Techie IT
४ जेठ २०७९, बुधबार

ट्रेड युनियनमा बहुआयमिक नेतृत्वको खाँचो


काठमाडौं । युनियनलाई सशक्त र निरन्तर क्रियाशील बनाई राख्न नेतृत्व सिद्धान्त र व्यावहारिकताको कसीमा निष्पक्ष, निस्कलंक र निःस्वार्थ छविको लागि खरो उत्रिनु आजको माग हो । कुनै पनि संस्थालाई गतिशील बनाएर प्रभावकारी रूपमा सञ्चालन गर्न नेतृत्वको अहम् भूमिका हुन्छ । दूरदर्शी सोच र चिन्तन भएको बहुआयमिक नेतृत्वबाट मात्र संगठनको विकास र विस्तार आशातित रूपमा हुने यर्थातता हो । सदस्यहरूको हकहितका लागि संस्थाले तोकेको लक्ष्य हासिलका लागि सदस्य एवं सरोकार पक्षलाई स्वेच्छाले सद्भाव, सहयोग र सहकार्य गर्न प्रेरित गर्नु नेताको मुख्य काम हो । अतः विशेष परिस्थितिमा लक्ष्य प्राप्तिका लागि व्यक्ति वा समूहका क्रियाकलापहरूलाई प्रभावित पार्ने प्रक्रिया नै नेतृत्व हो ।

ट्रेड युनियनको सफलता र सशक्तीकरणको लागि नेतृत्वले आफ्नो जिम्मेवारीलाई जवाफदेहीपूर्वक सम्पन्न गर्न योजनाबद्धरूपमा सञ्चालन गर्नुपर्दछ । ट्रेड युनियनको काम, कर्तव्य र अधिकार बारेमा स्पष्ट र गहन अध्ययन तथा जानकारी बारेमा आफ्ना सदस्यहरूलाई प्रशिक्षित गर्नु गराउनु पर्दछ । नेतृत्व वर्गले युनियनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीपमा पोख्त हुनुपर्दछ । युनियनको मानवीय तथा भौतिक संरचना पर्याप्त र साधानस्रोतको सम्पन्न हुनुपर्दछ । युनियनको लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम स्पष्ट एवं व्यावहारिक हुनुपर्दछ । युनियन सञ्चालन साधारण सदस्यहरूबाट छानिएका सक्षम पदाधिकारीबाट सञ्चालन गरिनु पर्दछ ।

निजामती सेवामा ट्रेड युनियनको प्रभावकारितामाथि सकारात्मक र नकारात्मक चर्चा बेलाबखत हुनेगरेको छ । सेवा प्रवाहलाई सुशासनयुक्त बनाउन कतिपय अवस्थामा ट्रेड युनियन साधकभन्दा पनि बाधक बन्ने गरेको जगजाहेर नै छ । ट्रेड युनियन कामदारहरूको स्थायी प्रकृतिको संस्था हो । ट्रेड युनियनले कर्मचारी वा कामदारको हितलाई सुनिश्चित गर्दै रोजगारदाता वा सरकारसँग आपसी सुमधुर सम्बन्ध बनाई राख्ने उद्देश्यबाट स्थापित गरिएको हुन्छ । यसले आफ्ना सदस्यको रोजगारी तथा आर्थिक सुरक्षा र फाइदाको लागि काम गर्दछ । ट्रेड युनियनको काम, कर्तव्य र अधिकार अहिलेको विकसित विश्वमा झन् जटिल र परिवर्तनशील हुँदै आएको छ । यसको मुख्य ध्येय भनेको कामको अवस्थालाई सहज, सुविधायुक्त र आकर्षक ज्यालाका लागि पहल गर्नु हो । मजदुरले न्यायोचित ज्याला पाउन, काम गर्ने समय सीमित गर्न काम गर्ने स्थल सामाजिक तथा मनोवैज्ञानिकरूपले स्वच्छ, स्वस्थ र सुरक्षित बनाउने चाहना गरेका हुन्छन् । यी सबै अवस्थालाई व्यवस्थित र व्यावहारिक बनाउनु ट्रेड युनियनको मुख्य उद्देश्य होे ।

ट्रेड युनियनको लक्ष्य, आचरण र चरित्र समयको माग तथा विश्व परिवेशअनुसार परिमार्जन र परिष्कृत भइरहन्छ । ट्रेड युनियनको स्थापना तथा विकास र विस्तार विभिन्न राजनीतिक आस्था र विचारले असर पारिराखेको हुन्छ । विश्वमा अद्यौगिकीकरणको सुरुवातसँगै रोजगारी र ज्यालालगायतका विषय मजदुर र रोजगारदाताबीचमा समन्वय गर्न युनियनको भूमिका प्रभावकारी हुँदै गयो । विश्वमा औपचारिक ट्रेड युनियनको प्रारम्भ बेलायतको कम्बिनेसन एक्ट, सन १८२४ मा लागू भएपछि सुरुवात भएको हो । त्यस्तै अमेरिकामा सन १८६९ मा नाइटस अफ लेबर गठन भएपछि ट्रेड युनियन बन्ने र मान्यता प्राप्त गर्ने क्रमले तीव्रता पायो ।

नेपालमा ट्रेड युनियनको संस्थागत प्रारम्भ विसं १९९३ मा विराटनगरमा जुट मिलको स्थापना भएपछि विसं २००३ चैत्र २० गते अखिल नेपाल ट्रेड युनियन कांग्रेसको गठन गरी निरंकुश जहानियाँ शासनको अन्त्यका लागि नेतृत्वदायी भूमिका खेलेको थियो । त्यसपछि विसं २००७ साल माघ ४ गते महेश्वरमान छोचु तथा भक्तलाल श्रेष्ठको नेतृत्वमा अखिल नेपाल न्यून वैतनिक कर्मचारी संघको स्थापना भयो । यस संघले मुलुकको प्रशासन शासकमुखी नभई जनमुखी हुनुपर्छ भन्ने मूल उद्घोषका साथ विसं २००८ साल जेठ ११ गते तलब सुविधा, नोकरीको सुरक्षा, तथा निवृत्तभरणको व्यवस्था, घरबिदा, बिरामी बिदा, कर्मचारीको मृत्युपश्चात् विभिन्न परिवारको लागि भत्ता तथा छोराछोरीको लागि निःशुल्क पठनपाठनको व्यवस्थालगायतका मागहरूको प्रस्तुत गरेको थियो ।

सरकारले मागहरूप्रति बेवास्ता गरेकोले विसं २००९ जेष्ठ १९ देखि काठमाडौँ उपत्यका तथा तराई तथा पहाडमा पहिलो पटक कर्मचारीले आम हड्ताल गरेका थिए । परिणामस्वरूप तीन सय ३० प्रतिशतसम्म तलब वृद्धि भएको थियो । तर पछि सरकारले कर्मचारी संघलाई प्रतिबन्ध लगाइयो । तथापि प्रजातन्त्रको अभ्युदयपश्चात् विभिन्न पेसागत संघ संस्थाहरू धमाधम खुल्न थाले । पञ्चायती व्यवस्थाको स्थापनापश्चात् कतिपय पेसागत संघसंगठन प्रतिबन्धको सामना गर्नु प-यो । तर विसं २०४६/४७ को जनआन्दोलनको सफलतापछि पेसागत संघसंस्थाहरू सहज रूपमा खुल्न र विकसित हुन पाए । विभिन्न आन्दोलन र वार्ताको माध्यमबाट पेसागत सेवा तथा सुविधाहरूको सुनिश्चित गर्दै युनियनहरू पनि कानुनीरूपमा नै सबल र सक्षम हुने अवसर पाए ।

निजामती सेवा ऐन, २०४९ दोस्रो संशोधन २०६४ तथा निजामती सेवा नियमावली, २०५० आठौँ संशोधन २०६७ ले निजामती कर्मचारीहरूको सेवा सुविधा तथा वृत्तिविकासको न्यायोचित सुनिश्चित गर्न ट्रेड युनियनको व्यवस्था गरेको छ । मौजुदा निजामती ऐनको दफा ५३ मा कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी गठनको व्यवस्था गरेको छ । ट्रेड युनियन गठन गर्दा सदस्यताको हुनका लागि आवश्यक दायरा पनि तोकेको छ । जसअनुसार कार्यालय प्रमुख भई काम गर्नुपर्ने राजपत्रांकित कर्मचारीबाहेक राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूले आफ्नो पेसागत हकहितका लागि कर्मचारीहरूको राष्ट्रियस्तरको ट्रेड युनियन गठन गरी सदस्यता लिन सकने व्यवस्था गरेको छ । कर्मचारीको ट्रेड युनियनहरूको दर्ता श्रम तथा रोजगार प्रवर्द्धन विभागमा गर्नुपर्ने हुन्छ ।

उल्लिखितअनुसारका ट्रेड युनियनका सदस्यहरूले छनोट गरेका पदाधिकारी रहने गरी सरकारले निजामती कर्मचारीहरूको एक आधिकारिक ट्रेड युनियन गठन गर्नुपर्नेछ । यसरी गठित ट्रेड युनियनले जिल्लास्तर, विभागीयस्तर र राष्ट्रियस्तरमा आफ्नो पेसागत मागहरू सम्बन्धित निकाय र पदाधिकारीसमक्ष प्रस्तुत गरी सामाजिक संवाद र सौदावाजी गर्न पाउनेछ । तर नेपालमा हालसम्म त्यस्तो खालको आधिकारिक युनियन गठन भइसकेको छैन । यस्तो अवस्थामा सबै श्रम विभागमा विधिवत दर्ता भएका ट्रेड युनियनहरू आपसमा सहकार्य र सहमतिमा सौदाबाजी गर्नपाउने कानुनी व्यवस्था रहेको छ ।

सुशासनका आधारभूत तत्वहरू, पारदर्शिता, विकेन्द्रिता, सहभागितामूलक निर्णय प्रक्रिया, समावेशिता आदिलाई अंगीकार गरेको हुनुपर्दछ । आफ्नो समुदायको हितको साथै समाज, समुदाय, धर्म संस्कार र संस्कृतिको संवर्द्धन संरक्षण गर्ने गतिविधि सञ्चालनबाट सभ्य समाजको प्रवर्द्धन गर्न टेवा पुग्न जान्छ । युनियनप्रति सदस्यको अपनत्वको भावना जगाउन प्रत्येक सदस्यको दुःखसुखमा साथ दिन चुक्नु हुँदैन । उनीहरूको जीवनस्तर उठाउने खालका नीति, रणनीति तथा कार्यक्रम ल्याउने उपायहरू अवलम्बन गरिनुपर्दछ । सदस्यहरूको पारिवारिक संरक्षण, छोराछोरीको पठनपाठन तथा नोकरीको व्यवस्थाजस्ता कार्यक्रमले सदस्य एवं सरोकारहरूको आस्था र विश्वास युनियनले जित्न सक्छ । सामाजिक गतिविधि आफैँले सञ्चालन गर्ने वा सहभागिता जनाउनु ट्रेड युनियनको प्राथमिकतामा पर्नुपर्दछ । रक्तदान, परिवार नियोजन, सरसफाइजस्ता स्वास्थ्य शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूको तर्जुमा र कार्यान्वयनबाट सदस्य र समुदायबीच सद्भाव सहयोग तथा सहकार्य गर्ने संस्कारको विकास हुन्छ । यस प्रकारका सकारात्मक सोच र व्यवहारबाट ट्रेड युनियनप्रति जनसमुदायको आस्था र विश्वास जित्न सफलता मिल्छ साथै सदस्यहरूलाई समाजमा सहजरूपमा घुलमिल हुन टेवा पुग्दछ ।

आफ्ना सदस्य तथा जनसमुदायको चाहना र आवश्यकतालाई बुझेर उनीहरूको भावनाअनुसार नीति रणनीति बनाएर कार्य गर्नु नेतृत्वको लागि गम्भीर चुनौती हो । कतिपय अवस्थामा आफ्नो पदीय हैसियत कायम राख्न नसकेर विचलित भएका उदाहरण पाउन सकिन्छ । नेतृत्वको पदिय हैसियतमा आएका कतिपय विचलनका कारण संघसंस्थाभित्र विकृति र विसंगति मौलाएका उदाहरण बग्रेल्ती पाउन थालिएको छ । विधिभन्दा व्यक्ति, नीतिभन्दा नेता, राम्रोभन्दा हाम्रोलाई प्रधानता दिएको कारणबाट नेतृत्व विवादमा आउने गरेको पाइन्छ । तसर्थ लोकप्रिय नेताको हैसियतमा नेतृत्व बन्न सदैव सकारात्मक सोच र लोकतान्त्रिक शैली निस्कलंक छविका लागि अपरिहार्य हुन्छ । नेतृत्व योजनाकार, नीति निर्माता र मध्यस्थकर्ता तथा सहासिक र उत्साही हुनुपर्दछ । लक्ष्य हासिल गर्न सदा तत्पर रहने दृढ इच्छाशक्ति भएको उत्साही एवं कञ्चन चरित्र तथा सामाजिक मूल्य मान्यता धर्म संस्कृति, संस्कारलाई सम्मान गर्ने इमान्दार आदर्श व्यक्तित्व सफल नेताका लागि आधारभूत सर्तहरू हुन । क्युरियो सिद्धान्त र कस्मेटिक कुरालाई त्यागी, काम कारबाहीमा निष्पक्षता, पारदर्शिता तथा विषयवस्तुमा विज्ञताले नेतृत्वलाई बहुआयमिक र लोकप्रिय बनाउँछ । संवेगात्मक आवेगलाई सन्तुलन तथा धैर्यधारण गर्ने सकारात्मक शोच र शक्ति भएको व्यक्तिले मात्र सफल, सबल र सशक्त नेतृत्वको पहिचान दिन सक्छ । यस प्रकारका चरित्र भएको नेतृत्वबाट मात्र वास्तवमा निजामती सेवा र ट्रेड युनियनको सार्थकता र गरिमा बढ्नुका साथै सुशासन कायम गर्न बाधक नभएर साधक बन्न सक्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्