logo
565 x 90 pixel-01.png

मेरो मातृ संस्था नेपाल वायुसेवा निगम र यसको सुरक्षा चुनौती

 

लक्ष्मण सिटौला
मेरो रगतको हरेक रक्त कणमा यसकै कमाइले आर्जित अन्नजल परेको छ । आज म जे हुँ यसकैै कारण हुँ । यो छ र त म पनि छु । गर्व र गौरवसाथ उभिएको छु । अलिकति पनि मैले यो संस्थाको अहित सोचेँ भने मलाई पाप लाग्छ । यो नभएको भए म भरिया हुन्थेँ वा मेरो गाउँको टारी खेतमा हलो–कोदालो गर्दै हुन्थेँ वा गोठालो गर्दै हुन्थेँ । गोठालो हुनु घाँस दाउरा गर्नु पतकर सोर्नु खेतीपाती गर्नु पनि मेरो परिचय हो किनकि हामी कृषिप्रधान मुलुकमा जन्मेका नेपाली हौँ । तर म आज नेपाल वायुसेवा निगमको फ्लाइट सर्भिसमा मेनेजर छु । हिजो गाउँमा हलो जोत्ने भकारो सोर्ने घाँस काट्ने कोदालो खन्ने एउटा युवा आज उडान क्षेत्रमा एउटा गौरवशाली इतिहास बनाएको नेपाल वायुसेवा निगममा काम गर्छु । म आफूलाई अत्यन्तै भाग्यमानी युवाको रूपमा लिन्छु । मैले यसको हित नचिताए घोर पापी हुन्छु । म कि त नेपाल वायुसेवामा हुन्छु कि सिर्जनामा हुन्छु योभन्दा बाहेक मेरो कतै उभिने ठाउँ र घस्रने जमिन छैन । मलाई सानैमा आफ्नो हात दिएर डो-यायो यसैले जसै डो-याउँछिन् आमाले आफ्ना हर सन्ततिलाई ।

 

राष्ट्रको उन्नतिका लागि सदैव खट्नुपर्ने युवाहरू आज कालोमोसो हातमा लिएर कर्पोरेट अफिसहरुमा छिरेर त्यहाँको एमडीलाई पैसाको भिख माग्दा नदिएको निहुँमा मुखभरि कालोमोसो दलेर भाग्छन्, भागिरहेका छन् । भाग्ने अभ्यासमा छन् र भविष्यमा यो कायर काम भइरह्यो भने हामी नेपाली संसारमा आतंककारीको देश भनेर चिनिनुको विकल्प छैन । कालोमोसो दल्ने ती युवाहरूलाई भन्दा पनि त्यस्ता युवा पुस्ता जन्माउने हाम्रा पार्टीहरु र हाम्रा पार्टीका नायकहरुलाई जिम्मेवार सम्झिन्छु म । कस्तो स्कुलिङ दिएर मलजल गरिरहेछौँ हामीले आजका युवाहरूलाई अहिलेका हाम्रा पार्टीहरुले ? । परिश्रम गर्न सिकाउने कि लुट्न सिकाउने ? भिख माग्न सिकाउने कि धरतीमा पसिना चुहाउन सिकाउने ? विवेकी बन्न उत्प्रेरित गर्ने कि दुष्ट बन्न पढाउने ? यी कुराहरुसँग के हाम्रा पार्टीहरु परिचित छन् त ? 

 

नेपाल एयरलाइन्सलाई जाहज नकिनेर हात्ती घोडा वा रिक्सा ! किनेको भए योभन्दा कम विवाद आउँथ्यो होला कि सायद ? जहाज उडाउने संस्थाले जहाज नकिनी के हँसिया कोदालो र खुर्पा किन्न पर्ने हो र ? र आज नेपाल वायुसेवाले जहाज किनेकोमा विकास विरोधीहरु हातमा तरबार र जिब्रोमा बिछी बोकेर बकबक गरिरहेछन् । नेपाल एयरलाइन्सलाई हवाई जहाज किन्न नदिन निजी एयरलाइन्सका दाजुभाइहरु नै मरीमरी लागे किनकि उहाँहरुको व्यापार र मनलागी भाडा असुल्ने एकाधिकार खोसिएको छ । व्यापारमा प्रतिस्पर्धा पो हुन्छ र हुनुपर्छ  । प्रजातान्त्रिक मुलुकको सौन्दर्य नै प्रतिस्पर्धा हो तर यस्तो घिनलाग्दो खेल हुनु राम्रो हो र ? ‘नेवानी’ आज उनीहरुको शत्रु बनेको छ । व्यापारको हिस्सा खोसेको रिसमा राष्ट्रको एक मात्र ध्वजावाहकलाई नै आगो लगाउन खोज्ने घिनलाग्दो खेल उनीहरूले खेले जो यो देशमा सधैँ अराजकता चाहन्छन् । नेपाल एयरलाइन्सका वर्गशत्रुहरुलाई पनि अन्ततः के फाइदा पुग्ला र खोइ ?
हामीसँग अहिले भइरहेको जहाजहरुको पूर्ण उपयोग र थप गन्तव्य थप्ने हो भने वार्षिक १० अर्ब कमाउँछौँ । ग्राउन्ड ह्यान्डलिङबाट दैनिकी एक करोड आम्दानी छ । वार्षिक तीन अर्ब ६५ करोड थप आम्दानी भयो । लगभग १४ अर्बको कमाइ गर्ने राष्ट्रको ध्वजावाहकलाई यही आम्दानीको कारण हवाई माफियाहरुको नांगो आँखा प-यो र नेपालका सञ्चार माध्यमलाई समेत किनेर यसको बदनाम गर्ने काम लगातार रूपमा भइरहेको छ । सर्वविदितै छ एयरबस ३३० खरिदका लागि जब बैना गयो नेपालका हवाई माफियाहरुको मुटुको भल्ब साँगुरो हुँदै गयो यिनका रगत बग्ने नसाहरु प्रेसरले धेरै धकेल्न थाल्यो । जब आकाश भैरवको खेदो खन्न थाल्छन् यिनीहरू आफैँ विपत्तिमा फस्छन् । निजी हवाई सेवा कम्पनीबाट ४० हजार तिरेर दिल्ली उड्ने यात्री आज नेपाल वायुसेवा निगमको थप जहाजका कारण १५ हजारमा उडान गर्न पाएका छन् । हामी नेपालीहरुमा कर्पोरेट कल्चर बुझ्ने क्षमताको विकास अझै भएको छैन । यो नेपालको एउटा गौरवको आयोजना हो । यसबाट हामी नेपालमा लाखौं टुरिष्ट भित्र्याउन सक्छौं र नेपाललाई समृद्धितर्फ लैजाने बाटो मध्येको यो एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट हो ।

 

नेपालमा अन्तर्राष्ट्रिय हवाई उड्डयनहरुको बजारको वार्षिक व्यापारको आकार एक खर्ब हाराहारीको छ । नेपाल वायुसेवा निगमको दैनिक व्यापार बढ्नुको प्रत्यक्ष असर नेपालमा उडान भर्ने विभिन्न वायुसेवा र तिनका नेपाली जनरल सेल्स एजेण्ट (जीएसए) लाई पर्छ । नेपाली जीएसएले नेपालमा काट्ने टिकटबाट चार अर्बको व्यापार गुमाउँदा विभिन्न वायुसेवाको दुईतर्फी व्यापारमा आठ अर्ब बराबरको व्यापार घट्छ । नेवानिसँग विमान नहुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा अन्य कम्पनीको मनपरी थियो । निजी वायुसेवा कम्पनीहरु नेवानीसँग जहाज नहोस् भन्ने चाहन्छन् र जसरी पनि नेवानीलाई सिध्याउन चाहन्छन् । नेवानी सरकारको हो । सरकारले जिम्मेवारी बसेर नै ३२ अर्बको लोन प्रवाह भएको छ । सरकारी संस्थालाई निजी कम्पनीहरुको यो हदैसम्मको शत्रुतापूर्ण व्यवहारको कारण यसलाई उठ्नु नदिनु यसको संरचना ध्वस्त गर्न खोज्नुले के प्रमाणित गर्छ भने सरकार कमजोर छ है भन्नुको प्रमाण हो । यसरी एउटा सरकारी संस्थालाई सिध्याउने प्रपञ्च रचिरहनु, यसको बदनाम गराउनु, हरेक दिन पत्रपत्रिकामा यसको विरुद्धमा खबर र लेखहरु आइरहनु भनेको सरकारमाथि नै चुनौती हो ।

 

सरकारी संस्थाप्रतिको यो हदैसम्मको रवैया नेपालमा विकास नचाहिने विकास विरोधी राष्ट्रघाती देशद्रोही कुलनाशक राष्ट्रका खलनायकहरुको काम हो । नेपालमा एउटा त्यस्तो समूह छ त्यो समूह जहिले पनि नेपालको विकास चाहदैनन् । र विकास हुन लाग्यो भने त्यसले अन्यत्र मुलुकहरूलाई खबर गर्छ यहाँको उन्नतिमा भाँजो हाल्छ । त्यो समूह विदेशीको हुण्डी खाएर पालिएका छन् । नेवानीलाई जहाज चाँहिदैन भनेर पर्यटन मन्त्रीलाई लबिङ गर्नेहरू नेवानीविरुद्ध लाग्नेहरु सुटकेसमा करोडौं हालेर हिँडे । सबै जना देशघाती हँुदैनन् यो देश केही असल मान्छेले बचाएका छन् फलतः विविध प्रपञ्चको साङलो तोडेर पनि नेवानीले जहाज ल्यायो । तात्कालिक समयका व्यक्तित्वहरुलाई यो जस जान्छ जसले विविध समस्यालाई चिरेर भए पनि नेवानीलाई जहाज उपलब्ध गराएरै छोडे । राम्रो काम गर्नेलाई स्याबास् कहिले गर्न सिकेनौँ हाम्रो दुःख यसमै छ ।

 

नेवानी जति कमजोर हुन्छ बजारमा हवाई माफिया त्यति नै बलियो र सक्रिय हुन्छन् अनि आफूले चाहेको मूल्यमा यात्रुलाई ठग्न पाउँछन् । आज नेवानीसँग जहाज छ र त ती गरिब नेपाली यात्रुले खाडी मुलुकमा काम गर्न जाँदा सस्तो टिकटमा आफ्नै राष्ट्रको ध्वजावाहक चढेर यात्रा गर्न पाएका छन् । नेपालीलाई सुलभ मूल्यमा टिकट उपलब्ध गराउने एक मात्र ध्वजावाहक हो । योभन्दा अगाडि सन् २०१५ मा नेवानीले ए–३२० सञ्चालन गर्नुपूर्व काठमाडौं–दिल्लीको एकतर्फी भाडा मात्रै ४० हजारसम्म पुगेको थियो । त्यतिबेला नेपाल वायुसेवाको निगमको खुब महत्व खड्किएको थियो तर कालाबजारीहरु रमाइरहेका थिए । बजारमा ब्ल्याकमेलिङ र मनोपोली गर्न नपाएको रिसमा नेवानीविरुद्ध उत्रने महारोगीहरु पेपरबाजी गर्छन् । नेवानीले हप्ताको सातै दिन दिल्ली उडान गर्न थालेपछि काठमाडौं–दिल्ली एकतर्फी भाडा १५–२० हजारमा आइपुगेको छ । नेवानीले काठमाडौं–धनगढी सातामा पाँचदिन उडान सुरू गरेपछि १० हजार नाघेको एकतर्फी भाडा ५–६ हजारमा झरेको छ ।

 

यात्रु ठग्न पल्केकाहरुलाई यतिखेर निद्रा परेको छैन र त नेवानी सिध्याउने प्रपञ्चमा लागेका छन् । म भन्छु ती सब पक्षघातका दीर्घरोगी हुन् । आन्तरिकतर्फ वार्षिक करोडौं घाटा सहेर पनि नेपाल वायुसेवा निगमले यात्रुसेवा गरिरहेको छ । राम्रो कुराको प्रशंसा गर्न हामी नेपाली जहिले पनि पछि छौँ र सधैँ नेगेटिभ कुराको मात्रै पछि लाग्छौं । बढी मूल्यमा टिकट बिक्री गर्ने समूह नै हाम्रा विमान नचलून् थन्कियून् र बिग्रेको हेर्न चाहन्छन् । नेवानीको बजार हिस्सा बढ्दो छ त्यसैले निजी कम्पनीका मालिकहरुलाई निद्रा लागेको छैन । नेवानीलाई तथानाम गाली गर्ने पत्रिकामार्फत हुर्मत लिने संस्था बदनाम गराउने फोहोरी खेलमा ती खेलाडी लागेका छन् जसले हवाई माफियाहरुको नुन खाइरहेका छन् । २०१४ मा नेवानीको अन्तर्राष्ट्रिय बजार हिस्सा पाँच दशमलव ८९ प्रतिशत थियो । दुईवटा ए–३२० विमान आएलगत्तै २०१५ मा यो हिस्सा बढेर सात दशमलव नौ प्रतिशत र २०१६ मा ११ दशमलव चार प्रतिशत पुगेको छ । अब थप दुईवटा वाइडबडी जहाज थपिएपछि हाम्रो बजार हिस्सा झनै बढिरहेको छ । आन्तरिकतर्फ पहिले खुलेर बन्द भएका पुराना सेक्टरहरु मदन खरेल अध्यक्ष भएर आएपछि पुनः खोलिएका छन् ।

 

साफे बगर जुपाल, दाङदेखि मनाङसम्मका यात्रुहरूलाई सहज भएको छ । नेपाल वायुसेवा निगमलाई थाइएयर्वेजसँग तुलना गरेर नहेर्नुहोस् बिन्ती । तपाईं हेर्नुहोस् थाइल्यान्ड आज उन्नतिको चरम चर्चामा पुगेको देश हो । हामी सिटामोल र जीवन जल खान नपाएर मरिरहेका छौं अझैसम्म । भोकमरी अभाव गरिबी र पछौटेपनको आक्रमणले अझैसम्म सिथिल छौं हामी । गौरवको आयोजना सुचारु गर्न हामी आफैँ बाधक छौँ । आज मेलम्ची खानेपानीको हालत हेर्नुहोस् कस्तो अवस्था छ ! नेवानीले जहाज किन्न हुँदैन भन्छौं हामी भ्रष्टाचार भयो भन्छौँ । यो कामै गर्न नसक्ने वातावरण कसरी कसले सिर्जना गरिरहेको छ भन्दा ती तमाम विकास विरोधी र देशद्रोही मानिसको एक समूह नै लागिपरेका छन् । कर्पोरेट कल्चरको विकास नै भएको छैन नेपालमा । जसलाइ हवाई जहाजको विषयमा र हवाईजहाजको उत्पादन र अन्तर्राष्ट्रिय मूल्यको बारेमा ज्ञान छैन उसैलाई हवाई विज्ञको रूपमा नेपालका मिडियाहरुले लाइभ अन्तर्वार्ता लिइरहेका हुन्छन् । हाम्रो बुझाइ हाम्रो विज्ञता हाम्रो कार्यक्षमता हाम्रो कार्यशैली हाम्रो झुकाव हाम्रो लगानी हाम्रो उत्पादन हाम्रो बजारसम्बन्धी अल्प अध्यनको कारण नै एउटा संस्थालाई सबै जना मिलेर धारासायी बनाउन खोजिएको हो । नेपाल वायुसेवा निगमको कर्मचारीलाई गाली गर्ने र संस्था तिनै कर्मचारीले सिध्याएको हो भन्ने भ्रम र अनर्गल प्रचारबाजी गरेर आफूचाहिँ पानीमाथिको ओभानो बन्न खोज्ने संस्था विरोधी मनुवालाई म च्यालेन्ज दिन्छु आएर हेर्नुहोस् हाम्रो क्षमता र एकता भनेर । हामी कर्मचारी चेन अफ कमान्डमा विश्वास राख्छौँ ।

 

हामी आफूभन्दा एक तह माथिका कर्मचारीलाई आफ्नो अभिवावक सम्झिन्छौँ र उसको आज्ञा पालन गर्छौँ । हामीमा कति आर्थिक अनुशासन छ भनेर बुझ्न आए हुन्छ । बाहिरको खराब प्रचारका बाबजुद पनि हामीमा त्यो अदम्य साहस कहिले निहुरिएन कहिले हामी लत्रिएका छैनौँ । हाम्रो साहस निभाउनु सक्नुहुन्न तपाईं । हामी मदन खरेललाई र सुगतरत्नलाई पिता समान मान्छौँ किनकि यो मातृ संस्थाको आक्रमणलाई झेल्ने जिम्मेवारी बोकेर उहाँहरु लाग्नुभएको छ । हामी घुस र भ्रष्टाचारमा विश्वास गर्दैनौँ । हामीलाई थाहा छ कर्पोरेट कल्चर, कर्पोरेट सेक्युरिटी, कर्पोरेट रुल्स र कर्पोरेट ट्रान्सपरेन्सी । जुँघाको लडाइँमा राजनैतिक प्रतिशोधको खिचातानीमा किन कर्मचारीलाई मुछ्नुहुन्छ यो मैले बुझ्न सकेको छैन । मलाई काम थाहा छ, कर्पोरेसनको हित थाहा छ, संस्थाको प्रगति थाहा छ, यहाँको स्वस्थ काम गर्ने वातावरण थाहा छ । म यही संस्थामा विगत ३१ वर्षदेखि कार्यरत छु । म काममा यसरी रमाइरहेको छु कि यो ३१ वर्ष ३१ दिन जसरी बितेर गयो । एउटा सिंगो किताब तयार बन्छ मैले संस्थाको बारेमा बयान गरेँ भने । यहाँ काम गर्ने वातावरण छ । यहाँ आफ्नो क्षमता देखाउने वातावरण छ । यहाँ कल्चर छ । यहाँ बिग्रेकालाई पनि सपार्नुपर्छ भन्ने मान्यता छ, यहाँ मौका छ सबैको करियरको उन्नतिको । यहाँ भ्रष्ट कर्मचारी छन भनेर पाप बोल्नेहरुलाई पनि सस्तो भाडामा उडाएर पठाएपछि भोलिपल्टैबाट आह ! हाम्रो जहाज हाम्रो राष्ट्र ध्वजावाहक भनेर प्रशंसा गर्न थाल्छन् ।

 

यो संसार यस्तै हो लिन पाए मात्रै आफ्नो हुनेरहेछ । लिन नपाएको भोलिपल्ट गाली र धारेहात सुरु हुन्छ । संस्था आफैँ डुबेर भए पनि सस्तो टिकटमा यात्रा गर्न पाउनु भएको छ फेरि किन नेपाल वायुसेवा निगम र त्यहाँका कर्मचारीलाई गाली गर्नुहुन्छ ? यो संस्था रहे मात्रै हो तपाईंले सस्तोमा उडान गर्न पाउने नत्र निजीहरुले तपाईंको खल्ती यसरी प्वाल पार्छन् कि त्यतिबेला नेपाल वायुसेवालाई धेरै मिस गर्नुहुनेछ र खेतको मुरी धान बेच्दा पनि भरतपुरको टिकट आइने छैन विदेशको त कुरै नगर्नुहोस् । न्युरोडको सुरक्षित घेरा पार गरेर हाम्रा सुरक्षा गार्डको आँखामा धुलो छ्यापेर एकजना भद्र व्यक्ति जो नेपाल वायुसेवा निगमलाई जहाज चाहिन्छभन्दा जेल पर्नुभयो विगतमा र अविचलित भएर लाग्नुभयो जहाज ल्याउनुभयो । यो कार्यको जस अवजसको भागिदार उहाँ मात्रै पनि होइन सम्बन्धित मन्त्रालयदेखि त्यो सिंगो टिम नै सहभागी छ ।

 

म सामान्य कर्मचारी मलाई भ्रष्टाचार के हो थाहा छैन मलाई काम थाहा छ त्यो पनि मेरो क्षेत्रको बस मैले बुझ्नुपर्ने यति मात्र हो । सुगत सरलाई मुखमा कालो मोसो दलेर खै के पाउनुभयो त ? के हामी यही उपद्रो गर्नकै लागि जन्मिएका हौँ त ? के हाम्रो लक्ष्य र सपना सबैलाई मोसो दल्दै हिँड्ने हो ? हामी कति फुर्सदमा छौँ कि काम नगरेर उत्पादन नगरेर कर्पोरेट अफिसमा त्यहाँका हाकिमहरुलाई होली हाल्दै हिँड्ने । फागुपूर्णिमामा दल्नु भएको भए हुन्थ्यो नि बरु । यो परिघटनाबाट हामीले अब यो बुझ्यौँ कि नेपालका कुनै पनि अफिस, संस्थामा काम गर्ने उच्च ओहदामा पुगेका व्यक्ति सुरक्षित छैनन् । आज मोसो दलियो भोलि गोली नै हान्ने पो हो कि भन्ने त्रासदी बढेर गएको छ । यो लेखिसकेपछि सायद म पनि सुरक्षित नहुन सक्छु । मलाई सुगत रत्नको हनुमान भन्लान या मदन खरेलको प्रवाह छैन । म हरेक राष्ट्रप्रेमीको हनुमान हुँ । म तिनै व्यक्तिहरुको पुजारी हुँ जो नेपाल आमालाई माया गर्छन् । जो आफैं चुकेर झुकेर नुहेर पनि यो देशको समृद्धिको सपना देख्छन् र चोखो हिमालजस्तै शान्त हँसिलो र खुसी देखिन्छन् । जसरी यो देशका लागि हाँसेरै छातीमा गोली थापे ती वीर सपुतहरुले र हामी सबै मिलेर तिनकै सपना साकार पार्ने हो नत्र महापाप लाग्छ ।
२०७५ पुस २३ गते सोमबार, काठमाडौं (बैंकक उडान अवधिमा सिर्जना गरिएको लेख होटेल रमादा न्यु पेचबुरी रोड थाइल्यान्ड र बैंकक  (आर्थिक दैनिकबाट)

प्रतिकृया दिनुहोस्

फेसबुक र ट्विटर मार्फत हामीसंग जोड़िनुहोस

सम्बन्धित समाचार

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...

खानेपानी आपूर्तिका लागि जनसहभागिता

जीवनका अपरिहार्य आवश्यकताहरुमध्ये पानी एक हो । पानीविना जीवनको अस्तित्व सम्भव हुँदैन । विश्वजलवायु...

नेपालमा खाने तेलको उत्पादन र आयातको अवस्था

कृषिप्रधान देश नेपालमा उत्पादनका धेरै सम्भावनाहरु छन् । तर सम्भावना भएका कृषि उत्पादन पनि यहाँ हुन सकिरहेका...
सुलसुले अरु धेरै

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

कस्तो अरिंगाल बन्ने !

पछिल्लो समय फस्टाईरहेको विकृति, हत्या, वलत्कार, हिंसा , ठगी, भ्रष्ट्रचार विरुद्ध आवाज उठाउँदा त्यसको प्रतिकार...

परराष्ट्रमन्त्री मंगोलिया उडे

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...

कांग्रेस सभापति देउवाको छोराको उपचारका लागी दिल्ली लगियो

कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा लुट्दै

सशस्त्र प्रहरीमा आपसी समन्वयको अभावमा अयोग्यले फाईदा...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

वैदेशिक सहायता कहिलेसम्म ?

प्रजातन्त्र, लोकतन्त्र हुँदै संघीय गणतन्त्रसम्म आइपुग्दा पनि हाम्रो अर्थव्यस्थामा खासै परिवर्तन हुन सकेन ।...
मनोरञ्जन / साहित्य अरु धेरै

चितवन महोत्सव

चितवन यतिवेला महोत्सवमय बनेको छ । विशेष जाडो मौसम सुरु भएसगैँ यहाँ विभिन्न मेला महोत्सवका कारण जिल्ला नै...

सास्तीको भागिदार जहिले पनि जनता ।

पैदल यात्रु हिड्ने वा सबारी साधन सञ्चालन हुने कच्ची वा पिच सडकमा दैनिकीजस्तो जनताले हैरानी खेप्नुपरेको छ ।...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै