाउनु सामान्य हो । पार्टीहरू आन्तरिक द्वन्द्व र शक्तिसन्तुलनका कारण फुट्छन् । ती विभाजन भएर शक्तिहीन भएर बस्छन् वा फेरि कुनै अर्को बलियो पार्टीमा त्यस्को अवशेष स्थान्तरण हुन्छ । मतलव दोस्रो अर्को पार्टीमा त्यो विलय हुन्छ । सबैभन्दा लामो इतिहास भएको नेपालको राजनीतिक पार्टी नेपाली कांग्रेस विगतदेखि वर्तमानसम्म फुट, गुट, टुट र जुटको संघारबाट धेरै पटक गुज्रिएको छ ।

केही धुकधुकी हुँदै अर्को सक्रिय पार्टीमा विलय हुने काम इतिहासमा थुप्रैपटक भएको छ । यसो गर्दा शेष रहेको विचारधारा, पार्टीको घोषणा पत्र उद्देश्य, वैचारिक बाटो, भविष्यको योजना आदि सबै अर्को पार्टीमा विलय हुन्छ । विलय गराउने काम एक राजनीतिक पार्टीको विचारधाराको अवशेषान्तरण हो । जीवित हुँदै अर्कोमा विलय हुनु र आफ्नो मान्यता र राजनीतिक सिद्धान्तलाई अर्को पार्टीमा अवशेष छोड्ने प्रक्रिया एउटा हारको स्थिति पनि हो ।

उस्तै–उस्तै भावना, विचार, मान्यता, आदर्शता, चरित्र, उद्देश्य मिल्ने पार्टीसँग विलय गराउने कोसिस गराइन्छ । प्रजातान्त्रिक विचारधारा भएको पार्टी अर्को कम्युनिस्ट पार्टीमा विलय हुन सक्तैन । र विश्वमा त्यस्तो ज्यादै कम भएको छ । जुन राजनीतिक पार्टी अर्को शक्तिशाली पार्टीमा विलय हुन आउँछ विलय हुनआउने पार्टीको राजनीतिक प्रतिबद्धता र आदर्शता विलयता स्वीकार गर्ने पार्टीले अपनाउनु जरुरी ठान्दैन । यस्को ढाँचा स्वरूप पद विभाजनको आकारप्रकारमा केही सहमति भए पनि मिसिन आउनेको अवशेष बोकेर हिँड्न पर्छ भन्ने जरुरत देख्दैन विलय स्वीकार गर्ने पार्टीले । अहिले नेपालमा मुस्किलले ८/१० वटा पार्टीको मात्रै सक्रियता देखिन्छ । खास गरेर दश वर्ष जनयुद्ध गरेर अघिल्लो मोर्चामा पुगेको नेपालको राजनीतिक पार्टी माओवादी एमालेमा मिसियो ।

दुई राजनीतिक पार्टीको उद्देश्य भलै फरक थियो तर यी दुवै पार्टीका माउ गुरु माक्र्स, लेनिन, र एंगेल्स नै थिए । र यी दुई पार्टी आपसमा मिले । दश वर्ष जनयुद्धमा होमिएर संसदीय अभ्यासलार्ई मान्छु भन्ने शर्त स्वीकार गरी एमालेमा विलय भएको माओवादी पार्टी अब अस्तित्वमा छैन । दुई पार्टी मिलेर अब नेकपा भएको छ । अहिले फेरि यी दुई पार्टी सत्ता स्वार्थका कारण फुटको संघारमा पुग्न लागेका छन् ।

सत्ताको मोहका कारण एकै पार्टीभित्र पनि द्वन्द्व र वैमनस्यता सिर्जना हुन्छ । सत्ता वा पद नपाएकाहरूले आफ्नो पार्टी नै परित्याग गरेर अर्को पार्टीमा विलय हुने वा त्यही आफ्नै माउपार्टीमा शक्तिशाली हुनखोज्ने प्रक्रिया पनि चलिरहेको हुन्छ । यसबाट पार्टीभित्र विनिर्माण हुन गई केही असल र राम्रा व्यक्तिहरू माथि आउन सक्छन् ।

साम्यवादोन्मुख पार्टीहरूले अर्को पार्टीको उदय र अस्तित्व स्वीकार गर्न सक्तैन । त्यसैले चाइनामा अर्को समकक्षी पार्टी अस्तित्वमा आउन सक्तैन । हाम्रो नेपालमा त्यो अवस्था छैन । पार्टीसँग सामाजिक चरित्र हुन्छ । तिनै समाजका सक्रिय व्यक्तिहरू पार्टी निर्माण गर्ने, निर्वाचनमा भाग लिने, आफ्नो सहभागिता जनाउने, साम्सदमा आफ्नो निर्वाचन क्षेत्रको वस्तुस्थितिका बारेमा भनाइ राख्ने, जनताको विचारको प्रतिनिधि पात्र हो एक सांसद भनेको । सांसद स्वतन्त्र नभएर कुनै सांगठानिक पार्टीमा आबद्ध एक नेता हो । यसरी एउटा राजनीतिक पार्टी जनताको चरित्र लिएर बाँचिरहेको हुन्छ । खासगरी राज्यमा किसान वर्ग, धार्मिक वर्ग, न्यायिक वर्ग, राजनीतिक वर्ग, प्राविधिक वर्ग, शिक्षित जागीरे वर्ग हुन्छन् । यही वर्गमध्येबाट नै राजनीतिक पार्टीमा प्रतिनिधित्व हुन्छ ।

पार्टी परिभाषा : राजनीतिक पार्टी एउटा राजनीतिक संस्था हो । यो गुट हो । एकै विचारधारा, एकै उद्देश्य, एकै एक्यबद्धता, एकै बाटो र एकै आदर्शबाट अनुप्राणित भई संगठनमा आबद्धता जनाइन्छ यो नै पार्टी हो । साम्यवादी शासन भएको मुलुकमा एउटा मात्रै पार्टी हुन्छ तर समाजवादी प्रजातान्त्रिक मुलुकमा विविध पार्टीहरूको आबद्धता रहन्छ । हाम्रो देशमा धेरै राजनीतिक पार्टीहरू छन् । ती राजनीतिक पार्टीहरूको प्रायः सबैको उद्देश्य र अभिप्राय नेपाल र नेपाली जनताको उथ्थान र प्रगतितर्फ उन्मुख नै हो । राज्यको सुशासनका लागि राजनीति हो भने त्यही सुशासन स्थापनाका लागि पार्टी र विविध दलहरूको साङठानिक एकता हुनु जरुरी छ ।

समाजमा विविध विचारधारा बोकेका व्यक्तिहरू हुन्छन् । विचारधारा मिलेका व्यक्तिहरू एकै पार्टीमा आबद्ध हुन्छन् । नेपालमा नेकपा एमाले माक्र्स र लेनिनवाद विचारधाराबाट सञ्चालित छन् । नेपालका कम्युनिस्ट पार्टीहरूको आदिगुरु कार्लमाक्र्स र लेनिन नै हुन् । राजनीति र आदर्श राज्यका परिकल्पनाकार दार्शनिक प्लेटोले पनि पार्टीका बारेमा धारणा व्यक्त गरेका छन् । कुनै पनि काम गर्दा एकल प्रयास मात्रैले सम्भावना नरहने भएकोले जनजनको सामुदायिक चिन्तन र सामूहिक प्रयत्नबाट नै आदर्श राज्य स्थापनाको सम्भावना देखेका थिए प्लेटोले ।

प्रजातान्त्रिक मुलुकमा सरकार पार्टीबाट निर्माण हुन्छ । उनले भन्थे व्यक्तिको जीवन व्यवहार आदर्श भए मात्रै आदर्श राज्य स्थापना हुनसक्छ । राज्य भनेकै व्यक्तिको चेतनाको विस्तृत रूप हो । पार्टी जनसमुदायको समुच्च रूप हो । एक विचारधारा, एक आदर्श, एक उद्देश्य र एकै अभीष्टता प्राप्तिका निम्ति सामूहिक रूपमा गरिने यत्न राजनीति हो । नेपालमा अहिले क्रियाशील पार्टीहरू धेरै छैनन् । खास गरेर १०४ वर्षको राणा शासनको अन्त्यका लागि खोलिएका राजनीतिक संघसंगठनहरू नै कालान्तरमा नेपालको राजनितीक पार्टीको रूपमा विकसित भएका हुन् ।

नेपाली कांग्रेस : खास गरेर नेपालमा जहानियाँ राणाशासनको अन्त्य गर्नका लागि राजासँग सहकार्य गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस नै थियोे । निर्वाचन आयोग नेपालमा बालिग मताधिकारको आधारमा संसद्, गाउँ, नगर तथा जिल्लाका स्थानीय निकायहरूको स्वतन्त्र निर्वाचन सम्पन्न गराउने उद्देश्यले स्थापना भएको संवैधानिक अंग हो । ‘नेपालको संविधान’ को भाग २४ को धारा २४५ देखि २४७ सम्म निर्वाचन आयोगसम्बन्धी व्यवस्था रहेको छ । यसरी संवैधानिक परिधिभित्र रही स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउने स्वायत्त संवैधानिक अंगको रूपमा निर्वाचन आयोगको व्यवस्था रहेको छ ।

नेपाल सरकार वैधानिक कानुन, २००४ ले सर्वप्रथम गाउँ, पञ्चायत, र जिल्लापञ्चायतहरूमा निर्वाचित जनप्रतिनिधिहरू रहने व्यवस्था गरेको थियो । अन्तरिम शासन विधान, २००७ ले निर्वाचन आयोगको व्यवस्था ग-यो र आयोगको पहिलो प्रमुख निर्वाचन आयुक्त पदमाश्री सुवर्ण शमशेर जबरा नियुक्त भए । नेपाल अधिराज्यको संविधान, २०१५ अन्तर्गत नेपालमा प्रतिनिधिसभाको लागि फागुण ७, २०१५ मा पहिलो संसदीय आम निर्वाचन सम्पन्न भयो । नेपालको संविधान, २०१९ अन्तर्गत गाउँ तथा नगर तहका प्रतिनिधिका लागि प्रत्यक्ष निर्वाचन सम्पन्न भए ।

यिनै निकायका प्रतिनिधिमध्येबाट माथिल्लो तहका जिल्ला, अञ्चल र राष्ट्रिय पञ्चायत (राष्ट्रिय विधायिका)को निर्वाचन सम्पन्न गरिए । नेपाल अधिराज्यको संविधान, २०४७ ले यसको प्रस्तावनामा नै आधारभूत मानव अधिकार सुरक्षित गरी बालिग मताधिकार, संसदीय शासन प्रणाली, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको सुदृढीकरण गर्ने उल्लेख भएको छ । सो संविधानको भाग १५ मा धारा १०३ देखि १०८ सम्म निर्वाचन आयोगको गठन प्रक्रिया, काम, कर्तव्य र अधिकार, निर्वाचन क्षेत्र निर्धारणआयोग, निर्वाचन विशेष अदालतको व्यवस्था उल्लेख गरिएको छ । नेपालको संविधान २०७२ अनुसार अब नेपालमा पार्टीको निर्माण प्रक्रिया, निर्वाचन प्रक्रिया र अन्य वैधानिक विधिहरूको अपडेट गरिएको छ ।

२००४ सालमा स्थापना भएको नेपाली कांग्रेसको राजनीतिक सिद्धान्त प्रजातान्त्रिक समाजदवाद उन्मुख हो । नेपालको एउटा पुरानो राजनीतिक पार्टीको हैसियतले उसले आजसम्म समाजवाद र प्रजातन्त्रको रक्षाका लागि काम गरिरहेकै छ । नेपालमा प्रजातन्त्रको इतिहास जति पुरानो छ त्यति नै पुरानो छ नेपाली कांग्रेस । लोकतान्त्रिक समाजवाद, आत्मानिर्णयको अधिकार, प्रजातन्त्र, मानवाधिकारका बारेमा उसले काम गरिरहेको छ । हिजो जहानियाँ राणाशासनविरुद्धको आवाजमा नेपाली कांग्रेस सिंगो पार्टीले आफ्नो एकल शक्ति प्रदर्शन गरेकै हो ।

नेपालमा पार्टीहरू जोडिने र फुट्ने क्रम इतिहासकै उदाहरण पनि हो । २०१७ सालमा तात्कालिक राजा महेन्द्रले पार्टीहरूलाई प्रतिबन्ध लागाए र एकदलीय पञ्चायत व्यावस्था लागू गरे । २०४६ सालको जनआन्दोलनले पञ्चायत व्यवस्थाको अन्त्य ग-यो । नेपाली कांग्रेस पार्टीले आफ्नो लामो राजनीतिक इतिहासमा थुप्रै उतारचढाव बेहोर्नुपरेको छ । नेपाली कांग्रेसलार्ई नेपालका सबै राजनीतिक दलहरूको माउदलभन्दा पनि कुनै अतिशयोक्ति नहोला । अबको युग सामाजवादको युग हो । प्रजातन्त्र र समाजवाद एक अर्काको परिपुरक हुन् । आत्मनिर्णयको अधिकारबाट अब कोही पनि विमुख हुन चाहँदैन । मनुष्यको सबैभन्दा प्यारो चिज केही छ भने त्यो उसको आत्मनिर्णय र उसको अन्तरनिहित स्वतन्त्रता ।

नेपाली कांग्रेसले आफ्नो प्रथम युगान्तकारी घोषणापत्र (२००६)मा समस्त देशवासीलार्ई आह्वान गर्दै भनेको थियो, अब हाम्रा देशवासीहरू यस घोर अन्यायका विरुद्ध जुर्मुराएर उठ्नु आवश्यक भइसकेको छ । सम्पूर्ण जनताको तागत बटुलेर एउटा अन्तिम आन्दोलन गरी स्वेच्छाचारी पारिवारिक शासनलार्ई उखेलेर फ्याँक्ने निश्चय गरेको छ । क्रान्तिपश्चात् जनताका प्रतिनिधिहरूद्वारा निर्मित विधानअनुसार शासनको सम्पूर्ण वागडोर जनताद्वारा निर्वाचित प्रतिनिधिहरूको हातमा रहनेछ ।

जनताप्रति उत्तरदायी शासन नै उत्तरदायी शासन हो । यस वर्तमान शासनको अन्त्य भइसकेपछि नेपाली कांग्रेसले बालिक मताधिकारका आधारमा चुनिएका जनप्रतिनिधिहरूको एउटा परिषद् वा सभा बोलाउनेछ । यसै परिषद् वा सभालार्ई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम कानुन बनाउने सम्पूर्ण जिम्मेवारी सुम्पनेछ ।

सुशासन, समाजवाद, प्रजातान्त्रिक मूल्य र मान्यतामा अवछिन्न सहभागिता, मेलमिलापको नीति, आत्मनिर्णयको सम्मान, वैयक्तिक जनस्वतन्त्रताको रक्षाका लागि नेपाली कांग्रेसका महान नेता वीपीको समाजवादलार्ई नेपाली कांग्रेसका आजका नेताले बरु भुल्दै गइरहेको अनुभूति भैरहेको छ । लोकतन्त्रलार्ई जोगाउनु आजका सबै राजनीतिक पार्टीहरूको अभीष्टता हुनुपर्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्