Techie IT
४ जेठ २०७९, बुधबार

युवा नै देश विकासका मेरुदण्ड


काठमाडौं । हिटलरले आफ्नो भविष्यको गर्भ आफैँ धारण गर्नसक्ने जमात नै युवा हो भनेका थिए । भनिन्छ, युवाहरू पराग नभएर पालुवा हुन् । यसरी नै युवाहरू चित्त नभएर चेतना हुन् र काया नभएर कर्म हुन् । यसलाई सोझो अर्थमा किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई युवा भनिन्छ । यसर्थ युवा जनसंख्याको सबैभन्दा सक्रिय, ऊर्जाशील एवं गतिशील वर्गमा पर्दछ । मूलतः विश्वमा युवाको परिभाषा उमेरका आधारमा फरक–फरक रूपमा गरिएको पाइन्छ । मूलतः विश्व आर्थिक मन्दीले पारेको प्रभाव युवाले भोगी नै रहेका छन् । फलतः वर्ल्ड इकोनोमिक फोरमले २०१५/०१६ मा गरेको अध्ययनअनुसार विश्वमा दुई सय मिलियन युवा बेरोजगार छन् भने, ०२२ सम्म पाँच सय मिलियन नयाँ रोजगारी सिर्जना गर्नुपर्नेछ । यो युवाको समस्या त हुँदै हो । यसबाहेक विश्व अर्थतन्त्रका लागि पनि त्यत्तिकै ठूलो समस्या हो ।

विश्वव्यापीकरणको प्रभावसँगै युवाका समस्या पनि व्यापक र फराकिला छन् । तसर्थ सरकारी तथ्यांकमा पूर्ण बेरोजगार युवाको संख्या २ दशमलव ३ प्रतिशत छ भने अर्ध बेरोजगार युवाको दर ३६ प्रतिशत छ । यसरी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार पूर्ण बेरोजगार दर १९ दशमलव २ प्रतिशत र अर्ध बेरोजगारी दर २८ दशमलव ३ प्रतिशत छ । अहिले पनि दलित, सीमान्तकृत, अल्पसंख्यक, आदिवासी, अपांगता भएका युवामा बेरोजगारी दर उच्च रहेको छ । यसमा पनि गुणस्तरीय शिक्षा र रोजगारी अभावजस्ता समस्याले युवा पीडित भएको पाइन्छ । यसरी श्रम बजारमा निस्केका अधिकांश युवा विदेश जाने र पलायन हुने क्रम जारी नै छ । विगतमा शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक अधिकार सुनिश्चित नहुँदा युवाको पहुँच नभएको र उनीहरूका समस्या समाधानमा उचित पहल नहुँदा सशस्त्र द्वन्द्व भएको विश्लेषण समेत भएका छन् ।

विगत दश वर्षे द्वन्द्वको समाधान गरी दिगो शान्ति स्थापना गर्न र देशमा विकास र समृद्धि हासिल गर्ने काममा युवालाई परिचालन गर्नका लागि अहिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले काम गरिरहेका छन् । यसैगरी पछिल्लो आँकडाअनुसार नीति निर्माण तहमा युवाको उपस्थिति बढ्न थालेको देखिन्छ । देशको प्रतिनिधिसभामा १३ दशमलव ०९ प्रतिशत, प्रदेशसभामा २३ दशमलव ६३ प्रतिशत, राष्ट्रिय सभामा ६ दशमलव ७७ र स्थानीय तहमा ३९ दशमलव ६४ प्रतिशत युवाको प्रतिनिधित्व भएको छ । तर, पनि युवालाई नेतृत्वमा स्थापित हुन कठिन भएको पाइन्छ । यसको साथै स्थानीय तहका प्रमुख र उपप्रमुखमा थोरै मात्र निर्वाचित भएको तथ्यले यसलाई पुष्टि गर्छ । यद्यपि, संसारभरिका युवाहरूको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षहरूलाई सुदृढ गर्ने उद्देश्यले देशका खम्बा हुन् । मूलतः अन्तर्राष्ट्रिय श्रम संस्थाले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका सात करोड १० लाख युवाहरू बेरोजगार रहेको र बेरोजगारी दर १३ दशमलव १ प्रतिशत देखाएको थियो ।

हाल विश्वमा भएको महामारी कोरोनाको कारणले गर्दा विश्वका झण्डै आधाजसो युवावर्गहरू बेरोजगारीको अवस्था पुगेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । अतः युवा भन्नाले पुरुष र महिला दुवैलाई जनाउँछ तर कति उमेरसम्मकोलाई युवा भन्ने ? विभिन्न तर्कवितर्क भएको पाइन्छ । युवा शक्ति मुलुकको अमूल्य निधि हो । देश निर्माणमा युवा जनशक्तिको अति महत्वपूर्ण भूमिका हुन्छ । यसकारण युवा वर्तमान र भविष्य दुवैका आधार हुन् । युवाको परिभाषा विभिन्न देशमा फरक–फरक भएको पाइन्छ । संयुक्त राष्ट्रसंघले १८ देखि २४ वर्षका व्यक्तिलाई युवा मानेको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले शारीरिक स्वस्यताका दृष्टिकोणले १५ देखि २४ वर्षकालाई युवा भनेको छ । हाम्रो देशको कुरा गर्ने हो भने युवा क्रियाकलापसम्बन्धी उच्चस्तरीय प्रतिवेदन २०५३ अनुसार १५ देखि २५ वर्षकालाई युवा मानिएको छ । प्रस्तावित युवा नीति को मस्यौदाले १५ देखि ४० वर्षउमेर समूहका व्यक्तिलाई युवाको परिभाषामा राखेको छ । यो मापदण्ड भारतीय र दक्षिण अफ्रिकी मापदण्ड नजिक देखिन्छ । यसरी नै भारतमा १३ देखि ३८ र दक्षिण अफ्रिकामा १४ देखि ३५ वर्षकालाई युवा भनिएको छ । देशमा नीति निर्माण तहमा युवाको पहुँच निकै कम देखिन्छ । यसरी निर्वाचन आयोगको तथ्यांकअनुसार १८ देखि ३५ वर्षसम्मका मतदाता ५० दशमलव ७५ प्रतिशत छन् । कुल जनसंख्याको झन्डै एक तिहाइभन्दा बढी संख्या ओगटेको युवाका लागि अलग्गै मन्त्रालयको आवश्यकता महसुस गरेर पहिलो पटक विसं २०६५ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरिएको थियो । यसपछि युवा हटाइयो र त्यसलाई शिक्षा तथा खेलकुद मन्त्रालयको युवा कार्यक्रम शाखामा संकुचित गरियो ।

जनगणना विसं २०६८ को तथ्यांकअनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार रहेकामा एक करोड छ लाख ८९ हजार आठ सय ४२ युवा छन् । त्यसमध्ये ५४ दशमलव ५ प्रतिशत महिला र ४५ दशमलव ५ प्रतिशत पुरुष छन् । १६ देखि ४० वर्षका युवाको साक्षरतादर ७० प्रतिशत मात्र छ । हरेक वर्ष करिब चार लाख युवाहरू रोजगारको सिलसिलामा विदेश पलायन हुनेगरेका छन् । यसरी विदेशिने युवाहरूमध्ये ८५ प्रतिशत अदक्ष, १० प्रतिशत अर्धदक्ष तथा ५ प्रतिशत दक्ष रहेका छन् ।

मुलुकको अहिलेको समग्र बेरोजगारको दर हेर्दा ११ प्रतिशत रहेको छ । आन्तरिक रोजगारको व्यवस्था नहुनु, उद्योग कलकारखानाको स्थापना नहुनु, सरकारी नीति नियमको प्रभावकारी कार्यान्वय हुन नसक्नु युवाहरू विदेशिनुका मुख्य कारण हुन् । कर्मशील युवाहरूको बढ्दो विदेश जाने संख्यासँगै गाउँ–बस्तीसमेत युवाविहीन बन्दै गएको छ भने कृषिका लागि उर्वर भूमि मानिएका जमिनहरू पनि बाँझो हुँदै गएका छन् । यसले एकातर्फ खाद्यान्नको डरलाग्दो अभावलाई निम्त्याइरहेको छ भने अर्कोतर्फ खाद्यान्न आयातका कारण देशको अर्थतन्त्र धराशायी बन्दै गएको छ । यसका साथै औद्योगिक उत्पादनसमेत नराम्रोसँग प्रभावित भएको छ ।

आर्थिक विकासको प्रमुख ऊर्जाको रूपमा रहेका युवाहरू अधिकांश अदक्ष रहेकाले विदेशमा गएर पनि न्यून पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य भएका छन् । यसको साथसाथै देशको आठौँ र नवौँ पञ्चवर्षीय योजनामा समेत १५ देखि २९ वर्ष उमेरलाई युवा मानिएको थियो । त्यसैगरी शान्ति–नेपालले १५–४० वर्ष उमेर समूहलाई र राष्ट्रिय युवा नीति मस्यौदा समितिले पनि १५–४० वर्षलाई युवाको समूहमा राखेको छ । त्यसकारण नेपालको विद्यमान कानुनले १६ वर्षमुनिकालाई नाबालकमा पर्ने हुँदा १६ देखि ३० वर्षसम्मको पुरुष तथा महिलालाई युवा परिभाषित हुन उपयुक्त देखिन्छ ।

समग्रमा भन्नुपर्दा देशको सक्रिय जनसंख्या युवा हुन् । मुलुकको कुरा गर्ने हो भने पनि युवाहरूको जमात निकै ठूलो रहेको छ । यस किसिमको युवा शक्तिको जमात ठूलो हुने देश बिरलै हुन्छ । अहिले संसारका कुनै पनि देशको विकास युवाहरूबाट हुन सक्छ । यिनीहरूको सीप र ज्ञानको भरपुर उपयोग गरिनु पर्दछ स्वदेशमै । जसका लागि प्रभावकारी युवा नीति र कार्यक्रम ल्याइनु पर्दछ । अपितु मुलुकका ४०/५० लाखको हाराहारीका युवा रोजगारीका लागि विदेश पलायन हुनु हाम्रो ठूलो चुनौती हो । त्यसकारणले गर्दा अन्तर्राष्ट्रिय कानुन र युवा लक्षित मुद्दा कार्यान्वयनले नेपालका युवाहरूमा देखिएको विकराल समस्या लागू पदार्थ दुर्व्यसन, बेरोजगारीलगायतका समस्याको पेचिलो सम्बोधन र यस्ता समस्याको दिशामा कार्यक्रम परिलक्षित हुनुपर्दछ ।

यसरी युवा नीति २०७२ र युवा विकासका लागि दीर्घकालीन १० वर्षे रणनीति र देशलाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पु-याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहुँच सुनिश्चित गर्नका लागि युथभिजन–२०२५ ले नेपाली युवा विकासको प्रमुख आधारस्तम्भ शिक्षालाई नै बनाएको थियो । युथ भिजनको पहिलो आधारस्तम्भ गुणस्तरीय र व्यावसायिक शिक्षा रहेको छ । यसैगरी, सरकारले २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याई ७७ वटै जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ । यसैगरी, नेपाल सरकारको १३औँ योजनाको आधारपत्रमा युवामा उद्यमशीलता र क्षमता अभिवृद्धि गर्ने, स्वरोजगार तथा आयआर्जन कार्यक्रममा सक्रिय बनाउने र राष्ट्रिय विकासको नेतृत्व गर्न सक्ने गरी सशक्तीकरण गर्ने रणनीति तय गरिएको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्