Techie IT
४ जेठ २०७९, बुधबार

विकासमा सन्तुलित वृद्धि सिद्धान्तको महत्व, समस्या तथा सुझाव


काठमाडौं । अल्पविकसित देशहरूमा आर्थिक विकासको व्यूह–रचना अथवा नीति कस्तो हुनुपर्दछ भन्ने सम्बन्धमा अर्थशास्त्रीहरूबीच मतभिन्नता पाइन्छ । केही अथशास्त्रीहरूको विचारधाराअनुसार अल्पविकसित वा विकासशील देशहरूले विकासलाई सन्तुलित पद्धति लागू गर्नुपर्दछ भनेका छन् । अर्को थरिका अर्थशास्त्रीहरूको भनाइअनुसार यस्ता मुलुकहरूमा असन्तुलित विकास नीतिलाई जोड दिनुपर्दछ । यसरी नेपालजस्तो विकासोन्मुख देशहरूलाई कुन विकास नीति अपनाउने हो, यसबारे अर्थशास्त्रीहरूबीच मतभिन्नता भएको हामी पाउँछौँ । तर विकास नीति अपनाउनुभन्दा अगाडि दुवै सिद्धान्तको व्याख्या गर्नु जरुरी हुन्छ । सन्तुलित वृद्धिको अर्थव्यवस्थाका विभिन्न क्षेत्रको एकसाथ सामन्जस्यपूर्ण विकास गर्नु हो जसले सबै क्षेत्र एकैसाथ अघि बढ्नु । यसको लागि माग र पूर्ति पक्षको सन्तुलनको आवश्यकता पर्दछ । सन्तुलित वृद्धिका लागि आवश्यक छ कि सरकारले योजना तर्जुमा गरोस्, निर्देशन र सामन्जस्यता ल्याओस् । रोडान, नक्र्सजस्ता अर्थशास्त्रीहरू सन्तुलित विकासका प्रतिपादक हुन् । रोजेस्टिन रोडान प्रथम व्यक्ति हुन्, जसले सन्तुलित वृद्धि सिद्धान्तको प्रतिपादन गरे ।

सन्तुलित विकास भनेको विभिन्न उपभोग्य वस्तु उत्पादन गर्ने उपयोग र पुँजीगत वस्तु उत्पादन गर्ने उपयोगबीच त्यसै गरी कृषि, उद्योग, घरेलु र निर्यात क्षेत्र, सामाजिक र आर्थिक पूर्वाधारहरूबीचको समानुपातिक विकास हो । सन्तुलित विकास वा वृद्धिको अर्थ सबै क्षेत्रको उत्पादन वा लगानीयोग्य सबै साधनको वृद्धि बराबर मात्रामा गर्नु भन्ने होइन । यसको अर्थ हो अर्थव्यवस्थाको सबै क्षेत्र समानुपातिक रूपमा अगाडि बढ्नुपर्दछ जसले गर्दा कुनै क्षेत्र ज्यादै विकसित र कुनै क्षेत्र ज्यादै पिछडिएको हुन नपाओस् । अर्थव्यवस्थाको सबै क्षेत्रको वृद्धि यस प्रकारले होस् कि कुनैमा अति उत्पादन हुन नपाओस् । सन्तुलित विकासले विभिन्न उपभोग्य वस्तुको उद्योगको बीचमा मात्र होइन बरु कृषि र उद्योग, उपभोग्य र पुँजीगत वस्तु, आर्थिक र सामाजिक लागत तथा उत्पादनमा लगानी, घरेलु र बाह्य वस्तु आदि सबैमा सन्तुलित कायम हुन सकोस् । यसप्रकार कृषि, उद्योग, व्यापार र सेवालगायत सबै क्षेत्रले समानरूपमा विकास गर्न पाउने अवसरको सिर्जना गर्नु नै सन्तुलित विकासको अवधारणा हो ।

सन्तुलित विकासमा पूर्ति पक्ष र मागपक्षलाई सन्तुलनमा ल्याउने प्रयास गरिन्छ । पूर्ति पक्षले वस्तुहरूको पूर्ति वृद्धि गर्न आवश्यक सबै अन्तरसम्बन्धित क्षेत्रको विकासमा जोड दिन्छ । यसले कच्चा पदार्थ, विद्युत्, कृषि, सिँचाइ, यातायात आदिको सबैसाथ विकास हुनुपर्दछ भन्दछ । माग पक्ष आम्दानी र रोजगारीका अवसर वृद्धिसँग सम्बन्धित छ । आम्दानी र रोजगारीको वृद्धिले वस्तुको मात्रामा वृद्धि हुन्छ, फलस्वरूप सहयोगी उद्योगहरू जस्तै– उपभोक्ता उद्योगहरू कृषि उद्योग आदि विभिन्न उद्योगको एकैसाथ स्थापना हुन्छ, तब धेरै मानिसले एकै पटक रोजगारी पाउँछन्, साथै एक अर्को उद्योगबाट उत्पादन हुने वस्तुको माग सृजना हुन्छ । यसले गर्दा सबै उद्योगको उत्पादन बिक्री हुन्छ । विकास परियोजनाहरूमा अर्थव्यवस्थाको सबै क्षेत्रहरूको एकसाथ विकास हुनुपर्दछ जसले गर्दा कृषि उद्योगबीच र आन्तरिक उपभोग र निर्यातको लागि उतपादनबीच उचित सन्तुलन कायम होस् । अर्को राज्यमा, अर्थव्यवस्थाको सबै क्षेत्रहरूको एकसाथ विकास हुनुपर्दछ । यो धारणा जति सरल छ, त्यति नै युक्तिपूर्ण पनि छ र यसलाई अस्वीकार गर्न सकिँदैन ।

सन्तुलित विकासको तर्क दिनेमा रागनर नर्क्स प्रमुख छन् । उनको भनाइमा विभिन्न प्रकारको आवश्यकता साधनहरू र साधन एवं उत्पादनहरूबीचको परिपूरक सम्बन्ध हुन्छ । यही परिपूरकताले गर्दा उत्पादनको विभिन्न अवस्थामा विभिन्न वस्तुहरूका बीच पारस्परिक सम्बन्ध हुने हुँदा सन्तुलित विकास तर्कसंगत हुन आउँछ । नर्क्सको भनाइमा विभिन्न उद्योग र कार्यमा लागेका उन्नत साधनहरूको प्रयोग गर्ने मानिसहरू एक आपसमा ग्राहक बनेका हुन्छन् । त्यसैले एक–अर्काको उत्पादन खरिद गरी उपभोक्ता बनेर परिपूरक वस्तुको बजार विस्तार गर्दछन् ।

यसप्रकार मानव आवश्यकताको विविधताले सन्तुलित विकासको लागि एक–अर्कालाई भरथेग गर्दछन् । विभिन्न अवस्थाको उत्पादनशील उद्योगहरू एक आपसमा प्रतिद्वन्दी हुनुको सट्टा परिपूरक हुन्छन् र उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग र उत्पादनशील वस्तु उत्पादन गर्ने उद्योगहरूको समन्वयले एकले अर्कोको मागमा वृद्धि गर्दछ जसले गर्दा विस्तृत उत्पादनलाई प्रोत्साहित गरी आन्तरिक र बाह्य स्रोत र साधन बढाउँछ । यसरी नयाँ उद्योगको स्थापित उद्योगको विस्तारले यातायात र सञ्चार साख, वित्त, कुशल श्रमिक र व्यापारिक सञ्चारजस्ता आधारशीलाहरूलाई बढाउँदै लग्छ । सबै क्षेत्रको एकसाथ विकास गर्न उत्पादनका साधनहरू सजिलै सस्तोमा उपलब्ध हुनसकेमा मात्र सम्भव हुन्छ । तर नेपालजस्तो विकासशील मुलुकहरूमा विकास प्रक्रिया दरिद्रताको चक्रले गर्दा आपूर्ति र माग दुवैमा यसलाई कठिनाइ उत्पन्न गराउँछ । एकातर्फ जनता गरिब हुन्छन्, जसको लगानी क्षमता ज्यादै कम हुन्छ भने अर्कोतर्फ तीव्र जनसंख्या वृद्धिले अझ गरिबी बढाउँछ ।

प्रो. नर्क्सलाई सन्तुलित विकासको समर्थक मात्र होइन प्रवर्तक मानिन्छ । अल्पविकसित देशमा सन्तुलित विकासको आवश्यकतामाथि बल दिँदै उनले भनेका छन् कि जसरी शरीरका लागि सन्तुलित आहाराको आवश्यकता हुन्छ ठीक त्यसैप्रकार देशको आर्थिक विकासका लागि सन्तुलित विकास आवश्यक छ । विकासशील देशहरूमा विद्यमान निर्धनताको दुरचक्र समाप्त गर्न सन्तुलित विकास आवश्यक छ भन्ने कुरा बताउँदै नर्क्सले भनेका छन्, ‘व्यापक क्षेत्रमा विभिन्न उद्योगको एकसाथ विकास गर्नु र एकसाथ पुँजी विनियोजन गर्नु जसबाट सबै उद्योग एक अर्काका लागि माग उत्पन्न गर्न सकोस्, अल्पविकसित देशको आर्थिक विकासको एकमात्र हल हो ।’ रागनर नर्क्सको विचारधाराअनुसार अल्पविकसित देशहरूमा गरिबीको कुचक्रले गर्दा आर्थिक विकासमा पछाडि परेका हुन्छन् । यो कुचक्रलाई हटाउन सकेमा मात्र आर्थिक विकास हुन सक्दछ । यो कुचक्रमा माग पक्ष र पूर्ति पक्ष दुवै क्रियाशील हुन्छ ।

माग पक्ष : अर्धविकसित वा अल्पविकसित देशहरूका जनताको आय कम हुने भएकाले वस्तुको माग कम हुन्छ । माग कम भएपछि लगानीले प्रेरणा पाउँदैन । अतः यस्ता मुलुकहरूमा लगानीलाई बजारको आकारले सानो बनाइदिन्छ । लगानी वास्तवमा उत्पादकत्वमा पनि भर पर्दछ । उत्पादकत्व कुनै पनि वस्तु उत्पादन गर्न लगाइने पुँजीमा निर्भर गर्दछ । अल्पविकसित मुलुकहरूमा वस्तुको माग कम हुनुको कारण क्रयशक्तिको कमी हुनु हो र क्रयशक्तिको कमी हुनुका कारण निम्न आयस्तर हो र आयको निम्नस्तर स्वयं निम्न उत्पादनको परिणाम हुन्छ । यसरी अल्पविकसित देशहरूमा निम्न उत्पादकत्वको कारणले गर्दा न्यून आय–न्यून बचत–वस्तुको न्यून मागको फलस्वरूप लगानीको प्रेरणा कम रहन्छ, जसले गर्दा बजारको आकार सीमित रहन्छ ।

पूर्ति पक्ष : पूर्ति पक्षको दृष्टिले अल्पविकसित देशहरूमा बचत गर्ने क्षमता कम हुन्छ । किनभने वास्तविक आयको स्तर निम्न हुन्छ । कम वास्तविक आयले गर्दा उत्पादनको स्तर पनि निम्न नै हुन्छ । यस्ता मुलुकहरूमा लगानी कम हुनाले पुँजी निर्माण कम हुन्छ र उत्पादकत्व पनि कम हुन्छ । कम उत्पादकत्वले गर्दा वास्तविक आम्दानी पनि कम हुनजान्छ । आम्दानी कम हुनाले वचत पनि कम हुन्छ ।

गरिबीको कुचक्रलाई तोड्ने सरल उपाय उत्पादकत्वमा वृद्धि गर्नु हो, तर उत्पादकतामा त्यसबेला वृद्धि गर्न सकिन्छ जुनबेला बृहत् रूपमा लगानी र उत्पादन गरिन्छ । यी दुवै कुराहरू त्यसैबेला सम्भव हुन्छ, जब जनताद्वारा वस्तुहरूको पर्याप्त माग गरिन्छ र यसको लागि जनतासँग पर्याप्त क्रयशक्ति हुनु अनिवार्य हुन्छ । किनभने क्रयशक्ति गरिने क्षमता नै सही अर्थमा राष्ट्रिय उत्पादन गर्ने क्षमता हो ।

यसप्रकार लगानीको सीमामाथि नै उत्पादकत्व वृद्धि निर्भर रहन्छ । तर लगानीको सीमा स्वयं बजारको आकारमाथि निर्भर रहन्छ । नर्क्सले रोजेन द रोडनको जुत्ता कारखानाको उदाहरण दिँदै भनेका छन्, ‘मानौँ, कुनै एक ठाउँमा जुत्ता उद्योगको स्थापना गरियो तर देशको अन्य ठाउँमा उत्पादकत्व र क्रयशक्ति बढाउने कुनै काम गरिएन भने जुत्ताको अतिरिक्त उत्पादनले बजार पाउनेछैन । किनभने न त जुत्ता कारखानाको श्रमिकले आफ्नो सम्पूर्ण आम्दानी जुत्ता किन्न खर्च गर्नेछन् न त उद्योगबाहिरका मानिसले पनि प्रत्येक वर्ष एक जोर जुत्ता किन्नेछन् । न्यून आम्दानी हुनाले यो सम्भव हुँदैन । अतः जनताको क्रयशक्तिमा वृद्धि भएन भने स्थापना गरिएको उद्योगले बजार पाउन सक्दैन । यदि अर्थ व्यवस्थाको अन्य क्षेत्रहरूमा मानिसहरूको क्रयशक्ति वृद्धि गरिने प्रयास गरिएन भने वास्तविक आयस्तरमा वस्तुको लचकदार माग बजारको आकारलाई सीमित पार्नेछ । परिणामस्वरूप लगानी प्रेरणामा कमी आउँछ र नयाँ स्थिति जुत्ता उद्योग असफल हुनसक्ने देखिन आउँछ ।

निर्धनताको कुचक्रलाई तोड्नका लागि बजारको विस्तार गर्नु आवश्यक हुन्छ । यसका लागि मौद्रिक प्रसार, विक्रय कला, विज्ञापन, व्यापार नियन्त्रणलाई हटाई आधारभूत संरचनाको विकास गरी बजारको विस्तार गर्न सकिन्छ । वस्तुहरूको मूल्य कम गरी वा मानिसहरूको मौद्रिक आयमा वृद्धि गरी वस्तुको मागमा वृद्धि गर्न सकिन्छ तर यसका लागि उत्पादन र अन्यस्तरमा वृद्धि हुनु र बृहत् स्तरमा उत्पादन गरी लागत कम गर्नु आवश्यक हुन्छ । नर्क्सको भनाइमा बजारको विस्तार गर्न अर्थव्यवस्थाको विभिन्न क्षेत्रमा एकै पटक लगानी गर्नु आवश्यक छ । वास्तवमा सन्तुलित विकासको उद्देश्य परिपूरक उद्योगहरूको विकास गर्नु हो ।

प्रो. नर्क्सको धारणा छ कि विभिन्न उद्योगहरूमा एकसाथ र एकै समयमा लगानी गर्नाले आर्थिक दक्षता तथा बजारको कुल आकारमा विस्तार हुन्छ । उनको शब्दमा यसप्रकारको सोझो आक्रमण अर्थात् विभिन्न उद्योगहरूमा पुँजीगत लगानीको रहर नै वास्तवमा सन्तुलित विकास हो । विस्तृत क्षेत्रमा गरिने लगानीले एकातिर बजारको आकारमा वृद्धि गर्दछ भने अर्कोतिर बाहिरी बचत उत्पन्न गर्दछ, जुन प्रायः एउटा व्यक्तिगत फर्मका लागि सम्भव हुँदैन । सन्तुलित विकासको नीतिले बाहिरी बचतलाई सम्भव बनाउँछ जुन तीव्र आर्थिक विकासका लागि आवश्यक हुन्छ ।

उद्योग र कृषि क्षेत्रबीच सन्तुलनको धारणा अनुसार कृषि र उद्योगमा गरिने लगानीमा पनि सन्तुलन हुनुपर्दछ । किनभने कृषि र उद्योग एकअर्काका परिपूरक हुन् । औद्योगिक उत्पादन वृद्धि हुनका लागि कृषि उत्पादनमा वृद्धि गरिनु आवश्यक छ । यदि एकोहोरो औद्योगिक क्षेत्रकै विकास हुन्छ भने रोजगारीको मात्रामा वृद्धि हुन्छ । परिणामस्वरूप खाद्यान्नको मागमा वृद्धि हुन्छ ।

घरेलु र बाह्य क्षेत्रबीच सन्तुलनअन्तर्गत सन्तुलित विकास नीतिअन्तर्गत अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा लगानी गर्दा एकातिर उत्पादन तथा रोजगारीको मात्रामा वृद्धि हुनाले आयातको मात्रामा वृद्धि हुन्छ भने अर्कोतिर उद्योगहरूको पुरकता र विविधताको फलस्वरूप निर्यात व्यापारमा पनि वृद्धि हुन्छ । यसरी सन्तुलित विकासका नीतिले घरेलु तथा विदेशी व्यापार दुवैबीच सन्तुलन स्थापित गर्दछ । नर्क्सको भनाइअनुसार सन्तुलित विकास अन्तर्राष्ट्रिय व्यापारको लागि एउटा राम्रो आधार हो । यसको राम्रो मित्र पनि हो तथा परिवेशको रिक्ततालाई भर्ने एउटा श्रेष्ठतम विधि पनि हो ।

नर्क्सले जस्तै रोसेन्सन रोडनले विकासशील देशको आर्थिक विकासका लागि सन्तुलित विकासलाई समर्थन गरेका छन् । तर उनले सन्तुलित विकासलाई बिग पुसको रूपमा लागू गर्न चाहन्छन् । बिग पुसको अभिप्राय सबै क्षेत्रमा एकसाथ र आवश्यक न्यूनतम मात्रामा विनियोग गर्नु हो । सन् १९४३ मा यस सिद्धान्तको प्रतिपादन गरेका थिए । आर्थर लेविसले सन्तुलित विकासलाई समर्थन गरेर लेखेका छन्, ‘विकास योजनाहरूमा अर्थव्यवस्थाको सबै क्षेत्रहरूको एकसाथ हुनुपर्छ, जसबाट कृषि एवं उद्योगबीच र घरेलु उपभोग र निर्यातबीच एक उचित सन्तुलन स्थापित हुन सकोस् । यो धारणा यति सरल छ, त्यति नै त्रुटिपूर्ण छ र यसलाई उपेक्षा गर्न सकिँदैन । सन्तुलित विकासको सबैभन्दा श्रेष्ठ गुण हो कि यसको बाटोमा आइपर्ने बाधाहरू स्वतः नै समाप्त हुन्छन् ।

जेएम फ्लेमिङको भनाइअनुसार, जब कि सन्तुलित विकास सिद्धान्तले यो मानेको छ कि मध्य सम्बन्ध अधिकांश त पुरक छ, तब पूर्ति घटकको सीमा यो सुनिश्चित गरिन्छ कि यो सम्बन्ध अघिकांशतः प्रतियोगी छ ।

अनेकौँ अर्थशास्त्रीहरूले सन्तुलित विकासको आलोचना गरेका छन् । सन्तुलित विकास नीतिको आलोचनाहरूमा प्रा. सिंगर, माक्र्स फ्लेमिङ, प्रा. एलवर्ड र हर्षमैन जस्ता अर्थशास्त्रीहरूको नाम उल्लेखनीय छ । प्रो. सिंगरको सन्तुलित विकासको तीव्र आलोचना गर्दै भनेका छन् कि अल्पविकसित देशको परिस्थितिका लागि सामुन्नेबाट प्रहार गर्नुभन्दा छापामार युद्धकला बढी उपयोगी मानिनेछ । सन्तुलित विकासमा राष्ट्रको सीमित साधनको पूर्ण अपव्यय हुन्छ । यो सिद्धान्त मुख्यरूपले निजी उपक्रम प्रणालीमा आधारित छ । तर आजको नियोजित युगमा सार्वजनिक क्षेत्रको उपेक्षा गर्नु अनुचित छ । यो सिद्धान्त विकासको मार्गमा आउने बाधा, कमी, आधिक्य, क्षमता आदिलाई उपेक्षा गरेको पाइन्छ । प्रो. रुजीनाले यस सिद्धान्तको आलोचना गर्दैै भनेका छन् कि सन्तुलित विकास पद्धतिबाट न त व्यापार चक्रको अन्त गर्न सकिन्छ न त प्रतिव्यक्ति आयमा वृद्धि गर्न सकिन्छ ।

रुजिनाको भनाइअनुसार सन्तुलित विकासको अर्थ समाजवादलाई पछाडिको ढोकाबाट भित्र्याउनु हो । प्रो. मार्क्स फ्लेमिङले गरेको आलोचनाअनुसार सन्तुलित पद्धति ती देशमा मात्र अपनाउनु सकिन्छ, जहाँ कम ब्याज दरमा पर्याप्त पुँजी उपलब्ध हुन्छ, श्रम संघले ज्याला बढाउन सफल हुँदैन र अदृश्य बेरोजगार न्यूनतम ज्यालादरमा काम गर्न तयार हुन्छ । फ्लेमिङको भनाइअनुसार विकासशील देशहरूमा यी तीनैवटा स्थिति पाउन सम्भव नभएकाले सन्तुलित विकासको व्यावहारिक महत्व समाप्त भएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्