Techie IT
४ जेठ २०७९, बुधबार

किन हुन्छ हृदयघात ? हृदयघात हुन नदिन के गर्ने ?


काठमाडौं । मुटु विशेष किसिमको मांसपेशीले बनेको अङ्ग हो । यसले रगतलाई पम्प गरी रक्तनलीहरूमार्फत विभिन्न अङ्गहरूमा पु-याउने काम गर्दछ । औसतमा प्रतिमिनेट ७० देखि ८० पटकसम्म धड्किने मुटुलाई आफ्नो कार्य नियमित र सुचारु रूपमा गर्नका लागि यथेष्ट मात्रामा अक्सिजन, ग्लुकोज तथा अन्य विभिन्न खाद्यपदार्थ एवं खनिज पदार्थ एवं खनिजहरू जस्तैः सोडियम, पोटापसियम, क्याल्सियम आदिको आवश्यकता पर्दछ । यसका लागि मुटुको मांसपेशीभित्र साना तथा मझौला खालका रगतका नलीहरू हुन्छन् । जसलाई मुटुको धमनी वा कोरोनरी आर्टरी पनि भनिन्छ ।

जब मुटुको धमनीहरूमा विभिन्न कारणले गर्दा बोसोजन्य पदार्थ जम्मा भई धमनीहरू साँघुरो हुँदै जाने हुन्छ । त्यसलाई मुटुको धमनीको रोग भनिन्छ । मुटुको धमनीहरूको साँघुरो भएमा मुटु स्वयंले अक्सिजन, ग्लुकोजलगायतका अन्य खनिज पदार्थ प्राप्त गर्न सक्दैन र मुटु कमजोर हुन्छ । कमजोर र साँघुरो रक्तनलीहरू सजिलै फुट्न सक्छ । जब मुटुको धमनीहरू एक्कासि बन्द हुन्छ, तब मुटुको केही खण्डले नियमित काम गर्न सक्दैन, त्यसैलाई हृदयघात भनिन्छ ।

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरी धमनी वा धमनीका शाखाभित्रै आकस्मात रगत जम्न गई रगतको थेग्लाले धमनी थुनिदिँदा थुनिएको भागभन्दा अगाडि हृदयका मांसपेशीहरू अक्सिजन र अन्य पोषक तत्वहरूको अभावमा देखापरेको आपत्कालीन समस्या हो । यो समस्या आकस्मात देखा पर्ने भए पनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमनीभित्रै आफैँ रगत जम्नुको पछाडि धमनीका भित्ताहरूहरूमा लामो समयदेखि कोलेस्टेरेल क्याल्सियम र मृतकोषहरू जम्मा भएर धमनी साँघु-याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ ।

यी पदार्थहरू जम्मा भएर धमनी साँगुरिएको ठाउँमा धमनीले आफ्नो लचकता गुमाउँछ र तन्तुहरूलाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरिक्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुँदा साँघुरिएको ठाउँमा नसाको भित्री पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल बनाएको खस्रो सतहको सम्पर्कमा आई नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमनीलाई थुनिदिन्छ र थुनिएको भागभन्दा अगाडि धमनीले आपूर्ति गरेको हृदय तन्तहरू अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरू मर्नजाँदा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशील अंगहरूमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ ।

हृदयघातका लक्षणहरू हृदयघात भएको बेलामा छातीको बीच भागमा दुख्ने, भारी हुने, श्वास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढी भएको अनुभव हुने, धेरै पसिना आउने, एक्कासि बढेर जाने, रिँगटा लाग्नेजस्ता देखिन्छन् । कसै–कसैलाई पेटको माथिल्लो भाग दुख्ने, बेहोस हुने शरीरको कुनै भाग चलाउन गाह्रो हुनेजस्ता लक्षणहरू देखिन सक्छन् ।

उच्च रक्तचाप, मधुमेह, चुरोट सेवन, मोटोपन, शारीरिक व्यायमको कमी, उच्च कोलस्ट्रोल, अत्याधिक तनाव तथा नकरात्मक सोच, बढ्दो उमेर, पारिवारिक कारण, पुरुष लैंगिकता आदि कारणले हृदयघात हुनसक्छ ।

हृदयघातबाट बच्नका लागि के गर्ने त ? डा. लम्सालको सुझाहरू यस्ता छन् ।
नियमित स्वस्थ खानपान गर्ने, नुन तथा चिल्लो पदार्थ कम खाने बढी फाइबरयुक्त फलफूल तरकारीको नियमित सेवन गर्ने, दैनिक आधा घण्टादेखि एक घण्टासम्म शारीरिक व्यायाम गर्ने, मद्यपान तथा धुम्रपान सेवन नगर्ने, स्वास्थ्य परीक्षण गर्ने रक्तचापको मापनलगायत रगतमा सुगर तथा कोलस्ट्रोलको मात्रा परीक्षण गराउने बढी भएमा नियन्त्रणमा रहने गरी आवश्यक परेमा सम्बन्धित चिकित्सकको सुझावअनुसार औषधि सेवन गर्ने, पारिवारिक सावधानी अपनाउने परिवारमा कम उमेरमै मुटुरोग देखिएमा बाँकी सदस्यहरूले नियमित परीक्षण तथा थप सावधानी अपनाउन, शरीरको तौल नियन्त्रनमा राख्ने र तनावरहित रहने वातावरण बनाउने, तथा सकारात्मक सोच राख्ने र थप सुझावको लागि सम्बन्धित चिकित्सकसँग परामर्श गर्ने, हृदयघातका कारण विश्वमा एक करोड ७५ लाख मानिसको हरेक वर्ष मृत्यु हुने गर्दछ । हाल नेपाललगायतका विकासोन्मुख राष्ट्रमा पनि यसको प्रकोप बढ्दै गइरहेको छ ।

Open photo

विभिन्न उपचार पद्धतिका तथा औषधिको बाबजुत हृदयघात भइसकेपछि मृत्युदर अझै नै उच्च नै छ तसर्थ रोग लाग्न नदिन उचित जीवनशैली अनुसरण गर्दा राम्रो र आम मानिसले यस महारोगसम्बन्धी न्यूनतम जानकारी राख्ने तथा मुटुरोगको जोखिम बढी भएका व्यक्तिहरूले नियमित परीक्षण गराउने माथि उल्लिखित लक्षणहरूको केही शंका भएमा तुरुन्त अस्पताल गई परीक्षण गर्नु पर्दछ । (लेखक बरिष्ठ मुटु रोग विशेषज्ञ) (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्