Techie IT
४ जेठ २०७९, बुधबार

कार्यस्थलमा हुने यौन दुर्व्यवहारमा सजकता


काठमाडौं । वर्तमान एक्काईसौँ शताब्दीको आधुनिक युगमा नागरिक समाजमा वस्तुविनिमय प्रणालीको माध्यमद्वारा सेवा पहुँचको उपलब्धतामा सहजीकरण गर्न कठिनाइ उत्पन्न भएकै कारण विनिमयसम्बन्धी उपरोक्त अवधारणालाई प्रस्थिापन गरी नगदजन्य व्यवहारलाई सहजताको लागि आत्मसात् गर्दै आएको मात्र हो । जसबाट अर्थको महत्व आफैँ चुलिँदै गएको छ ।

प्रणालीगत आधारमा अध्ययन गर्ने हो भने, वस्तुविनिमय प्रणालीभन्दा नगदजन्य व्यवहारहरू निकै नै लोकप्रिय हुँदै आएको छ । किनकि स्थानान्तरणलगायतका वस्तु तथा सेवाको क्रय क्षमता विद्यमान रहेकै कारण विश्वनीयताको क्षेत्रमा अन्य विनिमय प्रणालीभन्दा नगदजन्य व्यवहारले अग्रता हासिल गरेको मात्र हो । यसका बाबजुद् पनि नगदविनाको व्यावसायिक एवं वित्तीय क्षेत्र विकासको अवधारणाले तीव्रता पाएको देखिन्छ ।

अतः अर्थको आवश्यकतासँगसँगै प्राप्तिका अनेकन विधिमध्ये सत्चरित्रवान एवं मानवीय मूल्य–मान्यता र नैतिकतालाई रक्षा गर्दै सोही आधारमा पारदर्शी तवरले आफ्नो आम्दानीको अभिवृद्धि गर्नु मानवीय स्वभाव नै हो ।

प्रस्तुत गन्तव्य पहिचान गर्दा व्यक्तिको रोजाई र चाहनाअनुसार व्यापार–व्यवसाय, नोकरी वा अन्य कुनै पनि क्षेत्रलाई सहजताका आधारमा अवलम्बन गर्ने विश्वव्यापी आम्दानीसम्बन्धी मान्यताका आधारभूत सिद्धान्तहरूमा नेपाल पनि भिन्न रहन सक्दैन । जसअुसार व्यक्तिको योग्यता, दक्षता, तालिम, प्रशिक्षण र सीपका आधारमा निर्दिष्ट गरिएअनुसारको सरकारी, अर्धसरकारी वा नीजिलगायतका संघ–संस्थामा अनुबन्धित रहँदै सेवाको पहुँच एवं आम्दानीको श्रीवृद्धि गर्ने सैद्धान्तिक पृष्ठभूमि हुन् ।

जसअनुसार नोकरीसम्बन्धी सेवा सुविधा प्राप्तिको सिलसिलामा लैंगिक समानताको आधारमा सेवा प्रवेश गर्दा महिला, पुरुष वा अन्य समुदाय विशेषको समान–समान प्रतिनिधित्व स्थापित रहनु सामाजिक न्यायको अवधारणा समेत हो । यद्यपि संख्यात्मक रूपमा केही हदसम्म धेर वा थोर भने अवश्य पनि हुन सक्दछ । यहाँनिर विचारणीय पक्ष के रहेको छ भने, जहाँ विपरीत लैंगीय समुदायको बाक्लो उपस्थिति रहने गर्दछ, त्यहाँ मानवीय स्वभावअनुसार एक अर्को समूहमा आकर्षण कायम रहनु आफैँमा नौलो कुरा पक्कै पनि होइन । तसर्थ कार्यस्थल होस् वा अन्य कुनै क्षेत्रगत आधार नै किन नहोस् यौनजन्य दुव्र्यवहारको सम्भावना सधैँ नै रहेकै हुन्छ । यो कुनै निश्चित समय, काल, परिस्थितिअनुसार हुने भन्ने कुरा पक्कै पनि होइन ।

प्रस्तुत सन्दर्भमा सहकर्मी मित्रहरूले सर्थकता एवं सजकता अपनाउने प्रयास गर्ने हो भने निश्चित रूपमा दुर्व्यवहारको दरमा पनि कमी आउने विश्वास लिन सकिनेछ । कार्यरत हरेक पक्षले यौनअनुशासनको नैतिकमूल्य मान्यता तथा सान्दर्भिकतालाई मनन गर्दै अर्को पक्षको सम्मान तथा संयमित रहनु नै यस क्षेत्रमा घनात्मक परिणाम हासिल गर्ने अचुक उपायमध्येको बृहत्तर उपाय हो भन्दा फरक नपर्ला ।

जसको मर्मानुसार सम्भावित यौन दुर्व्यवहारको सूक्ष्मभन्दा सूक्ष्म अवस्थाको पहिचान गर्नुपर्ने हुन्छ । तत् सन्दर्भमा यौन आशक्तिसहितको घोषित अघोषित रूपमा अभिव्यक्त गरिने वा गर्न चाहने व्यवहारहरू नै दुव्र्यव्यहारका विविध पक्षअन्तर्गतका क्रियाकलापहरू हुन् । जसमा विशेषगरी शारीरिक रूपमा नै संसर्गमा रहने परिस्थितिजन्य व्यवहारको निर्माणमा जोड दिने संस्कृतिको अलावा अपमानपूर्वक ढंगबाट छुन चाहनेजस्ता गतिविधिले प्राध्यान्यता हासिल गरेको देखिन्छ ।

यद्यपि छुवाइ पक्षको सकारात्मक वा नकारात्मक पक्षलाई भने विशेष ध्यान दिनुपर्ने हुन्छ । गलत प्रयोजन रहेको बाहेक अन्य परिस्थिति निर्माण भए लैंगिक द्वन्द्वात्मकताले अर्कै मोड लिन सक्ने भएकोले हुँदा सतर्कतापूर्वक कार्यगर्नु बुद्धिमानी ठहरिनेछ । यसको अर्को पक्ष भनेको धाप दिने, सुमसुमाउने, समात्ने खोज्ने आदि इत्यादि पनि समाविष्ट रहन सक्ने हुँदा सहकर्मीको व्यवहारलाई हेक्का राख्नुपर्ने हुन्छ । तर त्यसो भन्दैमा हरेक सहकर्मी विशेषको व्यवहारलाई शंकाको दृष्टिले हेर्नु त्यति उपर्युक्त कदम मान्न सकिँदैन ।

एवं प्रकारले गैरमौखिक अभिव्यक्तिनुसार सम्भावित अंग प्रदर्शनका अतिरिक्त कामुक हेराइको धृष्टताले असजिलो परिवेशको निर्माण गर्ने वा गर्न चाहनेजस्ता व्यवहारले कार्यालयको सन्तुलित वातावरणमा असन्तुलनजन्य परिस्थिति उत्पन्न हुनसक्ने खतरालाई कुनै पनि हालतमा इन्कार गर्न मिल्दैन । यसका अतिरिक्त सबैभन्दा डरलाग्दो परिवेश भनेको हेय भावले अन्य सहकर्मी मित्रहरूको रतिभर ख्याल नराखी मौखिक रूपमा नै अपमानजनक व्यवहारको नग्नता प्रदर्शनले सम्बद्ध समूहको समूहगत कार्यगत एकता तथा सुरक्षामा समेत गहन प्रश्नचिह्न लाग्ने देखिन्छ । तसर्थः यसप्रकारका अमानवीय यौनिक क्रियाकलापलाई व्यक्तिगत वा सामूहिकरूपमा नै प्रतिकार गर्ने संस्कृतिको विकास गर्नु अत्यन्त जरुरी भइसकेको छ ।

यद्यपि कार्य प्रयोजनार्थ आफूसरह, तल्लो वा सोभन्दा माथिल्लो तहको व्यक्ति– समुदायबाट कुनै प्रकारको त्रास, धम्की वा प्रलोभनजन्य व्यवहार प्रदर्शन गर्दै यौनजन्य अनैतिक क्रियाकलापको लागि कार्यालयको मर्यादाविपरीत रहने गरी लेखेर, बोलेर, संकेत वा इसारा आदिको सहारामा कुनै गलत प्रवृत्ति प्रर्दशन गर्ने कुचेष्टा गरेमा यसको समग्रमा विरोध गर्नु यौनिक लोकतान्त्रिक आचरणको विवेकीय पक्ष हो । जसले यस प्रकारका नकारात्मक क्रियाकलापको कार्यदिशामा समेत न्यूनता छाउनेछ भन्ने विश्वास लिन सकिनेछ । विपरीत अवस्था तयार गरी हिनताजन्य व्यवहारको प्रदर्शन तथा संकोच आदिका कारण सहन गर्ने प्रवृत्तिको विकास गर्ने हो भने यसका दरमा दैनिकरूपमा अभिवृद्धि भई हिम्सात्मक व्यवहारले प्रश्रय पाउने अवस्था तयार गर्न घोषित–अघोषित रूपमा हामी नै सम्पूर्ण दोषको भागीदार रहनेछौँ भन्दा फरक नपर्ला ।

यस प्रकारका असामान्य अवस्था तयार हुने वा भएको खण्डमा सर्वप्रथम सो तथ्यको प्रभावकारी प्रमाणसहित आफ्नो मातहतमा रहेको विभागीय प्रमुखलाई मौखिक, लिखित वा वर्तमान सञ्चारको वर्चश्व कायम रहेको अवस्थामा भिडियो वा तस्बिर खिचेरै भए पनि गोप्य आधारमा सूचनामूलक जानकारीहरू सम्प्रेषण गर्नुपर्ने हुन्छ । विभागीय प्रमुखबाट असहयोग वा आनाकानी गर्ने अथवा प्राप्त प्रमाणलाई लोपउन्मुखतातर्फ अग्रसर गराउने अभिव्यक्ति वा व्यवहारको प्रदर्शन हुनगएमा सम्बद्ध निकायको कार्यकारी प्रमुख वा सोसरहका अन्य सम्बन्धित निकायलाई आवश्यक जानकारी दिने प्रयास गर्नुपर्नेछ ।

यसबाट पनि सहज रूपमा निकास निस्कन सम्भव नभए सम्बन्धित वडा प्रहरी कार्यालय वा नजिकमा रहेको अन्य कुनै पनि सुरक्षा निकायलाई तत्सम्बन्धी प्रमाणसहित आवश्यक जानकारी जतिसक्दो चाँडोभन्दा चाँडो उपलब्ध गराउने हो भने यौन दुव्र्यवहारलगायतका गैरकानुनी कार्यमा न्यूनता छाउने देखिन्छ ।

प्रस्तुत गतिविधिको विकासले यौन विकृतिरहित आदर्श प्रशासकीय कार्ययोजनाको विकासको सम्भावनालाई मूर्तरूप दिन सहयोग पुग्नेन्छ । आज आफू वा आफ्नो समूह विषेशमा उपरोक्त समाजविरोधी कार्य भएन भन्दैमा मौन रहने संस्कृतिको विकास कदापि पनि नगरौँ किनकि यस प्रकारका गतिविधिले छद्मभेषी दुर्व्यसनीलाई मात्र लाभ पुग्ने भएको हुँदा हरतरहले यस प्रकारका समाजविरोधी अनैतिक क्रियाकलापलाई खुलेरै विरोध गरौँ । जसले यौन दुव्र्यवहाररहित न्यायिक समाजको निर्माण गर्ने महान् कार्यमा एक–आपसमा सहकार्यको भूमिका निर्वाह गर्नेछ । जसलाई सर्वपक्षीय हितकारी कार्यको रूपमा नागरिक समाजले लिनेछ भन्ने आम जनसमुदायको समान धारणा रहँदै आएको पाइन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार/ब्लग/साहित्य


तपाईको कमेन्ट लेख्नुहोस्